बेलायतमा मौसम बद्लिए पनि मेरो दिन बद्लिएन

SHARE:

जानू काम्बाङ् –

२५ मार्च २०१८ को आइतबार अथवा बेलायतमा समर टाईम चेन्ज भएको दिन, बिहानलाई सम्झँदा यस्तो लाग्छ कि ! सुटुक्सुटुक फेरिंदै आउने समयले घुम्दै फिर्दै आएर हाम्रै उमेर चोर्दै अरुलाई धमाधम मुब्ध्मा बाँडीरहेछ । र, नयाँ नयाँ अनुहार जन्माउँदै पुरानो अनुहारका पाना च्यात्दै, थन्काइरहेछ डाँडा, पाखा, खोला अनि बगरका सुसेलीहरुमा । हामी समयको डमी हौं, उसले निर्देशन गरेको विशाल एउटा चलचित्रको पात्र हौं । ऊ आफ्नो निर्देशनमा हाम्रो जिन्दगीलाई समेटेर कयौं चलचित्रहरु निर्माण गरिरहेछ ।
मलाई आज फेरि सबेरै ब्यूँझाएर, मेरो जिन्दगीको अर्को दिन थप्दै नयाँ नौलो कहानी बनाइरहेछ । म उसकै निर्देशनमा, आफ्नो नित्यकर्म सकी निस्कँदैछु, अर्को एउटा साँझ खोज्न जिन्दगीको उन्मुक्त यात्रामा । म भर्खरै ब्यूँझिएको छु फ्रेस अनि नयाँ पालुवा झैं देखिन्छु । थकानहरु दूर, दूर सपनाको नगरीमै छाडेर उठेको छु । तर, एकछिन पछि म फेरि, पुरानो हुँदै जानेछु, थाक्दै जानेछु र त्यहाँ एउटा अर्को साँझ थपिने छ मेरो जिन्दगीमा अर्को एउटा नयाँ बिहानी जन्माउन !!
मोबाइलको घडीमा अटो टाईम् मिल्ने हुनाले, बिहानको ६ बजिसकेको छ तर, भित्तामा झुन्डिएको घडी भने हिजोको समयमा आज खोज्दै, बाटो अल्मलिएको यात्री झैं अल्मलिरहेको छ । लाग्छ छक्छक..छक्छक्क गर्दै ऊ पनि मेरो अघि अघि दौडीरहेको छ, अर्को वर्ष भित्र्याउन । तर, जति दौडे पनि, १ घण्टा अघि हिँडेको नयाँ समयलाई भेट्न सकिरहेको छैन बिचरा पुरानो समयले । विचरा यो मानेमा भन्दैछु कि पछि परेको हर चिजलाई हामी विचारै भनेर सम्बोधन गर्छौं । जस्तै ओरालो लागेको मृग, झर्दै गरेको पÞmूल अनि लड्दै गरेको बस्तु ।
वर्षभरिलाई पुग्ने माना, चामल, बोकेर पर्देसी, परदेश हिँडेझैं गरी नयाँ जोस, जाँगर र उमंगहरु बोकेर नयाँ समय आइपुगेको छ मेरो आँखाको पर्दा उघार्न । तर, मलाई भने उठ्ने मनै छैन । मन ब्युँझिए पनि आँखाहरु ब्युँझन मानिरहेका छैनन । न्यानो सिरकको अंगालोमा ब्यर्थै आँखा चिम्लेर प्याउलो शरीर लडी बसेको छ । साथमा आमा पनि छैनन, बा पनि छैनन, सबेरै उठ छोरी, स्कुल जानु पर्छ ? कसले भन्ने र त्यो उमेर पनि रहेन अब । सोच्दा पनि प्यारो र आनन्द लाग्ने बाआमाका ती आवाज, आह्हा..! हिजो अनि अस्ति जस्तो लाग्ने ती बाल्यकालको सुन्दर बालसुलभहरु, प्यारो लाग्दालाग्दै कति चाँडै दूर दूर भएर गए, सम्झिन्छु म अचेल, विदेसिनु अघि मनभरि ह्वारह्वारती बलेका रहर र तारा जूनझैं मनमा टल्केका सपनाहरु, सायद । २५५ जति पूरा भए