सभापति, नेपाल कांग्रेस ताप्लेजुङ
नेपाल कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङकी सभापति लीला बोखिमले यसचोटि महिना दिनभन्दा बढी समय बेलायतमा बिताइन् । व्यक्तिगत भ्रमणका रुपमा दोस्रो खेप यूके आएकी सभापति बोखिमले पारिवारिक र पार्टी पंक्तिसँग पनि भेटघाट गरिन् । कांग्रेसको एकदमै न्यून महिला जिल्ला सभापतिहरुमध्ये एक बोखिमसँग कांग्रेसको वर्तमान अवस्था, संसद्मा खेलिरहेको प्रतिपक्षी भूमिका र बेलायत भ्रमणबारे कुराकानी गरिएको छ । प्रस्तुत छ, सभापति बोखिमसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको भलाकुसारीको सम्पादित अंश ।
नेपाली समुदाय बेलायतको अवस्था कस्तो पाउनुभयो ?
मलाई नेपालमै रहेको जस्तो फिल भइरहेको छ । किनकि जहाँ जाँदा पनि नेपाली दाजुभाइ, दिदीबहिनीको माया, ममता पाएँ । पार्टीका साथीहरु, आफन्तहरुसँग प्रत्येक दिन भेटघाट भइरहेकाले रमाइलो लागिरहेको छ । नेपालभन्दा पनि यहाँका नेपाली साथीहरुमा संस्कृतिप्रति माया, ममता अझै बढी देखिरहेकी छु । केही समयअघि जातीय कल्चरसम्बन्धी फेस्टिभलमा पुगेकी थिएँ । एकदम खुसी लाग्यो । नेपाली कला, संस्कृति, भेषभूषा संरक्षणका लागि नेपाली समुदाय बढी लागेको देखेँ ।
नेपालमा सरकार वा पार्टीमा सभापति महिला कम्ता भएको देखिन्छ । ७७ वटा जिल्लामध्ये कांग्रेसका कति महिला सभापति छन् ?
विधानअनुसार ३३ प्रतिशत महिला भन्ने छ । तर, अहिले हरेक तह र तप्कामा महिला नेतृत्वमा पुग्नुपर्छ भनेर दुई तिहाई बहुमतले महासमितिबाट पास गरेका छौं । अहिले ७७ जिल्लामध्येमा जम्मा ३ जना महिला सभापति छन् ।
महिला, त्यसमाथि पनि आदिवासी जनजाति समुदायबाट जिल्ला सभापति हुँदा कस्तो महसुस गर्नुहुन्छ ?
पार्टी सिस्टममा बसिसकेपछि त्यस्तो ठूलो अप्ठ्यारो महसुस त हुन्न । किनकि सबै पार्टी, आफ्ना समिति, जिल्ला कार्यसमिति, गाउँ कार्यसमिति, क्षेत्रीय, केन्द्र सबैबाट हामीलाई सहयोग एकापसमा हुने गरेकोले । हुन त, त्यत्ति सजिलो छैन, एउटा पितृसत्तात्मक देश नेपाल । त्यसले गर्दा पुरुष साथीहरुले धेरै शासन गरिराखेको अवस्थामा एकैचोटि महिलाहरुलाई स्वीकार्नु अप्ठ्यारो नै हुन्छ । तर, पनि हाम्रो पार्टीमा नेताहरु जुन कुरा बोल्नुभएको छ, महिलालाई समान अधिकार दिने । हरेक ठाउँ, विभिन्न तप्कामा महिलालाई ३३ प्रतिशत नेतृत्व गराउने भन्ने केही केही ठाउँमा लागू भएको हामीले महसुस गरेका छौं । मलाई एकदम गाह्रो फिल भएको छैन । तर, त्यो ठाउँमा आउन हामीले धेरै चुनौती पार गरी आएका छौं । खेलाँची होइन, धेरै स्टेपहरु पार गरेरमात्रै नेतृत्व तहमा पुग्छौं । मैलै चुनावै लडेँ । १३ औं महाधिवेशनमा चार जना उम्मेदवार थिए । तीन जना पुरुष मित्रहरु । मसँग चार जना । म ५९ प्रतिशत मतले विजयी भएँ । जो साथीहरु मसँग चुनाव लड्नुभयो, अहिले मलाई सहयोग गरिरहनुभएको छ । पार्टी सभापतिको हैसियतले उहाँहरुलाई ल्याउन सक्ने ठाउँमा राखेर काम गराइरहेकी छु । उहाँहरुले सहयोग गरिरहनुभएको छ । म अत्यन्त खुसी छु । नेपाली कांग्रेस पार्टीको एक महिने गाउँ जागरण अभियान थियो । त्यस अभियानबारे सबैभन्दा धैरै ताप्लेजुङ जिल्लामा काम भएको महसुस भएको छ । हामी ६१ वटै वडामा पुग्यौं । ठ्याक्कै जेठ १५ मा अभियान सुरु गर्यौं र असार १५ मा ठूलो आमसभामार्पmत समापन गर्यौं ।
कति समय भो नेतृत्वमा आउनुभएको छ ?
