ब्रिटिस हर्ट फाउन्डेसनका लागि ‘स्काई डाइभ’ गर्दैछु : ‘मिस युके नेपाल सिर्जना गुरुङ

SHARE:

सिर्जना गुरुङले ‘मिस युके नेपाल–२०१७’ को ताज पहिरिएको लगभग दस महिना बितेको छ । लन्डनको अल्डरसटस्थित एम्पायर हलमा गत सेप्टेम्बर १० मा आयोजित भव्य समारोहबीच छैटौं मिस युके नेपाल घोषित भएपछि सिर्जनाले भनेकी थिइन्, ‘म ज्यादै हर्षित छु, सधैं नेपाल र नेपालीलाई आफ्नो मनमा राखेर हिँड्ने छु ।’ मिस सिर्जना वचनबद्धताअनुसार काम गरिरहेकी छन् वा विचलित भइन् ? कलिलो उमेरदेखि नै समाजसेवाप्रति अभिरुची राख्ने पर्वतकी उनी अहिले के केमा व्यस्त छिन् ? यिनै जिज्ञासासहित विविध विषयमा एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले मिस युके–नेपाल २०१७ की विजेता सिर्जना गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश ।
दिनचर्या कसरी बिताइरहनु भएको छ ?
मैले स्न २०१५ जुलाईमा बायोमेडिकल साइन्स विथ प्रोफेसनल एक्स्पिरेन्समा फस्ट क्लास अनर्स लिड ग्राजुयट गरेकी थिएँ ब्रुनेल युनिभर्सिटीबाट । त्यसपछि क्लिनिकल रिसर्चमा फूलटाइम काम सुरु गरिहाँले । अहिले प्यारेक्सल इन्टरनेशनल रिसर्च अर्गनाइजेसनमा इनिसेसन क्लिनिकल म्यानेजरका रुपमा काम गर्दै आइरहेको छु । हाम्रो काम कसरी औषधिलाई बजारमा ल्याउने भन्ने रिसर्चको हो । अहिलेसम्म विश्वमा एचआईभी एड्स, क्यान्सरको कङ्क्रिट रुपमा औषधि पत्ता लागेको छैन । त्यसका लागि निकै रिसर्चहरु गर्नुपर्छ । भविष्यमा यसको औषधि बजारमा ल्याउन सके भने त्यो एकदमै खुसी र प्राउड फिल हुनेछ । मेरो उद्देश्य भनेकै सबै जना स्वस्थ, सुखी जीवन जिउन् भन्ने हो ।
मिस युके नेपाल बनिसकेपछि के के काम गर्नुभयो ?
मिस भइसकेपछि धेरै अफरहरु आउँदा रहेछन् । एकदमै बिजी हुँदोरहेछ । जुनबेला कुन काम लिने, कुन पछि सार्ने भन्ने हुँदोरछ । च्यारिटीबल काम गर्दा हामीले मिस युके नेपालका टिम मिलेर नोभेम्बरमा व्यूटी विथ द प्रपोज नामक च्यारिटी इभेन्ट गरेका थियौं । ब्लाइन्ड रक्स भन्ने नेपालमा रहेको एनजीओलाई ३ लाख ४९ हजार १ सय ५ रुपैयाँ उठाउन सफल भयौं । त्यो रकम मै नेपाल गएर हस्तान्तरण गरेकी थिएँ ।
त्यस्तै आफ्नै गाउँ पर्वतमा सिर्जना विकास निम्न माध्यमिक विद्यालयमा स्टेसनरी सामग्री प्रोभाइड गर्न सकेँ । साथै विद्यालयको विकासका लागि २५ हजार १ सय पनि दिएकी थिएँ । सानो सानो रुपमा व्यक्तिगत हिसाबले कामहरु भइरहेका छन् । द्रोस्रोचोटी नेपाल जाँदा पनि बालुवाटारमा चिल्डेनहरुलाई बुक दिन सकेँ । अहिलेचाहिँ ब्रिटिस हर्ट फाउन्डेसनका लागि ‘स्काई डाइभ’ गर्ने सोच्दैछु । त्यसका लागि अनलाइन फन्डरेज गर्दैछु । स्काई डाइब जीवनमा एकचोटी गर्छु नै भनेर बकेट लिस्टमै थियो मेरो । च्यारिटीका लागि गर्न पाउँदा एकदमै खुसी पनि छु । ठूलै च्यारिटीबेल कामहरु नभए पनि सबैले सानो साना काम गर्दै जाने हो भने ठूलो इफेक्ट पर्छ ।
नेपाल कहिले जानुभएको थियो ?
मेरो गाउँ पर्वत भए पनि स्थायी पोखरा हो । गत डिसेम्बरमा पहिलो पटक गाउँ गएकी थिएँ । पहिले जान्छु, जान्छु भन्दा पनि भ्याएकी थिइनँ । पहिलो पटक जाँदा सामाजिक काम गर्न पाउँदा एकदमै खुसी लाग्यो । धेरै नेपाली विदेशिएकाले गाउँमा जनसंख्या घटेको पाएँ । एकदमै दुःखको कुरा हो । पढाई, कामको सिलसिलामा युवाहरु विदेश जानुभएको हुन्छ सायद । जब फर्किनुहुन्छ, गाउँमा सामाजिक काम गरे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
मिस युके नेपाल बन्दा र अहिलेमा के भिन्नता महसुस गरिरहनुभएको छ ?