होलान् । बाँकी ७५५ सपनाहरु मनमै निभेर गए । निदाएर देखेको सपना एकपल्ट कसैलाई भने पछि सकिन्छ तर, ननिदाइकन मनले देखेको सपना भने कसैलाई भनेर पनि नसकिने पूरा पनि नहुने मनमै बसेर मुटु पोलिरहने हुँदारहेछन् । जस्तै मलाई धेरै पढ्ने र केही बन्ने भन्ने सपनाले अझै पनि सताउँछ सपना, विपना । किताब बोकेर कलेज गएको, परीक्षा लेखेको आदि ईत्यादि अझै देख्ने गर्छु ।
धेरै वर्ष अघि बुढा मावला जाँदा एउटा ज्योतिषी कहाँ पुगेकी थिएँ सायद ! एसएलसी दिएर बसेको बेला हुनु पर्छ । उसले सबै कुरो राम्रो राम्रो भनेर मेरो चित्त बुझाए पनि मेरो पढाइ लेखाइपट्टिको भाग्य भने बुध ग्रहले रोकिदिएको कुरो गर्‍यो । त्यो बेला म निक्कै उत्साहित थिएँ अझै पढ्छु, लेख्छु भनेर तर, त्यो कुरो सुनेपछि मैले जति कोसिस गरे पनि हुन् भने दुःख किन गर्नु भन्ने लाग्यो । त्यसपछि मैले पढ्न लेख्न छाडेर जिन्दगीको नौलो यात्रा सुरु गरें । समय बित्दै गयो, बल, बैंश र उमेर भइञ्जेल जिन्दगी फूलजस्तै लाग्थ्यो । बिस्तारै समय बित्दै गयो, बच्चाबच्ची भए अनि जिन्दगीका आवश्यकता र व्यवहारले लुडो खेलको सर्पले गोटी निलेझैं जिन्दगीका सुख निल्दै लग्यो । हामी विदेश पुग्यौं उज्यालो सपनाहरु टिप्न किन कि विदेशमा त पैसा रुखमा फल्छ जस्तै लाग्थ्यो । यसरी पैसा टिप्नेक्रम हङकङमा १२ वर्ष जति चल्यो त्यहाँ टिपेको पैसाले हाम्रो आर्थिक स्थितिमा धेरै परिवर्तन ल्यायो तर, अर्थशास्त्रको सिद्धान्तजस्तो चाहना पूरा कहिले नहुँदो रहेछ । त्यसपछि हङकङले पूरा गर्न नसकेका सपनाहरु युकेतिर छरिएको सपना खुला मन र आँखाले खुलेआम देख्न थाल्यो अनि आइयो बाँकी सपना टिप्न भल्ड़ाङ्गभूल्डुंग, झोलीतुम्बी बोकेर बेलायत । तर, यहाँ आएर फेरि घरजम काम दाम दुनियाँ गर्नु पर्दाको दुःखले सपनाहरु टाढा भाग्न थाले अनि जिन्दगी काँडा लाग्न थाल्यो । यहाँ आएर बिताएको समयको खासै हिसाब छैन । तर, समय त बितेकै छ आजजस्तै हरेक वर्ष परिवर्तन हुँदै । बितेर जाने कति पलहरुले हँसाएर गए, कतिले रुवाएर । हाँस्ने ठाउँमा हाँसियो रुने ठाउँमा रोइयो तर, हँसाएर जानेले भन्दा रुवाएर जाने सपनाहरुले धेरै कुरो सिकाएर गए । आज भन्न मन लाग्छ धन्य छ त्यो समयलाई जसले मेरो मुटु रेटेर चरचर्ती नुनचूक छर्केर गयो । म धेरै नै दुखी भएँ त्यो पलहरुमा । तर, त्यहीबेला झरेको आँसुले पखाल्यो क्यारे मेरा सारा दुःखहरु, आज छुइन दुखी र हतपत आँसु नि झर्दैन, धेरै नै बलियो पो बनेकी छु कि जस्तो लाग्छ अचेल । आँसु मान्छेको कमजोरी हुँदोरहेछ, त्यसैले समय र परिस्थितिसँग लड्न छ भने आँसु होइन हिम्मत बटुल्नु पर्छ । आत्मबल बलियो भयो भने समय आफैं झुकेर आउँदोरहेछ । हुन त, यो नितान्त मेरो सोंचाई मात्र हुन सक्छ ।
