मेरो राष्ट्रवाद के हो ?

SHARE:


“यदि संसार एकमात्र देश हुने भए यसको राजधानी इस्तानबुल हुने थियो ।”
फ्रान्सेली क्रान्तिका महानायक नेपोलियन बोनापार्टको उक्त्त भनाइले मेरो हृदयमा कुनै कुनै बेला चस्सचस्स घोचिरहने गर्दछ । वास्तवमा त्यति बहादुर नायकको जन्मस्थान झन् कस्तो ठाउँमा भएको होला भनेर मष्तिस्क गिजोलिरहने गर्दथ्यो । ‘हिम्मत गर मनुष्य म पुर्‍याउँछु,’ भन्ने भनाईलाई मध्यनजर गर्दै म एकदिन उनको जन्मघर आजासियो, कोर्सिका पुगेको थिएँ । त्यहाँ देखिएका सडक, स्कुल र कलेजमात्र नभएर हरेक भौतिक संरचनामा उनको नाम जोडिएको चाल पाएपछि उनी बहादुर मात्र नभएर बहादुरहरुको पनि बहादुर मानिस रहेछन् भन्ने मलाई लाग्यो ।

अब उनको नामसँग जोडिएका ती स्थानहरुले मात्र मलाई के चित्त बुझ्दथ्यो र ? त्यसैले उनी जन्मेको घर (हाल सङ्ग्रहालय) मा परिणत गरिएको स्थान पुगिहालें । पुरै युरोप जितेर एउटै राष्ट्र बनाउने राष्ट्रवादी सपना बुनेका नेपोलियनको जन्म सोही घरमा १५ अगस्ट १७६९ मा भएको थियो । तर मलाई त्यहाँ पुगेर सबैभन्दा आश्चर्य त के लाग्यो भने उनी जुन समयमा कोर्सिका टापुमा जन्मेका थिए सोही वर्ष त्यस टापुलाई फ्रान्सले अधिनमा लिएको रहेछ । नत्र भने त्यस बेलासम्म सो टापु जेनेवाको एउटा अभिन्न अङ्ग भएर रहेको थियो । यदि कोर्सिका टापुलाई त्यसरी फ्रान्सले नलिएको भए सायद उनको राष्ट्रियता फ्रेन्च नभएर इटालियन हुन्थ्यो होला । त्यसपछि त पुरै युरोपियन इतिहासले पनि सर्लक्कै कोल्टे फेर्थे होलान् ?

तिनै नेपोलियनले सोचेको राजधानी इस्तानबुल चाहिँ म धेरैचोटी प्रहरीद्वारा पक्राउ पर्ने पटके अभियुक्त झैं पटके नै भएको छु । रोमन साम्रज्यकालको अति लोकप्रिय एवं बहुत् चर्चित राजधानी कन्स्टान्टिनोपोल अथवा अहिलेको टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुल भूगोलको हिसाबले आधा एसिया र आधा यूरोपमा विभाजित भएर फैलिएको विश्वको एउटै मात्र नमुना सहर हो । त्यसैले त्यति लामो इतिहास बोकेको सहरको मैले यहाँ के नै पो बयान गर्नु छ र ? तैपनि त्यो सहर सुन्दर एवं मनोमोहक छ भन्ने कुरोमा चाहिँ मैले पटक्क कन्जुस्याइँ गर्न मिल्दै मिल्दैन । तर सहरको रुप हेरेर जति सुन्दर भने तापनि सहरभित्र बस्ने नागरिकहरुको जिन्दगी चाहिँ कति दुःखमय रहेछन् भन्ने कुरो मैले त्यहाँ पुगेर मात्र चाल पाउन सकें ।

साँच्चै साँच्चै भन्ने हो भने दुःखको पाटो चाहिँ यसरी सुरु हुन्छ । म एक साँझ बेलुकीको खाना खानको लागि हिँड्दैहिड्दै त्यहाँको प्रख्यात गालाटा साँघु तरेर खोलापारि पुगेको थिएँ । किनभने मलाई त्यसबेला टर्किस केबाव खाने रहरले निक्कै धेरै सताइरहेको थियो । जब म खोला तरेर पल्लो किनारमा पुगें तब मेरो सिधै अगाडि देखापरेको एउटा केबाब रेष्टुराँभित्र छिरिहालें । रेष्टुराँभित्र छिर्नेबित्तिकै मेरो भेट एकजना कर्डिस बेयरासँग भयो । हाम्रो भेटघाटको अवसरमा हल्काफुल्का परिचय हुँदा मैले निर्धक्क साथ नेपालदेखि आएको एकजना नेपाली हुँ भनेर आफ्नो राष्ट्रियता बताइदिएँ ।

