चिम्खोले काइला, बेलायत ।
मेरी श्रीमती जमुना र म पुनः बेलायतको रमणीय ‘पिक डिस्ट्रिक’ को यात्रामा निस्कने तर्खरमा छौं। यस भ्रमणको पृष्ठभूमि हाम्रो अघिल्लो यात्राको मीठो स्मृतिसँग जोडिएको छ। गत अप्रिलमा हामीले लेक डिस्ट्रिकस्थित बेलायतको सर्वोच्च शिखर ‘स्काफेल पाइक’ को सफल आरोहण गर्छौं। त्यो कठिन तर रोमाञ्चक आरोहणलगत्तै हाम्रा पाइलाहरू पिक डिस्ट्रिकतर्फ सोझिन्छन्।
हाइकिङका लागि स्वर्ग मानिने पिक डिस्ट्रिकमा ५० भन्दा बढी विश्वप्रसिद्ध रुटहरू छन्। अघिल्लो पटक हामी माम टोर, विनाट पास, स्टेपिङ स्टोन र इलाम पार्कको पैदल यात्रा त गर्छौं, तर हाम्रो ‘धित’ मर्दैन। समयको अभावले गर्दा त्यहाँका अन्य कैयौँ मनमोहक र प्राकृतिक रूपले धनी रुटहरू पहिल्याउन पाउँदैनौं। एउटा अतृप्त चाहना र ‘अर्को पटक पक्कै आउनेछौं’ भन्ने वाचा मनमा सजाएर हामी घर फर्कन्छौं। यतिखेर, त्यही अधुरो यात्रा पूरा गर्न र पिक डिस्ट्रिकको सौन्दर्यमा पुनः हराउन हामी यात्राको तयारीमा जुट्छौं।
हामीले यात्रा तय गरेको दिनभन्दा ठिक एक दिनअघि बेलायतवासी नेपालीहरूको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को रौनक छ, जसको आयोजना तमु धिं यूकेले गरिरहेको छ। उक्त प्रतिष्ठित प्रतियोगिताको समाचार सम्प्रेषणका लागि तमु धिं यूकेले जमुना र म दुवैलाई हार्दिक आमन्त्रण गर्छ। बिहानको नित्य कर्म सकेर, हल्का नास्ता लिई हामी दुवैजना गोर्खा कपको मैदानतर्फ सोझिन्छौं। मैदानमा साथीभाइसँगको आत्मीय भेटघाट, तस्बिर र भिडियो क्लिपहरू कैद गर्दागर्दै समय बितेको पत्तै हुँदैन। राति अबेर, करिब १२ बजेतिर मात्र हामी घर आइपुग्छौं। ढिलो हुनुको अर्को एउटा सुन्दर कारण छ। जमुनाले आफ्नो माइती गाउँ ‘दोवा’ को वार्षिक भेटघाट कार्यक्रमका लागि नृत्यको विशेष अभ्यास गर्नु छ।
घर आइपुगेपछि जमुना पिक डिस्ट्रिक यात्राका आवश्यक सामग्रीहरू प्रेमपूर्वक जुटाउनतर्फ लाग्छिन् भने म समाचार सम्प्रेषण र फोटो सम्पादनको काममा मग्न बन्छु। सबै कार्यहरू फत्ते गरी तयार पारिएका समाचार र फोटोहरू ‘एभरेष्ट टाइम्स’ मा अपलोड गर्छु। केही आकर्षक तस्बिरहरू समेटेर रिल (Reel) बनाई एभरेष्ट टाइम्सको सामाजिक सञ्जालमा पोस्ट गर्दासम्म बिहानको रातोभाले बासिसक्छ, अर्थात् घडीमा ४ बज्छ। म थकित शरीर लिएर ओछ्यानतर्फ लाग्दा जमुना मस्त निद्रामा छिन्। म पनि सुस्तरी ओछ्यानमा पस्छु र बिहान ८ बजेसम्म प्रगाढ निद्रामा डुब्छु। ब्युँझिँदा जमुनाले ओठभरि मुस्कान सजाउँदै स्वादिलो नास्ता तयार पारिसकेकी रहिछिन्। नास्ता ग्रहण गरेपछि गाडीमा यात्राका सरसामानहरू व्यवस्थित गर्छु र अन्ततः हाम्रो प्रतीक्षित यात्रा सुरु हुन्छ। यस पटक स्टेरिङ जमुनाले सम्हाल्ने भएकी छिन्, किनकि अघिल्लो रातको अनिँदोले गर्दा मेरो निद्रा अझै पुगेको छैन र जमुना मेरो स्वास्थ्यप्रति निकै सचेत छिन्।
