एक साहित्यिक संस्मरण ~सेवारा
सेमन्त राई
आफ्नो देश, माटो र परिवेशबाट पर हुनुको पीडा त छँदै छ, त्यसमाथि जीवनका अनेकौँ जिम्मेवारी काँधमा बोकेर अघि बढ्नु आफैँमा एउटा निरन्तर सङ्घर्ष पनि रहेछ। जिम्मेवारी पूरा गर्दागर्दै आफ्ना चाहना र रहरहरुलाई पनि कतै थन्क्याएर राख्न मनले मान्दो रहेनछ। त्यसैले समयको सीमितता बीच पनि आफ्ना रुचि, इच्छा र आकाङ्क्षाका लागि केही समय छुट्याउनु पर्ने बाध्यता र रहर दुवै छन्। समय थोरै छ, तर मनमा चाहना र महत्त्वाकाङ्क्षाका चाङ छन्। अनेकौँ उत्साह र उमङ्ग बोकेर बचेको समयलाई सकेसम्म सदुपयोग गर्दै परदेशको दैनिकीलाई निरन्तरता दिएको पनि झन्डै चार दशक पुग्न लागेछ। हप्ताका पाँच दिन घरपरिवार र दैनिकीका जिम्मेवारी सहित चुल्हो बाल्न र जीवनका व्यावहारिक काममै बित्छन्। बाँकी सप्ताहान्तका दुई दिन भने मनलाई केही फरक अनुभूति दिने आफ्नै समय हुन्। कहिले साहित्यका शब्द र सिर्जनासँग रमाउँछु, कहिले समाजका विभिन्न गतिविधि र भेटघाटमा सहभागी हुन्छु, त कहिले व्यक्तिगत काम, मनोरञ्जन र आफ्नै रुचिका विषयहरुमा समय बिताउँछु। यसरी जिम्मेवारी र रहरबीच सन्तुलन मिलाउँदै, थोरै समयभित्र धेरै जीवन बाँच्ने प्रयासमै परदेशका वर्षहरु बितिरहेका छन्।
विश्व नेपाली साहित्य महासंघ नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित एक अन्तर्राष्ट्रिय साहित्यिक संस्था हो। सन् २०१० जुलाई १३ मा महासचिव विश्वासदीप तिगेला (बेलायत) तथा अध्यक्ष डा. मधुमाधुर्य श्रेष्ठ (रुस) को नेतृत्वमा भर्चुअल माध्यमबाट स्थापना भएको यस संस्थाले १६ वर्षको यात्रा पूरा गरिसकेको छ। नेपालको सातै प्रदेशमा मात्र सीमित नरही विश्वका विभिन्न देशमा आफ्नो साहित्यिक सञ्जाल विस्तार गर्दै आएको यस महासंघको मूल उद्देश्य नेपाली साहित्यलाई कुनै एक भाषा वा जातीय समुदायमा सीमित नराखी नेपालका विविध मातृभाषा, संस्कृति र साहित्यिक सिर्जनालाई समेत समान स्थान र सम्मान प्रदान गर्नु हो। विशेषगरी भारत, बर्मा, भुटान र थाइल्यान्डजस्ता देशहरुमा नेपाली शब्दलाई जातीय पहिचानका रुपमा बुझ्ने प्रचलनलाई फराकिलो दृष्टिकोणबाट हेर्दै नेपालीपनलाई जातीय घेराभन्दा माथि उठाएर राष्ट्रियताको साझा पहिचानका रुपमा स्थापित गर्नु यसको महत्त्वपूर्ण मान्यता हो। विविध भाषा, संस्कृति र पहिचानलाई साहित्यको एउटै सूत्रमा गाँस्दै विश्वभर छरिएका नेपाली भाषी तथा साहित्य प्रेमीहरु बीच एकता, सहकार्य र सिर्जनात्मक सम्बन्ध विस्तार गर्नु नै यस संस्थाको मूल भावना र विशिष्ट उद्देश्य रहेको छ।
गत ३१ अक्टोबर २०२६ को दिन विश्व नेपाली साहित्य महासंघ, पश्चिमा शाखाको आयोजनामा साहित्य गोष्ठी तथा आत्मीय भेटघाट कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। नयाँ नेतृत्व चयनपछिको यो पहिलो कार्यक्रम भएकाले पनि यसले छुट्टै महत्त्व बोकेको थियो। संस्थाकी संरक्षक डा. सुमाया राईको प्रमुख आतिथ्य तथा लालसुन्दर राई, एकेन्द्र गुरुङ, मिडल्यान्ड शाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ र विश्वासदीप तिगेलाको विशेष आतिथ्य रहेको उक्त कार्यक्रम नव निर्वाचित अध्यक्ष गोमा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। साहित्यप्रेमी, स्रष्टा र अग्रज व्यक्तित्वहरुको उपस्थितिले वातावरणलाई निकै आत्मीय र गरिमामय बनाएको थियो। लामो समयदेखि साहित्यलाई माया गर्ने र सिर्जनाका माध्यमबाट जोडिएका व्यक्तित्वहरु एउटै थलोमा भेटिँदा त्यो केवल औपचारिक कार्यक्रम मात्र नभई विचार, भावना र आत्मीयता साटासाट गर्ने सुन्दर अवसर बनेको थियो। नयाँ नेतृत्वको सुरुवातसँगै नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा थप ऊर्जा, सहकार्य र सिर्जनात्मक सक्रियता बढ्ने अपेक्षासमेत मनमा जागेको थियो।
कार्यक्रममा सहभागी हुन मलाई पनि निमन्त्रणा प्राप्त भयो। तिथि, मिति र समय अनुकूल परेकाले साहित्यिक भेटघाटमा सहभागी हुने मनसाय बनाएँ र बिहान करिब १० बजेतिर अल्डरसटतर्फ हुइँकिएँ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने भएकाले हतार नगरी समयमै पुग्न सकियोस् भन्ने सोचले पर्याप्त समय छुट्याएर घरबाट निस्किएको थिएँ।तर रमाइलो कुरा, बाटो लागिसकेपछि मात्र झल्याँस्स सम्झिएँ, अल्डरसटको कुन ठाउँमा कार्यक्रम आयोजना हुँदैछ भन्ने त मलाई थाहै रहेनछ! त्यसपछि स्थानको जानकारी लिन अध्यक्षज्यूलाई तुरुन्तै म्यासेज पठाएँ। कार्यक्रमस्थल ‘द प्यालेस’ रहेछ। अध्यक्षज्यूले पार्किङ स्थलसमेत समेटेर भाइबर मार्फत लोकेसन पिन गरी पठाइ दिनु भयो। अब भने मन ढुक्क भयो। गन्तव्य स्पष्ट भएपछि साहित्यिक भेटघाटमा पुग्ने उत्सुकता सहित एक्सेलेरेटर थिच्दै निर्धारित समयभन्दा अगावै पुग्ने ध्याउन्नमा आफ्नो यात्रा अघि बढाएँ।
ह्याम्पसायर काउन्टीको रसमुर बोरोभित्र अवस्थित अल्डरसट नेपाली समुदायको बाक्लो र ऐतिहासिक बसोबासका कारण बेलायतमा नेपालीहरुको एउटा प्रमुख केन्द्रका रुपमा परिचित छ। सहरको कुल जनसङ्ख्याको झन्डै १० प्रतिशत नेपाली रहेको अनुमान गरिन्छ। त्यसैले नेपाली समुदायका सांस्कृतिक, सांगीतिक, वार्षिक भेला तथा विभिन्न सामाजिक जमघटका कार्यक्रमहरु प्रायः यही सहरमा आयोजना हुने गर्छन्। सायद यही परिचित परिवेश र बाटोको राम्रो जानकारी भएकैले यसपटक पनि कार्यक्रमस्थलको ठेगाना यकिन नगरी अल्डरसटतर्फ हुइँकिएको रहेछु।
करिब १२ बजे कार पार्किङ गरेर १२:१० बजेतिर ‘द प्यालेस’ पुगेँ। अध्यक्षज्यू तथा संस्थाका संरक्षकसँग अभिवादन र भलाकुसारी पछि कफी र बिस्कुटसँगै गफगाफ सुरु भयो। आफू कतै ढिलो त भइनँ भन्ने लागेको थियो, तर म भन्दा पनि ढिलो आइपुग्नेहरु अरु पनि रहेछन्। नेपाली कार्यक्रमहरु निर्धारित समयभन्दा केही ढिलो सुरु हुनु त हाम्रो एउटा परिचित प्रवृत्ति नै बनिसकेको छ। तर मनमा एउटा प्रश्न भने उठिरह्यो, समयलाई यति हल्का रूपमा लिने हाम्रो बानीकै कारण त हामी धेरै कुरामा पछाडि परिरहेका छैनौँ? समयको महत्त्व बुझेर त्यसको सदुपयोग गर्न सके हाम्रा कार्यक्रम मात्र होइन, सामूहिक उपलब्धिहरु पनि अझ व्यवस्थित र प्रभावकारी बन्न सक्थे कि!
