रविन्द्र खड्का
अध्यक्ष, नेपाल चलचित्र कलाकार संघ

रंगमञ्चबाट कलाकारितामा उदाएका रविन्द्र खड्का नेपाल चलचित्र कलाकार संघका अध्यक्ष हुन् । २०४५ सालमा गठन भएको चलचित्र संघले उनैको अध्यक्षतामा ०४८ मा वैधानिकता प्राप्त गर्यो । चलचित्र क्षेत्रको विकास, विस्तार र कलाकारहरुको एकता, सहयोग आदानप्रदान गराउने उद्देश्यले स्थापित संघको नेतृत्वमा करिब २६ वर्षपछि खड्का दोहोरिए । वि.सं. २०३३ चैतदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको रंगमञ्चबाट कलाकारिता सुरु गरेका खड्काले ०३९ सालतिर आफैंले चलचित्र ‘बदलिँदो आकाश’ निर्देशन, निर्माण गरे । त्यसपछि ०४३ सालमा ‘मायापिरती’ चलचित्रमा नायकको रुपमा काम गरे । मायापिरतीपछि ‘भाग्यरेखा’, ‘रक्षा’, ‘चेली’, ‘पहिलो प्रेम’ लगायतमा लगातार नायकको भूमिकामा रहे खड्का । विशेषगरी चरित्र अभिनेताको रुपमा चिनिने खड्काले रंगमञ्चदेखि नेपाली चलचित्र, कला, साहित्यमा होमिन थालेको ४२ वर्ष पुगिसक्यो । अभिनेता, चलचित्र निर्देशक र समाजसेवीको परिचय बनाएका खड्का नेपाल चलचित्र कलाकार संघ यूकेको प्रथम अधिवेशनका लागि १४ नोभेम्बर (कात्तिक २८) मा साताव्यापी बेलायत भ्रमणमा आएका हुन् । अभिनेता खड्कासँग बेलायत भ्रमण, नेपाली चलचित्र र कलाकारहरुको अवस्थाबारे एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी :
के थियो बेलायत भ्रमणको उद्देश्य ?
विशेषतः नेपाल चलचित्र कलाकार संघ ३२ औं वर्ष प्रवेशको अवसरमा बेलायतमा रोमियन लिम्बू बहिनी, जो नायिका पनि हुनुहुन्छ । उहाँ मेरो नाताले भान्जी । उहाँकै संयोजकत्वमा एउटा ब्रान्च खोलेका छौं, नेपाल चलचित्र कलाकार संघ यूके । १७ नोभेम्बरमा हुने चलचित्र कलाकार संघ यूकेको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमका लागि १४ नोभेम्बरमा यहाँ आएको हुँ । त्यसको तदर्थ समिति संयोजक रोमियन बहिनी हुनुहुन्थ्यो । प्रथम अधिवेशनबाट उहाँ नै निर्विरोध रुपमा अध्यक्ष बनिसक्नुभएको छ । मसँगै नेपाल चलचित्र कलाकार संघमा दुई पटक उपाध्यक्ष बनिसक्नुभएका लोकप्रिय नायक धीरेन शाक्यज्यू पनि बेलायत आउनुभएको छ ।
यो चलचित्र संघ कहिले र किन स्थापना भएको हो ?
