लिम्बू भाषाका गीत गायनमा अब्बल ब्रबिन शेर्मा पाँचथरवासी हुन् । उनी सन् १९८५ मार्च १० मा पाँचथर माङ्जाबुङ–२ मा बुबा नरबहादुर शेर्मा र आमा पुनहाङ्मा लावतीको कान्छा छोराका रुपमा जन्मिएका हुन् । झन्डै दर्जन एल्बम श्रोता, दर्शकमाझ पस्किसकेका शेर्मा करिब दुई महिनाको बसाइका लागि यही १४ जुलाईदेखि बेलायत भ्रमणमा छन् । प्रस्तुत छ, लिम्बू गायक ब्रबिन शेर्मासँग बेलायत र सांगीतिक यात्राबारे एभरेस्ट टाइम्स साप्ताहिकका लागि जानू काम्बाङ्ग लिम्बूले गरेको अन्तरंग कुराकानी ।

बेलायत कस्तो लाग्दैछ ब्रबिनजी ?
बेलायत विश्वकै एउटा केन्द्रद्रदेश हो । यहाँ आउन र भ्रमण गर्न सबैलाई मन पर्छ । अरु सबै मूल सहरहरु घुम्न बाँकी नै छ, तर अहिले भन्नुपर्दा सुन्दर, ऐतिहासिक र प्रशासनिक तथा जीवन पद्धतिको चरम विकास भएको मुलुक जस्तो लागेको छ मलाई युके । वास्तवमै कम्युनिज्म कन्ट्री जस्तो यहाँ पनि धनी, गरिब बीचको विभेद पत्ता लगाउन गाह्रो हुने रै’छ । नेपालीहरु नीति र नियमले सम्मानित रुपमा बसेको पाएको छु ।
यहाँ तपाईं कहिले आउनुभएको ?
म अस्ती १४ जुलाईमा आईपुगेको हुँ ।
अब बेलायत कति बस्नु हुन्छ ?
म आफ्ना कार्यक्रमको तर्जुमा अनुसार रहन्छु होला । बढीमा १ या २ महिना ।
बेलायतमा नेपालीहरुको रहनसहन तपाईंले नेपालबाट देखेजस्तै लाग्यो कि केही फरक पाउनु भो ?
मैले बेलायतको विषयमा सामान्य रुपमा सुनेकै थिएँ साथीभाइहरुबाट स्वाभाविक सुन्दा र देख्दाको भन्दा त हल्का फरक नै लाग्यो । जस्तो यहाँका बस्ती, सहरका बनावटदेखि व्यक्तिहरुमा पनि मानवीय सोच झल्किने अनि एकदम खुला कृषि बालीनाली हेर्दै आनन्द आउने । धनी, गरीब समान । बजार व्यवस्थित, व्यक्तिभन्दा कानुनमाथी ! रुल र कानुनलाई सबैबाट उत्तिकै सम्मान र श्रद्धा । वाह ! यस्तो पो हो त देश भनेको ।
यो पालीको सांगीतिक यात्रा बेलायतसम्म मात्र कि युरोपका अरु देश पनि जानु हुन्छ ?
अहिलेलाई बेलायतसम्म मात्र हो ।
विदेश यात्रा यो नै पहिलो हो कि अन्य देश पनि पुग्नु भएको छ ?
म दक्षिण कोरिया, हङकङ, मलेसिया, सिङ्गापुर र अहिले युके आइपुगेको छु ।
कार्यक्रम कहाँ–कहाँ गर्दै हुनुहुन्छ ?
अहिलेसम्म आयोजक याक्थुङ चुम्लुङ युकेका केही शाखालगायत अन्य एक÷दुई ठाउँमा हुने कुरो चलिरहेको छ । तर, मिति र समय तय भएको छैन ।
नेपालको सांगीतिक क्षेत्र खस्किँदै गएको कुरो सुनिन्छ, लगानी उठ्दैन । तैपनि मान्छेले निरन्तरता दिइनै रहन्छन् किन होला ?
हो, नेपाली सङ्गीत क्षेत्रमा अहिले चलनचल्तीको भन्दा फरक भाषा शैलीको गीत गाएर चाँडै हिट हुने प्रचल बढेको छ । त्यो हिसाबले हेर्दा नेपालीपन अलि खस्कँदो नै देखिन्छ । तर, त्यो पनि समयको माग जस्तो लाग्छ । दर्शक स्रोताको चाहना नै त्यस्तै भएपछि बनाउनेले त बजारको मागअनुसार नै उत्पादन गर्ने हो होइन र ?
रह्यो कुरो लगानी फिर्ताको, अब सङ्गीत क्षेत्रलाई व्यावसायिक तबरले कमैले मात्र अङ्गालेका छन् । धेरैजसो मन शान्ति, आत्मसन्तुष्टि र रहर पूरा गर्न मात्र गर्ने गरिन्छ । त्यो बाटोबाट गर्नेले खासै लगानी फिरोस् भन्ने आशा पनि राख्छन् जस्तो लाग्दैन । र, व्यावसायिक तबरले गर्नेले त यही क्षेत्रबाट गुजारा पनि गरिरहेकै छन् ।
नेपालको संगीत क्षेत्र विदेशले गर्दा बाँचेको छ भन्ने एक आरोप छ नि, त्यो सत्य हो ?
