प्रोफेसर बन्न चाहन्थे गोरेबहादुर खपाङी मगर

SHARE:

सञ्जोग लाफा मगर
laaphaa@gmail.com

जातीय चेतना
एकदिन मैले पढाइरहेको गौरीशंकर हाइस्कुल रामेछापमा आधादिन हिंडेर एकजना वृद्ध मलाई भेट्न आउनु भयो । गोजीबाट दुइवटा गुहारु, मिरु (अण्डा) झिकेर टोपीमा राख्दै टेबलमा राखिदिनु भयो । उनको चाउरिएको अनुहार, फुल्दै गरेको केश, फाटेको ठाउँमा टालेको कपडा, खाली खुट्टा भए पनि खुसी देखिनुहुन्थ्यो ।

गुहारुतर्फ देखाउँदै किन यो ल्याउनु भो ? म के सहयोग गरौं भनेंर सोधें– खुशी हुँदै केही सहयोग गर्नु पर्दैन । सर हाम्रो जिल्ला (रामेछाप) मा पहिलोचोटी मगर ठूलो मान्छे भएर आएकोले तपाईंलाई भेट्न आएको हुँ । मगर परम्परामा ठूलो मान्छे भेट्न जाँदा खाली हात अशोभनीय हुने भएकोले घरकै गुहारु कोसेली लिएर आएको छु ।

वृद्ध मगरको हार्दिकताले गोरेबहादुर खपाङी मगरलाई प्रभावितमात्रै पारेन, आफ्नो समुदायमा फर्कनसमेत बाध्य बनायो । रातभर मगर वृद्धको अनुहार र मगर जातिको तस्बिरले पच्छाइरहेको त्यो घटना हामीलाई धेरैपटक सुनाएका गोरेबहादुरले आफ्नो फेसबुकको आत्मकथा मगरमाला श्रृङ्खलामा पनि लेखेका छन् ।

बामपन्थी भए पनि मगर संघको सांगठनिक विस्तारसँगै मगर जातिबारे गहन अध्ययन गर्न थाले । नेपाल मगर संघ (तत्कालीन नेपाल लाङ्घाली परिवार) को २०३९ फागुन १५ गते दमौली तनहुँमा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनमा संस्थापक केन्द्रीय सदस्य हुँदै चौथो राष्ट्रिय महाधिवेशन, २०४८ काठमाडौंमा निर्विरोध अध्यक्ष चुनिए । २०६० सम्मको चौंथो कार्यकाल अवधिमा मगर मुक्तिको लागि (१) थरको पछाडि अनिवार्य मगर लेख्ने (२) जन्मदेखि मृत्युसम्म बाहुन पुरेत नल्याउने (३) दशैं परित्याग गर्दै जाने (४) लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गर्ने (५) मगर जातिको धर्म बौद्ध लेख्ने नेपाल मगर संघको पाँचवटा महत्वपुर्ण निर्णय दुर्गम, ग्रामिण क्षेत्रमा बसोवास गर्ने मगरप्रति लक्षित गरी मगरको ऐतिहासिक विरासत र जातीय अधिकारवारे सभा, सम्मेलनमा प्रभावशाली भाषणले जुरुक्क उचाल्दै मन्त्रमुग्ध पार्ने खुवी थियो । उनको विचारले मगर समाजमा लादिएको संस्कृति, परम्परा, धर्म, कुरिती परित्याग गर्दै मौलिक परम्परा पुनर्योजनको लहर चल्यो । २०६२, ०६३ को जनआन्दोलनपछि काठमाडौंमा भएको मगर संघको नवौं राष्ट्रिय महाधिवेशनमा जातिभन्दा राजनैतिक पार्टीको मगरविच प्रतिस्पर्धा भयो । एमएस थापा मगरको राष्ट्रिय जनमुक्ति पार्टी समर्थक मगरले बहिष्कार गर्‍यो भने उनको प्रजातान्त्रिक राष्ट्रिय जनमुक्ति पार्टी समर्थक मगरविरुद्ध आठ दलीय मगर समर्थक विच प्रतिस्पर्धा भयो । राजनैतिक पार्टीको हस्तक्षेपमा भएको महाधिवेशनपछि खपाङ्गी मगरले भनेका थिए– ‘अब मगरले मगर संघ आफ्नो पार्टीको नेतासंग राजनैतिक बार्गेनिङको लागि सर्टिफिकेट बनाउने भयो ।’

