“गोलार्द्धलाई चक्कर मार्दा” नियात्रा भित्रको अनुभव

SHARE:

– चिम्खोले काइँला

मेरो जिन्दगीको यात्रा दुःखसुख, मिलनबिछोड, आँसुहाँसो, सपनाविपना र संघर्षहरुका बाटासँग निरन्तर रुपले अगाडि बढिरहेको तथा बगिरहेको छ । विदेशी भूमिमा कर्म गरेर परिवार पाल्नुपर्ने मुख्य जिम्मेवारी त छँदै छ । कर्म गरेर बचेको समय समाजसेवा गर्नु, पत्रकारिता गर्नु, साहित्य सिर्जना गर्नु, सोअन्तर्गतका संघसंस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा उपस्थिति जनाउनु मेरा रुचिका विषयहरु हुन् । बेलायतमा नेपाली साहित्यकारहरुको राम्रै उपस्थिति छ । बेलायतमा रहेका हामी केही साहित्यकारहरुले एउटा योजना बनाउँछौँ । जुन योजना हुन्छ, नेपालमा क्रियाशील कुनै एक साहित्यकारलाई बेलायत भ्रमणका लागि साहित्यिक निम्तो दिने र साहित्यिक भेटघाटलाई सामूहिक रुपले अगाडि बढाउने ।

सो साहित्यिक भेटघाटलाई अगाडि बढाउन तथा सफल बनाउनका लागि हामी केही शुभचिन्तक साहित्यकारहरुको सहकार्यमा निरन्तर लागिपरेका तथा काठमाडौँमा साहित्यिक कर्मथलो बनाएर साहित्यिक क्रियाकलापमा निरन्तर लागिरहेका साहित्यकार भावेश भुमरीलाई बेलायत भ्रमणका लागि निम्त्याउँछौँ । हाम्रो निम्तोलाई स्वीकारेर साहित्यकार भुमरी बेलायत आउनुहुन्छ । हामी सबैको सल्लाहअनुसार समय मिलाएर भुमरीज्युलाई बेलायतका साहित्यिक कार्यक्रमहरुमा समाबेश गराउदै आआफ्ना घरमा बोलाउने र घुमाउने काम गर्छौं । बेलायतका विभिन्न ठाउँमा बसेका भावेशका शुभचिन्तकहरुका घरहरुमा करिब साढे दुई महिना पाहुना बनेका र हामीसँगै घुमेर अनुभूत गरेका विषयहरुलाई लिपिबद्ध गरी भावेश ‘भिसाको रङ’ नियात्रासङ्ग्रह प्रकाशन गर्न सफल बन्नुहुन्छ । म यो नियात्रासङ्ग्रह समयमै पढ्ने मौका पाउँछु । यो सङ्ग्रह पढ्दै गर्दा म मेरो जीवनभोगाइ र यात्राका तमाम घुम्तीतिर फर्किन्छु । मलाई लाग्छ, मैले गरिरहेको जीवनयात्राको सङ्ग्रहभन्दा केही फरक पाटोबाट एकोहोरो बग्दै रहेछु म । साँच्चै भावेशले युकेको भ्रमणपछि जीवनयात्राको एक अङ्शलाई यस्तो महत्वपूर्ण सङ्ग्रहमा सङ्गृहित गर्नुभएको छ । मलाई भावेशप्रति बडो ईश्र्या लाग्छ, साँच्चै यही घटनाले म नियात्रा लेखनमा प्रेरित र प्रभावितसमेत हुन्छु । मलाई ईश्र्या लाग्नुको कारण के भने भावेशले भन्दा मैले संसारका धेरै देशको भ्रमण गरेको छु तथा भावेशले भन्दा मैले धेरै यात्राहरुको अनुभव बटुलेको गरेको छु । तर एउटा नियात्रा पनि प्रकाशन गर्न सकेको छैनँ । वास्तवमा कसैको उत्प्रेरणाबिना नयाँ कामको पाटो र बाटो तय हुँदैन । भावेशको बेलायत यात्राबाट अरुलाई के उपलब्धि भएको छ भन्ने कुरा म यकिन गर्न सक्दिनँ तर बेलायत यात्राबाटै जन्मेको ‘भिसाको रङ‘ नियात्रासङ्ग्रहले प्रस्तुत ‘गोलार्धलाई चक्कर मार्दा’ नियात्रासङ्ग्रह जन्माउन भने पक्कै उत्प्रेरित गरेको छ, सहयोग गरेको छ । त्यसैले म भावेशलाई अन्तरहृदयदेखि धन्यवाद दिन चाहन्छु ।

