नेकपाद्वारा बाह्य हस्तक्षेपको विरोध

SHARE:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएला प्रकरणमा आफ्नो अडान दोहोर्‍याएको छ । सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने बताएको छ ।

राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने नेकपाले बताएको छ ।

सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ गते माघमा विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि अमेरिकाले भेनेजुलाएला प्रकरणमा नेपाल सरकारको आधिकारिक धारणा माग्यो । परराष्ट्र मन्त्रालयले कूटनीतिक भाषामा तर, प्रचण्डकै भावमा वक्तव्य जारी गर्‍यो ।

कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधानअनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने सरकारको वक्तव्य थियो । लगतै सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ गरेको थियो । तर, अमेरिकी राजदूत आएनन् ।

विपक्षी नेपाली कांग्रेस लगायत विभिन्न क्षेत्रबाट भेनेजुएला प्रकरणमा नेकपा र सरकारको आलोचना भएको थियो । कांग्रेसले नेपाललाई अमेरिकाले आर्थिक सहयोग गर्दै आएकाले उसलाई चिढ्याउन नहुने तर्क गरेको थियो ।

सत्तारुढ नेकपाले भने पार्टीको धारणा दोहोर्‍याउँदै सचिवालय बैठकबाटै वक्तव्य जारी गरेको छ । सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने ‘यस पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा छैन । यस सम्बन्धमा पार्टीको दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छ ।’

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको ब्रिफिङमा अमेरिकी राजदूत नआएको लगायतका विषयमा जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!