आखिर पर्खाइकै क्रममा खाना खाएर कार्यक्रम सुरु गर्ने योजना बन्यो र हामी पनि त्यसै अनुसार अघि बढ्यौँ। त्यतिबेलासम्म प्रायः सबै सहभागीहरुको उपस्थिति भइसकेको थियो। दिउँसो करिब दुई बजिसकेको थियो क्यार, काम सकेर सोझै आदरणिय मुकेश राई दाजु पनि टुप्लुक्क आइपुग्नुभयो। केहीबेर भलाकुसारी र आत्मीय कुराकानी गर्दै सँगै खानपिन गर्यौँ। त्यसपछि औपचारिक कार्यक्रमको सुरुवात भयो।
नव निर्वाचित अध्यक्ष गोमा राना ज्युले अध्यक्षताको आसन ग्रहण गर्नुभयो भने प्रमुख अतिथि संस्थाकी संरक्षक डा. सुमाया राई तथा विशेष अतिथिहरु प्रमुख सल्लाहकार लालसुन्दर राई, मिडल्यान्ड शाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ, विनेसामका संस्थापक महासचिव विश्वासदीप तिगेला र सल्लाहकार एकेन्द्र गुरुङलाई मञ्चमा आसन ग्रहण गराइयो। संस्थाकी वर्तमान सचिव गंगा भण्डारीले कार्यक्रम सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएको थियो। प्रारम्भमा जीत बुढाथोकीले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी आवश्यक जानकारी गराउनुभयो। त्यसपछि परिचयात्मक कार्यक्रम मार्फत सहभागीहरुबीच चिनजान र आत्मीयता साटासाट गर्दै सल्लाहकार तथा अतिथिहरुलाई स्वागत गरियो। स्वागत मन्तव्यका लागि वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बूलाई आमन्त्रण गरिएसँगै कार्यक्रमले औपचारिक गति लिन थाल्यो।
मलाई भने त्यसबेला घडीको प्रत्येक मिनेट र सेकेन्डको महत्त्व झन् बढी महसुस भइरहेको थियो। कारण, साँझ स्थानीय नेपाली समाजले आयोजना गरेको दसैँ कार्यक्रममा पनि सहभागी हुनुपर्ने पूर्वनिर्धारित योजना थियो। यसबारे मैले पहिल्यै समितीलाई जानकारी गराइसकेको थिएँ र करिब ३:३० बजेतिर त्यहाँबाट बिदा भएर बाटो लाग्नु मेरो बाध्यता थियो। चाहेर पनि लामो समय बस्न नसक्ने भएपछि मनमा सकेसम्म चाँडै सिर्जना वाचनको चरण सुरु होस् भन्ने लागिरहेको थियो। संयोगवश कार्यक्रम पनि त्यही चरणमा प्रवेश गर्यो।
कार्यक्रममा सहभागी स्रष्टाहरूले पालैपालो आफ्नो परिचय दिँदै आ–आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गर्दा वातावरण निकै आत्मीय र सिर्जनात्मक बनेको थियो। कसैले कवितामार्फत मनका भावनाहरु पोखिरहेका थिए भने कसैले शब्दमा जीवनका भोगाइ, सुखदुःख र अनुभूतिहरु अभिव्यक्त गरिरहेका थिए। कतिपयका रचनामा समाजका यथार्थ झल्किन्थे त कतिपयका सिर्जनामा प्रेम, संवेदना र जीवनका सुन्दर पक्षहरु प्रतिविम्बित हुन्थे। एकअर्काका सिर्जना ध्यानपूर्वक सुन्ने, प्रशंसा गर्ने र साहित्यिक अनुभूति साटासाट गर्ने त्यो क्षण साँच्चै अविस्मरणीय थियो। स्रष्टाहरुको सम्मान, सिर्जना वाचन र आपसी आत्मीयताको यो सुन्दर सङ्गम नै कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
