लन्डन । बेलायतमा मगर समुदायको मौलिक संस्कार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मगर बौद्ध समाज बेलायतले वापा–मापा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
गत ११ अक्टोबर २०२६ आइतबार मगर संघ यूके, प्लमस्टिड शाखाको मगर भवनमा आयोजित कार्यक्रममा मगर संस्कारसम्बन्धी प्रशिक्षण दिनुका साथै मगर बौद्ध समाज बेलायतको प्लमस्टिड शाखा समिति पनि गठन गरिएको छ।
बेलायतवासी मगर समुदायलाई आफ्ना संस्कार आफैँले सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले मगर बौद्ध समाज बेलायतले स्थानीयस्तरमा समेत अभियानका रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मंगल बुद्ध विहार बेलायतका भन्ते इन्द्रसक स्थवीरको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा कर्ण दर्लामी मगरले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी दिएका थिए। विहारका सचिव जगत आले मगरले सञ्चालन गरेको कार्यक्रममा मगर संघ यूके प्लमस्टिड शाखाका अध्यक्ष खर्क पुन मगरले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए। भन्ते इन्द्रसक स्थवीरले सहभागीलाई पञ्चशील ग्रहण गराएका थिए।
मगर बौद्ध समाज बेलायतका अध्यक्ष रिम गलामी मगरले संस्थाको स्थापना इतिहास, प्रशिक्षण कार्यक्रमको उद्देश्य र संस्थाले सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए।
प्रशिक्षणका क्रममा संस्थाका मगर संस्कार विभाग प्रमुख तथा प्रशिक्षक गजवीर थापा मगरले गृहशान्ति पूजाबारे प्रशिक्षण दिएका थिए। मगर बौद्ध सेवा समाज, रूपन्देही जिल्ला समितिका संस्थापक अध्यक्ष तथा प्रशिक्षक तुल्से थापा मगरले न्वारान संस्कारबारे जानकारी दिएका थिए। त्यस्तै, मगर बौद्ध समाज बेलायतका संस्थापक अध्यक्ष कृष्ण दर्लामी मगरले संस्कार र कुसंस्कारबीचको भिन्नता स्पष्ट पार्दै मगर समुदायमा विद्यमान अन्धविश्वासबारे सहभागीलाई सचेत गराएका थिए।
कार्यक्रमको दोस्रो चरणमा संस्थाका उपाध्यक्ष तथा मंगल बुद्ध विहार बेलायतका कोषाध्यक्ष टेक खपांगी मगरले विहार खरिद परियोजना र दान संकलन महाअभियानबारे जानकारी दिएका थिए। उनले दाताहरूलाई सहज हुने विभिन्न माध्यमबाट दान गर्न सकिने जानकारी दिँदै महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका थिए।
सोही अवसरमा मगर संघ यूके प्लमस्टिड शाखाका पूर्वअध्यक्ष बिसन थापा मगरले संस्थाको आजीवन सदस्यता ग्रहण गरेका थिए। गेसो यूकेकी कोषाध्यक्ष देविमाया पुन मगरलगायत केही दाताले विहारका लागि दान गर्ने घोषणा गरेका थिए।
कार्यक्रमको अन्तिम चरणमा मगर बौद्ध समाज बेलायतले संगठन विस्तार गर्ने क्रममा श्याम थापा मगरको संयोजकत्वमा सात सदस्यीय प्लम्स्टिड शाखा समिति गठन गरेको छ। समितिको सहसंयोजकमा कुल थापा मगर चयन भएका छन्। सदस्यहरूमा खेम पुन मगर, देउरूपी थापा मगर, खइसरा थापा मगर, कृष्ण कुमारी पुन मगर र सिता थापा मगर रहेका छन्।
नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई भन्ते इन्द्रसक स्थवीरले पञ्चशील ग्रहण गराउँदै मगर समुदायमा विद्यमान कुसंस्कार हटाई सुसंस्कारयुक्त समाज निर्माणमा सक्रिय हुन आग्रह गरेका थिए। अध्यक्ष रिम गलामी मगरले उच्च नैतिकता कायम राख्दै संस्थाको उद्देश्य प्राप्तिका लागि सक्रिय रहने प्रतिबद्धतासहित सदस्यहरूलाई शपथ गराएका थिए।
भन्ते इन्द्रसक स्थवीरको संक्षिप्त धर्मदेशना पछि कार्यक्रम समापन भएको थियो।

















