लन्डन । हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा अन्तरिम समिति गठन गरिने भएको छ ।
अन्तरिम समिति गठनको उद्देश्यसहित आगामी १६ मे २०२६ मा अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा श्रम संस्कृति समर्थक यूके प्रारम्भिक भेला आयोजना गरिने भएको हो । भेला संयोजन राम इजमले गर्नेछन् । भेला बिहान ११ देखि साँझ ५ बजेसम्म चल्नेछ ।
‘यूकेमा विभिन्न समूहमा रहनुहुने सम्पूर्ण श्रम संस्कृति पार्टी नेपालप्रति आस्था राख्ने र समर्थन गर्नु हुने शुभचिन्तक महानुभावलाई यो प्रारम्भिक भेलामार्फत एकैठाउँमा समेट्ने र समितिको भावी योजनाको निम्ति आफ्ना धरणाहरू बटुल्ने साथै श्रम संस्कृति समाज यूके प्रवास अन्तरिम समिति गठन गर्ने । यो कार्यक्रम श्रम संस्कृति समाज यूके प्रवास समिति गठन पहल समितिको आयोजनामा सम्पन्न हुनेछ र जसको अगुवाई संयोजक राम इजमले गर्ने छन्,’ आयोजकले जारी गरेको सूचनामा लेखिएको छ ।
‘हर्कवाद’ अघि सारेर श्रम संस्कृति पार्टी स्थापना भएको चार महिनामै राष्ट्रिय पार्टी बनेको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट गरी श्रम संस्कृतिले ७ सिटसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेको छ ।






