जानु काम्वाङ
लानूमा केही महिनायता फेसबुक र इन्टरनेटमा अत्यन्तै व्यस्त छिन् । इन्टरनेटको चाटरुममा एक अत्यन्तै मिलनसार, दयालु, आपूmले रोजेजस्तै मन मिल्ने साथी भेटेकी छिन् लानूमाले । नेटमा भेटेपछि फोनमा पनि घण्टौं लामो भलाकुसारी गरी जिन्दगीका तीतामीठा क्षणहरु कहिले भावुक भएर त कहिले हासीमजाक गर्दै दिन बिताइरहेका छन् उनीहरुले ।
भलाकुसारीकै क्रममा एकदिन पुरुष साथीबाट आउँदा दिनहरुलाई केवल मित्रताको परिधीमा मात्र सीमित नराखी एक असल र उदाहरणीय जीवन साथी बनिदै सुनौलो दाम्पत्य जीवनमा प्रवेश गर्न अनुरोधपूर्ण प्रस्ताव आउँछ । जिन्दगीको एक बूरा सपनाहरुको अन्त्य भई सुनौला दिनहरुको सुरुआत भएको कल्पना गरी लानूमाले, विगतका तीता पलहरु सबै बिर्सिएर पुरुष साथीको प्रस्तावलाई सहर्ष स्वीकार गर्छिन् ।
पारिवारिक स्वीकृति अनि समाजको वास्तै गरिन लानूमाले, सायद ! खुसीको उन्मादमा ती सबै न्यून थिए उनका लागि । वैवाहिक जीवन बिताउने प्रस्ताव अब लानूमा र केटा साथीबीच प्रण भइसकेको थियो । जीवनका जस्तोसुकै अप्ठ्यारो मोडमा पनि विश्वासको औषधिले दाम्पत्य जीवनलाई सदा सुखमय तुल्याउने वाचाहरु धेरै धेरै बाँधिसकिएका थिए उनीहरुबीच । यसै क्रममा पुरुष साथीका तर्फबाट एकपल्ट घरमा आउने प्रस्ताव आयो, घरका सम्पूर्ण सदस्यहरुले सहमतिमात्र होइन लानूमालाई हेर्न आतुर रहेको मेल पनि आयो । खुसीले फुरुंग लानूमा एकपल्ट बुरुक्क उफ्री अनि तुरुन्त फोन गरी आफ्नो मायालु साथीलाई । फोनमा आपूm भोलि नै त्यहाँ आउने निधो पनि गरी, जिन्दगीको अमृतमय खुसी ठानी लानूमाले । लानुमा एक सुन्दर, सुशील युवती नामजस्तै बानी व्यहोरा । उच्च घरानिया, सु–संस्कृत अनि सर्वगुण सम्पन्न नामअनुसारको मान्छे थिइन्, हेर्दा पनि उज्यालो जूनजस्ती देखिने उनको बाँकी परको मुहारलाई आँखा लाउनेहरुको पनि कमी थिएनन् गाउँ टोलमा । उनी भर्खर २४ को वसन्त मात्र पार गर्दै थिइन् ।
उनी आमाविहीन २ बहिनी छोरीमध्ये जेठी हुन् । घरमा बाबा मात्र छन् बहीनी सुहाङ होस्टेलमा बसेर कलेज पढ्छे । बाबाको पेन्सनले मात्र घर र पाहुना पात धन्न गाह्रो भएकोले, लानूमा आफै पनि एउटा अंग्रेजी स्कुलमा अध्यापिकाको काम गर्छिन् । उनको बाबा क्याप्टेन बिरधोज, अब निक्कै पाको भइसकेको छन् आफ्नी जेठी छोरीको दुःख देखेर भन्ने गर्छन । लानूमा नानी कति मेरो स्याहारसुसार गर्दै बस्छस् ? मन मिल्ने कोही भेटे बिहे गर । जवाफमा आअ…बाबा पनि कति किचकिच गर्नु हुन्छ हो ? के छोरीले चाहिँ बिहे गर्ने पर्छ यत्रो माइती घर हुँदा पनि ? यसै भन्दै लानूमा बाबाको कुरो टार्थिन् ।
भोलिपल्ट सबेरै उठेर, हल्का श्रीनगर पटार गरी अपरिचित परिवारमा परिचित मात्र होइन सोही परिवारको एक हिस्सा बन्ने एक सुमधुर सपना मनभरी डोरीझैं बाटेर बिस्तारै पाइला बढाई । उसका अघिपछि पञ्चेबाजा मात्र होइन आफ्ना सारा साथीहरु खुसीले नाच्दै गरेको रमाइलो परिदृश्य उनको आँखामा आइरह्यो । कता कता उनलाई लाज पनि लाग्यो, जेहोस् उनी मन्द र सुमधुर मुस्कानसँगै कहींकतै अपरिचित परिवारमा पुगी । सरल, सुन्दर, हसिली, बत्तीस लक्षणले युक्त युवतीको आँगनीमा भएको आगमनमा परिवारका सबै सदस्य उनलाई लिन आतुरका साथ आँगनमा आइपुगे । आफ्नो हुनेवाला जीवनसाथी पनि मुन्द मुस्कानमै सबैलाई लानूमाको परिचय परिवारको सदस्यहरुसँग गराउँदै थियो । परिचयका क्रममा पुरुष साथीका आमाले, मेरा हुनेवाला बुहारी, शब्द उच्चारण गर्दा हर्षविभोर लानूमाका नयनहरुबाट पÞmक्ताङ्गलुङको हिउँ पग्लिएझैं गरी अनायासै रसाएका थिए, अनि उनका गोडामा ढोग गर्दा लानूमालाई स्वर्गजस्तै आनन्द प्राप्त भएको थियो । भालाकुसारीकै क्रममा लानूमाले कुरा बुझी उनका हुनेवाला श्रीमान् विवाहित मात्र होइन, दुई सन्तानका पिता अनि केही पारिवारिक विवादका कारण पारपाचुके गरिसकेका पनि रहेछन् ।
