विजय हितान
होलिडेको प्रेसर
१०–१४ अप्रिल २०१९
देशगुनाको भेष गर्नैपर्यो । गोरा सहकर्मी साथीहरू वर्षमा एक, दुईपल्ट होलिडे जान्छन् । आफ्नो होलिडे जाने चलन नभए पनि जानै पर्यो । स्कुले छोराछोरीले मम्मी आज बेलुकी डिनर के हो भनेझैँ ड्याड यो वर्षको होलिडे कहाँ हो भनेर सोध्छन् । अनि होलिडे जानैपर्ने प्रेसर आउँदोरहेछ । इस्टरलाई पारेर कार्यालयको म्यानेजरद्वारा उहिले नै छुट्टीमा बस्ने स्वीकृति लिइसकेको थिएँ, होलिडे मिले जाउँला नत्र नेपाली नयाँ वर्ष मनाउँला भनेर ।
तर होलिडे बुक भइसकेको थिएन । कहाँ जाने कहाँ नजाने दोधारे मन । युरोप जाऊँ भने ब्रेक्जिटको अनिश्चितता । मार्च २९ मा बेलायत इयुदेखि बहिर्गमन हुनेवाला । त्यो मिति अप्रिल १२ मा सारियो । मेरो छुट्टीको बेला । यस्तो अवस्थामा युरोप छिरियो भने त बूढो उतै अड्किने हो कि, श्रीमतीको शङ्का । उसो भए बेलायतभित्रै आन्तरिक पर्यटक बनौँ भनेर एक दुई होलिडे एजेन्टका वेबसाइड चहारियो । कतै महँगो, पैसा तिरेजस्तो सेवा उपलब्ध नभएको त कतै समय नमिलेको ।
नेपाल जाऔँ भने केही महिनाअघि मात्रै गएर आएको । नेपाल जाँदा छुट्टीजस्तो पनि लाग्दैन । नेपाल जहिले पनि कि पुस्तक प्रकाशन वा साहित्य गोष्ठी कि कुनै अध्ययन/अनुसन्धान वा परोपकारी कामको कोष वितरण कि कोही दुःख, बिमार वा मर्दापर्दा इत्यादि कारणले मात्रै गइन्छ । अनि होलिडे नभएर काजमा गएजस्तै लाग्छ । भाडै महँगो ! नेपाल उड्ने दामले युरोपमा मज्जाको होलिडे मनाउन सकिन्छ । नेपाल हवाई सेवाको वाइड बडी जहाज लन्डनतिर विस्तार गरियो भने भाडा
अलि सस्तो हुन्थ्यो कि ?
ओदानका तीन खुट्टा भनेझैँ बल्लबल्ल मेरो र श्रीमतीको काम र छोराछोरीको स्कुलको समय मिल्न गयो । कतै गइएला जस्तो लागिरहेको थिएन, छुट्टीको दिन आउन एक हप्तामात्रै बाँकी थियो ।
कारणैबिना ढाड दुख्ने रोग फेरि बल्झेर आयो, बोक्सी लागेजस्तो । अनुहारलाई हेरेर सबैले अझै जवानी छौं हितान भन्नेहरूलाई ढाड दुख्छ म कसरी भनुँ ? बाहिर बोक्रोभित्र खोक्रो हुँदै गएको मेरो शरीर अरुलाई के थाहा ! चिसोले पो हो कि ? उज्यालो दिन लम्बिरहेको भए तापनि बाहिरको तापक्रम ८/९ डिग्रीको अवस्थाले गृष्म ऋतु आउन अझै पर्खनुपर्ने भान हुन्थ्यो । यता पैसा तिरेर होलिडे बुक गर्ने उता ढाड पूर्ण निको भएन भने ! दुई दिनअगाडि ढाड दुख्न अलि मत्थर भयो ।
अन्तत्वगत्वा जर्सी आइलेन्ड भ्रमणमा जाने तय भयो ।
उडेर कि गुडेर
जर्सी कहाँ पर्दोरहेछ भनी गुगल म्यापमा सर्च गरेँ । पर्दोरहेछ बेलायतदेखि तल दक्षिणमा फ्रान्सको नजिकै । हवाइजहाज वा पानीजहाजद्वारा जान मिल्दोरहेछ । जर्सी र गन्जी भनिने टापुहरू दुई भाइजस्तै वल्तिरपल्तिर पर्दारहेछन् । हाम्रो यो पर्यटकीय यात्रा आन्तरिकभन्दा पनि आन्तरिकजस्तो भएन । किनकि जर्सी टापु बेलायत महाद्वीपबाट छुट्टै छ । बाह्यभन्दा पनि बह्य भएन । किनकि जर्सी टापु बेलायतकै एक संघीय राज्य पर्दोरहेछ । भयो त हाम्रो यात्रा संघारजस्तो बीचको ।
