काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठक काठमाडौंमा जारी छ । महासमिति बैठक नियमित रुपमा बस्नुपर्नेमा शेरबहादुर देउवा सभापति भएपछि पहिलोपटक बसेको हो । अहिले महासमिति बैठकमा महासमिति सदस्यहरुको गुनासोको ओइरो लागिरहेको छ । चाङकाचाङ गुनासो र आक्रोसले नेताहरु खराब कि नीति नै बेठिक भन्ने व्यापक छलफल भइरहेको छ । विशेषतः नेपाली कांग्रेसले पछिल्लोपटक प्रतिनिधिसभा, प्रदेशसभामा भोगेको पराजयप्रति बढी आक्रामक रुपमा गुनासो देखिएको छ । पार्टीभित्रै पनि अन्तर्घात भएकाले यस्तो परिस्थिति व्यहोर्नुपरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रामकको संख्या कम छैन । कतिपय नेताहरुले महासमितिमा कुरा राख्दै आफ्नो नेताप्रति आक्रामक नहुन समेत बताइरहेका छन् । पार्टीको आन्तरिक जीवनमा एकअर्कालाई निषेध गर्ने, एकले अर्कोको उछितो काढ्ने परम्परा रहेसम्म पार्टीले प्रगति गर्न नसक्ने धारणाा आइरहेका छन् ।
गुटगत राजनीतिले पार्टी विक्षिप्त बनेको गुनासो पनि उत्तिकै छ । हुन पनि गाउँ समितिसम्मै पार्टीको आन्तरिक गुटले कांग्रेस गाँजिएको छ । पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरुसामु महासमिति बैठकमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ । बोल्ने नेताहरुले गुटको अन्त्य गर्दै सरकारका कमजोरी पत्ता लगाएर जनतासामु पुग्नका लागि नेतृत्वलाई दवाव दिइरहेका छन् । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको थियो ।
उक्त प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेको थियो । अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको थियो । जारी बैठकमा बोल्ने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राखेका छन् । उक्त प्रतिवेदनमा पार्टीका सिद्धान्त र विचारका सम्बन्धमा गरिएका व्याख्या, अन्य दल र सरकारका सम्बन्धमा अभिव्यक्त धारणाका सम्बन्धमा महासमिति सदस्यले फरकफरक धारणा राखेको छ ।
साथै उनीहरुले पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि काम गर्ने शैली र मूल्याङ्कन गर्ने परिपाटीमा सुधारको सुझाव दिएको थियो ।काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा भने शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ । शीर्ष नेताबीच सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन अर्का महामन्त्री पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्ने बताइएको छ । विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।
महासमिति सदस्यको जोड– पार्टीको एकता
बैठकमा सबै जिल्ला, निर्वाचन क्षेत्र, क्षेत्रीय, जातीयरुपमा प्रतिनिधित्व हुने गरी महासमिति सदस्यलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले जानकारी दिए । महासमिति सदस्यले पार्टीको बृहत्तर एकता र हितमा जोड दिएको छ ।
महासमिति सदस्यलाई यसअघि प्रदेशगतरुपमा समूह विभाजन गरी छलफल गर्ने भनिए पनि हाल एउटै हलमा छलफल भइरहेको छ । काङ्ग्रेसले महासमिति सदस्यलई माइकमा बोल्नका लागि चार मिनेटको समय व्यवस्थापन गरेको छ । चार मिनेटमा स्वतः माइक बन्द हुने प्रविधिको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए । पार्टीले सबैका धारणा लिखित रिपोर्टिङ, श्रव्यदृश्य र श्रव्यसमेत सङ्कलन गरी सूचीबद्ध गरिरहेको र सोहीअनुसार सबैका भावना समेटिने गरी सबै प्रतिवेदन पारित गर्ने योजना बनाएको छ । बैठक पुस ३ गतेसम्म चल्नेछ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।
महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन ।
काङ्ग्रेसकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक भएको छ । मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको काङ्ग्रेसको यो महासमिति बैठकलाई सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको छ । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्गे्रसजनको अपेक्षा छ ।
बैठक सुरुवातको रौनक
सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेको थियो ।
सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ ।
‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काङ्ग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रूपमा अघि सार्दै आएको छ । काङ्ग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरिरहेका छन् । बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन् । बैठकको प्रवेशद्वार अगाडि नेपाली काङ्ग्रेसको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण घटनाक्रमसँग सम्बन्धित नेताहरूको तस्वीर अवलोकनका लागि राखिएको छ । बैठक उद्घाटनस्थल वरपर काङ्ग्रेसका झण्डा र आदर्श नारा लेखिएका फ्लेक्स टाँगिएका छन् ।
२०७२ सालमा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्गे्रसजनको अपेक्षा छ ।
नेताको उद्घोष : काङ्ग्रेस एक
महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा शीर्ष नेताहरुले भने आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताएका छन् । उद्घाटन सत्रमा बोल्दै नेताहरुले हात समाएर एकताको सन्देश दिएका थिए । तर, उनीहरुको व्यवहारमा भने त्यस्तो देखिने गरेको छैन । एकअर्काबीचमा महाधिवेसनमा देखिएको कटुता निरन्तर छ । जसको प्रभाव तल्लो स्तरसम्म पुगेको छ ।
नेताहरु बैठक उद्घाटन समारोहमा नेताहरूले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले हात समाएर एकताको सन्देश प्रस्तुत गरे । दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आह्वान गरेको थियो । गच्छदारले भाषण गर्ने बेलामा दुवै नेतालाई एक हुन सार्वजनिकरुपमा अनुरोध गरेपछि उपस्थित कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताए । महासमिति बैठकबाट एकताको सन्देश लिएर जिल्ला फर्कन उनले महासमिति सदस्यलाई आह्वान गरे । वरिष्ठ नेता पौडेलले भाषण र भावनामा भन्दा पनि आत्मादेखि नीतिगतरुपमै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए । बोलाइमा एकता व्यवहारमा अनेकता नगर्न उनले नेतृत्वलाई सचेत गराए ।
उपसभापतिद्वय गच्छदार र विमलेन्द्र निधिले विसं २०५५ मा नेताद्वय कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइरालाले एकताबद्ध भई जनतामाँझ जाँदा विसं २०५६ को निर्वाचनमा पार्टीको पक्षमा जनमत आएकोतर्फ नेतृत्वको ध्यानाकर्षण गराए । महामन्त्री डा शशांक कोइरालाले पनि दुवै नेतालाई पार्टी एकताबद्ध बनाउन सम्पूर्ण तागत लगाउन माग गरेको थियो । एकतामा पार्टीको हितभन्दा व्यक्तिको स्वार्थ महत्वपूर्ण हुनु नहुने उनको भनाइ थियो ।
बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ ।






