नियात्रा

SHARE:

जानु काम्बाङ्ग लिम्बु
 सबेरै, उठी तयार भएर होटलबाट तल ओर्लिएँ । होटलको पालेले मेन गेट खोलिदियो । बिहानीपख, सडकहरू सुनसान थिए साँझ अबेरसम्म लाग्ने झिलिमिली जोर्डनको नाईट मार्केट पनि उठिसकेको थियो । म साथीहरूको सल्लाहअनुसार ७ बजे हुङ्गहमको केसिआर स्टेसन पुग्नु थियो । दिन धुम्मिएर हल्का पानी पनि छिटाउँदै थियो ।

मैले शिष्टाचर अपनाउँदै होटलको पालेलाई क्यान्टोनिज भाषामै हुङ्गहाम जाने टेक्सी कहाँ पाइन्छ ? भनि सोधें, उसले होटल अघिको नाथन रोड़ निस्कने रोड़ देखाउँदा देखाउँदै एउटा टेक्सी हुइँकिएर आइपुग्यो, मैले हात हल्लाउँदै रोकें । (हाई पिन्तो चाऊ आ..?) कहाँ जाने हो ? ड्राईभरले ढोका उघार्दै सोध्यो, मैले पनि सिटमा बस्दै क्यान्टोनिज भाषामै (हुङ्गहाम फछे चाम्म आ हुमक्वाई !) हुङ्गहामको केसिआर स्टेसन प्लिज भने । उसले ढोका बन्द गरेर हुईक्यायो नाथान रोड क्रस गरेर पाण्डा होटललाई दाहिने पार्दै इन्डिया क्लप र पुरानो गण क्लप क्याम्प हुँदै एकैछिनमा हुङ्गहाम स्टेसन पुर्‍यायो ।

म र बुढो अघिल्लो दिनमात्र यूकेबाट आइपुगेर होटल सिल्कामा बसेका थियौं । होटल सिल्का जोर्डन र याउ मा ताईको बीचमा पर्ने भएकोले हामीलाई वरपर हिँड्न साथीभाइ भेट्न सेन्टर पर्ने जस्तो लागेर रोजेका थियौं ।
थुप्रै केटी साथीहरूसँग म एक्लै जाँदै थिएँ, बुढोको हङकङमै एनआरएनको साथीहरूसँग हाईकिङ्ग जाने प्रोग्राम थियो । आजभोलि हङकङमा बसोबास गर्ने धेरै मान्छेहरू हरेक दिनको भीडभाडबाट एकछिन भए पनि मुक्त हुन, हाईकिङ्ग जान मन पराउँदा रैछन् ।

टेक्सी हुङ्गहम स्टेसन पुग्दा ३० डलर निस्किएको थियो मिटरमा, ओर्लेर पैसा दिँदै (हुम्काई साई) धन्यवाद भने, उसले पनि पैसा लिँदै (तोचे साई) धन्यवाद भन्न भन्यो । क्यान्टोनिज भाषामा धन्यवाद दुई प्रकारको हुन्छ, केही सहयोग गरेबापत हुम्काई भनिन्छ भने, केही दिएर या आफूले लिएबापत तोचे साई भनिन्छ ।

हुङ्गहाम नपुगेको वर्षौं भएको थियो, नयाँ एयरपोर्ट चेप्लाकक १९९८ बाट चालु भएपछि, पुरानो काईतक एरपोर्टलाई बन्द गरी त्यहाँ ठुल्ठूला बिल्डिंग, होटल र प्लाजाहरू बनेकोले कहाँनिर थियो पुरानो एयरपोर्ट भनेर खुट्टाउनै मुस्किल पर्छ अचेल । हङकङमा हुङ्गहाम सिटीको आफ्नै विशेषता छ । यहाँ समुन्द्र साईटमा एउटा सुन्दर बजार छ त्यो बजारबीच एउटा ठूलो टाईटनिक स्टाईलको पानी जहाज छ । समुन्द्रमाथि नै त्यो पानी जहाज पाक गरेर राखिए झैं गरी वरिपरि निलो पोखरी बनाइएको छ । वास्तवमा त्यो जहाज एउटा ठूलो (प्लाजा) सोपिंग महल हो, त्यो भित्र ठूला ठूला, नामीनामी दोकान र रेस्टुरेन्टहरू छन् । माथि छतमा पौडीपोखरी र जिम हल छन् । हङकङमा यस्तो चिजहरू देख्दा कहिले विकास हुन नसकेको आफ्नो देशको निरीह हालत याद आउँछ ।

