गण्डकी बोर्डिङ्ग स्कुलको वार्षिक भेला र मेरा अनुभूति

SHARE:

सुधा गुरुङ
सन् १९६५, जून ११ मा स्थापित गण्डकी बोर्डिङ्ग स्कुल, पोखराका भूपू विद्यार्थीहरुको दोस्रो वार्षिक भेटघाट कार्यक्रम अल्डरसटको माइतीघरमा गत शनिबार सम्पन्न भयो । बेलायतमा जिबिएसका अन्दाजी १०० भूपू विद्यार्थीहरु रहेको अनुमान गरिएको भए तापनि केवल ३५ विद्यार्थीहरुमध्ये पाँच जना मात्र सपत्नी उपस्थित भएका थिए । जसमा म (सुधा गुरुङ) पनि श्रीमान् लालप्रसाद गुरुङसहित सम्मिलित भएकी थिएँ । त्यस्तै कोलचेस्टरबाट नवीन गौचन दाइ पत्नी बसुधाका साथ, फार्नबोरोबाट टंकुप्रसाद गुरुङ दाइ, स्वीन्डनबाट दुधमान गुरुङ दाइ र मेडस्टोनबाट एक जना भाइ पत्नीसहित उपस्थित थिए । बाँकी सबैलाई अर्को वर्ष एक्लै हैन दुक्लै आउन आग्रह गरिएको थियो । के कसो होला त्यो भविष्यले नै बताउनेछ ।
जिबिएसका पहिलो ब्याचका भूपू विद्याार्थीहरु सुप्रसिद्ध पोखरेली साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति सरुभक्त श्रेष्ठ दाइ, पोखरेली गीतकार एवम् संगीतकार साथै चिल्ड्रेन स्कुल, हङकङका पूर्वशिक्षक बिक्रम गुरुङ दाइ र बोर्ड फस्ट दानबहादुर शाही दाइको ब्याचले कारणवश सो स्कुलबाट एसएलसी दिन नपाएको तर स्कुलकै होस्टेलमा बसी पोखराका अन्य स्कुलबाट २०२८ सालमा एसएलसी उत्तीर्ण गरेको किस्सा धेरै पटक लालजीको मुखबाट सुनेकी छु । त्यसैले जिबिएसको दोस्रो ब्याच भए पनि एसएलसी पास गर्ने पहिलो ब्याच उहाँहरुकै रहेको भन्ने पनि थाह थियो, त्यस अर्थमा सो भेलाको मोस्ट सिनिएर सहपाठीद्वय लालप्रसाद गुरुङ र टंकुप्रसाद गुरुङ साथै जुनियरमा २००४ मा प्लस टू उत्तीर्ण गर्ने सिर्जना थापा पनि उपस्थित थिइन । अन्य सिनियरहरुमा देव गुरुङ (२०३३), दुधमान गुरुङ (२०३४), नवीन गौचन, हरिप्रसाद गुरुङ र त्रीलोक गुरुङ (२०३५) थिए । १९८६ का र २००४ ब्याजका ठूलै जमात रहेछ । बेलायत बाहिरबाट पनि विद्यार्थीहरु सहभागी भएकोमा सबैले खुसी व्यक्त गरे । हङकङबाट सफल व्यवसायी (पूर्व १ र २ जी आर) त्रीलोक गुरुङ र अर्का एक भाइ, साथै अमेरिकाबाट पनि एक जना भाइ आएका थिए । नर्वीचबाट कन्सलट्यान्ट डा. कमल अर्याल पनि कार्यसमितिमा सक्रियताका साथ लागेका रहेछन्, चिनापर्ची भयो खुसी लाग्यो । बेलायतका विभिन्न स्थानबाट सहभागी भएका गण्डकिएनहरुको परिचयको क्रममा आआफ्ना दक्षता अनुसारका विविध पेसामा सफल र सुखी रहेको जानकारी पाइयो ।
लाल गुरुङका दाजुभाइ, गंगाप्रसाद, लालप्रसाद र हरिप्रसाद तीनै जनाले जीबीएसबाट एसएलसी उत्तीर्ण गरेका हुन् । सिंगापूरबाट अवकाश प्राप्त गरेपश्चात् सन १९६९ मा पोखरास्थित तत्कालीन नेपाली आदर्श विद्यालय (गण्डकी बोर्डिङ्ग स्कुल) मा आफ्ना तीन जना वर्षौटे छोराहरुलाई भर्ना गराउन लैजाँदा तत्कालीन हेडमास्टर थोमस भाल्बिकले उहाँहरुका बाबा क्याप्टेन हर्कबहादुर गुरुङको हात समातेर अति हर्षित मुद्रामा यसरी आफ्ना तिन्टै छोराहरुलाई एकैसाथ भर्ना गर्न ल्याउने उहाँ नै प्रथम ब्यक्ति भएको भन्दै आन्तरिक हृदयबाटै धन्यवादसहित कृतज्ञता जाहेर गरेको कुरा अझै पनि बाबाले कुरा गर्नुहुन्छ ।

