लन्डन १२ अप्रिल २०२६ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आज नेपाली नयाँ वर्ष २०८३ मनाउँदै छ ।
अल्डरसटस्थित एम्पायर बैंक्युटिङ एण्ड हलमा विशेष सांगीतिक कार्यक्रमसहित नयाँ वर्ष मनाउन लागिएको हो । कार्यक्रममा प्रस्तुति दिन गायिका तथा मोडल रेश्मा तामाङ शुक्रबार नै बेलायत आइसकेकी छन् ।
जीआरएनसीको कार्यक्रम दिउँसो ४ बजे सुरु भएर राति १० बजेसम्म चल्ने छ । जहाँ स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ। कार्यक्रमलाई थप आकर्षक बनाउन ‘राफल ड्र’ (चिट्ठा) को समेत व्यवस्था गरिएको जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले जानकारी दिइन् ।
सहभागीहरूका लागि प्रवेश शुल्क वयस्कलाई २५ पाउण्ड, १२ वर्ष र सोभन्दा मुनिका बालबालिकाहरूलाई १२ पाउण्ड तथा ज्येष्ठ नागरिकहरूलाई २० पाउण्ड तोकिएको छ। उक्त शुल्कमा बफेट भोजनको समेत व्यवस्था गरिएको छ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष माबोले जनाइन् । यसपटक नेपाली व्यवसायी र स्थानीय समुदायको समेत सहभागितामा पृथक् ढंगले नयाँ वर्ष मनाउने तयारी रहेको अध्यक्ष माबोले जनाइन् । कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङ रहेका छन् ।
अध्यक्ष लीला सेलिङ माबोले नेपाली नयाँ वर्षलाई सफल बनाइदिन आग्रह गरेकी छन् ।’२०८३ को नेपाली नयाँ वर्षलाई हामीले उत्सवका साथ मनाउन गइरहेका छौं । त्यो कार्यक्रमलाई सफल बनाइदिनुहुन संघ संस्था, कमिटी मेम्बर्स, एडभाइजर्स, टस्टीदेखि सबैलाई चुले निम्तो दिन चाहन्छु । यहाँहरु उपस्थित भइदिनुहोला,’ अध्यक्ष माबोले भनिन् ।
अध्यक्ष माबोले जीआरएनसीले यस पटक नयाँ वर्ष स्थानीय मौलिक कला–संस्कृतिको प्रवर्द्धन गर्न तथा स्थानीय व्यापारीहरूलाई एउटै मञ्चमा ल्याई मनाउन लागिरहेको बताइन् ।