खुसीकै उन्मादसँगै लानूमालाई यो कुरोले दुखित पनि तुल्यायो । उनले पनि आफ्नो वास्तविकता नलुकाइकन सबै कुरो खोली । लानूमा पनि दाम्पत्य जीवनको रथ गुडाउने क्रममा कहींकतै असफल भएर पारपाचुके गरिसकेकी केटी थिइन् । लानूमाले यो वास्तविकता प्रकट गर्दा सबैमा एक प्रकारको सन्नाटा छाएको थियो सो परिवारमा, अनि सबै सदस्यहरुले उनका पुरुष साथीको मुहारमा हेरेका थिए ।
बिदा हुन अगाडि लानूमाले सबैसँग बिनम्रपूर्बक बिदा मागी । केही दुखित भए पनि खुसी र उमंगले लानूमाको सरल हृदय चंगाजस्तै उडिरहेको थियो । जे भए पनि लानूमा जीवनका लागि समयसँग सम्झौता गर्न तयार भइसकेकी थिई । सुनौलो सपनाहरु बुन्दै घर पुगेलगत्तै लानूमा एक्कासी कम्प्युटर कोठामा प्रवेश गरी आफ्नो जीवन साथीलाई रमाइला–रमाइला मेल गर्न भनी कम्प्युटर खोली ।
वैज्ञानिक युग पनि कस्तो अचम्म छ, लानूमा भन्दा अगाडि नै साथीको मेल आइसकेको रहेछ । लानूमा आजसम्म तिमीले मलाई अविवाहित भनि छली रहेकिरहेछौं अब तिम्रो र मेरो वास्तविकता हामीमाझ छर्लंग छ, तर पनि म एक पारपाचुके महिलासँग विवाह गर्न सक्दिनँ, हामीले हाम्रा दाम्पत्य जीवनका बारेमा गरिएका कुराहरुलाई एउटा सपना सम्झीबिर्सिदिनु अनुरोध गर्दछु । बाँकी रह्यो हाम्रो मित्रताको कुरो हामी जिन्दगीभर एउटा अत्यन्तै असल साथीको रुपमा रहिरहने छौं बिदा ।
लानूमाले ईमेल दोहोर्याएर पढ्न आवश्यक ठानिनँ । सबै कुरोहरु प्रस्ट भए । उसलाई अचानक रिंगटा लागेर आयो टाउको माथि घरको दलिन खसेझैं भयो, यता उति हेर्यो, कोठा सबै घुमिरहेको थियो । आपूmलाई कता कता पिसाब लागेजस्तो पनि भयो, आफैंलाई आफैले सम्हाल्दै ट्वाइलेट पुग्यो, तर उसलाई पिसाब त लागेको रहेनछ, पिसाब लागेको भान मात्र भएको रहेछ ।
हातगोडा थरथर काप्दै भए पनि, भएभरको हिम्मत बटुलेर एक पटक मेल गरी लानूमाले, आखिर हामीमा असमानता नै के रह्यो र ? तिमी र म दुवै जना पारपाचुके गरिसकेका मान्छे हौ त्यसैले नै मैले पनि निर्धक्क भएर तिम्रो परिवारसामू आफ्नो अतितको पोको फुकाएकी हूँ, ताकी आउने दिनमा कोही कसै धोकामा जिउन नपरोस्, जेहोस् तिमी एकपटक ठन्डा दिमागले सोच अनि भन, म तिम्रो निर्णय परिवर्तन होला भन्ने प्रतिक्षामा छु, अहिलेलाई बिदा ।
दिन बिते, हप्ता बिते, महिना अनि वर्ष पनि बिते तर साथीको मेल आउँदै आएन । पलाएका सारा खुसीहरु नदीका पानी छल्कँदै निरन्तर बहे जसरी बहेर क्षितिज परसम्म पुगेर हावाको झोकासँगै बिलाएको अनुभव गर्न सिवाय केही गर्न सकिनन् । उनले आफ्नो भाग्यलाई कोस्दै, धिक्कार्दै जिन्दगीमा पहिलोपल्ट आफ्नो केटा साथीको इमेल पढेर धेरै बेरसम्म रुएकी थिइन् । त्यो रात, रातभर आँसुले मन लुगाझैं पखालेर फेरी, कहिल्यै नरुने गरी आफ्ना आँखाहरुलाई सान्त्वना पनि दिलाएकी थिइन् ।
एकदिन, अनायास आफ्नी बहिनी चाटमा व्यस्त देखि । उनै साथी, उही त्यही साथी, त्यही मान्छे, भन्दै थियो म सिंगल…..अविवाहित…..लानूमा बोलिन, बैनीको छेउमा बसेर चिउड़ोलाई हातले थाम्दै एकोहोरो भएर हेरिरही, थाहै नपाई उनका नयनहरु आँसुले भरिसकेछन् । निर्दोष बहिनीले टाइप गरिरहेको किबोर्ड माथि २ थोपा आँसु तपतप झारेर चुपचाप निस्किन कोठाबाट ।
समाप्त