आफ्नो स्कुलप्रति लालजीको पनि अति मोह रहेको र स्कुले सहपाठीहरुसँग बिताएका रमाइला प्रसंगहरु अक्सर सुन्दासुन्दा मलाई पनि अधिकांश उहाँका साथीहरु कति नामले चिनिने त कति चिनजानकै भएकोले पनि आफ्नै जस्तो आभास हुन्छ । उहाँका अधिकांश सहपाठीहरु नेपालका ख्यातिप्राप्त डाक्टर, इञ्जिनियर र नेपाल सरकारको उच्चपदस्थ अधिकृतका रुपमा कार्यरत रहेका छन् । जसमा नेपालका वरिष्ठ न्यूरो सर्जन बसन्त पन्त, फिजिसिएन डा. जयवन्तबिक्रम शाह, हृदयरोग विशेषज्ञ डा. गोपी हिराचन, डा. बालमुकुन्द तुलाचन आदि हुन् । लालजी स्कुलपछि शिक्षण अस्पताल महाराजगंज र पृथ्वीनारायण क्याम्पसमा आईएससीसमेत चहारीवरी भवीतव्यका कारण भर्ती लागेका र उनका दुई सहपाठी, गंगा गुरुङ र टंकू गुरुङ पनि बेलायती सेनातिर लागेका रहेछन् । जे होस्, ज–जसले जे जे पेसा अंगालेको भए पनि सबै आ–आफ्नै हिसाबले सफल र सुखी जीवन बिताइरहेकोमा सबैले खुसी व्यक्त गर्दै आफ्नो स्कुलप्रति सदा आभारी रहने कुरा व्यक्त गरे ।
सो भेलामा कतिपय पल्टने चिरपरिचित मुहारहरु भेटिए जुन जिबिएस प्रोडक्ट भनेर थाह थिएन । जस्तो क्यूओजीएलआरका क्याप्टेन दुधमान गुरुङ दाइ र मीनासँग १९८६ सालमा पहिलो पल्ट हङकङ जाँदा उहाँहरुसँगै म “पार्सल’’ गएकी हुँ, त्यतिबेलादेखिको पुरानो चिनजान तर थाह थिएन, खुसी लाग्यो । (मान्छे पनि पार्सल जान्छन् र ? भन्ने कुरो अहिलेका नयाँ पिढीका लाहुरे र लाहुरेनीहरु वा पल्टने ब्याक ग्राउन्ड नभएकालाई अचम्म लाग्न सक्छ । हजुर ! उहिले उहिले पल्टनमा भएका लाहुरेले फ्यामिली पर्मिसन पाएपछि नेपालबाट श्रीमती झिकाइने प्रथालाई पार्सल भनिन्थ्यो, जुन हाजिर हुने लाहुरेका साथ लगाएर पठाउने चलन थियो ब्रिटिस क्याम्प, काठमाडौंबाट । त्यो पनि एक जमाना थियो, अहिले सम्झिँदा अचम्म लाग्छ)

त्यस्तै तर्कजंग गुरुङ, १८८६ वाला ब्याजका धनु थकाली, ओम गुरुङ, कमल गुरुङ, टिक गुरुङ आदि चिरपरिचित मुहारहरु पूर्व जिबिएस रहेछन् भन्ने बल्ल थाह पाउँदा खुसी लाग्यो ।