उडेर जाऔँ कि गूडेर जाऔँ ? उडेर जाऔँ भने नेपालमा आन्तरिक उड्डयनका हवाईजहाजहरू चरा खसेझैँ खसेका समाचार आउँदै गरेका थिए । गत फेब्रुअरीमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित अन्य छ जना चढेको हेलिकप्टर खस्यो । मार्चमा एक सय सन्ताउन्न यात्रुको लास पहिचान हुन नसक्ने गरी बोइङ यात्रुवाहक जहाज इथियोपियामा दुर्घटनाग्रस्त भयो ।
यो दुखित र त्रसित मनले उडेर नजा भन्यो । हुन त, जिन्दगीमा ३० पल्टभन्दा धेरै हवाइयात्रा गरिसकेको छु ।
गुडेर अनि तैरेर जाने निधो गरियो । उड्नु र गुड्नुको भाउ झन्डैझन्डै उस्तै रहेछ । नाङ्गो आकाशमात्रै हेर्दै के जानु ? हरियो जमिन र निलो समुद्र चुम्दै जाऔँ न । भनिन्छ पर्यटनलाई वातावरणमैत्री बनाउनुपर्छ । यति टाढा, फोक्स्टोनबाट जमिन र समुद्र हुँदै तीन सय माइल र आकाश हुँदै दुई सय माइल ! जसरी जाऔँ, जलवायु परिवर्तनलाई बढावा दिने हानिकारक ग्यास कार्बनडाइअक्साइड उत्सर्जन भएरै छोड्छ । हिँडेर या साइकलबाट पुग्न सम्भव छैन ।
मानवीय सुविधालाई ख्यालमा राख्दै कारमा जाने निधो भयो । उडेरभन्दा गुडेर जाँदा प्रतिव्यक्ति कार्बनडाइअक्साइड केही बढी उत्सर्जन हुन सक्ने अड्कल काटेँ । सोचेँ, मेरो दिनदिनैको क्रियाकलाप वातावरणमैत्री छँदै छन् । यो यात्रा वातावरणमैत्री हुन नसक्दा ग्लानि महसुस भयो । जानीजानी पाप गरेर भगवान्सँग माफ मागेजस्तो । डाक्टरले अरुलाई सिगरेट तान्न हुन्न भन्ने तर आफूले तानेजस्तै ।
लाबुन दाइ र अमला भाउजू
लाग्यौँ हामी तीन प्राणी फोक्स्टोनबाट पुलतिर । आइफोनको गुगल नक्सा यापमा पोस्ट कोड बीएचवान वानएए हालेँ । देखायो १७० माइल अनि पुग्न लाग्ने समय २ घण्टा ५५ मिनेट । पुलनजिकै बर्नमथमा भूपू लाहुरे लाबुन दाइ सपरिवार बस्नुहुन्छ । साँझ त्यहाँ पुगेर अमला भाउजूले बनाएको मिठो खाना खाइयो । गज्जबको लाहुरे संस्कार । सेलरोटी, आलुदम, कुखुराको फिला अनि रेड लेवल टेबलमा ओइरियो । ट्राफिक पुलिसले फुक्ने गराइहाले मापदण्ड ननाघिने मात्रामा मैले पिएँ चिरिप चिरिप । पिइदिएन भने घरबेटी रिसाउने हाम्रो चलन । ड्राइभरलाई भन्दा पेसिन्जरलाई डर लागेर होला, मेरो प्यालातिर श्रीमतीले आँखा तन्काउँदै थिइन् । त्यहाँ धेरै होइन है बुढा भन्ने सङ्केत मैले बुझिहालेँ । अमला भाउजूको आपूर्ति र श्रीमतीको मागलाई सन्तुलनमा राख्न मलाई हम्मेहम्मे पर्यो । कन्जरभेटिभमा बसेर पछाडिको हरियो गार्डेन दृश्यालोकन गर्दै त्यस साँझलाई हामी अँध्यारोतिर धकेलियौँ ।
पेरोन क्याम्प हङकङमा सँगै बिताएका दिनहरू सम्झिँदै दुई तीन घण्टा कत्ति छिट्टो बितेछ । सानोमा देखेको छोरो रोहित विवाह गर्ने उमेरको भएछ । क्युजीई पल्टनमा सन् १९९० तिर सँगै बिताएका दिनहरूलाई नवीकरण गरियो । हाम्रो चलनमा आफूभन्दा जेठोलाई दाइ र उनकी श्रीमतीलाई दिदी भनिन्छ । आफूभन्दा कान्छोलाई भाइ र श्रीमतीलाई बैनी । यो त साइनो भएन नि ! त्यसर्थ म भन्ने गर्छु, दाइ भाउजू र भाइ बुहारी । लाबुन दाइ र अमला भाउजूसँगको चिनारी धेरै पुरानो हो । हङकङमा सन् १९९६/९७ तिर निवृत्त भइसकेर पनि हाम्रो देखाभेट भइरहन्थ्यो । दाइ मावान पुल निर्माण परियोजनामा वेल्डर र म ताइलाम्चुङ सुरुङ निर्माणमा फिटर मेकानिक्सको रूपमा कार्यरत थियौँ । हामी दुवैले सैनिक जीवनमा छँदा सिकेको सिपलाई नागरिक जीवनमा प्रयोग गर्दै आर्जनको बाटो बनाएका थियौँ ।