न्युवरी (Newbury) बाट सुरु भएको हाम्रो यात्रा बेलायतको समृद्ध ‘समर सिजन’ (ग्रीष्म ऋतु) को न्यानोपनसँगै अघि बढ्छ। वर्षभरिको चिसो र खैरो मौसमलाई चिर्दै प्रकृतिले भर्खरै हरियो पछ्यौरी ओढेझैं लाग्छ। आकाश सफा र कञ्चन नीलो छ, जहाँ कपासका थुम्काजस्ता सेता बादलहरू सुस्तरी तैरिरहेका छन्। बेलायतको समरको एउटा आफ्नै विशेषता छ— यहाँको न्यानो घाम र शीतल हावाको जुहारीले यात्रालाई सधैं ऊर्जावान् बनाइदिन्छ।
स्टेरिङमा मेरी श्रीमती जमुनाको दरो पकड र आत्मविश्वासिलो ड्राइभिङ छ। उनको कुशल सवारी चालकत्वका कारण म विनाकुनै तनाव, झ्याल बाहिरको मनमोहक प्राकृतिक दृश्यलाई आफ्नो मानसपटलमा कैद गर्न स्वतन्त्र बन्छु। हाम्रो गाडी न्युवरीबाट निस्किएर A34 को चौडा सडक समात्दै अघि बढ्छ। सडकका दुवै किनारमा फैलिएका हरिया फाँटहरू र परम्परागत बेलायती बस्तीहरू झ्यालबाट कुनै सुन्दर पेन्टिङ सरह पछाडि छुट्दै गैरहेका छन्। अक्सफोर्डशायरको छेउछाउ पुग्दा ऐतिहासिकता बोकेको A40 को खण्ड हुँदै हाम्रो यात्रा द्रुत गतिको M40 मोटरवेतर्फ सोझिन्छ।
M40 मा गाडीको गतिसँगै हाम्रो यात्राको उत्साह र आपसी गफगाफको रोमान्स पनि बढ्दै जान्छ। समरको उज्यालो घामले सडकको कालोपत्रे चम्किएको छ भने दायाँ-बायाँका डाँडाहरू हरियालीले गर्दा जीवन्त देखिन्छन्। त्यसपछि हामी बेलायतको मेरुदण्ड मानिने व्यस्त M1 मोटरवेमा प्रवेश गर्छौं। M1 को तीव्र गति र सवारीहरूको ताँतीलाई छिचोल्दै जमुनाले बडो शालिनता र धैर्यताका साथ गाडी अगाडि बढाउँछिन्। अघिल्लो रातको अनिँदो बिर्साउने गरी जमुनाको यो सुन्दर साथ, व्यस्त मोटरवेहरूको रोमान्चक यात्रा र बाहिरको सुहाउँदो मौसमले पिक डिस्ट्रिकको रमणीय गाउँ हेफिल्ड (Hayfield) सम्मको यात्राको सुरुवातलाई निकै सुखद र अविस्मरणीय बनाइदिन्छ।
यतिखेर हामी पिक डिस्ट्रिकको सुन्दर गाउँ हेफिल्डस्थित ‘हेफिल्ड भ्यू एयर बी एण्ड बी’ (Hayfield View Airbnb) मा आइपुग्छौं। गाडीबाट यात्राका सम्पूर्ण सरसामानहरू ओरालेर कोठामा व्यवस्थित गर्छौं। दिनभरिको यात्राको थकान र अघिल्लो रातको अनिँदोलाई बिर्साउन बेलुकीको स्वादिलो भोजन ग्रहण गरी हामी दुवै चाँडै ओछ्यानतर्फ लाग्छौं। आखिर भोलि हामीले प्रकृतिको काखमा अवस्थित रहस्यमयी ‘लड चर्च’ (Lud’s Church) र रमणीय ‘रोचेस लूप’ (The Roaches Loop) को झन्डै १५ किलोमिटर लामो चुनौतीपूर्ण हाइकिङ गर्नु छ! त्यसईले शरीर र मन दुवैलाई पुनर्ताजगी दिन आराम गर्नु आजको हाम्रो प्राथमिकता बन्छ।