म जिल्ला कार्यसमितिमा ३ जना सभापति हुँदासम्म बसेँ । त्यस समयमा केही अनुभव भयो । पार्टी सञ्चालन गर्नका लागि उहाँहरुसँग बसेर धेरै सजिलो भयो । जिल्ला कार्यसमितिमा बसेँ, त्यसपछि महासमिति सदस्य भएँ ।
सभापति हुनुभएको समयचाहिँ ?
आउँदो माघदेखि ४ वर्ष लाग्छ ।
तपाईं जिल्ला सभापति रहँदा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन भए । कस्तो परिणाम आयो त ?
तीन, तीनवटा निर्वाचन फेस गर्न पाउँदा हामीले भाग्यमानी र अभागी दुइटै ठान्यौं । किनकि २० वर्षसम्म स्थानीय तह ग्याप रहेको थियो । जिल्लामा रहेका हरेक कार्यकर्ता क्यापेबल थिए । जिल्लामा टिकट पाउन त्यत्ति खेलाँची थिएन । ६१ वटा वडाहरु र नगरपालिका, गाउँपालिकाहरुमा टिकट बाँड्न हामीलाई धेरै गाह्रो थियो । त्यसलाई पनि समाधान गर्यौं ।
दोस्रो चुनावमा म आपैंm पनि उम्मेदवार थिएँ । पार्टीले मलाई सम्मान गर्यो, विश्वास गर्यो । सजिल्लोसँग टिकट दियो । म त चुनाव नलड्ने, अहिले एकदमै अप्ठ्यारो स्थिति छ । पैसाको चलखेल छ, हामीसँग पैसा छैन । हामी त जनतासँग घुलमिल गरेको मान्छे । पैसा नहुँदा अप्ठ्यारो हुन्छ भन्दा, ‘हैन तपाईं नै एकचोटी लड्नुस् । जनता, कार्यकर्ताको मनोबल गिर्छ’ भन्ने नेतृत्वबाट आएपछि म पनि प्रदेशसभा उम्मेदवार बनँे । थोरै मतले हारेँ ।
समग्र जिल्लाको रिजल्ट कस्तो भयो ?
८ वटा गाउँपालिका, एक नगरपालिका हो हाम्रो जिल्लामा । ८ गाउँपालिकामध्ये ४ वटामा हामी कांग्रेसले जित्यौं । चार वटामा नेकपाले जित्यो । प्रदेश र प्रतिनिधिसभामा चाहिँ नेकपाले नै जित्यो । उहाँहरुको गठबन्धन भएर जित्ने भइहाल्यो ।
भनेपछि संघीय प्रतिनिधित्व नै छैनन् कांग्रेसको ताप्लेजुङमा ?
समानुपातिकतर्पm मनोनीत सदस्य हुनुहुुन्छ । साविकको मेची अञ्चल नै कांग्रेसको निल लाग्यो नि त !
के कारणले यस्तो परिणाम आउन पुग्यो ?
हामीले नेपाली कांग्रेसलाई ठूलो पार्टीको रुपमा पनि हेरेका छैैनौं । सानो केही पनि होइन भन्ने पनि होइन । नेपाली कांग्रेसको धेरै अगाडिदेखिको इतिहास छ । कुनै बेला सरकारमा जाने, कुनै बेला प्रतिपक्षमा बस्ने । कांग्रेस सरकारमा बस्दा मात्तिएको पनि छैन र प्रतिपक्षमा बस्दा आत्तिएको पनि छैन । सरकारले राम्रो काम गर्यो भने हामी सपोर्ट गर्छौं । यदि सरकारले गलत काम गर्दैछ भने खबरदारी गरेर बसेको छ । सबै जिल्लाहरु त्यही हिसाबले चलेको छ । हामीले सोचेका थियौं, सबै नेपाली जनताले सोचेका थिए । ताप्लेजुङवासीले सोचेका थिए कि बहुमतको सरकार छ, राम्रो काम गर्छ कि ? त्यही आसले जनताले साथ दिए । साथ दिएअनुसार सरकारबाट काम पाएका छैनन् । जनता निरासमा छन् ।
कांग्रेसले प्रतिपक्षीको भूमिका दमदार रुपमा निभाउन सकेन भन्ने आवाज उठिराखेको छ नि ?