त्यो त हो, सङ्गीत क्षेत्र मात्रै होइन, सिंगो नेपाल नै बाह्य रेमिट्यान्स र सहयोगमा निर्भर छ ।
अचेल जति नै राम्रो गीत भए पनि भिडियो नगरी नचल्ने प्रचलन बसेको छ, यसलाई कुन रुपले हेर्नु हुन्छ ?
अब समयले गति चेन्ज गरेपछि आउने परिस्थितिलाई आत्मसाथ गर्नुको विकल्प छैन । यो पनि समयको माग नै हो । पहिले–पहिले क्यासेट किनेर टेपमा बजाएर कोदालो खन्ने, गीत सुन्दै बाटो हिँड्ने चलन थियो । अहिले गाडीको सिटमा बसेर मोबाईलको स्क्रिनमा युट्युब हेर्ने चलन छ, कारण यही हो जस्तो लाग्छ ।
नेपाली संगीत क्षेत्रलाई अब्बल बनाउन के–के सुधार गर्नुपर्छ ?
हाम्रो मुलुकको राज्यको सोच र व्यवस्था र बुझाइमा परिवर्तन नआइ खास केही हुन्न जस्तो लाग्छ । स्रष्टा, सर्जक र सिर्जनालाई सम्मान गर्ने, बचाउने प्रवद्र्धन गर्ने प्रकारको संवैधानिक कानुनी सुधार हुनु जरुरी छ ।
नेपाली गायक, गायिकाले गीत गाउन स्टेजमा चढेपछि आफ्नो कर्तब्य भूल्छ्न् गीतकार, संगीतकार र एरेन्जरहरुको नाम लिँदैनन् भन्ने आरोप तपाईले कत्तिको खेप्नु भएको छ ?
मलाई पनि यो विषयले छुने गरेको छ । तर, त्यस्तो आरोप भनेको खेपेको छैन । एउटा सिर्जना सबल, पूर्ण बन्न जुन विषयवस्तुबिना सम्भव नै छैन । त्यही विषयवस्तुलाई अपमान गर्नु गलत हो । तर, म पूर्णरुपमा सर्जकहरुको सम्बोधन, सम्मान गर्ने काम गर्छु । त्यो मेरो मूल दायित्व पनि हो ।
तपाईं गीतमात्र गाउनुहुन्छ कि ?
संगीत पनि गर्छु, तर मलाई गायक नै भनेर चिन्नु हुन्छ दर्शक, श्रोताले ।
तपाईंले सबभन्दा पहिले कुन र कस्तो खालको गीत गाउनु भयो ?
मैले सबभन्दा पहिले नेपाली लोकगीत गाएको हुँ । ‘माया लाको बिर्सी पो सक्यौ कि’ बोलको । जुन गीतको शब्द, संगीत डिल्लीबिक्रम शेर्माले गर्नुभएको हो । यो गीतको रेकोर्डिङ २०५८ मा भएको थियो ।
आफ्ना एल्बमहरु कतिवटा छन् ?
मेरा औंला जति नै पुगे एल्बमहरु । चेसुङ, इङ्घङ, मुन्धुम, किरात साम्लो, किराती याक्थुङ साम्लो, ब्रबिमको सेवारो, कुसाङ, नुरिकाङ वये मिम्जिमे, मङ्सेबुङ ।
लिम्बू गीतमा त तपाईं अब्बल नै हुनुहुन्छ, त्यो बाहेक अरु कुन–कुन भाषाका गीत गाउनुभएको छ ?
मूलत: म लिम्बू गीत नै गाउँछु । तर, त्यसो भन्दैमा नेपाली गीतहरु नगाउनेचाँहि होइन । नेपाली गीतहरु पनि गाइनै रहेको छु ।
तपाईंले गाउनु भएको अहिलेसम्मकै चलेको र आफैलाई मन परेका गीतहरुमा कुन कुन पर्छन् ?
प्राय: मेरा लिम्बू गीतहरु समान रुपमा आइरहेका छन् । नाम लिनुपर्दा, आल्ल इङ्गा साम्लोआ खेप्सेमेना, नुरिकाङ वये मिम्जिमे, लाङ्दाक सेवारो, लुङमाबो याङ्घेक आदि चर्चितमा पर्छ भन्छन् ।
भावी योजनाहरु के के छन् ?
म लिम्बू गीत, संगीतमा नयाँ थप सिर्जना तथा नेपाली गीतमा पनि अलि अब्बल तवरले प्रस्तुत गर्ने तयारीमा छु । त्यसैमा निरन्तर हुन्छु ।
अन्तममा, तपाईंलाई भन्न मन लागेका कुरा बाँकी भए राख्न सक्नु हुन्छ ।
म झन्डै अबको २ महिना जति यहाँहरुमाझ रहने छु । विभिन्न ठाउँमा मेरो प्रस्तुतिहरु रहनेछन् । तपाईंहरुलाई पायक पर्ने ठाउँहरुमा यसै अन्तर्वार्तामार्फत निमन्त्रणा पनि गर्न चाहन्छु । र, बेलायत आइयो, मलाई लागेको बेलायत र मेरो व्यवसायसँगै गायन बारेको विचार प्रवाह गर्ने अवसर दिनु भो । म आभारी छु र तपाईंलगायत यो चर्चित पत्रिका एभरेस्ट टाईम्सका मेम्बरहरुलाई पनि धन्यवाद दिन चाहन्छु । साथै सम्पूर्ण बेलायतवासी आमनेपाली दजुभाइ, दिदीबहिनीहरुमा मेरो सेवारो भन्न चाहन्छु ।






