नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा पनि जानुपर्छ : उद्धव पौडेल

SHARE:

नेपाली चलचित्र क्षेत्रमा ४२ वर्ष बिताइसकेका छन् उद्धव पौडेलले । उनले चलचित्र निर्माता, निर्देशक, प्रदर्शकको भूमिका निभाए भने चलचित्रसँग सम्बन्धित संघ, संस्थामा पनि पटक–पटक नेतृत्व प्रदान गरे । नेपाल चलचित्र विकास कम्पनीका अध्यक्ष, नेपाल चलचित्र संघको दुई कार्यकाल अध्यक्ष र गोपीकृष्ण हलको प्रोपाइटर बनेका पौडेलका परिवार नै चलचित्र क्षेत्रमा होमिएका छन् । छोरी र दुई छोरा चलचित्र फिल्डमा खटिरहेका उनी बताउँछन् । अक्टोबर १० मा बेलायत भ्रमण गरी त्यहीबीचमा १० दिनजति युरोप भ्रमण पनि सकाएर २७ अक्टोबर बेलुकी नेपाल फर्केका छन्, वरिष्ठ चलचित्रकर्मी पौडेल । बेलायत भ्रमण र नेपालको चलचित्र विकासबारे एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले पौडेलसँग बेलायतमै रहँदा गरेको कुराकानीको सम्पादित अंश ।

बेलायत भ्रमणको उद्देश्य ?
साथीभाइहरुसँग भेट्ने र डुल्ने कार्यक्रममात्रै हो । बेलायत र युरोपमा भएका साथीहरुसँग भेट्न मन थियो, उहाँहरुले पनि भेट्न चाहनुभएको थियो । संयोगले आइपुगेँ । बेलायत, जर्मन, स्वीजरल्यान्ड, फ्रान्समा भएका साथीहरुसँग भेटघाट गर्ने काम भयो ।
पछिल्लो समय नेपाली चलचित्रको धार परिवर्तन भएर दर्शकलाई हलमा तान्न सफल भयो भन्न सकिन्छ ?
वास्तवमा चलचित्रको धार भन्ने त हुँदैन । हामीले चलचित्रमा जुन प्रस्तुति गर्छौं । त्यसका प्राविधिक पक्ष, चलचित्र बनाउने प्रक्रियाका कुराहरु छन् । त्यसमा भारी मात्रामा परिवर्तन आएको छ । केही वर्ष अघिसम्म पनि हामी रिलमा सिनेमा खिच्थ्यौं ।
रिललाई धुनुुपथ्र्यो, फेरि डेभलप गर्नुपथ्र्यो । अबचाहिँ हामी टोटल्ली डिजिटलाइज्ड भा छौं । कुनै पनि सिनेमामा रिल प्रयोग गर्नु पर्दैन । हामीले मात्रै होइन, संंसारभरिका कुनै पनि देशले गर्दैन । कसैकसैले गरिराखेका छन् । केही समयअघि रिलबाट चलचित्र खिच्यो रे भनेको सुनेको थिएँ । तथापि अब ९९ प्रतिशत चलचित्र डिजिटलाइज्ड भइसकेको छ, हरेक देशका फस्ट प्रोडक्सनका कुराहरु । इभन रिलिजसम्म पनि डिजिटलाइज्ड भइसक्यो । पहिलेजस्तो सिनेमाको रिल बोकी बोकी हलहरुमा जानुपर्दैन । हार्डडिक्समार्फत् सिनेमा हलमा पुग्न थालिसकेका छौं ।
नेपालले पनि त्यस्तो प्रविधि प्रयोगमा ल्याइसक्यो ?
नेपालमा सय प्रतिशत नै त्यस्तो भइसक्यो । अहिले चलचित्र रिलबाट खिच्ने, देखाउने बन्द भइसक्यो । सिनेमा बनाउन डिजिटल क्यामरा प्रयोग गछौं र देखाउन पनि डिजिटल प्रविधि प्रयोग गर्छौं । हार्डडिक्सबाट या स्याटेलाइटबाट सिधैं डिजिटल प्रोजेक्सन हुन्छ, त्यसबाट पर्दामा देखाउन मिल्छ ।
रिल र डिजिटाइज जमानामा लगानीको अवस्था कस्तो छ ?
