लन्डन । क्यान्सरपीडित आइतकुमारी गुरुङको उपचारका लागि बेलायतमा संकलित ६ लाख २३ हजार रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं ‘आइतकुमारी बचाऔं अभियान’ यूकेका संयोजक परशु गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, तमु धीं यूकेका कोषाध्यक्ष अरुण गुरुङ तथा साहित्यकार, गीतकार एवं समाजसेवी एकेन्द्र गुरुङको पहलमा संकलित रकम ६ लाख २३ हजार ४०५ रुपैयाँ मंगलबार एक कार्यक्रमबीच पीडित आइतकुमारी गुरुङलाई हस्तान्तरण गरिएको हो । प्राप्त विवरणअनुसार आइतकुमारीको उपचारका लागि १०८ जनाले दान गरेका छन् ।
लमजुङ जिल्ला क्व्होलासोथार गाउँपालिका वडा नं ७ निवासी ५० वर्षीया आइतकुमारी गुरुङ विगत डेढ वर्षदेखि पाठेघरमा क्यान्सर भई बीपी मेमोरियल अस्पताल भरतपुरमा उपचाररत छिन् । उनको थप उपचारका लागि आर्थिक अभावका कारण सम्बन्धित वडा कार्यालयमार्फत सिफारिस गरिएअनुरुप बेलायतमा सहयोगको अनुरोध गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ, वडा नं ७ का वडा अध्यक्ष लक्षुमान गुरुङ, पसगाउँ पैकों तमु समाजका अध्यक्ष ना.सु. खडगबहादुर गुरुङ, सातकन्या देवी तमु समाज उपल्लो चरागाउँ पोखराका अध्यक्ष रतनमान गुरुङ, वरिष्ठ सल्लाहकार अ.सु.मे. नौबहादुर गुरुङ, सल्लाहकार गमप्रसाद गुरुङ, सल्लाहकार दूधकुमारी गुरुङ, सहकोषाध्यक्ष मणिप्रसाद गुरुङ, सहसचिव सु. कमलबहादुर गुरुङ, रोम्लेदेवी तमु समाज कुमलुङका अध्यक्ष मिनाकुमारी गुरुङ, मोन्हे म्हिल्दु भोजे समाजका अध्यक्ष सु. हर्कबहादुर गुरुङ, मातृभूमि तमु समाज तल्लो चरागाउँका अध्यक्ष हरिकाशी गुरुङलगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसैबीच ‘आइतकुमारी बचाऔं अभियान यूके’ सहयोग संकलन अभियानका अभियन्ता तथा साहित्यकार, गीतकार एवं समाजसेवी एकेन्द्र गुरुङले उपकारी मन र अरुलाई पनि बचाउ र बाँच्न दिउ भन्ने संवेदना बुझेका मनका धनीहरु, जसले आफूहरुको अनुरोध स्वीकार गरेर सहयोग गएको भन्दै सबैलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेका छन् । उनले बुधबार फेसबुकमा लामो स्टाटु् लेख्दै अभियन्ता सबैलाई पनि धन्यवाद दिएका छन् । साथै सहयोगले आइतकुमारी गुरुङलाई औषधोपचार गर्न सहयोग मिलोस् भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।






