इलामका आदिवासी लाप्चा जाति

SHARE:

प्राग ऐतिहासिककालदेखि नेपालको पूर्वी पहाडी भेगमा बसोबासो गरी आएका आदिवासीहरुमध्ये लाप्चा जाति पनि एक हो । नेपालको राष्ट्रिय तथ्यांकअनुसार जम्मा ५९ वटा आदिवासी समूहहरु छन् । तीमध्ये विकसित, सुविधाहरुबाट बन्चित, सीमान्तकृत, अति सीमान्तकृत अनि लोपोन्मुख गरी जम्मा ५ वटा समूहमा विभाजन गरिएको छ । तिनै समूहमध्ये लोपोन्मुखमा परेका एक हुन् लाप्चा जाति ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा सुचिकृत लाप्चा जाति आदिमकालमा हिमालको काखमा उत्पति भई त्यसै हिमशृंखलाको परपर मौलाएको विश्वास गरिन्छ । यसरी परापूर्वकालदेखि पूर्वनेपालको इलाम जिल्लामा अवस्थित समालबुङ, अन्तु, फिक्कल, कोलबुङ अनि भारतको दार्जिलिङ र सिक्किममा रहँदै आएको लाप्चाहरुको यही स्थानहरुमा प्राचीनकालदेखिको जिवन्त ऐतिहासिक पहिचान बोकेको आदिवासीमध्ये एक मानिन्छ । यसै सिलसिलामा समयान्तरमा अन्य स्थानतिर पनि बसाइँसराई वा अन्य कारणले अन्य जातजातिहरु जस्तै लाप्चा जातिहरु पनि अन्यत्र छरिएर रहेका छन् ।

लाप्चा जातिको ऐतिहासिक पृष्ठभूमि निकै नै चाखलाग्दो छ । यस जातिको स्थानीय श्रोत अनुसार लाप्चोको अर्थ पहाडी शृंखलाको देउराली वा दोबाटोमा बनाएको चुलीलाई भन्ने गरिन्छ र सोही शब्द लाप्चे वा लेप्चा हुँदै लाप्चा भएको मानिन्छ । दार्जिलिङ र सिक्किम तिर यस जातिलाई लेप्चा भनेर चिन्ने गरेको भए तापनि नेपालभित्र आफूलाई लाप्चा वा रोङ जाति कै रुपमा आफ्नो पुर्ख्यौली पहिचान कायम राख्न चाहेको बुझिन्छ । दार्जिलिङ र सिक्किमतिर चाहिँ ब्रिटिस साम्राज्यकालमा लाप्चा शब्दलाई अंग्रेजी भाषाको प्रभावले लेप्चा उच्चारण गर्न गरिएकोले आजसम्म त्यही प्रचलनमा आएको मान्न सकिन्छ । जेसुकै भए तापनि इलाममा रहेका समग्र लाप्चा जातिले सगर्व रोङ जातिको रुपमा चिनाउँदै आफ्नो थातथलो अर्थात् आदिम लाप्चा बसोबासको क्षेत्रलाई रोङ क्षेत्र भनेर दावी गर्दै आएको अनि कुनै कालखण्डको सामाजिक अनि राजनैतिक उतारचढावको कारण ऐतिहासिक रोङ क्षेत्र दुई भिन्न मुलुकमा विभाजित हुन पुगे पनि भावनात्मक रुपमा एउटै पुर्ख्यौली पहिचान रहँदै आएको मानिन्छ ।