नेपाल चलचित्र कलाकार संघ २०४५ साल भाद्र ५ गते नेपालमा महाभूकम्प आयो । त्यसबाट धेरै धनजनको क्षति भयो । नेपालीहरुलाई परेको समस्या हल गर्न हामी चलचित्र कलाकारहरु पनि लाग्नु पर्छ । नेपालीको दुःखमा साथ दिनुपर्छ भनेर हामी सडकमा उत्रिएका थियौं । हामीलाई लाखौं जनताले साथ दिए । राहत कार्यका लागिमा हामी अगाडि बढ्यौं ।
सरकार पनि सक्रिय थियो नै । हामीले पनि साथ दिएर संकटमा परेका नेपालीहरुलाई सक्दो राहत दियौं । त्यसपछि विभिन्न विधामा रहेका नेपाली कलाकर्मीहरु गोलबन्द रहेर एउटा संस्था खोल्न आवश्यक ठान्यौ । त्यसमा थुप्रै अग्रज कलाकारहरुको महत्वपूर्ण भूमिका रह्यो । नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, कृष्ण मल्ल, बसुन्धरा भूसाल, भुवन चन्द लगायत थुप्रै मिलेर चलचित्र कलाकारहरुको संस्था गठन गर्ने कुरा भयो । जुनबेला आदरणीय दिदी शान्ति मास्केको संयोजकत्वमा नेपाल चलचित्र कलाकार संघ स्थापना गर्यौं । शान्ति मास्के अहिले हुनुहुन्न ।
त्यो बेलामा मदनदास श्रेष्ठ निकै सक्रिय हुनुहुन्थ्यो । संस्था त खोल्यौं तर हामीसँग केही थिएन । मदनदास दाइको आफन्तको ठमेलस्थित होटलमा कलाकारहरुको सम्मेलन जस्तो गरी तदर्थ समिति बनायौं । र, पछि २०४८ सालमा मेरै अध्यक्षतामा दर्ता गरेर हामी अगाडि बढेका हौं । अहिले पनि कलाकारितामा मात्रै होइन, समाजको अप्ठ्यारामा पनि हामी अगाडि बढिरहेका छौं ।
हामीले नेपालमा मात्रै होइन, विश्वका विभिन्न देशमा छरिएर रहेका कलाकारहरुलाई गोलबन्द बनाउने उद्देश्य अनुरुप नेपाल चलचित्र कलाकार संघ अमेरिका पनि स्थापना गरेका छौं । नवराज श्रेष्ठ अध्यक्ष हुनुहुन्छ ।
बेलायतमा नायिका रोमियन लिम्बू बहिनीले म भन्दा अघिल्लो कार्यसमितिका अध्यक्ष नवल खड्का, महासचिव सरिता लामिछानेसँग ब्रान्च खोल्ने कुरा गरी तदर्थ समिति बनाउन स्वीकृति लिनुभएको रहेछ । मैले पनि स्वीकारेँ । याक्टिभ देखेँ, रोमियन लिम्बू । उहाँ समाजमा भिज्न सक्ने र कलाकारितामा पनि लागिराख्नु भएकोले मौखिक रुपमा मैले पनि स्वीकारेँ । गएको नोभेम्बर १७ तारिख २०१९ को प्रथम अधिवेशनदेखि उहाँ विधिवत् रुपमा अध्यक्ष बन्नुभएको छ ।
नेपाल चलचित्र कलाकार संघको वर्तमान गतिविधिप्रति सन्तुष्ट हुनुहुन्छ ?
नेपाल चलचित्र कलाकार संघमा धेरै समस्या छन् । हामीलाई भन्न पनि लाज हुन्छ । हामी संगठित भएको ३२ वर्ष पुग्यो तर कलाकारहरुलाई ओत लाग्ने ठावै छैन । घरपेटीलाई भाडा बुझाएर कार्यालय सञ्चालन भइरहेको छ । अहिले बस्दै आएको घरबाट सर्नुपर्ने अवस्था पनि छ । हामी आफ्ना बालबच्चा, परिवारलाई बोकेर विचलित रुपमा कहिले कुन ठाउँमा जान्छौं, कहिले कुन ठाउँमां ?
वर्तमान नेपाल सरकारले बासको व्यवस्था गरिदेला भन्ने आश लिएका छौं । माननीय सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, भूमिसुधार मन्त्री लगायतसँग हामीले कुरा गरिराखेका छौं । वास्तवमा हामी अप्ठ्यारामा छौं । खुसी छैनौं । चाँडोभन्दा चाँडौ बासको व्यवस्था गर्छौं होला ।
नेपाली कलाकारहरु उमेर छउञ्जेल काम गर्छौं त्यसपछि थन्किन्छौं । हामी काम गर्न सक्दैनौं । त्यसपछि हामीले ती कलाकारहरुलाई बिर्सँदै जान्छौं । रेकर्ड पनि छैन । हामी नयाँ नयाँ पिढीसँग काम गरिरहेका हुन्छौं । कता–कता, ३०/४० वर्ष योगदान पुर्याएका कलाकारहरु बिरामी भएको अवस्था हुन्छ । उहाँहरुले उपचार पाउनुहुन्न । नेपाल सरकारले हेर्दैन । वाह वाह गर्ने दर्शकहरु छन् नि, उहाँहरुको सहयोगबाट हामी कलाकारले औषधि उपचार गर्नुपर्ने अवस्था छ । दुखद् पक्ष यही हो ।
भनेपछि दुःखमा पर्दै आएका कलाकारहरुलाई तपाईहरुले संघको तर्फबाट सहयोग पनि गर्नुहुन्छ ?