म हुङ्गहम स्टेसन पुग्दा साथीहरू कोही पनि आइपुगेका थिएनन् । १० मिनेटपछि सुनिता र एउटा साथी आइपुगे, हामी उभ्दाउभ्दा थाकेकोले अगाडिको लामो बेन्चमा बसेर अन्य साथीहरू कुर्न थाल्यौं । केही मिनटमै सबै भेला भएर बाटो लाग्यौं ।
चुनवानबाट आउने एक हुल साथीहरूले हामीलाई चाईना जाने रेलको प्लेटफर्ममै कुरिरहेका थिए । म मात्र भर्खर आएको अव्यवस्थित परदेशी थिएँ । म सँग (रेल या बसमा पैसा हालेर प्रयोग गर्ने कार्ड) अक्टोपस पनि थिएन । बहिनी सुनिता राईसँग एउटा फाल्टो अक्टोपस कार्ड रैछ उनले पैसा हालेर चलाउनुस दिदी यहाँ बसुन्जेल काम लाग्छ भनि हातमा थमाई दिइन् । मैले त्यो कार्डमा १ सय डलर हालें अनि ५ सय डलरले चाईनिज युअन पैसा साटें, ५ सय हङकङ डलरको युअन जम्मा ४ सय २७ हुँदा पो छक्क परें । सोध्दा अलिअलि त कमिसन चार्ज पनि काट्छन् भने साथीहरूले ।

हुङ्घामबाट छुटेको रेल लोहू पुग्दा बिहानको ९ बजेको थियो । लोहूको रेल स्टेसनमै हामीलाई पर्खेर अर्को एक हुल साथीहरू बसिरहेका थिए । हामी पुगेपछि जम्मा ३६ जनाको जम्मो टिम भयौं ।

लोहूको ईमिग्रेसनबाट एक जना साथीले पासपोर्ट बिर्सेको र एक जना नानीसँग आएकी बहिनीले नानीको पासपोर्ट ल्याउनु भूलेकोले फर्कनु पर्‍यो । २ जना साथी फिर्नु पर्दा सारै नरमाईलो लाग्यो हामीलाई । हङकङ तर्फको ईमिग्रेसन हङकङ आईडी र थमपिन प्रयोग गरेर सबै साथीहरू चाईनाको इमिग्रेसनतर्फ लागे, म र बिष्णु बहिनीसँग ब्रिटिस पासपोर्ट मात्र भएकोले भिजिटर काउन्टरतिर लाईन लाग्यौं । पालो आयो विष्णुले २ दिनको भिषा पायो र छिर्‍यो । म अड्किएँ । सोचेथें, म पनि बिष्णुजस्तै पासपोर्ट मात्र देखाएर छिर्छु तर मेरो नाममा हङकङ आईडी भएको कुरो थाहा पाईहाले अफिसरले । धन्न मैले आईडी । हाराएर नयाँ आईडी बनाउन हङकङ पुगेको भनि रिपोर्ट गरेको आईडी नम्बरसहितको कागज बोकेकी थिएँ । सोही कागज देखाएर छिरें ।

मोबाईलमा खेलिने गेमजस्तै हङकङ र चाईनाको ईमिग्रेसन एउटै बिल्डिंगमा पत्र, पत्र रहेको छ । एक पत्र पार गरेर केहीबेर हिँड्ने बितिक्कै अर्को पत्र आइहाल्छ । हङकङपट्टिको पहिलो पत्र पार गरेर अर्को पत्र टेकियो, त्यहाँ फेरि पहिले औंठा छाप र पासपोर्ट स्क्यान गरेरमात्र लाईनमा उभ्नु पर्ने प्रावधान रहेछ ! लाइन लागियो औंठा छाप र पासपोर्ट स्क्यान मेसिनमा, हङकङको बोर्डर कटाउने एक नेपाली केटा गाईड थियो । हामी सबैले एउटा टुरिस्ट एजेन्सीलाई ज्युको ३५० हङकङ डलर बुझाएर हिँडेका थियौं ।

