काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बिहीबार दलीय आधारमा बोल्दै सभापति लामिछानेले उक्त धारणा राखेका हुन् । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए ।
उनले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने पनि बताए । आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे ।
आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उहाँले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए । सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए ।