संस्थागत रुपमा हामीले मात्रै सहयोग गरेका छौं कलाकारहरुलाई ।
रकम कसरी जुटाउनु हुन्छ त ?
सदस्यता शुल्क हो । कलाकारहरु बाहिर जानुहुँदा सिफारिस पनि गर्छौं । त्यसबाट केही पैसा आउँछ ।
कति कलाकार संगठित छन् संघमा ?
सुरुदेखि नै हेर्ने हो भने पाँच हजार सदस्य नाघ्छ । अहिले पनि लगभग १५ सय कलाकार सक्रिय नै छन् । त्यसैबाट अगाडि बढ्ने गरेका छौं । वास्तवमा अप्ठ्यारै परेको अवस्थामा नेपाल चलचित्र विकास बोर्डको मातहत रहेको नेपाल चलचित्र कलाकार कल्याण कोषबाट पनि केही सहयोग मिलाउने गरेका छौं । त्यसमा आदरणीय बसुन्धरा दिदी अध्यक्ष हुुनुहुन्छ । हामी सबै सदस्य छौं । त्यसमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता जति पनि सदस्य, साथीभाइहरु बिरामी पर्नुभयो भने समितिबाट निर्णय गरेर केही रकम राहत दिने गरेका छौं । त्यो पनि हाम्रो लागि उपलब्धि हो ।
यो बाहेक कलाकारको वृद्धि, विकासमा जस्ता के काम गर्छ संघले ?
तालिमहरु सञ्चालन, विभिन्न गोष्ठी, नेपाली चलचित्र विकासका लागि के कमीकमजोरीहरु छन् । वर्षमा सय, डेढ सयवटा फिल्म बन्छ । दुई, चार वटा फिल्म बल्ल बल्ल चल्छ । त्यो अवस्थामा लगानी कसरी भइरहेको छ । लगानी उठेको छैन । कति निर्माता, निर्देशकलाई पीडा छ । त्यो बारेमा छलफल गरेका हुन्छौं । अब निर्देशक, कलाकारको रुपमा प्रशिक्षण दिने सोच राखेका छौं ।
नेपालमा दल निकट कलाकार संघ पनि छन्, यो नेपाल चलचित्र कलाकार संघ पनि त्यस्तै हो ?
म २६ वर्षपछि नेतृत्वमा दोहोरिनु पनि राजनीति हो । तर, नेपाल चलचित्र कलाकार संघ कुनै राजनीतिक पार्टीसँग आबद्ध या कुनै पार्टीसँग दाग लागेको संस्था होइन । पछिल्लो चुनाव सकेको ६ महिना भयो । लगभग ८ महिना अगाडि नै छलफल हुँदा नेकपाको अध्यक्ष भयो भने नेपाली कांग्रेसको महासचिव बनाउनुपर्ने, उपाध्यक्ष बनाउनुपर्ने, राप्रपाको सचिव बनाउनुपर्ने भन्ने कुरा निक्ल्यो ।
वास्तवमा म उठ्ने पक्षमा थिइनँ । पार्टीमै नलाग्ने भन्ने त होइन, म पनि एउटा पार्टीमा छु । आस्था राख्नु भनेको ठूलो कुरा त होइन । तर, संघलाई नै भजाएर मैले नेकपाको भ्रातृ संगठन नेपाल चलचित्र कलाकार संघ अथवा अर्कोले नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल चलचित्र कलाकार संघ बनाइयोस् ।
यस्ता विषय मैले असैह्य ठानेँ । त्यसपछि कलाकार संघलाई दाग लाग्न दिन्न, राजनीति घुस्न दिन्न भनेर मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिइसकेपछि सबै कलाकार, शुभचिन्तकहरुले यसको कुरा सही छ, वास्तवमा राजनीति गर्नु हुन्न भनेर मलाई निर्वाचित गराउनुभयो । उहाँहरुको भावनामा ठेस पुग्न नदिने गरी नेपाली चलचित्रकर्मीहरुको र कलाकार संघको भवन पनि आवश्यक परेकोले त्यो कुरामा एकदमै लागि परेर हिँडेको छु ।
तपाईंको चलचित्र करियरचाहिँ कहिले सुरु भयो ?
