लण्डन। खाम भाषी मगर समाज यूकेको आयोजनामा मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक चाड “भूमे पर्व (बल पूजा) २०८३” आगामी जुन १३ तारिख शनिवारका दिन बेलायतको क्यान्टरबरीमा भव्य रूपमा मनाइने भएको छ।
प्रकृति पूजक मगर समुदायले आफ्नो थातथलोको सम्झना र परम्पराको जगेर्ना गर्दै हरेक वर्ष विशेष हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएको छ। यस वर्ष पनि बेलायतमा बसोबास गर्ने खाम भाषी मगर तथा नेपाली समुदायलाई एकजुट गराई मौलिक संस्कृति प्रदर्शन गर्ने लक्ष्यका साथ कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।
आगामी १३ जुन २०२६ का दिन Lower Hardres, Canterbury (CT4 5NP) मा आयोजना हुने उक्त कार्यक्रम बिहान ११:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा भूमे पर्वको मुख्य आकर्षण मानिने परम्परागत भूमे नाच (नोको बाङ्गे), मौलिक भेषभूषाको प्रदर्शन तथा पितृ र प्रकृतिको पूजा-आजा गरिनेछ। बेलायतको व्यस्त दैनिकीका बाबजुद आफ्नो नयाँ पुस्तालाई मौलिक संस्कार र संस्कृति हस्तान्तरण गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समाजले लिएको छ।
खाम भाषी मगर समाज यूकेले बेलायतस्थित सम्पूर्ण नेपाली, जातीय संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा संस्कृतिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनका लागि हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि समाजका अध्यक्ष लिला पुन र सचिव कञ्चन रोका लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू सक्रियताका साथ लागिपरेका छन्। कार्यक्रम सम्बन्धी थप जानकारी वा उपस्थितिको निश्चितता (RSVP) का लागि अध्यक्ष लिला पुन (०७७१७१४३०९८) वा सचिव कञ्चन रोका (०७७३५९८५१९४) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।