रिल महँगो हुन्छ, डिजिटलमा खर्च थोरै लाग्ला भन्ने धेरैको सोचाइ हुन्छ । यथार्थमा त्यो होइन । यसको पनि विभिन्न किसिमका क्वालिटी छन् । साधारण क्यामराबाट खिचेर अहिलेको बजारसँग मिट गर्न सकिन्न । गतिलो क्यामरामा खर्च गर्नुपर्ने हुन्छ । पहिले रिलमा खर्च गर्नुपथ्र्यो भने अहिले क्यामरामा खर्च गर्नुपर्ने अवस्था छ । क्यामराको रेजुलेसन कति छ ? कतिसम्म साथ दिन्छ भन्ने, लेन्सहरु, क्यामेराका एसेसिरिजहरुले त्यसलाई निर्देश गरेको हुन्छ ।
प्राइसिङ भन्ने कुरा गाडी खरिद गरेजस्तै हो । गाडी त गाडी नै हो तर जिप चढ्नुहुन्छ कि कार ? बेलायतमै पनि १० हजार पाउन्डको गाडी आउँछ भने १० लाख पाउन्डको पनि गाडी हुन्छन् । त्यस्तै चलचित्र निर्माण पनि । मार्केट, आफ्नो हैसियत, कुन लगानीमा चलचित्र बनाउँदै छौं, टार्गेड अडियन्स कुन हो ? उनीहरुले त्यो प्रविधिलाई एसेप्ट गरुन् भन्ने हिसाबले खर्च गर्नुपर्ने हुन्छ । त्यसैले खर्च यत्ति नै भन्नुभन्दा पनि सिनेमाको क्वालिटी, प्रस्तुति, कन्टेनहरु के छ । यी सब चिजहरुले बजेट निर्धारण गर्छ ।
डिजिटल र रिलमा तात्विक भिन्न हुँदैन । डिजिटल पनि अहिले महँगो भइसकेको छ । रिलमा खिचेभन्दा सस्तो हुन्छ भन्ने होइन । क्वालिटीमा जाने कुरा हो । कति क्वालिटीको इक्युपमेन्ट रेइज गर्नुहुन्छ, कति क्वालिटीको चाहिन्छ । अडियन्सलाई कति टाढाबाट सार्पनेस देखाउन सक्नुहुन्छ ? यस्ता धेरै कुरा छन् ।
साउन्ड, डिजिटलाइज्डमा थ्रीडीबाट सेभेन डी के के आइसक्यो, आइसक्यो । हामी कतिपय देशमा पुग्या छैनौं । साउन्डमा पनि विभिन्न किसिमका भेरिएसन, उच्च प्रविधि हरेक दिनजसो आविष्कार भइरहेका छन्, चलिराछ । बनिराछ ।
हामीले हिजो बनाउने सिनेमा ५०–६० लाखको रेन्जमा हुन्थ्यो भने अहिले कम्तीमा १ करोड, डेढ करोड खर्च गरिराखेका छौं । नेपालमा पनि ५ करोड, ७ करोड खर्च गरेर सिनेमा बन्न थालिसकेका छन् । तथापि ठीकठाकको प्रविधि यूज गरेर, ठीकैको कलाकार राखेर चलचित्र बनाउन १ करोड बजेट नभइ कल्पनै नगरे हुन्छ ।
एक करोडमा खर्च गरेर चलचित्र खिच्न सेट तयार गरिराखेको छ । ती सब चिजले खर्च नउठ्ने अवस्था छैन । हाम्रो बजार पनि २०–२५ करोडको भइसक्या छ । अब त्यो चिजलाई हेरेर अन्तर्राष्ट्रिय बजारमा पनि हामीले सिनेमा पुर्‍याउनु पर्छ ।
नेपाली सिनेमा नेपालमा मात्रै सीमित राखेर त्यसको लगानी उठ्दैन भन्ने कुरा विभिन्न पक्षबाट हामीले देखिसकेका छौं । यो अवस्था आउँदा हामीले बनाएका सिनेमा अन्तर्राष्ट्रिय बजारमा जानुपर्छ र अन्तर्राष्ट्रिय बजारको क्वालिटीलाई हामीले मिट गर्नुपर्छ । त्यो क्वालिटीलाई मिट गर्न सकेनौं भने फेरि अन्तर्राष्ट्रिय बजारमा कसरी सिनेमा देखाउने ?