लाप्चा जातिको उत्पति
लाप्चा जातिको ऐतिहासिक कुराहरु तिनै जातिका अग्रज पुर्खाहरु अनि उनीहरुका निकट रहँदै आएका अन्य जातजातिका पुराना पुस्ताका व्यक्तिहरुले भन्दै सुनाउँदै आएका बाहेक लिखित प्रमाणहरु खासै कतै पाइएको छैन यस अर्थमा परापूर्वकालदेखि रोङ क्षेत्रमा बसोबास गरिआएका आदिम समुदायहरु नै पर्नुको मुख्य कारण न वंश उत्पति र विकासक्रमका सत्य, तत्थ्यपरक प्रमाणिक दस्तावेज बन्न नसक्नु एउटा कारण हुन सक्छ । यसरी लाप्चा जातिको ऐतिहासिक पुस्तक वा दस्तावेज नभएका लाप्चा जातिको उत्पतिका मिथकीय जनश्रुतीहरु चली आएका छन् । जसमध्ये एकथरी अग्रजहरु आफ्नो वंशको उत्पति बाँससँग जोडिएको तर्क गर्छन् भने अर्काथरी आदिमकालमा कंचनजङ्घाको शिखरबाट उत्पति भएको विश्वास गर्छन् । जसअनुसार सृस्टिकर्ताले कंचनजङ्घा हिमशिखरमा दुवै हातले हिउँ उठाएछन् अनि दायाँ मुट्ठीको हिउँले पुरुष र बायाँ मुट्ठीको हिउँले स्त्रीको सृष्टि गरेछन् अनि कालान्तरमा तिनै पुरुष र स्त्रीको जोडीबाट भएको सन्तान नै लाप्चा जातिको प्रथम वंश उत्पति हो भन्ने जन विश्वास रहिआएको छ ।

सामाजिक संरचना
लाप्चा जातिलाई आदिमकालमा जंगलबीच अस्थायी रुपमा मात्रै बसोबास गर्दै हिडि हिंड्ने फिरन्ता समुदाय मानिन्छन् । कुनै पनि स्थानमा बढीमा ३ वर्ष नत्र ६ महिना वा वर्ष दिनमै आफ्नो बासस्थान स्थानान्तरण गर्ने यो जाति कहिले निकै टाढा र कहिले नजिकै ठाउँ सर्ने गर्दथे । मानव जातिको विकासक्रमको निकै समयपछि मात्रै स्थायी घर बनाएर बस्न थालेको मानिन्छ । पुर्ख्यौली चलन अनुसार संयुक्त परिवारमा बस्न रुचाउने यस जातिको प्राचीनकाल देखी हालसम्म पनि सघन बसोबासो दुर्गम पहाडी क्षेत्रहरुमा नै केन्द्रित रहेको भेटिन्छ ।
परिवारमा बाबु आमाको सेख पछि वा अनुपस्थितिमा घरको जेठो छोरोले स्वत: जिम्मेवारी सम्हाल्ने प्रचलन
रहेको छ यद्धपि यस जातिको परिवारमा महिला र पुरुषको समान भूमिका रहेको हुन्छ ।

जीवनशैली
लाप्चा जातिको पुर्ख्यौली पेसा परम्परागत कृषि हो । जिविकापार्जनको निम्ती आवश्यक हातहतियार, लत्ताकपडा, भाडाकुँडा, तथा दैनिक उपभोग्य सामाग्रीहरु आफै निर्माण र उत्पादन गर्ने यो जातिहरु पुर्ख्यौली ज्ञान, सिप, भाषा, संस्कार, मौलिक भेषभुषा र सामाजिक जीवनशैलीका कारण स्वावलम्बी र निकै मेहनती मानिन्छन ।
वर्तमान समयमा उनीहरु आधुनिक कृषि प्रणाली र जीवनशैली तर्फ उन्मुख हुँदै गएका छन ।

संस्कार संस्कृति
यस जातिको संस्कार संस्कृति मौलिक र विशिष्ट प्रकारको छ । उनीहरु जन्म देखी मृत्यु सम्मको संस्कार र पूजा आजा, “नामथर” नामक पुस्तकको आधार अनुसार गर्छन् । जीवनमा आईपर्ने यावत कुराहरु जन्म, मृत्यु, विवाह लगायत पाप, पुण्य जस्ता आत्मिक र आध्यात्मिक हरेक कर्मको निम्ती यो समुदायमा १३ भन्दा बढी संस्कारजन्य पुस्तक पाईन्छन । उनीहरुमा छोरा वा छोरी जन्मनुमा कुनै फरक वा भिन्न महत्व राख्दैन तर पनि छोरी भए ३ दिन अनि छोरा भए ५ दिनमा सुत्केरी चोख्याउने चलन छ । उनीहरुमा परम्परागत विवाह हुँदा केटा वा केटीको व्यक्तिगत ईच्छा भन्दा घरायसी आवश्यकतालाई प्राथमिकतामा राखेर अग्रज बुढापाकाहरुको सरसल्लाह बमोजिम गरिन्छ ।
कसैको मृत्यु हुँदा गाउँठाउँमा चली आएको रिती अनुसार कतै जलाउने वा कतै जमिनमूनि गाडने गरिन्छ अनि मलामी चोख्याउन घेवा गरिन्छ जुन उनीहरुको परम्परा अनुसार ७ दिन, २२ दिन वा ४९ दिनमा उपयुक्त दिन हेरेर गरिन्छ । उक्त कार्यमा मृतकलाई यावा वा लामाले आफ्नो संस्कार अनुसार विधिपूर्वक बाटो लगाउँछन् ।

