बेलायतको चिसोमा नेपालको स्वाद: मार्फाली रायोको खेती !

SHARE:

शिव कुमार गुरूङ

नेपालको हिमाली भेग मार्फाबाट सुरु भएको यो रायोको बिउँ आजभोलि नेपालमा मात्र होइन, विश्वभरिका नेपालीहरूको करेसाबारीमा शान बनेको छ। यसको मुख्य विशेषता भनेको विशाल पात र मुखै रसाउने स्वाद हो।

बेलायत जस्तो चिसो हावापानी भएको ठाउँमा पनि यसलाई सफलतापूर्वक उत्पादन गर्न सकिन्छ भन्ने कुरा हामीले आफ्नै करेसाबारीमा प्रमाणित गरेका छौँ। यसको खेतीमा हाम्रो परिवारको एउटा सानो र मिठो ‘टिम वर्क’ छ:

हाम्रो पारिवारिक ‘टिम वर्क’ र मार्फा रायोको कथा:
यो खेतीको सम्पूर्ण जस मेरो अर्धाङ्गिनीलाई जान्छ। उहाँले आफ्नो फुर्सदको समय खर्चिएर, निकै मेहनत र ममताका साथ यी सागहरू हुर्काउनुहुन्छ। मेरो भूमिका भने अलि सजिलो छ— साग सप्रिएपछि सुन्दर फोटो खिच्ने, फेसबुकमा पोस्ट गर्ने र उहाँले पकाउनुभएको स्वादिलो परिकार ‘वाह!’ भन्दै स्वाद मानी-मानी खाने!

छोरा, बुहारी र छोरीलाई भने यो साग त्यति मन पर्दैन। कहिलेकाहीँ त उनीहरू जिस्कँदै भन्छन् पनि— “ममीले पनि कति धेरै साग मात्र पकाएको!” तर हामीलाई त यही अर्ग्यानिक सागको स्वाद नै सबैभन्दा प्यारो लाग्छ।

साग बढी भएर खान नभ्याइने अवस्था भयो भने मेरा ससुरा बुवाले आफ्नो सीप देखाउनुहुन्छ। उहाँलाई परम्परागत शैलीमा गुन्द्रुक बनाउने निकै राम्रो ज्ञान र अनुभव छ। उहाँले हरेक वर्ष मेहनतका साथ बनाइदिनुहुने ‘अर्ग्यानिक गुन्द्रुक’ ले गर्दा नै हामीले बेलायतमा बसेर पनि वर्षैभरि गाउँघरकै जस्तो स्वादिलो अचार र झोल खान पाइरहेका छौँ।

खेती गर्ने हाम्रो अनुभव:
•बिउँ र बेर्ना: सेप्टेम्बरतिर बिउँ रोप्छौँ र अक्टोबरको मध्यतिर बेर्ना सार्छौँ।
•जाडोको सामना: जाडोभरि हिउँ र चिसोलाई सहँदै यसले जरा गाड्छ। फेब्रुअरी महिनामा  अलिअलि गोडमेल गरी कुखुराको मल (Chicken Manure) हालेपछि यसको वृद्धि हेर्न लायक हुन्छ।
•स्वादिलो समय: मार्च र अप्रिल महिना यसको स्वाद लिने सर्वोत्तम समय हो। यो बेला साग कलिलो र रसिलो हुन्छ। विशेष गरी सुँगुर/बङ्गुरको मासुमा यो साग मिसाएर पकाउँदा त यसको स्वाद झनै गज्जब हुन्छ!
•सिजन पछि: मे महिना लागेपछि साग छिप्पिन थाल्छ, डाँठहरू आउँछन् र पहेँला फूलहरू फुल्न सुरु हुन्छ। यो अवस्थामा सागको स्वाद अलि तितो हुने गर्दछ। तर, यो समय अर्को वर्षको लागि तयारी गर्ने बेला पनि हो। यदि तपाईंलाई अर्को सिजनको लागि बिउँ चाहिन्छ भने, राम्रो सप्रिएका एक-दुई बोटलाई नटिपीकन बिउँको लागि छोडिदिन सक्नुहुन्छ। यसो गर्दा बजारबाट बिउँ किनिरहनु पर्दैन र आफ्नै बारीको रैथाने बिउँ सुरक्षित हुन्छ।
•बाँकी रहेका छिप्पिएका सागहरूलाई हामी खेर जान दिँदैनौँ। ती सबैलाई ससुरा बुवाको सहयोगमा ‘अर्ग्यानिक गुन्द्रुक’ बनाएर राख्छौँ, जसले गर्दा बेसिजनमा पनि सागको तिर्सना मेट्न पाइन्छ।

विशेष टिपोट:
बेलायतको चिसोमा १८ इन्चसम्म लामो पात हुनु नै यो सागको गुणस्तरको प्रमाण हो। यदि तपाईँ पनि आफ्नै करेसाबारीमा शुद्ध नेपाली स्वाद चाहनुहुन्छ भने ‘मार्फा रायो’ लगाउन नबिर्सनुहोला । तपाईँको करेसाबारीमा यसपालि के के छन् त? कमेन्टमा फोटो साझा गरौँ है!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!