खै किन हो किन ? मेरो कुरो सुन्नेबित्तिकै उनको अनुहारमा कालो बादल मडारिएको देख्न थालें । त्यहीमाथि उनको गाला तीनचाउरी परेको देख्दा म झसङ्ग भएँ । “म कर्डिस नागरिक हुँ, तर आफ्नो इच्छाविपरीत भए पनि म टर्किस नागरिक हुँ भन्नु पर्छ,” मनभरि त्यति धेरै पिरब्यथा बोकेर थोरै सशंकित मुद्रामा मेरो बायाँ कान नजिकै आएर उनले सुस्तरी सुनायो । उनी त्यतिमा मात्र रोकिन सकेका थिएनन् क्रमशः भावनामा बहकिँदै जाने क्रममा इस्तानबुलमा रहने हरेक कर्डिस नागरिकहरुलाई आफ्नो जन्मभूमिको विषयमा बोल्न, लेख्न र पढन निषेध गरिएको छ । त्यसैले मैले यहाँ के बोल्दैछु भनेर राम्ररी हेक्का राख्नुपर्छ । नत्र भने मेरो जिन्दगी एकदम जोखिममा पर्नेछ भन्दै उनी हतारहतार म देखि बिलय भइहाले । तर उनको मर्मस्पर्शी वृत्तान्तले मेरो हृदय छियाछिया बनाइदियो ।

घोडचढीले एकदिन आफ्नो घोडालाई कुटेको देखेर प्रख्यात दार्शनिक फ्रेडरिक नित्सेको दिमाक ड्याम्मै खुस्केको थियो र सोही कारणले त्यसको दस वर्षपछि उनको मृत्यु पनि भयो । कर्डिस नागरिक जोरानको भनाइले मेरो दिमाग त खुस्किहालेको थिएन । तैपनि दिमागमा हल्का तरङ्ग भने निश्चय नै ल्याइदिएको थियो । हुनत उनी जस्तै राष्ट्रियता गुमाएर विश्वभर भौँतारिरहेका कर्डिसहरु मैले पेरिस, बर्लिन र लिभरपुलमा छ्यापछ्याप्ती भेटिसकेको थिएँ । तर उनीहरुसँगको साक्षात्कारमा कर्डिसहरुको जिन्दगी त्यति कठिन होला भनेर मैले पिचिक्क सोचेको थिइनँ । अब उनको कुरोले भने मलाई केही सोच्न बाध्य बनाइदियो । यदि मानिस बस्ने राष्ट्र नै नभएपछि साँच्ची राष्ट्रवाद कस्तो हुन्छ होला ?

नेपाल जतिकै अथवा लगभग ३ करोड जनसंख्या भएको कर्डिस्थान पश्चिमी एसियामा रहेको कर्डिसहरुको मुख्यभूमि हो । सदियौँकालदेखि त्यहाँ बसोबास गर्ने मानिसहरुको पनि यस धर्तीमा भएको अन्य मानिसहरुको जस्तै आफ्नै भाषा, धर्म, संस्कार, लिपी, भेषभुषा र इतिहास छन् । तर मैले यहाँ खेदको साथ के भन्नुपर्छ भने उनीहरुको स्वतन्त्र राष्ट्रचाहिँ छैन । अब राष्ट्र नै नभएपछि न राष्ट्रियता न राष्ट्रवाद के नै पो हुन सक्ला र ?

