चिम्खोले काइँला –
धेरै लामो समयपछि आज रजनीलाई फार्नबरोको नेपाली पसलमा देखेपछि बितेका दिनहरूको सम्झना फेरि ताजा भयो । उनी एकजना अधबैंसे र दुई किशोरकिशोरीसँगै थिइन् । सायद अधबैंसे पुरुष उनका श्रीमान् र १८–२० वर्षका ती किशोरकिशोरी छोराछोरी होलान् । अचानक भेट हुँदा मलाई बोल्ने साहस नै आएन । उनले पनि नचिनेजस्तो गरिन् । हुन त मैले नै बोलाउनुपर्ने हो । तर, हाम्रो समाजमा लोग्नेको साथमा रहेकी महिलालाई बोलाउनु राम्रो मानिँदैन । त्यसैले पनि म हच्किएँ । तैपनि पसलमा किनमेल गर्ने बहानामा मैले छड्के आँखा लगाएर चियाएँ । उनी पनि श्रीमान्को आँखा छलेर मतिर हेरिहेकी थिइन् । नहेरुँ भन्दा पनि यो मनले मान्दै मानेन । २६ वर्षअघिकी मेरी मनकी रानी रजनीलाई फेरि एकपटक छड्के नै सही धित मर्नेगरी हेरें ।

रजनी र मेरो पहिलो भेट हुँदा उनी त्यस्तै बीस वर्षकी थिइन् । कालीकाली पातली, सर्लक्क परेको ज्यान भएकी रजनीलाई पहिलो नजरमै मलाई औधी सुन्दरी लागेको थियो । मिलेका दाँत, कम्मरसम्म बगेको कालो केश, छिनेको कम्मर, छातीमा फैलँदै गरेको दाना र पोटिला पुठ्ठा कम्ती लोभलाग्दी थिइनन् उनी । त्यसबेला मेरो मन उनलाई देख्दै तरंगित हुन्थ्यो । तर, आजको भेटमा रजनी त्यस्ती थिइनन् । उचाइभन्दा पनि ठूलो लाग्ने भद्दा मोटाइले उसको सुन्दरतालाई खर्लप्पै खाएको रहेछ । उनी मोटो भएर हिँड्नै नसक्ने पो भइछन् ।
छब्बीस वर्षअघि हामी दुवै एउटै स्कुलमा पढाउँथ्यौं । त्यसबेला मैले गाउँको साधारण स्कुलबाट एसएलसी पास गरेर प्राइभेटमा आईएसम्म पढेको थिएँ भने भारतीय आर्मीको सुबेदारकी छोरी रजनीले भारतको हिमाञ्चल प्रदेशबाट बीकम उत्तीर्ण गरेकी थिइन् । गाउँमा आएको केही महिनामै उनलाई स्कुल सञ्चालक समितिले शिक्षिका बनाएको थियो ।
भारतमै जन्मेर त्यतै हुर्केकी रजनीका लागि गाउँ सुरुमा अर्कै ग्रहजस्तो लागेको थियो । उनी गाउँले वातावरणमा घुलमिल हुन सकेकी थिइनन् । रजनीले गाउँ, स्कुल र स्थानीय वातावरणबारे जान्नका लागि मेरो सहयोग लिन थालिन् । उनले नजानेका, नबुझेका कुरा मसँगै सोध्थिन् । यहीक्रममा हामीबीच मित्रता पनि घनिष्ठ बन्दै गयो । गाउँका सुबेदारकी छोरी अनि मेरोभन्दा धेरै र राम्रो पढेलेखेकी केटीसँग मलाई सुरुसुरुमा अलि अप्ठ्यारो लागे पनि बिस्तारै सहज हुँदै गएको थिएँ । यसरी रजनी र म घनिष्ठ हुँदै जानुमा सायद हाम्रा स्कुलका चारजना शिक्षक र चारजना शिक्षिकामध्ये हामी दुईमात्र अविवाहित हुनु पनि कारण होला । अरूका बालबच्चा थिए, श्रीमान् श्रीमतीलाई समय दिनुपथ्र्यो । उनीहरू घरायसी कुरा धेरै गर्थे । तर, हामी दुवैजना फुर्सदिला थियौं, घरायसी व्यवहारको बोझ थिएन ।
हाम्रो सम्बन्ध सुमधुर बन्दै गयो । खाजा र खाली समयमा समेत हामी सँगै हुन थाल्यौं । अध्ययन–अध्यापनका कुरा त हुन्थे नै, त्यसका अलावा मैले रजनीलाई गाउँको रीतिथिति, चलनचल्ती, चाडबाडलगायत अरू पनि गतिविधि जानकारी गराउँदै गएँ । उनी भारतमा जन्मी–हुर्की पढेलेखेकी केटी भए पनि गाउँको जीवनबारे चाख राख्थिन्, सिक्न चाहन्थिन् । यसरी नै दिनहरू बित्दै जाँदा हामीबीच थाहै नपाई मायाको टुसा पलाउन थालेको थियो । हामी ‘इन्टिमेट’ बन्दै गएका थियौं । हामी अब स्कुल जाँदा र फर्कंदा पनि एउटै बाटो प्रयोग गर्न थालेका थियौं । अहिलेजस्तो हामीले एक–अर्कालाई ‘आई लभ यू’ भन्नचाहिँ सकेनौ । मुखले नभने पनि हामीबीच अगाध माया फस्टाउँदै गएको थियो ।
कुनै दिन कुनै कारणले एक–अर्कासँग भेट्न पाएनौ भने पनि छट्पटिन्थ्यौं । यो मलाई मात्र भएको थिएन । रजनीको व्यवहारबाट उनलाई पनि यस्तै भएको मैले महसुस गरेको थिएँ । स्कुलमात्र होइन, घाँस–दाउरा, मेलापातमा समेत हामी सँगै हुन थाल्यौं । तर, आफूले सबैभन्दा धेरै माया गर्ने व्यक्तिसँग मौकाको फाइदा लिन सकिँदैन भनेको पक्कै रहेछ । हामी धेरैपटक एकान्तमा रह्यौं । न त मुख फोरेर माया व्यक्त गर्न सकें, न उनीसँग माया साटासाट नै गर्न सकें ।एकचोटि स्कुलको कामले हामी दुवैजना बेनीबजार झरेका थियौं । बेनीमा होटेलमा बस्ने सल्लाह भयो । होटेलवालाले हामीलाई लोग्नेस्वास्नी सम्झेछन् । एउटै मात्र बिछ्यौना भएको कोठा दिए ।






