नेपालमा केही समययता बन्द र विरोध प्रदर्शन जस्ता कार्यक्रम हुन थालेपछि मित्र राष्ट्रहरुले ट्राभल एडभाइजरी जारी गरेर नेपाल भ्रमण गर्दा सतर्क रहन आफ्ना नागरिकहरुलाई आग्रह गर्न थालेका छन् । सोही क्रममा बेलायतले नेपाल भमणमा रहेका बेलायती नागरिकलाई सतर्क रहन आग्रह गर्दै गत हप्ता नयँ ट्राभल एडभाइजरी जारी गरेको छ । खासगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आयोजना गरिएको नेपाल बन्दमा केन्द्रित रहेर जारी गरिएको ट्राभल एडभाइजरीमा बाहिर निस्कँदा सुरक्षाकर्मीको सल्लाह लिन र मुख्य सडक मात्रै प्रयोग गर्न आग्रह गरिएको छ ।
सो एडभाइजरीमा राजनीतिक हिसाबका प्रदर्शन भइरहेको र हड्ताल जस्ता गतिविधि नेपालमा सामान्य भएको जनाउदै त्यस्ता गतिविधि छोटो सूचनाकै आधारमा हुन सक्ने तथा कानुन कार्यान्वयन निकाय र प्रदर्शकारीबीच जुनसुकै बेलामा झडपको अवस्था आउन सक्ने जनाइएको छ । वक्तव्यमा प्रदर्शनबाट जोगिन समेत आग्रह गरिएको छ । स्थानीय समूहले व्यापारिक समुदायमाथि चन्दा असुलीको कार्य अघि बढाइरहेको जनाउँदै एडभाइजरीमा चन्दा असुल्ने कार्य गैरसरकारी निकाय र स्थानीय तथा अन्तर्रा्ष्ट्रिय विद्यालयमा समेत हुने बताइएको छ । गएको फेब्रवरी र मार्च महिनामा काठमाडौंमा नै विस्फोटक पदार्थ प्रयोग गरिएको जनाउँदै एडभाइजरीमा त्यसमा एक जनाको मृत्यु भएको तथा केही घाइते भएको समेत उल्लेख गरिएको छ । नेपाल भूकम्पको प्रमुख क्षेत्रमा रहेको र सानातिना भूकम्प गइरहन सक्ने जनाउदै सो सम्बन्धी सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
नेपालमा मनसुन जुन देखि सेप्टेम्बरसम्म रहने जनाउदै सडक यातायात खासगरी दुर्गम क्षेत्रमा नेपालमा खतरापूर्ण हुन सक्ने जनाइएको छ । नेपालका सबै विमान कम्पनीलाई युरोपेली संघ (इयु)का राष्ट्रमा अनुमति नरहेको जनाउदै एडभाइजरीमा रातिको समयमा नेपालमा नहिड्न समेत सचेत गराइएको छ । वायु प्रदूषणसमेत व्यापक रुपमा रहेको समेत बेलायतले जनाएको छ । आतंककारी समूहका गतिविधि पनि हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गर्दै नेपाल जानुअघि विस्तृत रुपमा ट्राभल एण्ड मेडिकल इन्सुरेन्स गराउन आग्रह गरिएको छ । यसअघि द्धन्द्धकालिन अवास्था विभिन्न देशहरुले यस्ता विज्ञप्तीहरु जारी गर्ने गर्दथे । तर यसपटक पनि विप्लब माओवादीले केही हिंसात्मक गतिविधि देखाउन थालेपछि यस्तो प्रतिक्रिया वेलायतले दिएको हो ।