बेलायत आएपछि फोनमा कुरा हुन्थ्यो तर भेटघाट भएको थिएन । त्यो साँझ हामीले फोटा खिच्यौँ र फेसबुकमा हाल्यौँ । दुई/चारजना क्युजीईका साथीहरूले कमेन्ट र लाइक हानिहालेँ । यस भ्रमणमा एक काम दुई पन्थ भयो । वातावरणमैत्री पनि भयो । दाइभाउजूलाई भेट्नमात्रै भनेर फेरि त्यति लामो ड्राइभिङ गर्न परेन । त्यसपछि बिदा मागेर बीएनबीमा सुत्न गयौँ ।
मन्तरीको बास
पुलदेखि जर्सीका लागि हाम्रो पानीजहाज बिहान सबेरैको थियो । फोटोसँगको परिचय खुल्ने कागजपत्र चाहिनाले जाँच काउन्टरमा पासपोर्ट देखायौँ । अनि कारलाई आँ गरेको पानी जहाजको मुखभित्र हुलेर हामी माथिल्लो यात्रु डेकमा उक्ल्यौँ । जहाजले आफ्नो पूर्वनिर्धारित समयानुसार हार्बर छोडिहाल्यो । त्यही त छ, बेलायतीहरूको विशेषता, एक मिनेट पनि ढिला नगर्ने ! घाम लागे नि मौसमा चिसो महसुस भइरहेको थियो । तापक्रम ९ डिग्री मापन भएको थियो । ४ घण्टासम्मको तैराइपछि जहाज अवतरण हुने सूचना आयो । हामी झर्नलाई उठ्यौँ । तर त्यो त गन्जी आइल्यान्ड रहेछ । ए हाम्रो गन्तव्य त जर्सी हो नि भनेर यथास्थानमा बस्यौँ फेरि । अझ एक घण्टापछि मात्रै जर्सी पुगिने जानकारी मिल्यो ।
जर्सीको राजधानी सेन्ट हिलिएर एक टहला घमाइलो घाम ओढेर हाम्रो स्वागतमा रहेछ । उत्रेपछि मन्टेरी तीनतारे होटेलतिर लाग्यौँ । मन्टेरीभन्दा मन्तरी भन्न सजिलो लाग्यो मलाई । विदेशी स्थानका नाम नेपाली नेपाली खालका छन् भने म तिनलाई नेपाली पारामै उच्चारण गर्न मनपराउँछु म । मेरो बासस्थान फोक्सटोन सहरमा रेडनरपार्क छ, म त्यसलाई रत्नपार्क भन्छु । एम ट्वान्टी मोटरवेमा क्लाकट लेन भनिने एक सर्भिस स्टेसन छ, सडकमा गुडेर यात्रा गर्ने सडुवाका लागि एक विश्रामस्थल । बाटोमा हिँडेर यात्रा गर्ने बटुवाका लागि एक बिसौना भनेझैँ । अल्डरसट फार्नबोरोतिरको सामाजिक कार्यमा निस्कँदा दिसापिसाब र कफी चियाका लागि म त्यहाँ पस्छु । त्यसलाई म कलकत्ता लेन भन्ने गर्छु । त्यो दिन हामी होटेलभित्रै पौडी खेल्यौँ । किन हो, सानोमा भैरहवा बस्दा दुर्गा मन्दिरको तलाउमा पौडेको याद आयो । जाकुचीको भूलभूल तातोपानीमा डुबुल्की मार्यौँ । सौनाको वाफमा सेकियौँ । मधेसको गर्मी याममा बिताएका दिनहरूलाई एकक्षण सम्झिने गरायो । लाग्यो, मधेसको जस्तो गर्मी वातावरण मानवका लागि लाभदायक रहेछ । यसो हुन्थ्यो भने म मधेसमा हुर्किंदा चिलाउने घमौरा किन आउँथ्यो ? आँखा किन पाक्थे ? प्रश्नहरू उब्जे ।
इङ्लिस ब्रेकफास्ट र फिस एन्ड चिप्स
दोस्रो दिन मन्तरीको इङ्लिस ब्रेकफास्ट अर्थात् अङ्ग्रेजी खाजाले टन्न पेट पूजा गरेर निस्कियौँ । पूजा सामग्री थिए– ससेज, बिन्स, अन्डा, च्याउ, आधा कप्टेरो गोलभेँडा, दूधमा भिजाएको कर्णफ्लाक्स, ब्राउन टोस्ट, कालो कफी । बेलायती खाना हाम्रो करीजस्तो प्रख्यात छैन तापनि इङ्लिस ब्रेकफास्ट र फिस एन्ड चिप्स खुबै प्रचलित बेलायती परिकार हुन् ।
दिनको हाम्रो खाना गोरे हार्बर किनारको एक रेस्टुरेन्टमा फिस एन्ड चिप्स भयो । ६/६ पाउन्डमा तीन प्लेट मगायौँ । प्लेटमाथि डेली क्याच लेखिएको खबरकागज र उक्त कागजमाथि एकबित्ता जति लामो माछा र आलुचिप्स आयो ।
बाँकी