उसैले मेसिनमा स्क्यान गराई सकेर हाम्रो ३६ जनाको तितरबितर लाइन मिलाउँदै, नाम लिस्ट्मा भएको नामहरू बोलाउन थाल्यो । म आफ्नो नम्बरमा उभिएँ, किनकी त्यो नेपाली एजेन्सीबाट पारि चाईनाको एजेन्सीले हामीलाई जिम्मा लिने र ईमिग्रेसन अफिसरहरूलाई पनि ट्राभल एजेन्सीहरूले नाम लिस्ट क्रमिक रुपले नै दिएका रैछन् ।

चाईनाको ईमिग्रेसन आयो, हङकङतर्फका अफिसरहरू भन्दा चाईनातर्फका अफिसरहरू ठूलो देशको भएर होला अलिक कम सुकिला देखिन्थे । तर, काममा भने ईमान्दारी थिए । मैले चाईनिजहरूमा बलियो र दिगो राष्ट्रियता र देशप्रति एकदम कटिबद्धता रहेको देखें । चाईनामा अन्य देशजस्तो एयरपोर्ट र ईमिग्रेसनमा अन्य देशका कामदार भेटिँदैन, त्यो पक्ष पनि मलाई बलियो लाग्यो ।

बोडर काटेर १० मिनेट पैदल हिँडेपछि एउटा बसपार्क आयो, चाईनाको हाम्रो टूर गाईड सानी केटी चिटिक्क परेकी थिइन् । उसले लगाएको भेस्टमा आई लभ चाईना लेखिएको थियो, उसले बोकेको त्रिकोण आकारको पहेंलो झन्डामा चाईनीज भाषामा केही लेखिएको थियो ! अंग्रेजी नभएकोले पढ्न सकिनँ तर अन्दाजमा पक्कै ट्राभल एजेन्सीको नाम होला भन्ठाने ।

उसले लामो टांगोमा टाँगेर बोकेको सोही झन्डा पछ्याउंदै दिनभरि हिँड्नु जो थियो हामीले । उसले जस्तै भेस्ट लगाउने मान्छेले हामीलाई लाईन लगाएर बस चढायो । बस चढ़ेर हामी सबै बसेपछि ती सानी चिटिक्क परेकी टूर गाईडले माईकमा भन्न थालिन् हामीले दिनभरी मान्नु पर्ने नियमहरू र घुम्नु पर्ने ठाउँहरूको नाम ! उनी अंग्रेजी पनि राम्रो बोल्थिन् ।

हामी स्यानजेनको बोडर छाडी गुड्न थाल्यौं, रमाइलो रमाइलो गाउँहरू आउन थाल्यो हल्का पानी पर्दै रहँदै गरेकोले खासै गर्मी महसुस भएन । कतै डाँडापाखा, कतै घुम्ती अनि मोड साँच्ची नै आनन्द लाग्यो धेरै पछि एसिया घुम्न पाउँदा । बाटोभरी डौठे निगुरोको झाडी देख्दा पाँचथरको लालीखर्क र राँके भञ्ज्यांग याद आयो ।

लगभग १ घण्टाको बस यात्रापछि हामी पुग्यौं गन्तव्यमा । हामीलाई ३५० डलरभित्रै दिउँसोको खाना पनि निःशुल्क थियो । सोहीअनुसार बसले पहिले खाना खाने रेस्टुरेन्टमा लग्यो । हाम्रो खाना खाने समय ३० मिनेट र एउटा टेबलमा ९ जना मात्र बस्नु पर्ने नियम अघि नै भनिएको थियो । हामी आआफ्ना साथीहरूसँग ९, ९ जना बाँडिएर बस्यौं ।

हामी पुग्दा त्यो ठूलो रेस्टुरेन्टमा हाम्रो लागि खाना टेबल, टेबलमा सजाइसकिएको थियो । टेबल बिचमा अर्को सानो घुम्ने चक्की टेबल, चक्कीमाथि ९ परिकार, मगमग बास्नादार चाईनिज चामलको भात, बिचमा एक अँगालो चपस्टिक राखिएको थियो । सबैले जोडी, जोडी (सिन्का) चपस्टिक उठाएर सुन्दर प्लेटमाथि रहेका खानाहरूलाई प्रहार गर्न थाले, सबै साथीहरू हङकङमै बसोबास गर्ने र सिन्का चलाउन सिपालु भएकाले चम्ची काँटा सम्झेनन् होला, मैले भने चम्ची काँटामात्र होइन, आफ्नो देशमा हातले गम्गम्ती भात खाएको याद गरें । वरिपरि हेरें । थिएन कतै चम्चा काँटा सिन्काले घोंच्दा घोंच्दै खाना सकिन लाग्यो । अन्त्यमा लाजै पचाएर आफू सँगसँगै भएको सर्दम हातले प्रहार गरें, मलाई सारै मन पर्ने मासु रोस्ट गरेको हाँसको थियो चुपचाप तान्दै भातसँग दारेर अघाएँ ।