मानौं, मैले सिनेमा बनाएँ, लन्डनमा देखाउनुपर्‍यो । त्यसका लागि यहाँको थिएटरलाई मिट गर्ने क्वालिटी मैले दिन सक्नुपर्‍यो नि ! त्यस्तो दिन सकिएन भने ए, क्वालिटी खत्तम रहेछ । मान्छे देखिएन । मान्छे चिनिएन । साउन्ड बुझिएन । यी सब कुराहरु हुन्छन् । त्यसले बजारलाई असर गर्छ । त्यसैले हामीले अन्तर्राष्ट्रिय बजारको मापदण्ड, हरेक पक्षलाई हेरेर खर्च गर्नुपर्छ । लगानी गर्नुपर्छ । यी सब चिजलाई मिट गर्न नेपाली सिनेमाले आफूलाई अपग्रेड गरिसकेको छ ।
तपाईं चार दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्छ, नेपाली चलचित्रको विगत र विकास के छ ? भनिदिनोस् न ।
नेपाली सिनेमाको इतिहास भन्नुहुन्छ भने, नेपाल सरकारले तत्कालीन सूचना मन्त्रालयअन्तर्गत सूचना विभागले ‘आमा’ नामको फिल्मबाट सुरुआत भएको हो । हुन त, त्यो भन्दा अगाडि पनि ‘राजा हरिशचन्द्र’ सिनेमा कोलकातामा बनेको थियो ।
कसैले त्यो नेपाली भाषामा बनेको भनिरहेका छन् भने कसैले बंगाली भाषामा बनेर नेपालीमा ड्रब गरेको भनिरहेका छन् । कोलकाताकै मान्छेले बनाएका हुन् । परियार भन्ने एक जना निर्देशक हुनुहुन्छ । यो चाहिँ अहिले डिबेटको विषय भएको छ । सो चलचित्रका केही कन्टेन्ट, पोस्टरहरु भेटिएका छन् । नेपाली चलचित्र लेखिएका छन् । तर, नेपाली भाषाका पोस्टर भेटिनु मात्रै नेपाली चलचित्र बनेको भन्न सकिँदैन ।
लगभग कति सालको कुरा हो यो ?
वि.सं. २०२२ को ‘आमा’ चलचित्रभन्दा अगाडिको हो, हरिशचन्द्र । त्यतिबेला सिनेमा अहिलेजस्तो दुई/चार महिनामा बनाउने कुरा आउँथेन । त्यतिखेर सिनेमा बनाउन वर्षौं लाग्थ्यो । धेरै देशका प्राविधिक पक्षहरु जुटाउन वर्षौंदिन, महिनौं दिन लाग्थ्यो । त्यसकारण यत्ति नै सालतिर चल्यो, बन्यो भन्ने आँकडाका विषयमा हामी अनभिज्ञ छौं । सो चलचित्रबारे नेपाल र कोलकातामा डाटा नभएको, नेपालमा छायाँकन नभएको किनकि त्यतिखेर नेपालमा छायाँकन गर्ने फ्यासिलिटीज् छँदा पनि थिएन । छायांकन, डबिङ, मिक्सिङको केही पनि प्रविधि थिएन ।
प्रविधि २०२८ सालमा सुरु भएको हो । नेपाल सरकारले जब शाही नेपाल चलचित्र संस्थान बनायो । त्यसपछि सिनेमा बनाउनका लागि जग हाल्ने, पूर्वाधार खडा गर्ने काम भयो । ०२२ सालमा आमा चलचित्र बने तापनि २०२८ सालदेखि सिनेमा बनाउन जग हाल्ने काम भयो । त्यतिखेर शाही नेपाल चलचित्र संस्थानले पनि हन्ड्रेड परसेन्ड पूर्णता दिएको थिएन । तथापि त्यहाँ धेरै कामहरु हुन थाल्यो । पूर्ण रुपमा सिनेमा सक्न हामी बम्बईमै गयौं ।
२०४२, ०४३ सालमा मैले जति पनि सिनेमा बनाएँ । धेरैजसो सिनेमा खिच्ने काममात्रै नेपालमा गरेँ । बाँकी काम बम्बईमा गर्नुपर्‍यो । त्यसपछिको समयमा मात्रै यो संस्थानले पूर्णता पाएको हो । डबिङ गर्ने, मिक्सिङ गर्ने, सिनेमाको प्रिन्ट निकाल्ने, सिनेमालाई धुने, छाप्ने सबै कामहरु ०४४, ०४५ सालतिर हामीले नेपालमै सुरुआत गरेका हौं ।
डबिङ गर्ने, मिक्सिङजस्ता प्राविधिक पक्षका लागि अहिले नेपाल आत्मनिर्भर छ ?