तैपनि एकदिन स्वतन्त्र राष्ट्र पाउने आशामा उनीहरुले बिभिन्न प्रकारको आन्दोलनहरु क्रमशः गरिरहेका छन् । सायद विश्वमा एकदिन प्यालेस्टाइनहरुको भूमिमा यहुदीहरुलाई ‘राष्ट्रिय घरको स्थापना’ भएको बालफोर घोषणा पत्रमा इजरायललाई देश झुल्काईदिने बेलायती पूर्वपरराष्ट्रमन्त्री आर्थर जेम्स बालफोर (पछि प्रधानमन्त्री) जस्तै महामानवको जन्म भयो भने कर्डिस्थान पनि एउटा देश बन्न सक्छ कि ? नत्र भने त्यो एकदम कठिन छ । तर मैले जेरुसेलममा रहेको यहुदी धर्मको अनुयायीहरुको पवित्र तीर्थस्थल पश्चिमा पर्खाल छोइसकेपछि र त्यसको ठीक सिमाना पारिरहेको जिसस क्राइष्टको जन्मघर ‘चर्च अफ नाटिभिटी’ बेत्लेहाम पुग्दा देश स्वतन्त्र हुन केही हल्का पनि होला कि भन्ने महसुस गरें । तर दुर्भाग्यबस हालसम्म इजरायल जस्तै कर्डिस्थानलाई एउटा सिङ्गो राष्ट्र भनिदिने त्यस्तो महामानव जन्मिहालेको छैनन् ।

तिनै कर्डिस्थानकै प्रसङ्ग निकालेर मैले एकदिन स्वान्जी युनिभर्सिटी, वेल्समा कार्यरत इरानियन नागरिक आर्डसिर फुरुजनसँग फ्याट्टै कुरो राखेको थिएँ । उनले, “कर्डिस्थान इतिहासमा कहिले पनि स्वतन्त्र राष्ट्र छँदै थिएनन् र कहिले पनि हुन सक्त्तैनन्,” भनेर ठोकुवा गरिदिए । सम्भवत: तिनै कारणहरुले होला, कर्डिस्थानलाई उत्तरमा टर्की, पश्चिममा सिरिया, दक्षिणमा इराक र पूर्वमा इरानले मज्जाले चार भागमा बिभाजन गरेर बाँडीचुँडी लिएका छन् । त्यसैले अभागि कर्डिसहरु जुनजुन देशको भागमा बसेका छन् सोहि देशको नागरिक हुँ भन्न बाध्य भएका छन् । तर उम्केको माछा ठूलो भने झै उनीहरु पनि के कमि हुन्थे र । शरणार्थी हैसियतमा देश छाडेर बाहिर जाने बित्तिकै हामी कर्डिस नागरिक हौं भनेर मुख खोलि हाल्ने गर्छन ।

तिनै कर्डिसहरुको दुःखदायी जीवन देखेर मानिसको राष्ट्र नै नभएपछि उनको राष्ट्रियता के हुने होला ? त्यसपछि राष्ट्रवाद र देशभक्त्ति चाहिँ झन कसरि हुनसक्ला र ? अनि के यस धर्तीमा रहेका हरेक मानव जीवनको लागि राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद अपरिहार्य छ त ? सम्भवतः मेरो बिचारमा छँदै छैन । तर मैलेभन्दा यस बिषयमा सबैभन्दा सरल उत्तर चाहिँ विश्व प्रसिध्द लेखक डा सामुयल जोन्सनले मज्जाले दिएका छन् –

“देशभक्त्ति बदमासहरुको अन्तिम अश्त्र हो ।”
साँच्चै उनले भनेझै राष्ट्रवादको कार्ड पासामा राख्ने बित्तिकै राजनैतीक बिजय प्राप्त गर्न एकदम सजिलो हुन्छ । जस्को ज्वलन्त उदाहरण नेपाली राजनीतिमा खुब मेल खान जान्छ । किनभने उनीहरुले हरेक चुनाउ अगाडि उग्र राष्ट्रवादसँग जोडिएका ती सबै हतियारहरु मज्जाले प्रयोग गर्छन् र विना छलकपटका सोझासाजा जनताहरुलाई फसाएर आफू नेतृत्व तहमा बाँचिन्जेल बसिरहने गर्दछन् ।

हुनत उनीहरुले भनेका कुरोलाई पनि हामीले कसरि विश्वास नगरी हाल्ने र ? किनभने के भाल्टाङ भुल्टुङ, के बयस्क वा के बुढापाका सबैको दिमाकमा कहिले फाल्न नमिल्ने गरि मज्जाले गाडिएर बसेका एउटा नारा हामीलाई कण्ठस्त गराइएका छन् । भारतिय बिस्तारबाद – मुर्दाबाद ! अमेरिकन साम्राज्यबाद – मुर्दाबाद ! यि हरपहरु केबल निर्वाचनको समयसम्म एकदम जल्दोबल्दो हुन्छ । निर्वाचन सकिएको भोलिपल्टदेखि राहुराहु कोईला सुस्तरी खरानीमा परिणत भए झैँ हाम्रो देशभक्त्ति स्वत परिणत हुँदै जान्छ । त्यसपछि आगामी जीवन जिउँनको लागि सोहि देशहरुलाई हात थापिहाल्नु पर्छ ।