अरुले भुलेँ भने कुन्नि मचाँहि जीवनभर भुल्दिनँ सारै मिठो चाईनिज खाना । टेबल रित्तिए पेट आघायो, तर मुखै अघाएको थिएन, हाम्रो टुर गाईडले पहँेलो लोगो भएको झन्डा हल्लाउँदै एसेम्ली पोइन्टमा बोलाउन थाली हाल्यो । हामी चढेर आएको बसलाई त्यही छाडेर हामी हिँड्यौं ।

एउटा सुन्दर पार्क आयो । त्यहाँबाट भित्र पसेपछि, एक्कासी हाम्रो गाईड केटीजस्तै भेस्ट लगाउने एउटा क्यामेरा मेन आएर हामीलाई एक ठाउँमा भेला गरेर ग्रुपिंग फोटो खिच्यो । फोटो खिच्ने त हाम्रो त्यो दिनको मेनुमा थिएन, तेसपछि फेरि सबैलाई एकएक गर्दै सिंगल पनि खिच्यो पछाडि सुन्दर गार्डेन र झरना झरिरहेको थियो । फोटो क्लिक गरेपछि हाम्रो फुच्ची गाईडले हाम्रो हातमा हरियो रंगको कार्ड थमाउँदै भन्यो यो कार्ड देखाउंदै घुम्ने हो यो भित्र पैसा हुन्छ दिनभरी कता, कता जान्छौं के, के खेल्छांै र कुन, कुन ठाउँमा प्रयोग गर्छौ त्यो अनुसार पैसा घट्छ ।

अनि घुमिसकेर फर्केपछि एसेम्बली पोइन्टमा कार्ड बुझाउने त्यहाँका स्टाफले तिमीहरूको कार्ड चेक गर्न मेसिनमा छिराउँछ्न् यदि पैसा बाँकी छ भने टोकन झर्छ । त्यो टोकनले ऊ त्यो गुडिया र डलहरू खेलेर जित्ने अनि कोसेली लैजाने, भन्दै प्रवेशद्वारमा भएको मेसिनहरू देखायो, ती मेसिनहरू भित्र विभिन्न किसिमका गुडियाहरू थिए । कति बाठा चाईनिजहरू एक कन्जी पैसा उभारेर लैजान नदिने ?

अन्त्यमा गाईडले हामीलाई ठीक ४ः३० बजे यही ठाउँमा भेला हुने त्यो भन्दा ढिलो गरे बस छुट्छ, अनि आफै ट्याक्सी चढेर लोहू पुग्नु पर्ने छ भनी कडा उर्दी जारी गर्दै त्यहाँ रहेको नामी सिसैसिसाको पुलतिर लगारी पठायो ।

हामी अब केही घण्टा स्वतन्त्र भयौं । वरिपरि रंगीचंगी कागजद्वारा बनाइएका ठुल्ठूला चाईनिज बत्तीहरू झुन्डेका, आकर्षक प्यागोडा शैलीका घरहरू । बेला, बेला वनपाखा थर्काएर कराउने बनावटी ड्राईगनहरू, सुरुमा देख्दा त साँच्चिकै हो जस्तो लगेर डर पनि लागेथ्यो तर पछि नडराउनु त्यो नक्कली हो ब्याट्रीबाट सञ्चालित भनेपछि ढुक्क भो ।

बुद्धको ठूलो स्ट्याचुलाई पछाडि परेर सिसाको पूल चढ्न सुरु गरियो, हल्का सिमसिम पानीले दिनैभरि पछ्याइरह्यो । हामीलाई पुलमा छाता ओढ्न पाइँदैन भनिएकोले भिज्दैभिज्दै पुल तर्‍यो ।

