लन्डन । बेलायती प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा बेलायतको औपचारिक भ्रमणमा आएका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज स्वदेश फर्किएका छन्।
प्रधानसेनापति सिग्देल अक्टोबर ६ मा बेलायत आएका थिए। भ्रमणका क्रममा उनले बेलायती प्रधानसेनापति वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा उनले वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको अवलोकन गर्नुका साथै अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२६’ को निरीक्षण गरेका थिए। उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सदस्यहरूलाई उनले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभितसमेत गरेका थिए।
स्वदेश फर्किएका प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाका अनुसार यस भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि कायम रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुगेको छ।