यहाँनेर आईपुग्दा मलाई अलिकति अमेरिकन राष्ट्रवादको कुरो गर्न मन लागिरहेको छ । किनभने पूर्व सोभियत संघ भताभुङ्ग भएर हाडखोर देखा परिसकेपछि चीनले समयसमयमा मौखिक ताजन नदिने हो भने एकल महाशक्त्तिको रुपमा प्रस्तुत भइरहने अमेरिकाले बिभिन्न रुपमा शक्त्ति प्रदर्शन गरिरहेको छ । दोश्रो विश्व युध्दमा पराजयको लागि हात उठाउन तम्तयार भएर बसेका जापानको हिरोशिमामा ६६ हजार र नागासाकीमा ३९ हजार नागरिकहरुको एक्कै चिहान बनाइदिने अमेरिकन राष्ट्रवादको अशोभनिय उदाहरण प्रस्तुत नगरि यो आलेख पुरा हुन सक्त्तै सक्त्तैन ।

अमेरिकाको त्यस्तो घिनलाग्दो कार्य हेर्दा यदि यो संसारमा मानव जीवनप्रति सबैभन्दा बढि घृणा कसैले गरेको छ भने केवल त्यो अमेरिकन राष्ट्रवाद मात्र हुनसक्छ भनेर म ठोकुवा गर्न सक्छु । तर म पटकपटक अमेरिका पुगेर बुझेको राष्ट्रवादको सुरुवात चाहिँ निश्चयनै त्यसरी भएको थिएन । त्यो भन्दा अलिक फरक पृष्ठभूमिको थियो । सन् १७९० मा प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनले प्रकृतीकरण सम्बन्धिको ऐनमा जातिय आधारमा नागरिकलाई परिभाषित गरेका थिए । त्यसो भन्नुको मतलब चाहिँ तत्कालिन कानुनमा, “अशल चरित्रका श्वेत बर्णका मानिसहरु मात्र राष्ट्रको नागरिक बन्न सक्छन,” भन्ने थियो ।

त्यसबेला अश्वेत तथा गैर युरोपियन अनुहारहरुलाई राष्ट्रको नागरिक हुनको लागि पूर्ण बन्चित गरिएको थियो । ती जातिहरुलाई राष्ट्रको नागरिक नै नमान्ने चलन सुस्तरी परिवर्तन हुँदै गएर राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा पुग्दा उनैको मुखबाट अमेरिकन उग्र राष्ट्रवादको परिभाषा अमेरिकन पहिला (अमेरिकन फर्स्ट) बाँकी जम्मै दोश्रो दर्जाका हुन भन्नेसम्म पुग्यो । अमेरिकन उग्र राष्ट्रवादलाई त्यतिक्कै थाँति राखेर यलम्बरको तीर झैँ नेपालतर्फ दोश्रोचोटी हान्ने हो भने नेपाली राष्ट्रवादको कमजोर परिभाषा चाहिँ भारतलाई गालि गलौज गर्न मात्र हुन्छ । तर यसको मतलव म भारतको पक्षधर भने निश्चयनै होइन ।

तर राष्ट्रवादको ठेट परिभाषा चाहिँ के हो ?

हरेक बिहान बिस्टर भिलेज रेल अड्डादेखि अक्सफोर्ड सिटी जाने रेलमा मेरो रेबेका स्मिथसँग यदाकदा भेट हुने गर्छ । लगभग ६ फिट जति अग्ली, गोरी, पातली पुतली जस्ती जिउँडाल र बहुत सुन्दर अनुहारकी धनी उनी अक्सफोर्ड एडभान्स लर्निङ डिक्सनरीमा कार्यरत छिन् । उनको छुँदै मैला लाग्ने शरिर हेर्दै एकदिन मैले राष्ट्रवादको खाँटी परिभाषा चाहिँ के हो भनेर प्रश्न तेर्स्याएको थिएँ । उनले मेरो प्रश्नको जबाफ फर्काउने क्रममा –