क्वालिटी इन्टरनेसनल मिट गर्छु भन्ने हो भने त्यो अर्कै पक्ष होला । नभए अहिलेको मार्केट ट्रेन्डअनुसार हाम्रो क्वालिटी भन्नुहुन्छ भने इन्डिया, बंगलादेश, पाकिस्तानका प्रविधि, त्यसको क्वालिटी नेपालमै दिनसक्ने अवस्थामा छौं ।
अहिलेसम्म नेपालमा कति चलचित्र बनिसके होलान् ?
वर्षको झन्डै सय हाराहारीमा सिनेमा बनिराखेको छ । २०४४ सालमा झन्डै ४ सय वटा सिनेमा बनेका थिए भने त्यसयता २ हजार पनि पुग्न सक्छ होला । कुनै वर्ष १ सय १२ पनि बने, कुनै वर्ष ८०, ८५ संख्याको अनुपातमा चलचित्र बन्या छन् ।
तपाईंले चाहिँ कतिवटा बनाउनुभयो ?
मेरो आफ्नै प्रोडक्सनमा त २५/३० वटा बन्यो होला । मैले लगानी गरेको छु । डिस्टीब्युसन गरेको छु । सबै जोड्दा सयवटा पुग्न सक्छन् ।
पछिल्लो समय चलचित्र निर्माणमा हुनुहुन्छ कि हुनुहुन्न ?
म अहिले छैन । मेरा छोराछोरीहरु यही क्षेत्रमा पढेर ट्यालेन्ट भइसकेका छन् । उमेरका कारण म अनुभव सेयर गर्ने हो । फिल्डमा उनीहरुले काम गर्छन् । सानु छोरो निरव पौडेल । उनले लन्डन अक्सफोर्डबाटै ग्रेजुयसन गरेको हो स्कलरसिपमा । उनले फिल्म डाइरेक्सन गर्छ । नेपाल चलचित्र विकास कम्पनीको चियरपर्सन उही छ । उसैले हेर्छ, पहिले म थिएँ ।
प्रोडक्सनको काम हाम्रो कम्पनीले गर्ने, त्यसलाई मोटिभेट गर्ने, फिल्मसम्बन्धी जतिपनि गतिविधि हुन्छ, छोरा निरवले गर्छ । ठूलो छोराले नेपाली सिनेमा, हिन्दी, अंग्रेजी सिनेमाको टे«डिङ गर्छ । नेपालभरि झन्डै झन्डै दुई सयवटा सिनेमा हलहरु छन् ।
त्यसमध्ये १ सय ५६ वटा जतिमा हाम्रो नेटवर्किङ छ, हार्डिक्समार्पmत् देखाइन्छ । ठूलो छोराले विदेशी सिनेमाहरुको ट्रेडिङ गर्छ । सबभन्दा ठूली छोरी हो । हाम्रो टिभी फिल्म भन्ने छ । रेडियो फिल्मी भन्ने छ । वेब म्यागजिन छ । त्यसपछि विभिन्न न्यूज पोर्टलहरु छन् । त्यो हेर्ने काम छोरी निकिता पौडेलले गर्छिन् । उनी चलचित्र विकास बोर्डको अध्यक्ष पनि बनेकी थिइन् । नेपाली सिनेमा क्षेत्रमा म लगायत मेरा तीनैजना छोराछोरीले आआफ्नो काम गरिरहनु भा’छ । मभन्दा पनि छोराछोरीहरु त्यसमा इन्भल्व हुनुहुन्छ ।
भनेपछि सन्तुष्ट हुनुहुन्छ ?