यस नियात्रासङ्ग्रहमा मेरो जीवनका धेरै यात्रालाई समेट्ने काम गरेको छु । यहाँ समेटिएका नियात्राका माध्यमबाट मेरा फरकफरक किसिमका अनुभव र भोगाइलाई अभिव्यक्त गर्ने कोशिस गरेको छु । यद्यपि सिमित ठाउँमा धेरै कुरा अटाउन खोज्दा कतिपय कुरा मिहिन तरिकाले अभिव्यक्त नभएका हुन सक्छन् । मेरो सानो प्रयास यो हो कि मैले टेकेका भूगोलका राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक स्रोतसाधनलाई हाम्रो देश नेपालका स्रोतसाधनहरुसँग तुलना गरेर निस्केको निष्कर्षलाई सकेसम्म प्रतिबिम्बको रुपमा प्रस्तुत गर्न सकूँ । मेरो देशका तमाम स्रोतसाधनका विशेषता र महत्वलाई सकेसम्म पाठकसम्म पु¥याउन पनि सकूँ । मेरा कतिपय नियात्राको आशय संसारका धेरै देशहरुले अवलम्बन गरेका उदारीकरण, सामूहिक व्यापार तथा व्यवस्थित खुला बजारबाटसमेत पाठ सिक्नुपर्छ र नेपालको सङ्कोचित एवम् परम्परागत बजार व्यवस्थापनबाट माथि उठेर आर्थिक उन्नतिका लागि काम गर्नुपर्छ भन्ने हो ।

एउटा पूर्व गोर्खा सैनिकको हैसियतबाट मैले यस नियात्रामा ब्रिटिश आर्मी र बहादुर गोर्खा सैनिकको इमान्दारिता, बफादारिता र दिनचर्यालाई बिम्ब बनाएर पस्किने कोशिस गरेको छु । वीर रसले रञ्जित कतिपय नियात्रा युद्ध साहित्यका उपज पनि हुन् । मेरो जीवनमा आएका कतिपय दुखद् घटनाका बाढी र झरीहरुले नियात्राहरुलाई कारुणिक पनि बनाएका छन् । यसरी विभिन्न धरातल, विषय र आशयमा लेखिएका नियात्राहरु पढेर आफूलाई लागेका कुरा प्रतिक्रियाका रुपमा पस्किदिनुहुन आम पाठकवर्गमा हार्दिक अनुरोध गर्दछु । पाठकहरुका सल्लाह र सुझावले नै मेरो भविष्यको साहित्यिक यात्रालाई मार्गदर्शन गर्ने हो ।

अन्त्यमा यस नियात्रासङ्ग्रहका विभिन्न नियात्रामा मसँगै यात्रा गरेर सहयोग पु¥याउने मेरी श्रीमती जमुना पुन, छोरीहरु प्रिया पुन, प्रियङ्का पुन, स्वर्गीय हस्तकुमार गर्बुजा (सानो कान्छा भाइ), स्वर्गीय नेत्र गर्बुजा (सानी कान्छी बुहारी), सुनिल दाइ, गोमा बहिनी, राजेन सर, हेमा बहिनी, जगत् भाइ, सीता बहिनी, वीरेन भाइ, गायत्री बहिनी, उहाँहरुका सम्पूर्ण परिवारलगायत नियात्रामा प्रत्यक्ष, अप्रत्यक्ष आबद्ध संघसंस्था तथा व्यक्तिहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । यस पुस्तक लेखनका लागि प्रेरक बन्ने, भूमिका लेखिदिने र अनि भाषा सम्पादन गरिदिने नेपालका कुशल साहित्यकार तथा गीतकार भावेश भुमरीप्रति सदा आभारी छु । पुस्तक पढेर शुभकामना मन्तव्य लेखिदिनुहुने संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी क्षेत्री (दुबसु क्षेत्री) ज्यूप्रति पनि हार्दिक आभार प्रकट गर्दछु । यस नियात्रा प्रकाशन गर्नमा सहयोग गर्ने सुरप्रभा गीतसङ्गीत प्रालिलाई सधैँ सम्झने छु । यस पुस्तकको आवरण बनाएर तथा लेआवट गरिदिएर सहयोग गर्ने सुरज व्यञ्जनकार भाइलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद ।

मितिः सन् २६/१०/२०२०
न्यूबरी, बेलायत

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!