बाहिर चिसो छ, बेलायतमा समर होइन विन्टर लागेको छ, किनकि अस्तिको हप्ता मात्र हिउँ परेर जम्मै सेताम्मे थियो । त्यसैले, होला समर टाईम लागे पनि समर महसुस गर्न पाइरहेका छैनौँ । सबेरै चाँदनी रातले दिन जन्माइसकेको छ । जमिनभरि छरिएको घामको सुनौलो किरण थुतुनोले टिपेर चिरबिराउँदै चराहरु रुखमाथि ओसारीरहेका छन् ।
वसन्त अन्माएर भित्र्याउन बाटो छेउछाउका रुखहरु पालैपालो पातको माला गाँस्दै, फूलमा रंग भरिरहेका छन् । बिहानीको मिर्मिरेमा उषाको लाली बोकेर घाम जन्ती बन्न ओर्लिएको छ । म अलिकति घामको फूल शिरमा स्युरिएर बाटोमा लखरलखर हिँडिरहेकी छु । मसँग हर दुःख सुखमा साथ दिने छाँया छ, ऊ मलाई सधैं बेसुरमा पछ्याइरहन्छ, गन्तव्य दुबैको मिल्ने भएर होला हामी कहिले विछोडिनुको पीडामा छट्पटिएका छैनौं ।
समयले खोसेका कति खुसीहरु फूलफिल गर्न मलाई पक्कै केही समय लाग्यो तर, पनि सकारात्मक रूपले जीवनमा सबै दुःख सुख स्वीकार्ने हो भने आफूमाथि झरेको पहाड पनि हलुङ्गगो लाग्दोरहेछ । आफूलाई पर्दा जहिले धेरै दुःख मान्ने मान्छेको जात, सानो दुःखले पनि दुखाउने त गर्छ नै ।
जिन्दगीमा जुनै पनि घटना या समस्याले समाधानको बाटो पनि तय गरेरै आएको हुन्छ । त्यसैगरी मेरो पनि जीवनमा ठुल्ठूलो घटना या दुःख त आइनपरे पनि सानातिना दुःख सुखहरु आउने जानेक्रम जारी नै छ । दुःख सुख जे आए पनि पाखुरा सुर्केर सामना गर्ने हिम्मत राख्नु पर्छ भन्नु हुन्थ्यो मेरो बोजू । त्यो बेला एउटा कानले सुनेर अर्को कानले उडाएको, बोजुको त्यो समीक्षा मलाई आज बहुत अमूल्य लाग्ने गर्छ ।
बाबा पनि जहिले भन्नुहुन्थ्यो, मान्छेले एकपल्ट पाएको चोलालाई माया गर्नु पर्छ, दुःख सुख त आउँछ्न जान्छन् जीवनमा । त्यस्तै मलाई पनि मेरो जिन्दगी अति प्यारो लाग्छ अचेल । म आफैले मेरो जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा, सानैदेखि मलाई मन पर्ने लेखक चर्चित उपन्यासकार प्रकाश कोबितको कुनै एउटा सुन्दर उपन्यासको सुन्दर पानाका अनुच्छेदहरु जस्तो लाग्छ । जुन उपन्यासहरु म, आफ्नो स्कुलको किताब र होमवर्क सिरानी मुनि लुकाएर रातारात पढ्ने गर्थेँ । हुन त म समय पाएसम्म प्रायः सबैको किताबहरु पढ्ने गर्छु तर, त्यो जमानाका, प्रकाश कोबितका उपन्यासहरु सायद ! चञ्चले बालसुलभका समयमा पढेकोले होला एकदम आत्मीय लाग्छन् ।
अचेल, सम्झिन्छु ती बिर्सीनसक्नुका उपन्यासहरु कहाँ गए होलान् के लेखकसँगै जलेर गए त ?