थरको बिकास
अन्य जातजातिहरुको जस्तै लाप्चा जातिको पनि उत्पति विकाश हुँदै जाँदा समयको अन्तरालसङ्गै विभिन्न थर अनि उपथरहरु निर्माण भएको कुरोमा दुईमत नहोला । यसरी वंश बिकाससङ्गै मौलिक परम्पराको पनि बिकास हुँदै गयो यही क्रममा आफ्नो सन्तान-दर सन्तानलाई नजिक-टाढा छुट्याउनु, बिहेबारी अनि अन्य सामाजिक परिपाटिलाई सहज बनाउन थर- उपथरको बिकास भएको हुन्छ र लाप्चा जातिमा पनि यही कुरो लागु हुन्छ । प्रचलित जनश्रुति अनुसार शुरुमा दशवटा थर बनेको र ति थरहरुको आफ- आफ्नै कर्म र महत्वका रहेको पाइएका छन ।

ती दश थर र त्यसका अर्थ महत्व यसप्रकारका रहेका छन :-

  1. मनलोममु:- प्रार्थना गर्ने
  2. करबोमु:- हतियार बनाउने
  3. आदेनमु:- सेवा सुविधामा ध्यान दिने
  4. फ्युङ तालिम:- धनुकाँड बनाउने
  5. जोरिबु:- खानपानको बन्दोबस्त गर्ने
  6. ब्रिमु:- पुलहरुको निर्माण र धनुमा चढाउने डोरी बनाउने
  7. लतसोम मु:- मुङ्पुनु* आँखा फुटाइदिने
  8. सिमिक मु:- मुङपुनुको हातखुट्टा र टाउको काटी दिने
  9. साङदाङमु:- मुङपुनुको जिउ धुलोपिठो बनाएर हावामा उडाइदिने ।

द्रष्टव्य:- मुङपुनु*:- लाप्चा जातिको मिथक् वा मान्यता अनुसार मुङपुनु एउटा भयानक राक्षस थियो । उक्त राक्षसलाई लाप्चाहरुको पुर्खा तामसँग थिङले युद्धमा पराजित गरेका थिए र त्यस युद्धमा आफूलाई सहयोग गरे वापत लाप्चाका पुर्खाहरुलाई विभिन्न दर्जाहरु दिईेको थियो । जो पछिबाट् उनीहरुको थरको रुपमा प्रचलित भएको मानिछ ।