हामीले प्रतिपक्षको भूमिका खेलिरहेका छौं । प्रतिपक्षमा बसेर आन्दोलन नै गरेर, टायर नै बालेर कुनै पनि संरचना भत्काएर मात्रै हुँदैन । तपाईंहरुले यो यो कुरा सच्चिएर गर्नुस् । राम्रोसँग भनिराखेका छौं, खबरदारी गरिराखेका छौं । जिल्ला जिल्लामा कार्यक्रम गरिराखेका छौं । गाउँगाउँमा कार्यक्रम गरिराखेका छौं । यो यो कुरामा तपाईहरु सच्चिएर जानुपर्यो । भ्रष्टाचार, अन्याय, अत्यचार, बलात्कारका कुराहरुलाई तपाईंहरुले रोक्नु पर्यो । हत्या, हिंसाको कुरा छ । त्यस्तै स्थानीय तहमा विकास निर्माणका कुरा छ । मैले त, आप्mनो भूगोलमा भइरहेका विकास निर्माणका काममा तपाईंहरुले यहाँ गल्ती गर्नुभयो, यो योजना मिस्टेक गर्नुभयो, नेकपाको कार्यकर्ता भर्ती लाउने काम गर्नुभयो, यो भन्दा टाढा रहनुस् । गाउँपालिका अध्यक्ष वा मेयर भइसकेपछि आफै ठेकेदार, आफैं नभए पनि आप्mनै मान्छेलाई स्काभेटर किनिदिने, मेसिन किनिदिने, भान्जाभान्जी, श्रीमतीमध्ये कसैलाई भान्से राख्ने । कसैलाई के राख्ने, यस्ता खालका गतिविधि भइरहेका छन् । हामी संघीय संरचनामा गइसक्यौं, लोकतान्त्रिक गणतन्त्रमा गइसक्यौं । जनप्रतिनिधि भइसकेपछि सबै जनताको प्रतिनिधित्व गर्ने मान्छे हो । हामीले राणाशासन अन्त्य गर्यौं, राजतन्त्र फाल्यौं, यत्रो ठूलो आन्दालन गर्यौं । यस्तो अवस्थामा पुरानै शैली, संस्कार अवलम्बन गरेर नातावाद, क्रिपावाद हेर्न मिल्दैन ।

यहाँहरुको आवाज सम्बन्धित ठाउँमा उठेको छ ?
पुगेको छ । तर, कानमा तेल हाल्ने काम भइरहेको छ । यसले भोलि उहाँहरुको पार्टी, व्यक्तित्वलाई समेत असर गर्छ । जनता कोही पनि लाटा छैनन् । हामी प्रतिपक्षी भए पनि जनताको आवाज राख्नु पर्यो । हाम्रो जिम्मेवारी त्यत्तिकै छ । प्रतिपक्षमा भए पनि कांग्रेस इतिहास बोकेको ठूलो पार्टी भएकोले जनतालाई परेको पीरमर्का हेरेर बस्दैन । कांग्रेस प्रतिपक्षमा बसे पनि उहाँहरुको आवाजलाई, अप्ठेरो, समस्या, अन्याय, अत्यचारका कुराहरु सम्बन्धित ठाउँमा राख्ने कोसिस हामीले गरेका छौं, राखिराखेका छौं । तर, त्यो कुरा अहिलेसम्म सुनुवाइ भएको बुझिँदैन ।
वाइडबडी काण्डमा प्रतिपक्ष दलका सभापतिसमेत जोडिएपछि यो विषयलाई कांग्रेसले उठाएन भन्ने आरोप छ नि ?