“राष्ट्रवाद एउटा बिचार हो । जुन बिचारले आफ्नो राष्ट्रको हितको लागि कुरो गर्छ र बाहिरी हस्तक्षेपबाट मुक्त्त भएर आफूलाई शासन गर्नुपर्छ भनेर मान्यता राख्छ । अथवा आफ्नो राष्ट्र, भाषा, धर्म र पहिरन प्रति गौरव महसुस गर्छ । अझ सरल अर्थमा भन्ने हो भने आफ्नो देश अन्य देशहरुभन्दा राम्रो छ भनेर ठोकुवा दिन्छ । त्यसपछि आफ्नो राष्ट्रलाई माया गर्छ र अरुलाई गालि गर्छ । अझै राजनैतिक कर्मीहरुको लागि राष्ट्रवादको नाममा अरुलाई अपमानजनक वचन प्रहार गरेर जनताबाट मत लिने श्रोत यो भन्दा अन्य ठूलो केहि चिज छैन,” भनिन ।

त्यति भनिसकेपछि मोरीले लामो सास लिइन र तुफान गुडिरहेको रेलको झ्यालदेखि बाहिर हेरिनँ । मेरो प्रश्नको उत्तर दिन उनलाई थोरै असहज भएको मैले उनको कान रातो भएको देखेर महसुस गरें । उनी थोरै बेखुसी मुद्रामा देखेपछि मैले बाँकी यात्रामा मौन बस्ने निधो गरें । तर उनको बिचार सुनिसकेपछि, “राष्ट्रवाद अरुलाई दमन गर्ने राम्रो उपाय हुनसक्छ,” भन्ने नोम चोम्स्कीको बिचारलाई केहिबेरसम्म स्मंरण गरिरहें ।

रेल आफ्नै गतिमा गुडिरहेको थियो र हामी अक्सफोर्ड पार्क वे रेल अड्डा नजिकै पुग्नै लागेका थियौं । बेलायती ठण्डी मौसमको समयमा सिमसिमे पानी पर्नु स्वभाविकै हो । रेल बाहिर लमटन्न टाँगिएका हरिया फाँटहरु हेर्दा अष्ट्रिया, स्विटजरल्याण्ड वा इटालीको रेल यात्रा जतिकै हाम्रो यात्रा मनोरन्जनात्मक थियो । अब म तिनै नागीहरुमा चरिरहेका हुलका हुल हाम्पसायर भेडाहरुप्रति नजर लगाउन थालें ।

ती भेडाहरु कति स्वतन्त्र र आनन्ददायक जीवन जिइरहेका छन भन्ने सोचें तर भेडाहरुको सट्टामा मानिसहरु चाहिँ चौतर्फि बन्धनमा परिरहेका हुन्छन् भन्ने रुशोलाई सम्झें । अझै राष्ट्रवादको नाममा हामी पुच्छर विनाको मानिस र पुच्छरधारी जन्तुसँग केहिबेर तुलना गरें । भेडाहरुसँग मेरो दिल जोडिएपछि मन भुरुरु उडेर मनोर फार्म, विलिङ्टनमा पुग्यो । जुन फार्मलाई आधार मानेर जर्ज ओरेलको विश्व बिख्यात पुस्तक पशुखेति (एनिमल फार्म) मा लेखिएको एउटा हरफलाई मज्जाले सम्झें, “चार खुट्टे ठीक, दुई खुट्टे बेठीक ।”

दुई खुट्टे जनावरको कुरो गर्दैगर्दै हामी अक्सफोर्डबाट सिधै नेपाल हाँकिने हो भने “प्रचण्डपथ र ओलीपथ” को दुई खुट्टे राष्ट्रवाद मारामार परिरहेको मज्जाले नजर लगाउन सक्छौं । यो संसारमा कहीँकतै हुँदै नभएको समाजबादको बाटोमा हिडेका ती दुवै पथहरु समयसमयमा आफैमात्र रणभूल्लमा पर्दैनन् हामीजस्ता लाटा र निमुखालाई पनि पार्ने गरेका छन् । यदि उनीहरुले कल्पना गरे जस्तै समाजबाद हुँदो हो त जेरेमी कोर्बिन प्रधानमन्त्रि र बर्नी सान्डर राष्ट्रपति भै हाल्थे नि । अनि मलपानी पाएर समाजबाद कति फस्टाउँथ्यो होला ? तर बिकसित राष्ट्रको जनतालाई राम्ररि हेक्का भएको हुनाले उनीहरुको बिचार नेतृत्व तहमा कहिलै पुग्न सकेनन् ।