राजनैतिक संघर्ष
गाउँकै त्रिभुवन मिडिल स्कुल पढ्दादेखि अन्याय, शोषण, दमनविरुद्ध आवाज उठाउन थालेका खपाङी मगर १२ वर्षको उमेरमै स्थानीय बामपंथी नेता कृष्ण दाहाल (मानन्धर समुहका पोलिटव्यूरो सदस्य) को संगतले उनैले दिएको कम्युनिष्ट पार्टीको दस्तावेज, ब्रोसियर पहिलोचोटी अध्ययन गरेका थिए । २०२० सालमा रामसागर, रामस्वरुप (आरआर) डिग्री कलेज जनकपुरमा अध्ययनरत बखत जनकपुर चुरोट कारखानाको दक्षिण पट्टी वीरबहादुर खातिको घरमा डेरा थियो । साँझ साथीहरुले माक्र्स, लेनिनको रातो किताब ल्याइदिन्थे । नसकुञ्जेल पढिरहन्थे । त्यसबेला कम्युनिष्टहरु रसिया कम्युनिष्ट र चीनीयाँ कम्युनिष्टमा विभाजित थिए । उनले चीनीयाँ कम्युनिष्ट समर्थक मालेको भातृ संगठन अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीति गर्न थाले ।

२०३० सालदेखि रामेछाप गौरीशंकर हाइस्कुलको हेडमास्टर सात वर्ष हुँदा त्यतिबेला सिडियोभन्दा बढि खपाङीको चर्चा हुने गर्थ्यो । २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा खुलेर लागेका थिए । त्यहिसाल हेटौंडामा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको महाधिवेसन संस्थापक सदस्य थिए । विद्यार्थीहरुलाई आन्दोलन गर्न उक्साएको आरोपमा दुइपटक दिउँसो तात्कालिन सिडियो रघुनाथ भण्डारीको आदेशमा प्रहरीले पक्राउ गर्दा विद्यार्थीको नारा, जुलुसले छोडेका थिए । तेस्रो पटक रातिनै पक्रेर रातारात जेलचलान गरी नौ महिना जलेश्वर कारागारमा राखियो । जेलबाट छुटेपछि महोत्तरीमानै सक्रिय राजनीति गर्न थाले ।

२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको लागि जनपक्षिय उम्मेद्वारी दिएकामा पराजित भएका थिए । पार्टीको निर्देशनमा खुल्लारुपमा देखिने मालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चका सचिव पूर्णकालिन र भुमिगत रुपमा संचालित बन्दी सुचना केन्द्र, का सदस्य रुपमा काम गरे । साथीहरुले क्वार्ज डटपेन, लीवाइज पेन्ट, ड्रागन (बुस) सर्ट, इलेक्ट्रीक रड प्रयोग गर्थे । त्यो बेलामा यी सामानहरु नेपालमा पाइदैनथ्यो । पार्टीले विदेश सम्बन्ध गर्न सम्मेलनमा प्रतिनिधीहरु पठाउने गर्दो रहेछ । उनलाई थाहा नहुने । ‘तिब्र जातीय अन्तरविरोध भएको मुलुकमा सुकुम्वासी, सर्वहारा वर्गका भएतापनि भिन्न–भिन्नै जातिहरुको समाजमा वर्गीय एकता कायम हुन सक्दैन ।‘…..’जातीय अन्तरविरोध समाप्त भएपछि पुंजीवादको विकासमा मात्र वर्ग संघर्ष हुन्छ ।’ (लेनिन संकलित रचना भाग–६) लेनिनले जातीय समस्या समाधान वारे लेखेको कुरा पार्टीमा जातीय समावेसीता छलफलको लागि प्रस्ताव राख्नुभयो । अन्ततः माले पार्टीमा नेतृत्वको सोंच, व्यवहार कम्युनिष्ट जस्तो नभएर निख्खर जातिवादी बाहुनको जस्तो, जातीय समस्यावारे मौन बसेकोले २०४५ साल अन्तदेखि पार्टीवाट अलग भए । २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि एमएस थापा मगरको अध्यक्षतामा गठित नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (२०४७) का महासचिव बने । बर्गीय राजनीति पकड भइरहेको समयमा जातीय समस्या नेपालको प्रमुख राजनीतिक समस्या हो भनेर पहिलोचोटी पार्टीको मुल मुद्धालाई सार्वजनिक गरेका थिए । संघीय मुलुक, धर्म निरपेक्ष घोषणा, आदिवासी जनजाति, मधेसी, महिला, दलित अलपसंख्यक जातिलाई आरक्षणको व्यवस्था र जातीय जनसंख्याको आधारमा राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने राजनैतिक दस्तावेज थियो । बाहुनवाद विरुद्धको तार्किक कुरामा बाहुनहरु पनि नतमस्तक हुन्थे । यथास्थितिवादी राजनैतिक पार्टीका नेता, बिद्धान, प्रभुत्वशाली नागरिक समाजका अगुवाहरु खपाङीलाई बाहुन विरोधी, विखण्डनकारी, साम्प्रदायीक नेता भनेर उछित्तो काढ्थे । तर, आज मुलुकमा यहि मुद्धाहरु प्रमुख मुद्धा बनेकोले आरोपप्रति कटाक्ष गर्दै कम्युनिष्ट हुँ भन्नेहरुलाई भन्ने गर्थे– ‘नेपालमा कम्युनिष्ट होइन, कमनिष्ठाहरु छन् ।’