अभिएसस्ली, सन्तुष्ट भइहाल्छ । एउटा पिताका लागि आफ्ना छोराछोरीले आफूले गरेका कामहरुमा कन्टिन्यूटी दिएपछि सन्तुष्ट नहुने कुरा भएन । त्यसैले म यसरी घुमिराछु ।
नेपालमा प्रजातन्त्र स्थापनापछि धेरै क्षेत्रको विकास भए । चलचित्र क्षेत्रको विकासलाई तपाईंले कसरी लिनुभएको छ ?
यो क्रमिक रुपमा हुने कुरा हो । चलचित्र क्षेत्र सिर्जनाको काम हो । सिर्जनालाई पिपुल्ससम्म लानु पर्छ । उसले मनपराइदियो भने सुन भयो मन पराएन भने माटो । अरु व्यापारजस्तो चलचित्र व्यापार भएन । तपाईंले अडियन्सको मन जित्न सक्नु पर्‍यो । जो दर्शक हो । तिनीहरुले टिकट काटेर हलसम्म जानुपर्छ । हामीलाई घरमै बस्दा सिनेमा हेर्न अल्छी लाग्ने गर्छ राम्रो भएन भने ।
सिनेमा हलमा गएर टिकट काट्नु पर्‍यो, आउनु पर्‍यो । त्यसमा समय बर्बाद, खर्च । सिनेमा हलमा बस्नु पर्‍यो । भनेपछि तपाईंले सिनेमा मन छुने बनाउनु पर्‍यो । राम्रो बनाइदिएमा २०/२५ करोड व्यापार गरेका सिनेमा पनि हामीसँग छन् । उन्नति भनेको कुरा दर्शकहरुले मन पराउनुपर्छ ।
सबभन्दा दुःखलाग्दो कुरा के छ भने, नेपालीहरुले नेपाली सिनेमा हेरिराखेको अवस्था छैन । नेपाली सिनेमा के हेर्ने भन्ने अवस्था छ । किनभने नेपाली सिनेमा हाम्रो संस्कृतिबाट सुरुदेखि नै थिचियौं । हिजो हामीले सिनेमा बनाउँदैनौं थियौं । हाम्रा सिनेमा घरहरुमा हिजो विदेशी सिनेमाहरुमात्रै चल्थे । विदेशी सिनेमा हेरिरहेका मान्छेको दिमागलाई रिप्लेसमेन्ट गरेर नेपाली सिनेमा देखाउने बनाउन सक्नुपर्छ नि ! त्यसका लागि ठूलो चुनौती छ । हाम्रो हिट भएका सिनेमाको दर्शक टोटल जनसंख्याको ५ प्रतिशतमात्रै हो । हिन्दूस्थानको साउथमा ८० देखि ९० प्रतिशतसम्म भिअर्स हुन्छन् । सय जनामा ८० देखि ८५ जना मान्छेले सिनेमा हेर्छन् । साउथ फिल्म सानो टेरोटेरी भए पनि उसले हिन्दी फिल्मलाई चुनौती दिइराखेको छ । हिन्दी फिल्म हेर्ने करोडौंमा छ । तथापि उनीहरुले चुनौती दिइराखेका छन् ।
हिन्दी सिनेमा भन्दा बढी लगानी गरेर सिनेमा बनाइराखेका छन् साउथले । त्यहाँ सिनेमामा लागेका मान्छे सबै पोलिटिसियन भएछन् । नेतृत्व गरिराखेका छन् । जनताको मन जितिराखेका छन् ।
नेपाली चलचित्रमा दर्शक तान्नका लागि लगानी नै कम भएको हो अहिले ?
