काठमाडौं । पाकिस्तानको बलुचीस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।
बुधबार राति गएको भूकम्पमा परी ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । अधिकारीका अनुसार थुप्रै व्यक्ति घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने छ । भूकम्पबाट धेरै संरचनामा समेत क्षति पुगेको जनाइएको छ ।
पाकिस्तानको नेसनल सिस्मिक मोनिटरिङ सेन्टरका अनुसार बुधबार राति १० बजेर १ मिनेट जाँदा हनाई जिल्लामा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको गहिराइ १५ किलोमिटर रहेको मापन गरिएको छ । भूकम्पको झट्का क्वेटा, सिब्बी, पिसिन, मुस्लिम बाग, चमनलगायतका अन्य सहरमा पनि महसुस गरिएको डनले जनाएको छ ।
भूकम्पमा परी मृत्यु हुने मध्येमा महिला र बालबालिका अधिक रहेको रोयटर्स न्यूज एजेन्सीले जनाएको छ । अहिले खोज उद्धार कार्य चलिरहेको छ ।