यो कुरा सुन्दा हामीलाई कताकता अप्ठ्यारो पनि लाग्यो । लाज पनि लाग्यो । किनभने वाइडबडी, बालुवाटार काण्ड लगायत काण्ड छन् भने यदि दुई तिहाई बहुमतमा रहेको सरकारले किन कारबाही गर्दै न त ? यदि गल्ती छ भने गर्नुपर्यो नि कारबाही । अहिले पनि कारबाही गर्न नसके कहिले गर्नुहुन्छ ? हाम्रा आदरणीय सभापति शेरबहादुर दाइले भन्नुभएको छ, ‘यदि कमजोरी छ भने पत्ता लगाउनु र कारबाही गर्नुहोस् ।’ सरकारले जे चाह्यो त्यही गर्न सक्ने अवस्था छ अहिले । जहाँ जहाँ आरोप लगाइएका छन्, प्रमाणसहित लगाइन्छ भने हामी त्यसविरुद्ध एक शब्द उठाउने छैनौं ।
तपाई त गैरसरकारी संस्थामा पनि आबद्ध हुनुहुन्छ नि ?
हामीले सामाजिक र राजनीतिक कुरालाई सँगसँगै लग्यौं भने सफल हुन्छौं । गाँस, बास, कपासको कुरा पनि आउँछ राजनीति सँगसँगै । हाम्रो जिल्ला ठाउँअनुसार जनता अशिक्षामा परेको र महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक हिसाबले स्तर उठाउन सकियो भने सबैतिर सजिलो हुन्छ । त्यसैले म धेरैभन्दा धेरै महिलाहरुसँग काम गर्ने गर्छु । चुनावभन्दा अगाडि पनि स्थानीय तहको नेतृत्वमा महिलाहरुलाई कसरी पुर्याउने भन्ने कार्यक्रम राखियो । एनजीओ त नेपाली कांग्रेसले त्यत्ति जान्दैन । तर, सबै नालायक, एनजिओ नराम्रो भन्न सकिँदैन । केही राम्रा काम पनि गरेका छन् । केही रिमोट गाउँहरुमा पनि पुगेका छन् । धेरै काम गरेका छन् । त्यो गर्दागर्दै फाइदा लुट्ने पनि छन् । मैले पनि धेरै लामो समय एनजिओमा काम गरेँ । एनजिओमा काम गर्नुको मेरो उद्देश्य एनजिओभित्रको पोलिटिक्स के हो त ?, त्यस्ता संस्थामा सबै सबै कम्युनिस्ट मित्रहरु बसेका छन् । हामी त एक, दुई जना हराए जस्तो गरी बसेका थियौं । के रहेछ पोलिटिक्स भन्ने हेर्ने मन थियो, त्यो एकचोटि हेरेँ । अहिले पनि छु । जिल्लामा पुल बनाउने, महिलल सचेतनाका कार्यक्रम गर्ने, आयआर्जनका कामहरु गरिराखेका छौं ।
चुनावबाट नेकपा सरकार आइसकेपछि बाहिर दाताहरु फिर्ता भइरहेका छन् । किन त भन्दा अहिलेको सरकारले दातृ निकायसम्बन्धी स्पष्ट कानुन बनाएन । प्रदेश, स्थानीय तहसँग काम गर्ने कि संघ वा एनजिओसँग काम गर्ने ? भन्ने नीति, नियम तयारी नभएकोले बाहिर बसेका छन् दातृ निकाय । स्थानीय तहले आपूmसँग गर भन्छ, प्रदेश, संघले हामीसँग गर भन्छ । कोसँग गर्ने त ? यसको स्पष्ट खाका आउनु पर्यो नि ? भन्ने बाहिरका लगानी गर्ने संस्थाहरुको माग छ । यसो हुँदा विशेषगरी रोजगार गुम्यो । ताप्लेजुङमा मात्रै झन्डै ५, ७ सय जनाले रोजगारी पाएका थिए, युवा, महिलाले । अहिले ५, ७ महिलाहरु बेरोजगार हुँदा जिल्लालाई असर देखिन्छ ।
आदिवासी जनजाति महिलाहरुको राजनीतिक, आर्थिक, सामाजिक लगायत क्षेत्रमा पहँुच कस्तो छ नेपालमा ?