लगानी होइन । नेपाली दर्शकको मनस्थितिमा नेपाली सिनेमा राम्रो बन्छ भन्ने सन्देश पुर्‍याउन हामीले नसक्या हो । बनेका सिनेमा कुनै त चलिरा पनि छन् । तथापि नेपाली सिनेमा राम्रो बनेको छ है भन्ने म्यासेज सबै नेपालीहरुमा पुर्‍याउन नसक्नु चाहिँ हाम्रो कमजोरी हो ।
नेपाल सरकारबाट यहाँहरुले के कस्तो सहयोग पाइरहनुभएको छ ?
सरकारले सबै थोक गर्ने होइन । सरकारले फ्यासिलेडेट गर्ने काम गर्छ । हामीले सुरु सुरुमा सरकारलाई भनेका थियौं, नेपाली सिनेमा बनाउने वातावरण बनाइदेउ, नेपाली चलचित्रलाई ट्याक्स फ्री बनाइदेउ, सरकारले सबैथोक गर्देको छ । नेपाली सिनेमाले कमाएपछि आयकर मात्रै तिर्नुपर्छ । राजस्व तिर्नुपर्दैन । पहिले इन्टरटे«टमेन्ट ट्याक्स तिथ्र्यौं । विदेशी सिनेमालाई भ्याटको रुपमा लिन्छौं । भ्याट लागिसकेपछि ट्याक्सलाई विस्थापित गरिदियो ।
नेपाली गभर्नमेन्टले पूर्वाधारलगायत व्यसिक कुराहरु स्टुडियो, मार्केटिङका स्टाटेजीहरु बनाइदिने गर्नुपर्छ । हाम्रा विभिन्न देशमा भएका नियोगहरुमार्फत् नेपाली सिनेमालाई कसरी प्रमोसन गर्न सकिन्छ ? भन्ने कार्यक्रम दिनुपर्छ ।
नेपाली सिनेमाका कार्यक्रमहरु नेपाली भएका देशमा मात्रै होइन कि नेपाली नभएका देशमा पनि गर्ने, गराउने । फेस्टिभल गर्नुपर्छ । नेपाली सिनेमा पनि यस्तो बन्दोरहेछ है भनेर म्यासेज दिने काम सरकारले गर्न सक्नुपर्ने हो । त्यो तर्पm सरकारको कमजोरी छ । यो महत्व बुझ्ने सरकार आइदिएमा ठूलो कुरा पनि होइन । कुनै पनि बेला सरकारले गर्न सक्ने कुरा हो । तर, भइरा छैन ।
दर्शक हलमा जाँदा सरकारलाई कर तिर्नु पर्छ कि पर्दैन ?
नेपाली सिनेमाको हकमा चलचित्र विकास शुल्क भन्ने छ, त्यो तिर्नु पर्दैन । मनोरञ्जन कर स्थानीय तहहरुलाई दिएको छ । त्यो न्यूनतम छ । पहिले त छँदै थिएन । अहिले संघीय सरकार भएपछि फेरि पाँच प्रतिशत उठाउन थालेको छ । मनोरञ्जन कर प्रादेशिक सरकारको भागमा परेको छ । जस्तो नगरपालिका भो, गाउँपालिका भएको ठाउँमा तिनीहरुले ५ प्रतिशत उठाउन थालेको छ ।
विदेशका हलहरुमा नेपाली चलचित्र कहिले हेर्न पाउलान् ?
