काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्नेलगायत निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने ।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने।
जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहानै ओली गुण्डुबाट पक्राउ परेका छन् । यस्तै, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई कटुन्जेबाट प्रहरीले पक्राउ गरेको छ ।
आयोगले उहाँहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।