समग्रमा भन्नुपर्दा २०७२ मा जारी भएको संविधानअनुसार केही सजिलो र खुकुलो देखेकी छु । जत्ति हुनुपर्ने थियो, त्यत्ति छैन । केही कुराहरु भाछन् । म पार्टी जिल्ला सभापति, टिकट बाँड्दै गर्दा दुई, तीनवटा कुरा देखेँ । पार्टीहरु पनि सचेत हुनुपर्ने छ । महिलाहरुलाई कसरी क्यापेबल बनाउने, कसरी त्यहाँका जनजाति, दलितलाई क्यापेबल बनाउने भन्ने हिसाबले जानु पर्यो भनेर ९, १० दिनसम्म महासमिति बैठकमा कुरा राखेँ । ताप्लेजुङजस्तै पहाडी र हिमाली जिल्लाहरु छन् । स्थानीय तह चुनाव घोषणा भइसक्दा हामीले झन्डै महिला उम्मेदवार नपाएको अवस्था थियो । त्यसमा हामी सबैको कमजोरी देख्छु म । महिलाहरुको कमजोरी छ । हामी सबैजना त्यो ठाउँमा एकचोटी आउन सक्दैनौं । तर पार्टीको पनि दायित्व हो । त्यहाँ दलित महिला एक जना अनिवार्य आउनुपर्छ । नआए ठाउँ नै खाली हुने । त्यही कारणले सबै जातजाति, महिलाहरुको सहभागिता देखिनुपर्छ । तर, महिलाहरुको क्षमता विकास गर्नुपर्छ । महिलाहरुलाई कार्य दिँदा पनि कार्यान्वयन गर्न सक्ने क्षमता राख्दैनन् । सबैजनाको नभनौं । विस्तार विस्तार डेभलप होला, त्यो आफ्नो ठाउँमा छ ।
नेपालको संविधान २०७२ ले धेरै सजिलो भएको छ । हाम्रो पार्टी विधान पनि संशोधन भएको छ । सबै पार्टीको आआफ्नो संरचना तयार भइसकेपछि महिलाहरुलाई समेटिएको छ ।
कांग्रेसको विधानअनुसार ७७ जिल्लामध्ये ३३ प्रतिशत महिला सभापति हुनुपर्ने, त्यो छैन । टिकट दिए पनि आउन धेरै गाह्रो त्यस ठाउँमा । पार्टीहरु र सबै तहतप्काले सोच्यो भने भोलि सबै ठाउँमा महिलाहरु केही हद्सम्म आउन सक्छन् । अहिलेको अवस्थामा फ्लेक्जिबल पनि छ ।
संविधानले गैरआवासीय नेपालीलाई नागरिकता दिने कुरा गर्यो तर ऐन नबन्दा रोकिराखेको छ । यसबारे कांग्रेसको धारणा के छ ?
संसद्मा हाम्रा पार्टीका साथीहरुले यो कुरा उठाइरहनुभएको छ । सत्ता पक्षले गलत ढंगले काम अघि बढाइराखेको छ । प्रदेशको नामकरण, सीमामा पनि बहुमतको आधारमा जबर्जस्ती गरेको अवस्था छ । जस्तो, प्रदेश नम्बर १ को राजधानी विराटनगर अपायक पर्छ किनकि भारतको सीमा हो । अलि वर सार्न पाएहुन्थ्यो भन्यौं । पार्टी निर्णय गरेर हस्ताक्षर संकलन गरेर पठायौं तर त्यसको सम्बोधन भएन । विदेशमा नेपाली जानु बाध्यता र रहरले होला । अहिलेको सरकारले विदेशमा रहेका नेपालीको हितमा काम गर्नुपर्छ । त्यसमा हामी खबरदारी गरिरहन्छौं । हामी जिल्ला लेभलबाट पनि कुरा उठाउनेछौं ।
सरकारले जनअपेक्षाअनुसार राम्रो काम गरेन भन्ने गुनासो छ । तपाईं कांग्रेसको एउटा सिपाहीको हैसियतले सरकारलाई १० मा नम्बर दिनु परेमा कति दिनुहुन्छ वा पास कि फेल ?