इलाम र लाप्चा जाति
माथि उल्लेख गरिए अनुसार नेपालको विभिन्न लोपोन्मुख भाषिक समुदाय मध्ये लाप्चा जातिको बसोबास पुर्वी नेपालको पहाडी जिल्ला इलाम र सिमापारी सिक्किम, दार्जिलिङ तिर आदिमकालदेखी रहेको तथ्य प्रष्ट भइसकेको छ । अन्तु र समालबुङ्ग हाल सुर्योदय नगरपालिकामा परापुर्वकालदेखी नै लाप्चा जातिहरुको ऐतिहासिक बसोबासोको क्षेत्र मानिन्छ । इलामका इतिहासविद युद्धप्रसाद् वैधका अनुसार अन्तु लाप्चा अर्थात मोङ भाषाको अथुबाट् व्युत्पति भएको हो साथै इलाम जिल्लाभरिका स्थान नामहरु अधिकांश लाप्चा अर्थात रोङ भाषामा रहेका छन भन्ने तथ्य प्रस्तोता प्रा डा नोवल किशोर राई अनि डा नेत्रमणी दुमी राईद्वारा लिखित, प्रकाशित “इलामका लाप्चा जाति र स्थाननाम” (पुस्तक)मा भेटन सकिन्छ । अन्तु अहिले नेपाल कै एक प्राकृतिक सौदर्य र सुर्योदयको मनोरम दृष्यावलोकन गर्न पाईने पर्यटकिय गन्तव्यको रुपमा आकर्षणको केन्द्र बन्दै गएको छ । अन्तु र समालबुङ्ग लाप्चा जातिहरुको आदिम गड मानिएता पनि हाल अन्तु र समालबुङमा गरेर जम्मा १३० घर लाप्चा जाति रहेको संख्यात्मक विवरण छ । यद्धपि “रोङ सेंजुम ठि (लाप्चा उत्थान मंच)” का अध्यक्ष श्री विर बहादुर लाप्चा तथा समाजसेवी श्री सरोज लाप्चाद्वयबाट प्राप्त विवरण अनुसार यस दुई स्थानबाहेक् इलाम जिल्ला भरी छरिएर रहेका लाप्चा जातिहरु जम्मा ६४४ घरधुरी रहेका छन । ति घरपरिवारहरुबाट १,४७४ जना महिला १,५८७ जना पुरुष गरी जम्मा ३०६० जना लाप्चाहरुको कुल जनसंख्या रहेको जनाइएको छ ।

काजी जगतबहादुर लाप्चा
लाप्चा जातिहरुको विभिन्न पेसा, समाजसेवा र सिर्जनात्मक कार्यहरुमा विशेष स्थान र पहिचान बनाएका
शीर्ष व्यस्तित्वहरुको सुचीमा काजी जगत बहादुर लाप्चाको नाम आग्रपंक्तिमा आउँछ । यसै लेखमा मैले उहाँको
छोटकरी परिचयत्मक विवरण र उहाँको योगदानको कदर गर्दै “आथिङ् काजी जगत बहादुर लाप्चा स्मृतिग्रन्थ नामक पुस्तकबाट् साभार् गरेर यस् लेखमा समावेश गर्न सान्दर्भिक ठानेको छु ।

काजी जगत बहादुर लाप्चा
जन्म:- वि स १९८६ मंसिर २५ गते
मृत्यु:- वि स २०६४ साउन १३ गते
माता:- सिता लाप्चा
पिता:- काजी जीत बहादुर लाप्चा
जन्मस्थान:- साविक श्रीअन्तु-३