बिहानको सुनौलो किरणसँगै हाम्रो आँखा खुल्छ। ओछ्यानबाट उठेर, फ्रेस भई तातो र पोसिलो नास्ता लिन्छौं र मनमा एउटा नयाँ उत्साह बोकेर लड चर्च र रोचेस लूपको यात्रामा निस्किन्छौं। पिक डिस्ट्रिकको घुमाउरो र मनमोहक ग्रामीण सडक हुर्ऱ्याउँदै झन्डै ३० मिनेटको मोटर यात्रा पार गरेपछि हामी लड चर्चको कार पार्कमा आइपुग्छौं। यहाँ आइपुग्दा एउटा सुखद संयोग जुर्छ— भाग्यवश, हामीले पार्किङ शुल्क नलाग्ने (निःशुल्क) कार पार्कमा गाडी पार्क गर्ने उपयुक्त ठाउँ पाउँछौं। गाडीलाई सुरक्षित रूपमा पार्क गरेपछि, हाम्रा पाइलाहरू अब पिक डिस्ट्रिकको त्यो प्रख्यात र ऐतिहासिक हाइकिङ रुटतर्फ अघि बढ्न आतुर देखिन्छन्।
हाम्रो पैदल यात्रा औपचारिक रूपमा सुरु हुन्छ। हाम्रा आँखा र पाइलाहरू ‘लड चर्च’ (Lud’s Church) तर्फ निर्देश गर्ने साइनपोस्टमा केन्द्रित छन्। प्रकृतिको यो अनुपम रचना ढुङ्गा वा इँटाले बनेको परम्परागत चर्च नभएर वास्तवमा जमिन खसेर वा धाँजा फाटेर बनेको एउटा विशाल, रहस्यमयी र गहिरो चट्टानको खोंच हो। झन्डै १५ मिटर गहिरो र १०० मिटरभन्दा लामो यो खोंच बेलायतका हाइकर्स तथा फोटोग्राफरहरूका लागि एउटा ‘मस्ट-भिजिट’ गन्तव्य मानिन्छ।
बाटोमा अगाडि-पछाडि अन्य धेरै यात्रीहरूको ताँती छ, जो आ-आफ्नै लय, धुन र गफगाफमा मग्न देखिन्छन्। केही बेर अगाडि बढेपछि बाटोमा एउटा सूचना केन्द्र (भिजिटर सेन्टर) भेटिन्छ। भिजिटर सेन्टर त बन्द छ, तर सौभाग्यवश शौचालय भने खुला छ। यद्यपि, शौचालयमा पानी नभएकाले केही असहजता महसुस हुन्छ। त्यहाँको नित्यकर्म सकेर हामी पुनः आफ्नो मुख्य लक्ष्य अर्थात् साइनपोस्टलाई पछ्याउँदै अगाडि बढ्छौं।
थोरै अगाडि बढेपछि बाटोमा एउटा काठको पुल देखापर्छ। पिक डिस्ट्रिकको यो सुदूर कुनाको काठको पुल देख्दा अचानक मलाई मेरो आफ्नै मानसपटलमा तैरिरहेको गाउँको न्यारो याद आउँछ। मन जुरुक्कै उडेर आफ्नो गाउँ चिम्खोलाको ‘जस्लावाङ’ भन्ने स्थानमा पुग्छ, जहाँ एउटा खोल्छामा मेरा आदरणीय स्वर्गीय बुवा शेरबहादुर गर्बुजा पुन मगरले मानिस र चौपायाहरूलाई आवतजावतमा सहज होस् भनी आफ्नै पहलमा एउटा बलियो ढुङ्गे पुल बनाइदिनुभएको थियो। समयको थपेलीसँगै आज त्यो बुवाले बनाएको ढुङ्गे पुल त भत्किसकेको छ, तर बुवाको त्यो परोपकारी भावना अझै मेरो स्मृतिमा ताजा छ।
यसै क्षण मलाई मेरी जेठी दिदी पौकाकरी पुनले दिनुभएको त्यो सुझावको सम्झना आउँछ। दिदीले ‘बुवाको चिनो र गाउँलेको सहजताका लागि सबै भाइहरू मिलेर त्यहाँ अर्को एउटा बलियो पुल निर्माण गर्नुपर्छ’ भन्नुभएको कुरा मनमा गुन्जिँदा म एकाएक भावुक बन्छु। परदेशको यो विकसित र व्यवस्थित पदमार्गमा जमुनाको हात समातेर हिँडिरहँदा पनि आफ्नै गाउँको माटो, बुवाको योगदान र दिदीको आत्मीय सुझावको त्रिवेणीले मेरो मनलाई निकै गह्रौँ बनाउँछ। जमुनाले मेरो भावुकतालाई बुझेझैं गरी मेरो हात अझ दरो गरी समात्छिन्, जसले मलाई एउटा आन्तरिक छहारी दिन्छ।
