लन्डन । धौलागिरि गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यूकेको आयोजनामा बेलायतमा ‘दोस्रो देउसी भैलो कार्यक्रम २०२६’ हुने भएको छ। मञ्चका अध्यक्ष क्याप्टेन दल रोका मगरको नेतृत्वमा आयोजना हुन लागेको कार्यक्रममा बेलायतवासी नेपालीलाई सहभागी हुन आग्रह गरिएको छ।
धौलागिरि गाउँपालिकाको विकास तथा सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले आगामी नोभेम्बर ८ तारिख आइतबार लन्डनको अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका कुमारी चेपाङसहित विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउसी भैलो, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ।
आयोजकका अनुसार कार्यक्रममार्फत संकलित सहयोग धौलागिरि गाउँपालिकाको विकास तथा सामाजिक कार्यमा उपयोग गर्ने उद्देश्य राखिएको छ। मञ्चले बेलायतमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सहयोग अभियान सफल बनाउन आग्रह गरेको छ।





