काठमाडौँ २६ मार्च २०२६ । नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार दिउँसो सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिएका छन् । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिए ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।