दशैंको टिका
नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र नेपाल जनजाति पार्टी एकिकरणपछि राष्ट्रिय जनमुक्ति पार्टी नामाकरण गरियो । महासचिव खपाङीनै बने । सबै राजनैतिक पार्टीले खपाङी र उनको पार्टीलाई अछुत सरहको व्यवहार गर्ने गर्थे । प्रमुख पार्टीको आन्तरिक कलह, पार्टी पार्टीविच द्धवेसको स्थिति, अस्थिर सरकार र माओवादी जनयुद्धको बेला राजा ज्ञानेन्द्रले २०५९ मा राजकीय सत्ता लिएपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मन्त्रीमण्डल गठन गर्‍यो । पार्टीको सिफारिसमा खपाङी महिला बालबालिका तथा समाज कल्याण मन्त्री दशैंको छेकामा बने । सरकारी परम्परा अनुसार दशैंको टिकाको दिन राजाको हातवाट टिका ग्रहण गरेपछि पुर्णेको भोलिपल्ट कान्तिपुर पत्रिकाको मुख्य पृष्ठमा टिका लाउँदै गरेको फोटो सहित पत्रकार उजिर मगरको समाचार प्रकाशित भयो । टिका प्रसङ्गलाई उनले जनएकता पत्रिकामा पनि बढाइचढाईगरि लेखे । खगेन्द्र संग्रौलाले आलोचनात्मक लेख लेखेपछि मगर समुदाय र आदिवासी जनजातिमाझ पक्ष विपक्षमा विभाजित भयो । दशैं मान्न छाडेकाले केहीले मान्न थाले । तर, जनमुक्ति पार्टीका कार्यकर्ता, आस्था राख्नेहरुले दशैं परित्यागलाई कायमनै राखे । धेरै ठाउँमा उनले टिकाको प्रसङ्ग उठ्नासाथ भन्थे– ‘हाम्रो पार्टी कुनै धर्म, संस्कृति र जातिको विरोधी होइन । मैले राजाको हातको टिका मगर भएर होइन मन्त्रीको हैषियतले लगाएको हुँ । राष्ट्रप्रमुखले मान्ने संस्कृति, परम्परालाई सम्मान गरेको हुँ । यो प्रसङ्गलाई गलत अर्थ लगाउनु भनेको हाम्रो (आदिवासी जनजाति) मान्छेले राजनीति गर्न सिक्दैछन् बुझ्न समय लाग्छ ।’

जातीय मुक्तिका विश्वविद्यालय
नेपाली समाजमा विद्यमान जातीय विभेद, भाग्यवादको विकासमा जकडिएको रुढिवद्ध संस्कार, परम्परा, संस्कृति र धर्मको आडमा बनेको ऐन, कानुनले जातीय आधारमा एकपक्षिय दण्ड जरिवाना गर्ने नियमविरुद्ध शसक्त विरोधसहित जनपैरवीमा जुटिरहे । जन्मको आधारमा ठूलो सानो जाति हुने एकपक्षिय बर्गीकरणको विरुद्ध आगोनै ओकले । मुलुक अविकसित हुनुको प्रमुख जड ब्राम्हणवाद हो भनेर यथार्थ सम्प्रेषण गरे । पशुले छोएको खाने मान्छेले छोएको नखाने रुढिवाद संस्कार थोपर्ने समाजप्रति छुवाछुत प्रथा संकिर्ण सोंचको मानसिकता भएको दलिल पेश गरे । जसको प्रमाण कथित धनि जाति र कथित गरिब जातिको फरक बर्गीय नभएर जातीय कारण हो भनेर केही वर्ष पहिले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र÷मानवशास्त्र विभागले अनुसन्धान गरेको रिपोर्ट पेश गरेको थियो ।