खयर यहाँ राजनीतिको कुरो छाडौं र पुनः एक पटक राष्ट्रवादकै कुरो गरौं । नेपाली राष्ट्रवादमा अरु जम्मै कुरो थाँती राखेर राष्ट्रको पोसाकको मात्र कुरो गर्ने हो भने पनि एकजना राजनेताले मज्जाको बेलायती सुट पहिरन गर्छन । र, अर्का महाशयले मयलपोस माथि सबैभन्दा महङ्गो ह्यारिस ट्विट ढलक्क ढल्काइ हाल्छन । के मानिसको पहिरनले राष्ट्रवादको पहिचान गर्छ ? यदि त्यसो हो भने पेटभरि खान नपाएर र शरिरभरि कपडा लगाउन नपाएर उज्वल भविष्यको खोजिमा राष्ट्र छाडेर हिडेका सत्तरी लाख नेपालीहरुको चाहिँ राष्टबाद नष्ट भएकै हो त ?

ल वस्त्रको आधारमा हुने राष्ट्रवादको कुरै छाडौ । धर्मको आधारमा राष्ट्रवाद हुने भए एउटै धर्म मान्ने इराक र इरान किन वर्षौ लडाइँ लड्थे होला ? अनि जातिको आधारमा राष्ट्रवाद हुने भए एउटै भाषा बोल्ने र बाँडीचुँडी एक्कै प्रकारको किम्ची खाने कोरियनहरुको राष्ट्रवाद कसरि फरकफरक रहन गयो होला ? अनि देशको आधारमा राष्ट्रवाद हुने भए एउटै देशमा बसेको स्कटिस, वेल्स र आइरिसहरुले किन बेलायती राष्ट्रवाद अपनत्व गर्न सकेनन् होला ? जुन देशमा बस्यो सोहि देशको राष्ट्रवाद हुन्छ भने दलाई लामाको राष्ट्रवाद तिब्बेतियन हो, चाइनिज हो, कि धर्मशाला हो ?

अझै पटकपटकको चुनाउमा झुक्किएर कम्युनिष्ट पार्टीमा मतदान गर्ने नेपाली मतदाताहरुलाई के सोध्न मन लागिरहेको छ भने अर्जेन्टिनामा जन्मेका, क्युबामा मन्त्रि भएका र बोलिभियामा सार्जन्ट मारिओ टेरान साल्जारको गोलीबाट हत्या भएका अर्नेष्टो चे ग्वेभाराको राष्ट्रियता के हो र उनको राष्ट्रवाद के थियो ? कुरो त्यतिमा मात्र अन्त हुँदैन । लगभग सबै आशाबादी नेपाली जनजिब्रोमा गाडिएको अर्को एउटा नाम हो – कार्ल मार्क्स । राष्ट्रलाई पूँजीबादी आर्थिक स्वार्थको प्राणीको रुपमा हेरे बापत कार्ल मार्क्सको सन् १८४९ मा पर्सियन नागरिकता खोसिएको थियो । त्यसपछि निर्वासित जीवनयापनको लागि उनी फ्रान्समा पुगे र त्यहाँदेखि पनि लखेटिएपछि उनी बेल्जियम हुँदै अन्तत बेलायतमा शरण लिन पुगे ।

उनले बेलायतमा शरण नपाएको भए न एङ्गेल्स भेट्थे न मार्क्सबाद हुन्थ्यो । जे होस बेलायतमा राज्य बिहिन भएर निर्वासित जीवन जिइरहेको हुनाले उनी बेलायत छाडेर अन्त कतै जान सक्त्तैनथे । त्यसैले जीवनको अन्तिम कालसम्म बेलायतमा बसे र अन्तत उनको लण्डनमानै मृत्यु भयो । तर उनले गरे के भने आफू जीवित भइन्जेलसम्म कहिले पनि बेलायती नागरिक प्राकृतिकरण (नेचुरलाइजेसन) लिन चाहेनन् । त्यसैले राज्यबिहिन भएकै अबस्थामा उनको मृत्यु भएपछि अहिलेसम्म हाईगेटमा बिपरित दिशामा अङ्ग्रेजी समाज शास्त्रका पिता डा हर्बर्ट स्पेन्सरसँग सिरानी जुधाएर लमटन्न सुतिरहेका छन् । मैले हाईगेटमा पुगेर मार्क्सलाई राज्यबिहिनहरुको राष्ट्रवाद कस्तो हुन्छ भनेर मनमनै सोधेको थिएँ । सायद मलाई लाग्छ मेरो प्रश्नले स्पेन्सर मनमनै हाँसेका हुनसक्छ ।

