एटा संवाददाता
अल्डरसट । गुरुङ जातिको भाषा, कला, परम्परा, संस्कार, संस्कृति र भेषभूषामा आधारित गुरुङ चलचित्र “प्हजे गोरे” (बाजे गोरे) को आउँदो आइतबार ५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा रेट कार्पेट शो गरिने भएको छ । ‘लाईफ ईन युके’ र ‘मेजर पेन्सन खाउली’ जस्ता सफल चलचित्रपश्चात् जि. फिल्मस्, प्रालि पोखराको व्यानरमा हालै निर्माण गरिएको चलचित्र हो, प्हजे गोरे ।
चलचित्रमा गीतकार एवं पूर्वप्र.अ. एकेन्द्र गुरुङद्वारा रचित ‘जुनी जुनी…’ लगायत चर्चित गीतहरु रहेका छन् । साथै, सो चलचित्र गुरुङहरुको घनाबस्ती रहेको अत्यन्त रमणीय पर्यटकीय गाउँ सिक्लेस, आसपासका भेडी गोठ र पोखरामा छायांकन गरिएको छ ।
लन्डनबाट सुरु गर्न लागिएको सो चलचित्रको पहिलो प्रदर्शनमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष, पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, काउन्सिलर लक्ष्य गुरुङ, गीतकार एवं पूर्वप्रअ एकेन्द्र गुरुङलगायतको विशेष उपस्थिति हुने निर्माता ज्ञाम गुरुङले जनाए ।
दिनको साढे तीन बजे उद्घाटन गरिने सो चलचित्रको साधारणतर्फ १० पाउन्ड र भीआईपीतर्फ २० पाउन्ड टिकट तोकिएको छ । त्यस्तै अग्रिम टिकट पनि उपलब्ध गराइने र प्रवेशद्वारमा समेत टिकट पाईने आयोजकले जनाउदै ऐतिहासिक चलचित्र हेरी आप्mनो भाषा, कला र संस्कृतिको संरक्षण तथा संरक्षणमा विशेष योगदान पुर्याउन अनुरोध गरेका छन् ।