हामी पुल तरेर अघि बढ्छौं र हाम्रा पाइलाहरू घना एवं हरियो जङ्गलको उकालो बाटोतर्फ सोझिन्छन्। जङ्गलको यो गोरेटोमा मानिसहरूको निकै चहलपहल छ। सायद विद्यालयको छुट्टीको समय भएर होला, धेरैजसो आमाबुबाहरू आफ्ना स-साना बालबालिकाको हात समातेर प्रकृतिको आनन्द लिन निस्किएका छन्। जङ्गलको भुइँतिर नियाल्दा भर्खरै पलाएका हरिया निउरोका पालुवाहरू देखिन्छन्, जसले प्रकृतिको आदिम सुन्दरतालाई उजागर गरिरहेका छन्।
झन्डै केही समयको उकालो यात्रा पार गरेपछि अचानक हाम्रो सामुन्ने एउटा विशाल र अजङ्गको चट्टान देखापर्छ। जब हामी यस साँघुरो चट्टानी खोंचभित्र प्रवेश गर्छौं, दुवैतर्फका ठूला-ठूला चट्टानी भित्ताहरूमा उम्रिएका हरिया लेउ र उनिउ (फर्न) का बोटहरूले वातावरणलाई जादुमयी र रहस्यमय बनाएको देख्छौं। आज बाहिरको तापमान २९ डिग्री सेल्सियस पुगेको छ, जसले गर्दा गर्मी निकै छ। तर, खोंचभित्र छिर्ने बित्तिकै अचानक एउटा सुखद शीतलयताले हामीलाई अङ्गाल्छ। यो खोंच यति गहिरो र साँघुरो छ कि यहाँ भित्र सूर्यको कडा प्रकाश सोझै पस्न पाउँदैन। बाहिरको रापिलो गर्मी र भित्रको यो जादुमयी चिसोको अन्तर साँच्चै अद्भुत लाग्छ।
इतिहास र लोककथाहरूका अनुसार, बेलायतका प्रख्यात पात्र रोबिन हुड र उनका सहयोगीहरूले कानुनबाट बच्न यसै ठाउँलाई आफ्नो आश्रयस्थल बनाएका थिए। अंग्रेजी साहित्यको प्रसिद्ध ऐतिहासिक कविता ‘Sir Gawain and the Green Knight’ मा उल्लेख गरिएको ‘ग्रीन च्यापल’ वास्तवमा यही लड चर्च नै हो भन्ने इतिहासकारहरूको मत छ। १५औं शताब्दीमा वाल्टर डी लुडको नेतृत्वमा ‘लौलार्ड्स’ भनिने धार्मिक सुधारकहरूले आफ्ना गोप्य गतिविधिहरू यहीँ सञ्चालन गरेकाले यसको नाम ‘लड चर्च’ रहन गएको हो। यसको यही दिव्य र रहस्यमयी वातावरणबाट मन्त्रमुग्ध हुँदै यतिखेर जमुना र म एकअर्काको तस्बिर खिच्न, भिडियो क्लिपहरू लिन र यो रोमाञ्चक क्षणलाई यादगार बनाउन व्यस्त बन्छौं।
लड चर्चको जादुमयी भ्रमण सकेपछि यतिखेर जमुना र म आफ्नो यात्राको दोस्रो गन्तव्य अर्थात् ‘रोचेस लूप’ (The Roaches Loop) को साइनपोस्टलाई पछ्याउँदै अगाडि बढ्छौं। यो क्षेत्र विशेष गरी आफ्ना अनौठा चट्टानी संरचनाहरू र डाँडाबाट देखिने भव्य दृश्यका लागि विश्वप्रख्यात छ। ‘रोचेस’ शब्द फ्रेन्च शब्द ‘Les Roches’ बाट आएको हो, जसको अर्थ ‘चट्टानहरू’ हुन्छ। खस्रो बालुवाढुङ्गाले बनेको यो विशाल चट्टानी पहाडको शृङ्खला हो, जहाँ हावा र पानीले खिइएर प्राकृतिक रूपमै ढुङ्गाहरू अनौठा मूर्ति जस्ता बनेका छन्।