सुरुमा ठीकै लागे पनि बीचतिर निक्कै डर लाग्यो तल हेर्दा भीर अनि छेउमा खोला देखिने, त्यो पुलको सिसा टेक्दा फुट्ला कि लाग्ने, डर बढ्दै गएपछि आँखा बन्द गर्नु करै लाग्ने । पुलको पश्चिमतिर विशाल बस्ती, ठीक तल चिडियाखाना, विभिन्न किसिमका पिङ्ग अनि रोलर कोस्टरहरू, पूर्वतर्फ खोला, खोलामाथि घिर्लिंग मानौं एक अर्कै सारै रमाइलो ठाउँ । मलाई सबैभन्दा माया र आफ्नोजस्तो बुद्धको त्यो ठूलो मूर्तिको लाग्यो, अनायासै पराई मुलुकमा बुद्धको नाम र स्वरुप देख्दा छाती धक्क फुल्छ, मन गौरन्वित बन्छ ।

म र विष्णु बहिनी अघिअघि थियौं पछि, पछि निर्मला बहिनी र उनको छोरी सारा भान्जी थिए । ३६ जनाको ठूलो जम्बो टिम, माउले छाडेका चल्लाजस्तै तितरबितर भएर छरियौ । सबैले आआफ्नै नजिकका साथी पछ्याउँदै फोटो खिच्दै डुलिरह्यौं ।
हामीलाई ग्रेटवाल भएको ठाउँ जान मन लाग्दालाग्दै समय अभाव र हाम्रो ३५० डलरले भ्याउने ठाउँमात्र घुमाउने भनेपछि विष्णु र म हल्का बेखुसी भएका थियौं । हुन पनि हामी दुईमात्र थियौं यूकेबाट गएका । अरु त सबै हङकङवासी साथीहरू थिए, चाहेको बेला घुम्न सकिहाल्थे उनीहरू । डरले ठमठम हिँड्न नसकेर हो या फोटो खिच्दै हिँडेर हो, पुल तर्न झन्डै १५, २० मिनेट नै लाग्यो । पुल सकेर निस्कने बेला अलिकति भाग पाइला पर्ने बित्तिक्कै झ्याम्मै…ठूलो सिसा चर्केको आवाज आउने बनाएको रैछ ! एउटा केटी र केटा हात समाएर जाँदै थिए …अचानक चाल पाएर केटी बेस्सरी चिच्याइन् ।

हामी उनीहरूकै पछि भएकोले सतर्क हुने मौका पायौं । गाइडले हामीलाई सिसाको पुल र सफारी पार्क देखाउने भनिएकोले, सिसाको पुल सकेर तल सफारी पार्क झर्नु थियो । तर, तल ओर्लने बाटै थिएन । सोधीखोजी गरेपछि बल्ल थाहा भो हामी त त्यहाँबाट रोलर कोस्टर चढेर पो झर्नु पर्ने रैछ । मलाई खेलमा मन नपर्ने रोलर कोस्टर चढ्न जिन्दगीमा पहिलोपल्ट बाध्य भएँ । हाम्रो पालो आयो म पछाडि र विष्णु बहिनीअघि गर्दै एउटामा बस्यौं । क्रमैसँग साथीहरू पनि चढे ! अब यात्रा सुरु भो …घरक्कघुरुक्क गर्दै बाटो लागेजस्तो लागेको थियो । एक्कासी समुन्द्रमै झ्याम्मै झारेझै भो….विष्णु अघि थिइन् कानै फुट्ने गरी चिच्याइन् । उनको चिच्याई सुन्दासुन्दै म चिच्याउन भुलेर हाँस्न पो थालेछु । हामीभन्दा अघि पछिका साथीहरू कोही रोएजस्तो गर्थे, कोही चिच्याएजस्तो….कतिले भने छोडें है मैले छोडें भन्थे के छाडे कुन्नि ? थाहा भएन ।

केही छिनपछि अन्तिम गन्तव्यमा पुगेर झ्यापझ्याप रोकिए…रोलर कोस्टरहरू, हामी थरथर काँप्दै ओर्लेर भर्‍यागबाट तल झर्‍यौ । झर्नेबित्तिकै एउटा दोकानमा हामी रोलर कोस्टरमा चिच्याइरहेको, सिसाको पुलमा रुन लागेको फोटोहरू हल्लाउँदै राम्री, राम्री चिटिक्क परेका केटीहरू उभिएर हामीलाई हाम्रो फोटो किनेर लैजान आग्रह गरिरहेका थिए । छाडेर हिँड्न पनि कसरी फोटो आफ्नै, सबैले ५०, ५० युआन तिरेर
फोटो लियौं । कति जानेका बरै चाइनिजहरूले व्यापार गर्न ?