नम्बर त कसरी दिनु धेरै बुझ्नु पर्ने छ । यो सरकार फेल भइसक्यो । अब सुध्रिने मौका पनि गइसक्यो । दुई वर्ष काटिसक्यो कार्यकाल । अब साढे दुई वर्ष लगभग छ । एक त उहाँहरुको पार्टी समीकरण व्यवस्थापन भइराखेको छैन । एक वर्ष बितिसक्यो । प्रचण्ड एउटा बोल्नुहुन्छ, प्रधानमन्त्री केपी ओली अर्को बोल्नुहुन्छ । बिहान एउटा बोल्ने, बेलुकी अर्को ।
नेकपाको जिल्ला तहमा कार्यकर्ता बर्बाद छ । जिल्ला कार्यसमिति पनि राम्रोसँग मिलाउन सक्नुभएको छैन उहाँहरुले । त्यसैले सुध्रिएर उहाँहरुले काम गर्ने छाँटकाट देखिँदैन ।
अब नेपाली जनता सुखी, समृद्ध, उद्यमी कहिले बन्लान् ? तपाईंहरुले धेरै वर्ष आन्दोलन, संघर्ष गर्नुभयो नि ।
नेपालमा सिस्टम धेरै चाँडो चाँडो परिवर्तन भएकै हो । तर, विकास पूर्वाधार निर्माण अल्झिएकै छ । १० वर्ष युद्ध भएपछि हामीलाई २० वर्ष पछाडि धकेलेको छ । पार्टीमात्रै हैन, जो जहाँ छौं हामी सुध्रिएन भने, नेपाली जनता सचेत भएनन् भने धेरै सजिलो पनि छैन, धेरै अप्ठ्यारो पनि छैन । सकारात्मक रुपमा पार्टीहरु, नेताहरु फराकिलो ढंगले जानुभयो भने गाह्रो छैन । देशमा केही सिस्टम क्रियटचाहिँ गर्नुपर्छ ।
कानुन बनाउने क्रममा करको विषय उठेको छ । विदेशमा बस्नेले धेरै कर तिरिराखेका हुन्छन् । त्यसको साटो सुविधा पाइरहेका छन् । नेपालमा पनि कर तिर्नै पर्छ । त्यसअनुसार सुविधा पनि पाउनु पर्यो । हामीले के पाउँछौं र कर तिर्ने भन्ने आवाज जनताको छ । म बसेको ताप्लेजुङमा नगरपालिका पर्छ । पहिलेको भन्दा एक जना कर्मचारी बढेको छैन । अनि घरको फित्ता लाइलाइ कर उठाउन आउँछन् । तिर्ने कि नतिर्ने ? प्रश्न छ ।
फोहोर फाल्ने ठाउँसमेत उहाँहरुले व्यवस्थित गर्नुभएको छैन । कर लाउने, त्यसको सदुपयोग केमा गर्ने ? त्यो निश्चित तोकेर जनतालाई देखाउनुपर्यो । कर्मचारी बढायौं, सेवा सुविधा, खानेपानी, बाटो बनायौं भन्नु पर्यो ।
हाम्रो ठाउँमा बाटो राम्रो हुनै सकेको छैन । दातृ संस्थाहरुले लगानी गरेको थियो, उनीहरु पनि उठेर हिँड्यो । पहाडी जिल्ला भएकोले हाम्रोमा अलैंची सम्भावना छ । त्यहाँ लगानी गर्नेहरु पनि उठेर हिँडे । अलैंचीको भाउ पनि छैन । यसरी हेर्दा देश झन् अस्तव्यस्त छ ।
विदेशमा रहेका नेपालीलाई के भन्न चाहनुहुन्छ ?
नेपाली दाजुभाइ, दिदीबहिनीहरु जुन जुन देशमा रहनुभएको छ । उहाँहरुले नेपाल, नेपाली र आप्mनो लागि बलियो जग बनाउने गरी सोच्नुपर्ने हुन्छ । हामीले इतिहास पढेका छौं । कतिपय नेपालीलाई खेदाको कुरा छ । यस्ता कुराहरुलाई ध्यानमा राखेर, परामर्श गरेर अघि बढौं । जहाँ पुगे पनि नेपालीहरु जातीय, धार्मिक कुराहरुले विभाजित भएको सुनिन्छ । त्यसो नहोस् । सानोतिनो कुरा आप्mनो ठाउँमा राखेर समग्र नेपाली जनताको हितमा के गर्न सकिन्छ, भोलिलाई कसरी बलियो पार्न सक्छौं । इतिहास कायम गरेर जानुपर्छ भन्ने हिसाबले आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनीहरु लाग्नुभयो भने राम्रो हुन्छ । जो नेपाली साथीहरु बेलायतमा बस्नुभएको छ, उहाँहरुलाई हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु । बेलायतमा बसेका नेपालीहरुले लडेर हामी आउजाउ गर्न पाएका छौं । नेपाली साथीहरुले नेपालको बदनाम हुने काम कहीं पनि नगरोस् । र, नेपाली साथीहरुलाई जुन देशमा जाँदा अप्ठेरो पर्छ, उहाँहरुलाई सहयोग गर्न पार्टी र व्यक्तिगत रुपमा जहिले पनि तयार रहनेछौं ।