हामी दुवै स्थानलाई एउटै रोमाञ्चक यात्रामा समेटेर अगाडि बढिरहेका छौं। घना जङ्गल, वरपर सुनिएका चराचुरुङ्गीहरूको मधुर चिरबिर आवाज र प्रकृतिको शून्यताका बीच हाम्रा पाइलाहरू उकालो, ओरालो र तेर्सो बाटो छिचोल्दै निरन्तर अगाडि बढ्छन्। केही बेरको यात्रापछि जङ्गलको शीतल बाटो सकिन्छ र हाम्रो सामुन्ने एउटा विशाल खुला चौर देखापर्छ, जहाँ समरको टन्टलापुर घाम लागिरहेको छ।
रापिलो घाम र उकालो बाटोले शरीरमा केही थकान महसुस गराउँछ। त्यसैले, उकालोको एक सुरक्षित मोडमा उभिएर हामी केही क्षण विश्राम गर्छौं। थकित शरीरलाई ऊर्जा दिन जमुनाले साथमा ल्याएका ताजा फलफूलहरू निकाल्छिन्। हामी चिसो पानी र सफ्ट ड्रिंक लिन्छौं र पुनः उत्साहका साथ उकालो चढ्न थाल्छौं। धेरै माथि, डाँडाको उचाइमा पुगेपछि अचानक एउटा पिच गरिएको मोटर बाटो फेला पर्छ।
त्यो एकान्त सडकको किनारमा एउटा भ्यानमा आइसक्रिम बेचिरहेको पसले देखिन्छ। यत्रो उकालो चढेर आएका हामी दुवैका लागि त्यो आइसक्रिमको भ्यान मरुभूमिमा पानी भेटिएझैं बन्छ। म जमुना र आफ्ना लागि दुईवटा आइसक्रिम र तिर्खा मेटाउन दुईवटा लुकोजेड (Lucozade) खरिद गर्छु। तर, जब पसलेले ती सामग्रीहरूको मूल्य सिधै २० पाउण्ड माग्छ, म अवाक् बन्छु। बजार मूल्यभन्दा दोब्बरभन्दा पनि बढी मूल्य असुल गरेको थाहा पाएपछि म मनमनै त्यो पसलेलाई निकै चतुर (धूर्त) सम्झन्छु। तर के गर्नु, यो हाम्रो बाध्यता र उसको व्यापार हो। त्यही महँगो तर शीतल आइसक्रिमको स्वाद एकापसमा साटासाट गर्दै हामी आफ्नो यात्रालाई अगाडि बढाउँछौं।
हाम्रो यात्रा निरन्तर उकालोतर्फ सोझिएको छ। यस पदमार्गमा बैंसको जोस बोकेका युवायुवती, हातमा लौरो टेकेका वृद्धवृद्धा, ऊर्जावान् पुरुष तथा महिला र बालबालिकाहरू सहित हर उमेर समूहका पैदल यात्रीहरू भेटिन्छन्। कोही प्रकृतिको रस स्वादन गर्दै आफ्नै मन्द रफ्तारमा छन् त कोही पसिना बगाउँदै तन्दुरुस्तीका लागि दौडिरहेका देखिन्छन्। जमुना र म भने एकअर्काको साथको आनन्द लिँदै, कुनै हतार विना, आफ्नै आत्मीय लय र धुनमा उकालो चढिरहेका छौं।
పहाडको अलि माथिल्लो उचाइमा पुगेपछि हाम्रो सामुन्ने प्रकृतिले शताब्दीऔं लगाएर कुँदेका विभिन्न अनौठा आकारका विशाल ढुङ्गा तथा चट्टानहरू देखापर्छन्। यहाँ हेन क्लाउड (Hen Cloud) र ‘डक रक’ (Duck Rock) जस्ता चरा वा अन्य जनावरका आकारका अनौठा ढुङ्गाहरू देख्न पाइन्छ। ती चट्टानहरूको बीच भागलाई नियालेर हेर्दा कतै गोलो आँखिझ्यालजस्तो त कतै प्राकृतिक रूपमै बनेको एउटा सुन्दर ‘लूप’ (चक्र) बाट बाहिरको संसार हेरिरहेझैं भान हुन्छ। लोककथा अनुसार डाँडाको टुप्पोमा रहेको ‘डोक्सी पुल’ (Doxey Pool) मा एउटा जलपरी बस्छिन्, जसले एक्लै हिँड्नेलाई पानी भित्र तान्छिन् भन्ने अन्धविश्वास छ, तर आज हामी दुई साथमा भएकाले हामीलाई केवल प्रकृतिको सुन्दरताले मात्र तानिरहेको छ।