हाम्रो गाईड आएर हामीलाई झन्डा हल्लौउँदै बोलाउन थाल्यो । हतारहतार हामी पनि रोलर कोस्टरमा खुम्चिएको आङ्ग घरक्कघुरुक्क तन्काउँदै भेला भइहाल्यौं । कोहि छुट्यो कि भन्ने डर उसलाई हमेसा रहन्थ्यो सायद ! त्यसैले हामी ३६ जना छौं कि छैनौं भनी उसकै भाषामा घरीघरी गन्थ्यो हामीलाई ।

त्यहाँबाट सिधै सफारी पार्क लगेर छाड्यो, हामी सबै आआफ्नै ग्रुप पछ्याउंदै घुम्न थाल्यौं । हिँड्दाहिँड्दै कोही कता, कोही कता छरपस्ट भयौं एकैछिनमा लास्टमा हामी दुई यूकेबाट आउने मात्र सँगै रह्यौं । सफारी पार्क भनेको चिडियाखाना रैछ खासै रमाइलो लागेन गर्मी भएर । भित्रभित्र नपसी सिधै बाटो पछ्याएर बाहिर निस्कियौं हामी । बाहिर गेटमै माईकिङ्ग भइरहेको थियो तर, भाषा बुझे त मरिजाऊँ ? अरुलाई पछ्याउँदै हामी पनि भित्र पुग्यौं, त्यो त डल्फिन नचाउने ठाउँ पो रैछ । सो सुरु हुन लागेको थियो हामी पनि जेसुकै होस् भनेर खाली सिटतिर बस्यौं ।

बाहिर हिँड्नुभन्दा बसेर डल्फिन नाचेको खेलेको हेर्न रमाइलो लाग्यो, शरीरलाई पनि आराम मिल्यो एकछिन । त्यहाँबाट निस्कने ठाउँ नभेट्दा एकछिन अलमल भो, अन्त्यमा केही साथीहरू चराचुरुंगी हेर्दै रैछन् भेटेर सँगै रंगीचंगी मयुरहरू हेर्दै, हेर्दै बाहिर निस्क्यौं । निर्मला र साराले छेमा र माईजु कता गए भनेर खोज्दै रहेछन् बाटोमै भेट भो । गर्मी यति थियो कि किनेर खान थालेको आईसक्रिम मुखमा भन्दा बढी भूइँतिर चुहिन्थ्यो । चिसो भन्नु त्यहाँ आईसक्रिम नै मात्र थियो ।
निर्मला र सारालाई भेटेपछि हामी हिउँ खेल्न आईसै आईसले बनेको घरभित्र पस्यौं । सबैतिर हामीलाई प्रवेश निःशुल्क थियो । बेला बेला आईसक्रिम र पानी किनेको बाहेक खर्च भएन कतै पनि ! हिउँ घरको प्रवेशद्वारमै हामीलाई बकुलो ज्याकेट दिईयो, तर सारै गन्दे…गन्हाएर लगाइसक्नु भए पो ? जेसुकै होस् उल्टो पारेर लगाएँ, मलाई देखेर बिष्णु र सारा भान्जीले पनि त्यसै गरे । हामीलाई भित्र प्रवेश गराउने केटा उल्टो ज्याकेट देखेर हाँस्यो, त्यो मीठो हाँसोको जवाफ हामीले पनि मुस्कुराएर दियौं । कुरो नमिले पनि मुस्कान सबैको उस्तै हुँदोरैछ ।
भित्र अर्कै संसार थियो ! सारै चिसो तर रमाइलो ।

त्यो घर भित्रै युरोपका केही चर्चित स्थानमा अवस्थित पुरातत्वहरूलाई आईसद्वारा निर्माण गरेर डल्लै युरोप राखिएको थियो, उही बगलमा पेरिसको आईपÞmल्स टावर पनि थियो । हेर्दा दुरुस्तै स्कटल्यान्ड हिँडेको रेल तर, छाम्दा चिसो आईसको डल्ला, चाईनिजहरूले कति जानेका पैसा कमाउन ? सारा भान्जी हिउँ बर्सिरहेको ठाउँतिर दगुर्दै हिउँ खेलिरहेकी थिइन् तर, हामी बेलायतीहरूलाई भने भान्जीलाई जति मज्जा लागेन । त्यहाँबाट निस्केर लास्ट एउटा रहेको खेल चढ्न लाईनमा बस्यौँ ।
बाँकी अर्को अंकमा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!