नेपाल मगर संघमा रहेर देशभरका मगरसंग प्रत्यक्ष उठबसको अनुभव र व्यवहारिक ज्ञान आर्जन पार्टीको कार्यक्रममा देशभरी घुम्दा आदिवासी जनजाति, दलित, मधेसी जातिको समस्यालाई बुझ्ने मौका मिल्यो । त्यो अनुभवनै उनको लागि व्यवहारिक दर्शन थियो । जुन विश्वको नामी विश्वविद्यालयमा पढेर पनि प्राप्त गर्न सकिंदैनथ्यो । सरकारी तथ्याङ्क अनुसार ३७.४ प्रतिशत आदिवासी जनजाति लाई हतियार बोकाउने महत्वकाँक्षा राख्नुभएन । बुलेटभन्दा ब्यालेटबाट सत्ता प्राप्त गर्ने कुरामा उनी दृढ थिए । संसारमा हतियार अल्पसंख्यकले बढि उठाएका छन् । नेपालमा आदिवासी जनजाति बहुसंख्यक छन् । नेपालमा राजनीति क्रान्तिमात्र भएकोले व्यवस्था परिवर्तन बाहेक विद्यमान जातीय समस्या ज्यूँका त्यूँ रहेकोले असमान जातीय विभेद, एकाधिकार, ब्राम्हणवादको अन्त्य सामाजिक क्रान्तिविना नहुने भएकोले अपरिहार्य ठान्थे । जातीय मुक्ति, द्धन्द समाधान, दिगो शान्ति र विकासको लागि जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक सिद्धान्तलाई मुख्य कडि मान्थे ।

उनलाई साम्प्रदायीक नेता भने पनि जातीय द्धन्दमा देशलाई धकेल्ने कल्पना कहिल्यै गरेनन् । सद्भाव सहिष्णुताको लागि अन्य धर्म, संस्कृतिको सम्मान गर्दै टिका ग्रहण गरे । अनिवार्य संस्कृत शिक्षालाई ऐच्छिक बनाउन ठूलो चुनौति मोले । बहुल जाति, विविधता उनिहरुले बाँचेको दर्शन र भुगोलसंगको सामिप्यता देश निर्माण हुनु अघि ऐतिहासिक गौरवगाथा बोकेका जातिलाई राज्यको मुलप्रवाहमा समावेस गर सम्मान गर भनेर राज्यलाई सर्तक गराइरहे । राज्यले दिएन भने तिम्रो नैसर्गिक अधिकार हो शान्तिपुर्ण आन्दोलन मार्फत माग भनेर जातीय अधिकार चेतनाको बिगुल फुक्ने खपाङी मगरले हामिलाई चेतना, अधिकार र ज्ञान दिएर गएका छन् । संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्दा भावुक हुँदै भनेका थिए– ‘गोरेबहादुर खपाङी मगर अनुभवले खारिएका राजनैतिक, सामाजिक र भाषिक ज्ञाता थिए । उनी व्यक्तिमात्र नभएर जातीय मुक्तिका लागि विश्वविद्यालय पनि हुन् ।’

र अन्तमा…
निरकुंश राणा शाषनविरुद्ध पहिलोचोटी सशस्त्र विद्रोह गरेका लखन थापा मगरको सहादत भएको ७३ वर्ष पछि जन्मेका स्व. गोरेबहादुर खपाङी मगर प्रभावशाली आदिवासी मगर नेता थिए । २०४० पछि जातीय विभेद, असमानताको जड अध्ययन अनुसन्धान, अनुभवको ज्ञानवाट प्राप्त गरेपछि पच्चीस वर्षे कम्युनिष्ट राजनीतिलाई तिलाञ्जली दिई जीवननिर्वाहको लागि केही महिना जगदम्बा प्रिन्टिङ प्रेसमा प्रुफ रिडर जागिरे भए । संघ र पार्टीको काममा देशभरी डुल्दा जातीय विभेदले प्रत्यक्ष अपमान सहेर बाँचेका आदिवासी जनजाति, दलितका पीडा बुझेका खपाङीले भाग्यवाद थोपरेर एकलौटी सत्तामा कुण्डली मारेका ब्राम्हणवादको जालोलाई उघारीदिए । प्रोफेसर बन्ने लालसाले शिक्षाप्रति तिव्र लगाव राख्ने खपाङी मगर अन्ततः जातीय मुक्तिका नायक चर्चित राजनीतिज्ञ प्रवाभशाली नेताको छविले चिनिए । सम्मानले उनलाई नेपालको नेल्सन मण्डेला भनेर पुकार्थे । पछिल्लो समय आदिवासी जनजाति, समजातिले अछुतजस्तो व्यवहार धोविघाट वरिपरी नजरबन्दी झैं बनेका खपाङी मगर २०७० बैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव उदघाटन समारोहमा सहभागी हुन जाँदा पुरानो बसपाकर्कको जेब्राक्रसमा मोटरसाइकलको ठक्करले अचेत बने । नेपाल र सिङापुरमा उपचार गरेको तीन वर्ष चार महिनापछि अचेत अवस्थामै प्राण त्यागे । उनको निधनले आदिवासी जनजाति, दलितलाई ठूलो क्षति पुगेको छ । राष्ट्रले राष्ट्रवादी, अहिंसावादी, नेपालको अनुभवी राजनीतिक नेता गुमाएको छ । यस दुःखद घडिमा उनको आत्माले पितृकोमा बास पाउन ।
(गोरेबहादुर खपाङ्गी मगरको छैटौं स्मृति दिवसको सन्दर्भमा)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!