चट्टानको यही उचाइबाट चारैतिर नजर घुमाउँदा क्षितिजसम्म फैलिएका सुदूर फराकिला हरिया फाँटहरू, सघन वनजङ्गल, विन्डगदर रक्स र टिटेसवर्थ तालको कञ्चन नीलो पानी देखिन्छ। सफा मौसम भएकाले टाढा वेल्सका हिमालहरूसम्मको धमिलो रूप नियाल्न सकिन्छ। यो विहङ्गम दृश्यले हाम्रो मानसपटललाई निकै शान्त र हृदयलाई आनन्दित तुल्याउँछ। यो स्वर्गीय सौन्दर्यलाई क्यामेरामा कैद गर्न जमुना र म केही बेर भिडियो क्लिप र तस्बिरहरू लिन व्यस्त बन्छौं। त्यसपछि, पहाडी ढिकहरूको थप रसस्वादन गर्दै हामी सुस्तरी ओरालो झर्छौं र लड चर्चको सामीप्य हुँदै फर्कने गोरेटोमा समाहित हुन्छौं।
परदेशको यो विकसित, व्यवस्थित र पर्यटकमैत्री पदमार्गमा हिँडिरहँदा मेरो मन बारम्बार आफ्नै देशको माटो, गाउँ र सम्भावनाहरू तर्फ फर्किरहन्छ। वास्तवमा, लड चर्च जस्तो ढुङ्गाको खोंच, अनौठा चट्टानी संरचनाहरू र रोचेस लूपभन्दा कयौँ गुणा बढी मनमोहक फराकिला फाँटहरू हाम्रो नेपालमा प्रशस्त छन्। हाम्रा पहाडहरू, गल्छीहरू, र ओढारहरू प्राकृतिक रूपमा योभन्दा धेरै समृद्ध र रहस्यमयी छन्। तर, विडम्बना! हामीले आफ्ना यी अमूल्य प्राकृतिक संरचनाहरूलाई अझैसम्म विश्वसामु चिनाउन र उचित ब्रान्डिङ गर्न सकेका छैनौँ।
यदि हामीले बेलायतको यो पर्यटन मोडलबाट पाठ सिकेर नेपालका स्थानीय प्राकृतिक संरचनाहरूलाई व्यवस्थित गर्ने हो भने देशले अपार फाइदा लिन सक्छ। नेपालका ग्रामीण भेगमा रहेका यस्ता अनौठा चट्टान र पदमार्गहरू पहिचान गरी प्रचार-प्रसार गर्न सके होमस्टे, स्थानीय गाइड, होटल व्यवसाय र स्थानीय हस्तकलाको बिक्री बढेर गाउँ-गाउँमा रोजगारीका अवसरहरू सिर्जना हुनेछन्। हाम्रा ऊर्जावान् युवाहरू वैदेशिक रोजगारीमा भौंतारिनु पर्ने बाध्यता स्वतः कम हुनेछ।
व्यवस्थित पर्यटन पूर्वाधार (सडक, स्पष्ट साइनेज, सञ्चार र सुरक्षा) निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार गर्न सके सरकारले पर्यटन शुल्क, भिसा र करमार्फत ठूलो मात्रामा वैदेशिक मुद्रा र राजस्व संकलन गर्न सक्छ। हाम्रा प्राकृतिक सम्पदाहरूलाई हाम्रा आफ्नै वीर गाथा, पौराणिक कथाहरू, इतिहास र संस्कृतिसँग जोडेर ‘कथा वाचन’ (Storytelling) को शैलीमा विश्व बजारमा प्रस्तुत गर्न सकिन्छ। बेलायतले एउटा साधारण ढुङ्गाको खोंचलाई इतिहास र कथासँग जोडेर ‘लड चर्च’ को नाममा संसारभरिका पर्यटक तान्न सक्छ भने, हामी त प्रकृतिको अतुलनीय वरदान पाएका मानिस हौँ। आवश्यकता केवल दृढ इच्छाशक्ति, सही नीति र आफ्ना सम्पदाको उचित ब्रान्डिङको मात्र हो। यदि हामीले हाम्रा प्राकृतिक रचनाहरूलाई सही ढङ्गले विश्व मञ्चमा प्रस्तुत गर्न सक्यौँ भने नेपाली जनताको आर्थिक समृद्धि र गाउँको मुहार फेरिने दिन धेरै टाढा छैन।