धेरै भिन्नता छन् । सर्वप्रथम म एकदमै खुसी छु । पहिले घर र अन्य काम गर्थें । म एउटा बबलभित्र छु जस्तो लाग्थ्यो । त्यो भन्दा बाहिर निस्केर केही एड्भेन्चर्स काम गरौं । समाजमा केही गरौं भन्ने सोच आइरहन्थ्यो । मिस युके नेपाल प्लेटफर्म देखेँ । माल्भिका सुब्बा म्याम पनि आउँदै हुनुहुन्थ्यो, ट्रेनिङ गराउनका लागि । त्यसैले यो अवसर मैले छुटाउनु हुँदैन भनेर एप्लाई गरिहालेँ । जितेकोमा झन् खुसी । जिम्मेवारीहरु पनि बढेका छन् । बिजी हुन्छु । साथसाथै यो उतारचढावहरुमा रमाइलो भइरहेको छ । एकदमै कन्फिडेन्स फिल हुन्छ । समाजका धेरै संघ संस्थाका भीआईपी व्यक्तिहरुसँग काम गर्न पाउँदा खुसी लाग्छ । एक किसिमको नेटवर्किङ पनि हुन्छ ।
मिस बनिसकेपछि के कुरा सिक्न पाउनुभयो त ?
जस्ट व्यूटी पेजेन्टका लागि मात्र भनेर सिकिँदैन लाइफमा अपनाउन सकिने स्कीलहरु हुन्छन् । कम्युनिकेसन, प्रेजेन्टेसन, स्कील, समूहमा कसरी काम गर्ने भन्ने सिक्न पाइन्छ । त्यो फिनालीमा मात्रै होइन, युनिभर्सिटीमा पढ्दा इम्लिमेन्टेसन गर्न सकिन्छ, त्यस्ता स्कीलहरु । सँगसँगै पर्सनालिटी डेभलेभमेन्ट (व्यक्तित्व विकास) का क्लासहरु हुन्छन् ।
मिस युके नेपाल बनेपछि केही गर्ने अपेक्षा राख्नुभएको थियो होला, कति पूरा भए, कति पूरा हुन बाँकी छ ?
(हाँस्दै…) । त्यस्तो कङ्क्रिट लिस्ट नै त बनाएको थिइनँ मैले । जे जस्ता कामहरु आउनेछन्, त्यसलाई अपनाउने छु भनेर अघि बढिरहेको छु । ती कामहरु सफल होस् भनेर व्यक्तिगत रुपमा आफूलाई निखार्दै लगिरहेको छु । समाजमा काम गर्न पहिले आफूलाई तिखार्न सक्नुपर्छ । त्यसपछि मात्र अरुलाई सहयोग गर्न सकिन्छ भनेर तिखार्दै छु । त्यसैअनुरुप समाजमा काम गर्दै गइरहेको छु, गइरहने छु पनि । समाजमा काम गर्न ब्यूटी पेजेन्ट विनर नै हुनुपर्छ जस्तौ लाग्दैन । समाजका लागि सबैले काम गर्न सकिन्छ ।
तपाई मिस बन्दा आठजना मात्रै प्रतिस्पर्धी थिए । सुन्दरी प्रतियोगितामा आकर्षण बढाउन आयोजकले के गर्नुपर्ला ?
बेलायतमा व्यस्त जीवनशैली नै छ, सबैजना काम, युनिभर्सिटीमै बिजी हुन्छन् । त्यसकारणले सहभागी घटेको हो । तर, मिस युके नेपाल, मिस नेपाल आयोजकसँग आबद्ध भएमा केही इम्प्रुभमेन्ट देख्न सकिन्छ कि !
अर्को मिस प्रतियोगिता आउन करिब तीन महिना बाँकी छ । यसबीचमा केही गर्न पाए हुन्थ्यो भन्ने छ ?
मिस युके नेपालको अवधि सके पनि सानो वा ठूलो होस् समाजमा टाइम दिन, योगदान दिन सके खुसी लाग्नेछ । आफू पूर्वमिस भए पनि निरन्तरता दिइनै रहनेछु ।
तपाईंजस्ता युवायुवती विदेशिएका छन्, यसले नेपाली भाषा, कला संस्कृति ओझेलमा पर्दै गइरहेको छ । अग्रजहरुको चिन्ता पनि हो । यसलाई बेलायतमा कसरी जगाउन सकिएला ?
हरेकमा इच्छाशक्ति हुनुपर्छ आफ्नो भाषा संरक्षण गर्नलाई । आफ्ना बुबाआमा, हजुरबुवा, हजुरआमा ठूलाबडासँग सिक्नु पर्छ । आफ्ना प्रश्न सोधिरहनुपर्छ । ठूलाबडाहरुले पनि सिकाइरहनुपर्छ । अहिलेका पुस्तासँग कम्युनिकेसन भइरहनुपर्छ । कम्युनिकेसन ग्याप भयो भने हाम्रा संस्कृति, पुख्र्यौली भाषा, कला सबै लोप हुन्छ । म पनि गुरुङ भाषा सिक्दै आएको छु । कतिपय त फ्लोइन्टली बोल्न आउँदैन, जति सकिन्छ सिकिरहन्छु । पुरानो पुस्ता मिलेर, तालिम, कोर्सेस, साप्ताहिक, पाक्षिक, मासिक रुपमा गरिरहने हो भने आउँदो पुस्तालाई सजिलो हुन्छ ।
पाठकको प्रश्न छ, मिस युके नेपाल सिर्जना गुरुङ कहिले मिसेस बन्नुहुन्छ भन्ने ?
त्यो चाहिँ धेरै नै कुर्नुपर्छ यहाँहरुले (हाहाहाहा…हाँसो) ।
अहिले त्यस्तो योजना छैन ?
छैन, छैन । कहिले भनेर सोचेकी पनि छैन । सायद धेरैपछि होला ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!