म भन्दा अघि जीत बुढाथोकीको सशक्त मुक्तक सुन्ने अवसर मिल्यो। कुनै भनसुन वा आग्रह नगरी नै मेरो पालो पनि चाँडै आयो र एउटा कविता वाचन गर्ने अवसर पाएँ। त्यसपछि जगनकुमारी गुरुङ, रघु भण्डारी, होमा लिम्बू, लालसुन्दर राई, भरतकुमार श्रेष्ठ, कर्मा पहाडी शेर्पा तथा शान्ति लिम्बूका सिर्जना सुन्ने अवसर मिल्यो। एकपछि अर्को स्रष्टाका रचना सुन्दै गर्दा मन भने अझै केही समय त्यहीँ अडिन चाहन्थ्यो। तर घडीका सुईले मेरो बाध्यता सम्झाइ रहेको थियो। समयले अब धेरै पर्खन नसक्ने सङ्केत गरेपछि मनभरि अधुरा सिर्जना सुन्ने रहर बोकेर सुटुक्क बिदा भएँ र अर्को गन्तव्यतर्फ बाटो तताएँ।
कहिलेकाहीँ आफैँलाई कति स्वार्थी बनिएछ जस्तो लाग्दो रहेछ! अग्रज तथा वरिष्ठ साहित्यकारहरुका सिर्जना सुन्ने तीव्र अभिलाषा हुँदाहुँदै पनि बीचैमा उठेर आफ्नै बाटो लाग्नुपर्दा मनमा आत्मग्लानिका पहाड बोकेर हिँड्नुपर्यो। समयको दास बनेर आफ्नै बाध्यता भन्दा पर सोच्न नसकेको विवशता मनमा खट्किरह्यो। एम–२५ को सडकमा गाडी एकोहोरो हुइँकिरहँदा मेरो मन भने त्यही साहित्यिक जमघटमा छुटेका सिर्जना र आत्मीय क्षणहरु तिरै फर्किरह्यो। कार्यक्रमहरु एकै समयमा जुध्न पुगेपछि कताकता आफैँलाई प्रश्न गरेँ—कतै दुई डुङ्गामा खुट्टा राख्न खोजेँ कि क्या हो? तर मसँग विकल्प नै के थियो र! दुवै कार्यक्रमप्रतिको आत्मीयता र आफ्नो दायित्वबीच समयले नै साँघुरो घेरा बनाइदिएको थियो। अन्ततः आफूले सक्ने त्यति नै रहेछ भन्दै मन बुझाएँ र मनभित्र चलिरहेको त्यो अन्तर्द्वन्द्वलाई बिस्तारै दसैँको उल्लासमय रात तर्फ मोड्न थालेँ।
उपसंहार
साहित्यले मानिसलाई शब्दले मात्र होइन, भावना र संवेदनाले पनि जोड्छ भन्ने सुन्दर अनुभूति उक्त भेटघाटमा स्पष्ट रुपमा महसुस गर्न सकिन्थ्यो। सहभागीहरु बीचको आत्मीयता, विचारको आदानप्रदान र एकअर्काका सिर्जना प्रतिको सम्मानले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो। कार्यक्रम निर्धारित समयमै सञ्चालन हुन सकेको भए सायद मैले सबै स्रष्टाहरुका सिर्जना सुन्ने अवसर पाउने थिएँ कि भन्ने लागिरह्यो। औपचारिक कार्यक्रमहरुमा समयको चुस्त व्यवस्थापन र सञ्चालन हुन सके सहभागीहरुको समयको सदुपयोग हुनुका साथै सबैले आफ्ना सिर्जना र अनुभूति प्रस्तुत गर्ने पर्याप्त अवसर पाउने थिए। अझ यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु एकै समयमा नजुध्ने गरी समन्वय हुन सके सहभागीहरुले हतारमा एउटा कार्यक्रम छाडेर अर्का तिर दौडिनुपर्ने अवस्था पनि आउने थिएन। यो कसैप्रतिको गुनासोभन्दा पनि आगामी कार्यक्रमहरु अझ व्यवस्थित र प्रभावकारी बनून् भन्ने सद्भावपूर्ण अपेक्षा मात्र हो।
साहित्यिक जमघटहरु केवल कार्यक्रम सम्पन्न गर्ने औपचारिकता होइनन्; ती त भावना साट्ने, सम्बन्ध जोड्ने र सिर्जनशीलतालाई जीवन्त राख्ने साझा चौतारी हुन्। प्रवासको भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको उज्यालो जोगाइ राख्न यस्ता भेटघाटको महत्त्व अझ बढी रहन्छ। शब्दहरु फरक हुन सक्छन्, सिर्जनाका शैली फरक हुन सक्छन्, तर तिनलाई जोड्ने भावना एउटै हुन्छ नेपाली भाषा र साहित्य प्रतिको प्रेम। यही प्रेम, आत्मीयता र सिर्जनात्मक ऊर्जालाई निरन्तरता दिँदै आगामी दिनमा पनि यस्ता साहित्यिक जमघटहरु अझ व्यवस्थित, सशक्त र सिर्जनात्मक बन्दै जाऊन् भन्ने हार्दिक शुभेच्छा सहित यस सुन्दर भेटघाटका अविस्मरणीय क्षणहरु मनमा साँचेर राख्न चाहन्छु।
~ सेवारा