यो व्यावसायिक कुरा भयो । मेरा समकालीन बेलायतका साथी रिलेटिभसँग सिनेमा हेर्न जानुभएको थियो, नेपाली सिनेमा हेर्न हलभरिमा ६ जनामात्रै मान्छे थियौं भन्नुभयो । फिल्म देखाउँदा हलको चार्ज झन्डै २५ प्रतिशतको अनुपातमा पर्न आउँछ । ६ जनाको हिसाबै भएन । हाउसरेन्ट कति होला । म त कल्पना नै गर्न सक्तिनँ ।
मलाई लाग्छ, त्यसप्रति आकर्षण जनताको नभएसम्म विदेशका हलहरुमा नेपाली चलचित्र हेर्ने विषयले समय लाग्न सक्छ । तथापि नेपाली सिनेमालाई प्रचार गर्नका लागि जसले नेपाली सिनेमालाई माया गर्नुहुन्छ, सिनेमाप्रति चाख राख्ने मान्छेले समूहगत प्रचार गर्ने वातावरण बनाइदिनुपर्छ । चाहे जुनसुकै देशमा होस् । जस्तो नेपाली सिनेमाको फ्यान क्लब भयो । हामीजस्ता १२, १३ सय, ३ हजार, ४ हजार कति पुग्छौं नेपाली सिनेमा हेर्न इच्छुकहरु । तिनीहरुको लेखाजोखा हुनुपर्‍यो । त्यसो भएमा एक शोका लागि हामी हल त बुक गर्न सक्छौं नि ! सबैको एक दिन समय मिल्छ भन्ने हुँदैन । मेजोरिटीमा समय मिलेको दिन समूहले मोटिभेट गर्ने, निर्माता, सिनेमावालासँग कोअर्डिनेसन गरेर देखाइदिने । कमसेकम सम्बन्धित देशका देखाउने साथीहरुलाई केही रेभिन्यू आउँछ भने हुन्थ्यो ।
अपर्भmट ल्याएर चलचित्र देखाउने, यत्ति गते यो सिनेमा यो हलमा देखाइँदै छ भन्दा कसलाई फुर्सद हुन्छ र । कसलाई हुँदैन । सिनेमाको विषयवस्तु के छ भन्ने नहेरिकन किन खर्च गर्ने भन्ने हुन्छ । धेरै फ्याक्टर्सलाई हेर्न फ्यान क्लब डेभलप भयो भने यस क्षेत्रमा लागेका मान्छेलाई प्रोत्साहन दिन्छ । र, यस क्षेत्रका लगानीलाई अलिकति भने पनि सुरक्षा दिनसक्छ । समूहचाहिँ बनाइदिनुपर्छ । मैले सुनेअनुसार बेलायतका अल्डरसट क्षेत्रमा कमसेकम ३० हजार नेपाली हुनुहुन्छ । त्यसमध्ये ५ हजार मान्छेले सिनेमा हेरिदिने हो भने लाखौंको व्यापार यहीं पनि हुनेरहेछ ।
यहाँ त, एउटा ग्रुपले चलचित्र प्रदर्शन गराउँदै छ भने अर्को समूहले सहयोग नगर्ने । अर्कोले गर्दा अर्कोले नगर्ने सानो सानो चित्त देखाउनाले पनि पाउनुपर्ने प्रतिफल चलचित्र क्षेत्रले पाइरहेको छैन । जसको एप्रोच छ, जसको राम्रो संगठन छ । जसले राम्रो पीआर बनाएको छ उसको सिनेमाले केही बेनिफिट लिएर गाको छ । जसको पीआर छैन, राम्रै सिनेमा भए पनि चलिरहेको अवस्था छैन ।
बेलायतमा मात्रै होइन धेरै देशमा त्यही देखिरहेको छु । अमेरिकामा त्यही देखिरहेको छु, जापानमा पनि । अहिले खाडी मुलुकमा सिनेमा देखाउने प्रयास भइराखेको छ । सानो सानो समूहमा नेपालीहरु बाँडिएको छ, त्यसले गर्दा मूल उद्देश्यमा हामी पुग्न सकिराख्या छैनौं ।
छिमेकी मुलुकहरुमा पनि चलचित्र डिस्टिब्यूट गर्ने काम भइरहेकै होला नि ?