उहाँको योगदानहरु
१, साविकको श्रीअन्तु-२ स्थित उत्तरे खेल मैदानको निर्माण काजी जगत बहादुर लाप्चाकै अगुवाईमा वि स
२०१० सालतिर भएको ।
२, वि स २०१६ साल ताका बिपी कोइराला प्रधानमन्त्री हुँदा फिक्कल ग्राम बिकास ब्लक अफिस मातहतको
अन्तु गाउँ सुधार सम्तितिको अध्यक्ष ।
३, वि स २०१८ सालमा श्रीअन्तुको छिरुवामा प्रहरी चौकी स्थापना उहाकै पहलमा भएको थियो । त्यसबेला
धेरै गा विस लाई सोही चौकीले हेर्ने गर्दथ्यो ।
४, वि स २०२० साल देखी २०४३ सालसम्म श्रीअन्तु गाउँ पञ्चायतको प्रधानपन्च् ।
५, वि स २०२२ सालमा सिद्धिखोलामा झोलुङे पुल निर्माण गर्नुभएको तर सो पुल वि स २०२५ सालमा
पहिलोले बगाएको ।
६, वि स २०३० सालदेखी २०६० सालसम्म चार बर्ष वा दुई पदावदी बाहेक सबै पदावदी जनक माबिको
अध्यक्षमा कृयाशिल ।
७, फिक्कल अन्तु मोटारबाटो निर्माण समितिको शुरुदेखी अध्यक्ष ।
८, लाप्चा उत्थान मंच (रोङ सेजुम ठि) संस्थापक अध्यक्ष
९, फिक्कल स्थित कजेनी गुम्बाको व्यवस्थापन तथा संचालन समितिको संस्थापक अध्यक्ष ।
१०, वि स २०३८ सालमा अन्तु डाँडालाई पर्यटन बिकास गर्न तत्कालिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए
पछि उक्त सरकारले अन्तुडाँडालाई दीपेन्द्रदीप नामाकरण गरी चासो दिएको ।
११, वि स २०३९ सालमा अन्तु पोखरीको निर्माण कार्य शुरु गरी निरन्तर सकृय रहेको ।
१२, श्रीअन्तुमा निर्माणाधिन् लाप्चा संग्राहलय उहाकै अध्यक्षतामा शुरु भएको ।
१३, अन्तुडाडामा सल्लाका रुखहरु बि स २०३४, ३४ सालतिर उहाँकै अगुवाईमा रोपिएको ।
१४, हाल मेची राजामार्गको इलाम खन्डको भाग झापा र इलाम सिमाना हालको जोर कलशबाट फिक्कल-
इलाम आउने सडक निर्माणमा शुरुबाट सकृय भूमिका ।
१५, बि स २०४९ सालमा श्रीअन्तुमा पहिलो उप-स्वास्थ्य चौकी भवन् उहाँकै अध्यक्षतामा भएको थियो ।
१६, बि स २०२० सालमा तकपत बहुमुखी शाहअकारी संस्था इलाम माइपार दर्ता गरी सचिवको रुपमा काम
गर्नु भएको ।
१७, साना किसान सहकारी संस्था अन्तुको संस्थापक सदश्य ।
१८, अन्तु पर्यटन बिकास केन्द्रको संस्थापक सदश्य ।

पदक तथा सम्मानहरु
१, वि स २०३१ सालमा शुभ राज्यभिषेक पदक ।
२, वि स २०३९ सालमा जिल्ला शिक्षा कार्यालय ईलामअले शिक्षा क्षेत्रमा सहयोग गरेवापत प्रसंसापत्र प्रदान

३, वि स २०४० साल असोज १० गते तत्कालिन जिल्ला पञ्चायतले प्रधानअपञ्चको हैसियतले अविछिन्न सेवा
गरेवापत नगद २,००० रुपैया सहित् राजात पदकद्वारा सम्मान ।
४, वि स २०४३ सालमा गोर्खा दक्षिण वाहु चौथो पदकद्वारा सम्मान ।
५, वि स २०४३ सालमा नै राजात जयन्ती केन्द्रिय समन्वय समितिबाट कदरपत्र प्रदान ।
६, वि स २०६० सालमा जय नेपाल प्रतिष्ठानद्वारा समाज सेवा गजराजजङ- खम्मसिहं सेवा पुरस्कार रु
५,००० सहित् कदर पत्रबाट सम्मानित ।
७, वि स २०६० सालमा सयपत्री युवा क्लबबाट सम्मानित ।
८, वि स २०६१ सालमा जनक माविबाट सम्मानित ।

सन्दर्भ सामाग्री:-
अझै समेटन पर्ने धेरै कुरोहरु छन अनि यसमा पनि केही त्रुटिहरु अवश्य होलान जसको निम्ती म क्षमाप्रार्थी रहेर
निम्नलिखित श्रोतका प्रस्तोता एव सर्जकहरुप्रति आभार प्रकट गर्दछु, धन्यवाद
१, इलामका लाप्चा जाति र स्थाननाम (पुस्तक) प्रस्तोता प्रा डा नोवल किशोर राई अनि डा नेत्रमणी दुमी
राई ।
२, आथिङ काजी जगत बहादुर लाप्चा- स्मृतिग्रन्थ (प्रकाशक:- काजी जगत बहादुर लाप्चा स्मृतिग्रन्थ
प्रकाशन समिती ।
३, गुगल, Lepcha people WIKIPEDIA

पशुपतिनगर, सुर्योदय नगरपालिका
हाल स्याण्डहर्स्ट युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!