मार्क्सलाई हाइगेटमा नै छाडिराखेर अन्तिम चोटी नेपोलियनकै सन्दर्भ कोट्याउँन पाठकहरु समक्ष आज्ञा चाहन्छु । किनभने उनले रुसमा गरेको आक्रमणको मार्ग पछ्याउँदै म रुसतिर केहिसमय बरालिएका थिएँ । उनको ग्रान्ड आर्मीका चर्चित सर्जन जोन जर्ज हाफ्नरले रुस आक्रमणको समयमा नेपोलियनलाई सबैभन्दा बढि सहयोग गरेका थिए । उनी नेपोलियनका निजी चिकित्सक हुन भन्ने कुरो पनि यसै लेख मार्फत यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

रुससँगको लडाईमा अध्याधिक क्षति बेहोरे पश्चात फ्रान्स फर्कने क्रममा पोलिस युवती रेगिना क्यारोलाइनसँग बिहे गरेर हाफ्नरले पोलेण्डमा नै घरजम बसाएका थिए । उनले पोलिस युबतीसँग बिहे मात्र गरेनन् आफ्नो जिबिकोपार्जन गर्नको लागि एउटा स्पा पनि खोलेका थिए र स्पा यधपि छँदैछ । मैले पनि रुसको यात्रा गरिसकेपछि उनको स्पा हेर्न सपोट, पोल्याण्डमा पुगेको थिए । आफ्नो बाँकी जिन्दगी पोल्याण्डमा बिताउने निधो गरेपछि उनले भनेको एउटा कुरो म अहिलेसम्म झलझली याद गरिरहन्छु, “राष्ट्रवाद केवल खोक्रो रहेछ ।”

त्यसैले समग्रमा राष्ट्रवाद छैन र हुदैन पनि । तर हरेक मानवलाई आफू जन्मेर हुर्केको स्थानको माया लाग्न स्वाभाविकै हो । मैले यहाँनेर बेलायतका प्रख्यात दार्शनिक थोमस हब्सको नाम जोडन चाहें । उनको जन्म ५ अप्रिल १५८८ वेस्टपोर्ट (अहिलेको मेम्सबरी) भन्ने सानो गाउँमा भएको थियो । प्राचिन कालको अरिस्टोटललाई छाडेर आधुनिक राजनीति शास्त्रका पिता निकोल म्याकाभिली पछिको दोश्रो नाम भनेको केवल हब्सकोनै हुन आउँछ । उनले आफ्नो जीवन कालमा जन्मघर मेम्सबरीलाई असाध्यै माया गर्दथे र कामको सिलसिलामा आफ्नो गाउँदेखी बाहिर बसेतापनि हरेक वर्ष आफ्नो जन्मघर पुग्ने गर्दथे ।

करिव साठी वर्षको उमेरमा हब्सले ‘लेबियाथान’ भन्ने एउटा प्रख्यात पुस्तक लेखे । जुन पुस्तकमा मानिसको जात भनेको ज्यादै लोभिपापी, स्वार्थी, ढोगी र राक्षसी प्रबृतीका हुन्छन भनेका छन् । तर दुर्भाग्यबस भैदियो के भने उनले त्यो पुस्तक लेखेबापत ‘मेम्सबरीको राक्षस’ भन्ने उपनाम पाए । अन्तत उनको मृत्यु पनि भयो । उनी जन्मेको लगभग ५ सय वर्ष पछि म मेम्सबुरीमा पुगेर उनको जन्मघर खोज्दा करिव ९० प्रतिशत मेम्सबुरीका बासिन्दाहरुले उनको नाम सुन्दै सुनेका छैन भनेका पत्ता लगाउँदा म अचम्मित भएँ ।