सर्वप्रथम त, मलाई जन्म दिने रंगमञ्च हो । २०३३ साल चैत्र महिनादेखि नेपाल प्रज्ञा प्रतिष्ठानको रंगमञ्चबाट मैले कलाकारिता सुरु गरेको हुँ । कला, साहित्य रंगमञ्चबाट सुरु गरेपछि टेलि चलचित्रमा काम गरेँ । त्यसपछि मात्रै ठूलो पर्दाको चलचित्र खेलेको हुँ । २०३८/०३९ सालमा मैले आप्mनै चलचित्र ‘बदलिँदो आकाश’बाट सहभागिता जनाएँ । त्यसपछि ०४३ सालमा ‘मायापिरती’ चलचित्रमा नायकको रुपमा काम गरँे । रंगमञ्चमा धेरै काम गरेपछि मलाई चलचित्रमा अफर आयो । त्यतिबेला बीएस थापा, डिबी थापा, चेतन कार्कीहरु, गोपाल योञ्जन दाइदेखि लिएर वसन्तजंग रायमाझीहरु गुरुहरुले मलाई नायकको रुपमा चिनाउनुभयो । मायापिरतीपछि मैले कन्टिन्यूरुपमा ‘भाग्यरेखा’, ‘रक्षा’, ‘चेली’, ‘पहिलो प्रेम’ चलचित्रमा नायकको रुपमा निरन्तर खेलेँ । त्यस समयदेखि अहिलेसम्म निरन्तरता दिइरहेको छु । मेरो अरु काम केही पनि छैन ।
अहिले क्यारेक्टर आर्टिस्को रुपमा कुनैमा काका, कुनैमा बाउ, कुनैमा हजुरबाबु र पुलिसको रोलमा खेल्ने गरेको छु । म चरित्र अभिनेताको रुपमा कन्टिन्यू रुपमै छु । खाना पाए पनि, नपाए पनि यो क्षेत्रलाई छोडेको छैन । वर्षमा कम्तीमा दुइटा, तीनटा काम गरिरहकै छु । ४२ वर्ष भयो रंगमञ्चदेखि नेपाली चलचित्र, कला, साहित्यमा ।
हरेक कलाकारहरुको दुःखमा म पुगेकै हुन्छु । त्यसले गर्दा पनि सबैले मलाई चिन्नुभयो र अत्यधिक मतले विजयी गराउनुभयो । कलाकारहरुसँग भावनात्मक सम्बन्ध राख्ने भएकोले पनि होला ।
सामाजिक र कलाकारिता क्षेत्रमा निरन्तर अगाडि बढिरहेको छु । रातोदिन कलाकारहरुलाई कसरी सहुलित सुविधा दिनसक्छु, ओत लाग्ने ठाउँ कसरी बनाउन सकिन्छ भन्ने हिसाबले हिँडिरहेको छु ।
नेपाली कलाकारहरुलाई यस क्षेत्रमा लागेर गुजारा चल्ने अवस्था छ कि छैन ?
शिव श्रेष्ठ, भुवन केसी दाइहरु र मेरो पालामा नायकको रुपमा काम गर्दा र कुनै पनि कलाकारको रुपमा काम गर्दा आर्थिक कठिनाइ नै हुन्थ्यो, धौ धौ नै पथ्र्यो । अहिलेसम्म मेरोचाहिँ त्यही नै निरन्तरता छ । काम छोडेको छैन, आयआर्जनचाहिँ छैन ।
त्यो बेलाबाट निरन्तर आइरहनु भएका कलाकारहरुको आर्थिक अवस्था हुँदै नभएको भन्न त सक्दिनँ । जस्तै महजोडीको भयो, सन्तोष पन्त, भुवन केसी, शिव श्रेष्ठहरुको राम्रै भा‘छ । औंलामा गन्न सक्ने कलाकारहरुको आर्थिक अवस्था राम्रै छ ।
अहिले कलाकारहरुलाई आफ्नो पेसामा लागेर आयआर्जन राम्रै हुन्छ र उनीहरुको जीविका पनि राम्रैसँग चलिरहेको देखेको छु । ६०/७० पर्सेन्टसम्म राम्रै छ । २०/३० प्रतिशतमा नराम्रो पनि हुनसक्छ । उहाँहरुलाई अप्ठ्यारो पनि भएको हुनसक्छ । जीविका चलाउन धौ धौ परेको पनि हुनसक्छ ।
हाम्रो पालामा ५ पर्सेन्ट पनि थिएन । अहिले ६०/७० पर्सेन्टले म कलाकार हुँ भनेर आप्mनो घर, गाडी देखाउन सक्छ । नेपाल सरकारलाई कर तिर्न सकेको छ । त्यसकारण पहिलेभन्दा धेरै राम्रो छ ।
धेरै कलाकारहरु पछिल्लो समय निर्देशनतिर लागेको देखिन्छ, तपाईं नि ?
