ज्ञानेन्द्र पुन – नेपाल।
यस वर्षको ‘मगर मौलिक सांस्कृतिक राष्ट्रिय गरिमा पुरस्कार २०८३’ बाट सांस्कृतिक अभियन्ता तथा स्रष्टा किरणबाबु पुनमगरलाई प्रदान गरिएको छ।
आदिवासी मगर समुदायको मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विशेष योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूमध्येबाट छनोट गरी हरेक वर्ष नेपाल मगर संघ केन्द्रीय समितिले भूमे पर्वको अवसर पारेर ११ हजार १ सय ११ रुपैयाँ धनराशि सहित पुरस्कृत गर्ने प्रचलन बमोजिम यस वर्ष (२०८३) मा पुनमगरलाई पुरस्कृत गरिएको हो। यो कुरा नेपाल मगर संघ केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष रक्षबहादुर रैकामगरले बताउनुभयो। गत वर्ष २०८२ मा डा. प्रतिभा पुनमगरलाई, २०८१ सालमा माननीय डा. मिन श्रीसमगरलाई र २०८० सालमा पहिलो पटक संस्कृतिविद् बोमकुमारी बुढामगरलाई सम्मान गरिएको जानकारी पनि अध्यक्ष रैकामगरले गराउनुभएको छ।
यस पुरस्कारबाट आफूलाई सम्मानित गरेकोमा संघलाई धन्यवाद दिँदै पुरस्कृत पुनमगरले, यो सम्मानले आफूलाई संस्कार र संस्कृति जर्गेना गर्ने कार्यमा थप क्रियाशील हुन प्रेरणा जगाएको र आगामी दिनमा अझ व्यवस्थित भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।
मगर संस्कार र संस्कृतिको जर्गेना, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका महानुभावहरूलाई प्रोत्साहित गर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा प्रवेश गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो पुरस्कारको शुभारम्भ गरिएको तथा यसले दस्तावेजीकरणको अभियानलाई ठूलो सहयोग पुग्ने संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पुनमगरले एभरेष्ट टाइम्सलाई जानकारी गराउनुभयो।