यदाकदा उनको पुस्तकको प्रत्येक पानाहरु पल्टाउँदै गर्दा इङ्गल्याण्डको मेम्सबुरी गाउँ मात्र होइन । नेपालको सुन्दर गाउँघर आठराई, ढिकुर पोखरी, गौर र साखेजुङलाई पनि मज्जाले सम्झन्छु । आखिर मानिस कति स्वार्थी र लोभि हुँदो रहेछन् र मुखमा राष्ट्रवादको नारा बोकेर कति सजिलै आफू जन्मेको स्थानलाई चट्ट भुलेर काठमाण्डौको आलिसान महलमा ५०औं सुरक्षाकर्मीहरुको बिचमा बस्दा रहेछन् भन्ने देख्दा केही दुःख लाग्छ ।

तर नेपालका राजनेताहरु जस्तै सबै मानिसको भाग्य कहाँ त्यति सजिलो चम्किन्थ्यो र । त्यस्तो खोटो कर्म भएको एकजना पात्र अध्यक्ष माओ त्से तुङ पनि हुन । उनको मृत्यु पश्चात् मलाई साओसान गाउँको नजिकै डाँडामा राखियोस है भनेर उनले मृत्यु पूर्व आफ्ना उत्तराधिकारीहरुलाई भनेका थिए । जुनकुरो मैले माओको जन्मघरको अध्यान गर्न साओसान, छाङ्सा पुगेर चाल पाएको थिएँ । जब ९ सेप्टेम्बर १९७६ मा उनको मृत्यु भयो तब चिनिया अधिकारीहरुले उनको शव साओसानको सट्टा अहिलेसम्म टिनानमेन चौकमा बेइजिङ्मा राखिराखेका छन् । मैले उनको शरिर भएको मेमोरियल हल बेइजिङ्गमा पुगेर मनमनै ‘अभागि मोरो’ भनेका थिएँ ।

अन्ततः राट्रबादको बिषयमा जति लेखेपनि थोरै नै हुन्छ । अनि राष्ट्रवादको नाममा अमेरिकन फर्स्ट, चीन फर्स्ट, भारत फर्स्ट र नेपाल फर्स्ट भन्ने हुँदै हुदैनन् । यदि कुनै फर्स्ट हुन्छ भने त्यो केवल “हुमन फर्स्ट” मात्र हुनसक्छ । मानिसको जीवनमा अरु फर्स्ट भएर उत्पात मच्चाउँने मुसोलिनी राष्ट्रवाद, हिटलर राष्ट्रवाद र अहिले पनि उत्तर कोरियन जनताहरुले किम जङ्ग अन राष्ट्रवादको अमिलो अनुभव भोगिरहेकै अबस्था छ । एक्काइसौ शताब्दिको मानव जीवनले के कुरामा हेक्का राख्नुपर्छ भने कुनैपनि राष्ट्रको सिमाना भनेको केवल मानिसहरुले कोरेको काल्पनिक रेखाहरु मात्र हुन् । यस धर्तिमा असल सिमाना भन्ने कुरो केहि हुँदै हुदैनन् वा छैनन् । यदि एक देशको समश्यलाई अर्को देशलाई छेक्ने भए वुहानमा सुरु भएको कोरोना भाइरस त्यसको भोलिपल्ट रियो डे जेनेरो के पुग्न सक्थ्यो होला ? क्यानकुनमा सुरु भएको सार्स भाइरस पर्सिपल्ट मनिलामा किन पुग्थ्यो होला र ?

त्यसैले समग्रमा हुँदै नभएको नक्कली राष्ट्रवादले हामीलाई कहीँ कतै पुर्याउन सक्तैन । एकछिन एकान्तमा बसेर स्विस मनोविश्लेषक कार्ल गुस्ताफ योङ्ग वा फ्रेन्च दार्शनिक रन डेकार्टले झै एकदम गहिरिएर सोच्ने हो भने हाम्रो राष्ट्रवाद भनेको केवल “मानव जाति” मात्र हो । पेटभरि टन्न खान नपाएका मानव जातिको सेवा भन्दा अर्को ठूलो सेवा यस संसारमा अन्य केहि हुन सक्त्तैन ।

त्यसैले “राष्ट्रवाद भनेको केवल झण्डासहितको जातिवादमात्र हो,” तर याद गर्नुहोला, यो मेरो भनाइ होइन पिटर जोशेफको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!