मैले डाइरेक्सन गरिसकेको छु । त्यो पनि रेकर्डै राखेको छु । अहिले डिजिटल प्रविधि आइरहेको छ । त्यो बेला रिलवाला फिल्महरु हुन्थ्यो । मैले भिडियो फिल्म ‘आजका युवा’ गरेँ । त्यस बेला दुई, तिनटा फिल्म डाइरेक्सन गरेँ । तर, आजका युवा भन्ने फिल्ममा आपूm नायक, डाइरेक्टर पनि । आजसम्मको एउटै रेकर्ड छ, एउटै हलमा १ सय ५३ दिन कन्टीन्यू चलेको छ । राम्रो निर्माता मसँग नआइपुगेकोले म कन्टिन्यू जान सकिनँ ।
निर्माताहरुलाई राम्रो कुरा गरेरमात्रै होइन, विश्वास दिलाएर, निर्देशकहरुले पट्याएर फिल्महरु डब्बामा गएको अवस्था पनि छ । त्यस्ता नचाहिने गफ दिन मलाई नआएर पनि होला । पछि डाइरेक्सनको मौका नपाएको हो । आपैंmले बनाउन सक्ने अवस्थाचाहिँ थिएन । आयो भने तयार छु । आजका दर्शकहरुलाई कस्तो स्वाद मनपर्छ भन्ने कुरा मलाई थाहा छ । यदि आउनुभयो भने पक्कै पनि गर्छु ।
पहिले र प्रविधि विकास भएको अहिलेको अवस्थामा अभिनयमा कत्तिको फरक पर्छ ?
मेरो पालामा डाइलग डेलिभरीमा अलि अप्ठ्यारा–अप्ठ्यारा थियो । कलाकारहरुलाई पनि के नपुगे नपुगेको जस्तो थियो । प्राविधिक पाटोमा क्यामेरा म्यान, मेकपम्यान पनि विदेशबाट ल्याउनुपर्ने, धुलाउन पनि बम्बईमै जानुपर्ने । संगीत रेकर्डिङ गर्न पनि बम्बईमै जानुपर्ने । त्यो अवस्थालाई हेर्ने हो भने अहिले प्राविधिक पक्षमा हामी अत्यन्तै अगाडि छौं ।
हलिउड, बलिउडमा नपुगौंला, आफ्नो ठाउँमा छ । कुनै पनि क्यामेरा म्यानले फिल्म खिचेको छ, त्यो एकदमै राम्रो । याक्टिङको हिसाबमा पनि, डाइलग डेलिभरी गर्दाखेरी पनि नेचुरल छ अहिले । त्यसले गर्दा मलाई अत्यन्त खुसी लाग्छ । अहिलेका नायक होस्, नायिका राम्रो अभिनय गर्नुहुन्छ । हामीभन्दा अझ अगाडि बढेको देखेको छु ।
मलाई लागेको कुरा, क्वालिटीभन्दा क्वान्टिटी बढाइरहेको छ । हाम्रो पालामा ४/५ वर्षमा एउटा फिल्म बन्थ्यो । अहिले एक वर्षमा डेढ/दुई सय फिल्म बन्छ । तर, फिल्म चल्नेचाहिँ एउटा, दुइटा मात्रै हो । कमसेकम अलिकति मेहनत गरेर, अलिकति टाइम लिएर, राम्रोसँग अध्ययन/अनुसन्धान गरेर फिल्म बनाउनु होस् । पब्लिकको च्वाइसअनुसार फिल्म बनाउनुहोस् । हतारहतार गरेर पैसा बर्बाद नगर्नुहोस् भन्न चाहन्छु । गुणस्तरीय फिल्महरु बनायौं भने पक्कै पनि राम्रो हुन्छ ।