व्यापारीहरुको काम नै व्यापार हो । व्यापारलाई वृद्धि गर्न, प्रमोसन गर्न हरेक प्रयास गरिराखेको हुन्छ । तर, यसमा सबैको एट्टीच्यूडचाहिँ नेपाली सिनेमालाई सहयोग गरौं है भन्ने हुनुपर्छ । म उद्धव पौडेल होस् या अरु कोही । नेपाली सिनेमालाई हेर्नु पर्‍यो । कसले बनाको भन्दा पनि यो सिनेमा राम्रो छ कि छैन भन्ने हुनुपर्छ । किनभने मैले बनाएको सिनेमा राम्रो छैन । मेरो सिनेमा हेरिदिनोस् भन्ने कुरा आउँदैन । नचिनेकै मान्छेको सिनेमा किन नहोस्, त्यो सिनेमा राम्रो बनेको छ । भिअर्स राम्रो हुन्छ भन्ने मार्केट एनालाइसिस त भइहाल्छ ।
नेपालमा चलेपछि विदेशमा आउने हो । अहिले त यस्ता कुराहरु मिडियाका कारण चाँडो आउँछ । यो सिनेमाले यस्तो व्यापार गर्‍यो । यस्तो भयो, उस्तो भयो, कन्टेन्ट यस्तो छ भन्ने कुरा त हामी थाहा पाउँछौं । तथापि सिनेमाको एक शो हेरेपछि रिजल्ट थाहा भइहाल्छ । सबै सिनेमालाई प्रोटेक्सन दिन नसके तापनि हामी कति देखाउन सक्छौं, त्यत्तिका लागि नेपालीहरुलाई बानी पार्नु पर्‍यो हेर्ने । राम्रो राम्रो सिनेमा देखाइदिने हो भने, अहिले सिनेमा राम्रै बन्दोरहेछ भन्ने वातावरण बनेर जान्छ ।
एउटा राम्रो सिनेमा बन्यो, अर्को हेर्नै नहुने बन्यो भने सबै सिनेमा त्यस्तै त रछ के हेर्न जानु भनेर दर्शकको मनमा पर्नसक्छ । त्यसैले बेलायतमा फिल्म क्षेत्रमा लागेका साथीहरु जो हुनुहुन्छ, उहाँहरुले अलिकति मेहनत गरेर त्यस किसिमको वातावरण बनाएर नेपाली फिल्मलाई प्रमोसन गर्न सकिन्छ ।
नेपालको दक्षिणी छिमेकी देश भारतमा थुप्रै नेपाली बसोबास गर्छन् । त्यस देशमा नेपाली चलचित्रको बजार कस्तो छ ?
भारतमा नेपाली सिनेमाको बजार छ । तर, हामीले बजारसम्म पुर्‍याउन सकेका छैनौं । यसका धेरै प्राविधिक कठिनाइ छन् । भारतमा नेपाली चलचित्र देखाउन भारतमै सेन्सर गर्नुपर्छ । सेन्सरको प्रक्रिया र भारतमा सिनेमा टे«डिङ गराउनका लागि हामीले जुन पूर्वाधारहरु बनाउनुपर्ने छ । त्यसमा अलि कमी छ ।
जस्तो पहिले स्याटेलाइटमार्पmत् सिनेमा देखाउन सक्ने अवस्था थिएन, अहिले सिनेमा देखाउन स्याटेलाइटमा जानुपर्छ । या कुनै कम्पनीको सफ्टवेयर यूज गरेर चलचित्र देखाउन जानुपर्छ । उनीहरुले सिनेमाको कन्टेन्टलाई सेन्सर नगरीकन लोड गर्दैन ।
नेपालमा सेन्सर गरेकोलाई भारतले मान्यता दिनुपर्छ । यस्ता मेजर कुराहरु गभरमेन्ट लेभलमा गर्नुपर्छ । नेपाली सिनेमालाई वानडोर वा फास्ट ट्याकबाट गरिदिनुपर्छ । हिन्दी सिनेमा हामी फास्ट ट्याकबाटै गरिदिन्छौं । आज भारतबाट सिनेमा ल्यायो, आजै गरिदिएन भने त्यो इन्टरनेटमा आइहाल्छ । त्यसको के अर्थ ? भनेपछि त्यो संवेदनशीलतालाई बुझेर नेपाल सरकारले र हामीले त्यो किसिमको पहल गर्नुपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!