अब उप्रान्त छात्राहरुलाई नि जोड्न सबैले जोड दिनुपर्ने कुरोमा सहमति जनाए सबैले । यो पटक १ र २ गोर्खा राईफल्सका क्याप्टेन कर्ण थापा दाइको छोरी सिर्जना हामीसँग सम्पर्कमा रहिरहेकोले हामीले बोलाएका थियौ, कार्यक्रमको मध्यमा आइपुगिन्, सबैले स्वागत गरे साथै १९६५ मा स्थापना भएको तत्कालीन नेपाल आदर्श विद्यालयको ५४औं वार्षिकोत्सवको केक पनि उनैको हातबाट काट्न लगाएर खुसी र हर्षोल्लास साटासाट गरे ।

समग्रमा साह्रै रमाइलो भयो । बेलायतमा सबैको सप्ताहन्त अति नै व्यस्तताका साथ बित्छ । कता कता भ्याउने भन्ने हम्मेहम्मे हुन्छ तर समय निकालेर भ्याउने जतिले आफ्नो स्कुले भेलालाई प्राथमिकता दिई उपस्थिति जनाएको देख्दा खुसी लाग्यो । स्कुले भेलामा खाने र पिउनेमात्रै नगरी आफूहरुलाई यति सक्षम र सफल बनाउन अग्रणी भूमिका खेल्ने आफ्नो स्कुलप्रति पनि केही जिम्मेवारी वहन गरौं, कुनै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको लागि केही गर्ने हो कि ? भन्ने प्रसंग नवीन गौचन दाइले उठाउँदा सफल व्यवसायी त्रीलोक गुरुङले तत्कालै रु एक लाख प्रदान गर्ने घोषणा गरे । अन्यले पनि बोल्नेक्रम जारी थियो तर सर्वसम्मतिले त्यसै अहिले जोश र हतारमा रकम संकलन गर्नुभन्दा पछि अलि व्यवस्थित रुपले सहयोग रकमबाट के कस्तो दिगो सहयोग र फाइदा पुर्‍याउन सकिन्छ भन्ने छलफल गरी रकम संकलन गरिने सल्लाह गरे ।

रमाइलो गफगाफ, मीठो खानपान र हल्का नाचगानका साथ अपराह्न १ बजे सुरु भएको कार्यक्रम साँझको साँढे आठतिर आगामी भेला २०२० को जून १३ तारिख शनिबार गरिने निधोसहित सबै बिदाबारी भए । कार्यक्रमको अन्तिम चरणमा अधिकांशले स्कुलमा बिताएका केही अविष्मरणीय घटनाहरुको संस्मरण गरे, जुन अति रोचक थिए । अल्हड उमेरको उट्पटाङ्ग कामहरु संझेर हँसाए… धवलागिरि होस्टेलका सिनियर छात्रहरु सेती खोलाको बगरमा राति नांगै फुटबल खेल्दा टर्च बालेर खोज्न आएका हाउस फादरले भेटेपछि कति दिनसम्म निर्माण गर्न लागिएको स्कुल भवनका लागि सेती खोलाबाट ढुंगा बोकेको सजायको घटना संझे । छ्याङ खान सेतीको साँघुरो साँघु तरेर जाने गरेको, को को ले खैनी चुरोट खान को कोलाई सिकाए ? ती जिनिस कता कता लुकाउथे ? साईन्स ल्याबका लागि आधारातमा सेती खोलामा गाडेको मुर्दाको कंकाल निकालेर राख्दा पाले दाइलाई कसरी तर्साएर हैरान पार्‍यो ? आदि रोचक कुराहरुको पोल खोलाखोल गरे सिनियरहरुले !

बोर्डिङका लड्काहरु र कन्या स्कुलका लड्कीहरुको आँखै आँखामा लभ अनि आँखै आँखामा ट्रेजेडी पर्ने, चाहेर पनि बोल्न नसक्ने त्यो बेलाको चलन, कदमकाल बोलीहाले तिनका दाजुभाइले पाखुरा सुर्काउने ती दिन पनि संझेर रमाइलो माने ! त्यसै पनि बोर्डिङ्गका केटाहरु र कन्या स्कुलका केटीहरुको पोखरामा जोकहरु प्रख्यातै थियो उ बेला…जे होस् समग्रमा अति रमाइलो भयो । आगामी साल अझ धेरैको सहभागिता रहोस् साथै जिबिएसका टोलीको भाइचारा र सद्भाव सदा यसरी नै कायम होस..हार्दिक शुभकामना सबैलाई…!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!