जसरी मान्छे मरेर जाँदा उसको लत्ताकपडा र समान पनि सँगै जलाइन्छ ? गएको मंसिर २३ गते मैले पनि सबभन्दा प्यारो र नजिकको साथी बाबा गुमाएँ, त्यो दिन बल्ल थाहा पाएँ टाढा परदेश हुनुको पीडा, अफ लाइसेन्स गएर कार्ड किनेर फोन गर्दै बाबाआमाको स्वर सुनेर आनन्द मानेको जस्तो दिन थिएन त्यो दिन मेरो लागि ।
अंग्रेजी महिनाको डिसेम्बर ९ तारिख शनिबार, २०१७ मेरो लागि कालो हुरी बनेर आएको थियो ।
घडीमा बिहानको ६ बजेको थियो । मेरो मर्निङ्ग ड्युटी थियो, मैले सेट गरेर सुतेको क्लक घडीले हरेक दिन ईमानदारी साथ सक्दो कराएर ब्युँझाउँछ मलाई, त्यो दिन पनि ब्युँझायो, म ब्युँझे अनि तानेर मोबाइल हेर्दा पो थाहा पाएँ । १३ मिस्कल्स र थुप्रै मेसेजहरु आएका रहेछन् । छोरी कविताले लेखेकी थिई प्लिज मुम्मी पिक्अप द फोन ? बाजे सारो हुनु भएको छ । त्यसैगरी दुबई र बेल्जियमबाट भाइहरुले लेखेका थिए, दिदी सुत्नु भा होला फोन उठेन, हामी यहाँबाट हिँड्यौं, बाबा सारो छ रे, हामीले अक्सिजन दिएर भए पनि हामी आईञ्जेल बचाइराख्नु भनेका छौं । हंसले ठाउँ छोड्यो काप्दै फोन थिचें, फोन उठाएर बोल्न सक्ने हिम्मत कसैको थिएन, रुवाबासी थियो घरमा बल्लैले कान्छाभाइले भन्यो दिदी बाबा अब रहनु भएन । हाम्रो अक्सिजनमा सास रोकिराख्ने सपना सिसाझैं फुट्यो केहीबेरमै ।
फोन राखेर टिकट हेर्न थालें अचानक उड्नु पर्दाको टिकटको दाम मलाई अहिले पनि सम्झन मन लाग्दैन । बूढोको ड्युटी नाईट थियो । उहाँ आईपुग्नु भो टिकट हेर्न लगाएर यता र उति दौडधुप गरेर आफूलाई नेपाल जान सक्ने बनाएँ । माइला भाइ दुबईबाट उड्यो, म युकेबाट, ठूलो भाइ बेल्जियमबाट । तर, दुःख मलाई यस मानेमा लाग्यो कि बाबाआमा मर्दा पनि लाससम्म भेट्न मुस्किल, उड्दाउड्दै बाटैमा २ दिन लाग्ने, एक मनले के बस्नु हो युकेजस्तो पनि लाग्यो ।
बाबा बल्ल ७० को डिल उक्लिँदै हुनुहुन्थ्यो । यति चाँडै पितृशोकमा डुबेकोले पनि होला, हामी टुटेर टाईटनिकझैं हरायौँ दुःखको महासागरमा । त्यहाँ हामी रोयौं, करायौं, तर जानेले सुन्दै सुनेन, एकोहोरो पुजारीले फुकेको शंखको धुनझैं ऊ बगेर गयो हामी मनभरी सम्झना र आँखाभरी आँसु बोकेर फर्की आयौँ घर । बाबाबिनाको घर, बाबाबिनाको आँगन एकदम शुन्य लाग्यो । सोचें माइत आएर फिर्दा आमा भन्दा धेरै रुने बाबा, मलाई देख्दा अँगालो हालेर गालामा मोइखाने बाबा, यो उमेरमा पनि मलाई मेरो पूतली भन्दै माया गर्ने मेरो बाबा अब यो दुनियाँमा रहेन । सुरु सुरुमा विश्वास लागेन बाबा छैन भनेर । तर, अन्त्यमा समयको अघि झुक्नै पर्‍यो ।
बाबा बितेको आज ४ महिना भएछ । अनि यो वर्षको समरटाईम पनि लागू भएको छ बेलायतमा । बेलायत बस्दाबस्दै नानीहरु पनि हुर्किसके, आफैं काम गरेर आफ्नो खुट्टामा उभ्भिने कोसिस गर्दैछन् । जिन्दगीले सोचेजस्तो उन्नति प्रगति गर्न नसके पनि भगुवानले कमाएर बिहान बेलुकी छाक टार्ने शरीर स्वास्थ्य राखी दिएको छ, त्यसैमा सन्तुष्ट छु । आजदेखि समर लागेको छ, समर सिजनको यहाँ छुटै महत्व छ, मज्जा छ । मान्छेको जिन्दगीमा भने खासै समर लाग्दैन यहाँ, कानो गोरुलाई न औँसी, न पुर्ने भनेझैं एकोहोरो जोतिनुको विकल्प छैन । बेलायत बाठो छ हामी विदेशीहरुलाई जोतेर ट्याक्स काट्दै उसको आफ्ना अल्छी जनता पाल्छ ।
घर रित्तो, ढोका बन्द, भूत बस्ने घरजस्तो दिनभर कोही हुँदैनौ । बिहान जसरी पालैपालो मान्छे निस्कन्छौं त्यसैगरी साँझ पालैपालो एकएक गर्दै पस्छौं र खानापिना बनाएर खाइ सुत्छौँ । यस्तो कहानी यहाँ घर घरकी कहानी बनिसकेको छ । हिन्दी सिरियलको कहिले नसकिने कहानीजस्तो सायद नमरुञ्जेल हरेक दिन खेताला गरिरहन्छौं र ट्याक्स पनि तिरिरहन्छौँ बेलायतमा ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!