खोसिँदै छ भाषा, लिपि अनि संस्कार–संस्कृति

SHARE:

सुहाङ्ग स्कुलबाट क्यापिंग गएको आज पहिलो दिन, श्रवन एक्लै भएको छ, ऊ स्कुल गएर आयो तर, घरमा एक्लै निरास…निरास छन् ।
आमाले खाजा बनाएर बोलाउँछिन् श्रवन, ए श्रवन ! खाजा खान आईज ? त्यो पनि अंग्रेजी भाषामा उसले नेपाली अलिअलि बुझे पनि बोल्न पटक्कै आउँदैन ।
आमाको आवाज, बेवास्ता गरेर यताउती केही खोजिरहेको छ । ऊ स्वयंलाई थाहा छैन के हराएको छ र के खोजिरहेको छ ? त्यहाँ हुनु पर्ने सारा सामन जस्ताको तस्तै भएर पनि ऊ केही खोजिरहेको छ, उसलाई यस्तो अनौठो छट्पटी कहिले भएको थिएन ।

टेबलमा ठूलो पिसी कम्पुटर बेडको छेउमा ल्यापटप, चार्जमा जोडिएको आईप्याट, साथमा अन्य थुप्रै खेलौना अनि सधैं गेम खेल्ने गरेको मोबाइल सबै आ–आफ्नै ठाउँमा बसेर श्रवनलाई नै टुलुटुलु हेरिरहेका छन् ।

तलबाट आमा फेरि कराउन्छिन् श्रवन खोई हौ झरेको प्लिज खाजा सेलियो ? ओलेङ्गटोलेङ्ग गर्दै अल्छी मानीमानी झरेर बस्छ । सिटिङ्ग रुमको सोफामा टिभीको दुवै रिमोट लडिरहेका हुन्छन् । आमाले तात्ततो दूध र कन्फ्लेक्स अनि एक गिलास हर्लिक्स राखेर चौकातिर फिर्छ, श्रवन आमा गएको हेर्दै नजर वरिपरि घुमाएर निराश बन्छ आमालाई थाहा भइसकेको छ, छोराको खेल्ने साथी दाजू नभएर ओइलाएको कुरो ।

साँझ बाबा ड्युटी सकेर घर आइपुग्छ सधै‌ ४ जना बस्ने डाईनिङ्ग टेबुलमा ३ जना बसेर खाना खान्छन् र एकछिन टेलिभिजन हेरेर ओछ्यान पस्छन्, सबैले सुहाङ्गलाई मिस गरिरहेको हुन्छन् तर, अरुभन्दा धेरै श्रवनले ।

सुहांग र श्रवन दुवै युकेमै जन्मेका हुन् । सुहांग १० वर्ष पुग्यो ईयर ५ मा अध्ययनरत छ भने श्रवन ८ वर्ष पुग्यो ईयर ३ मा पढ्छन् । यी दुई दाजूभाइ कहिले छुटेका छैन जहिले सँगै खेल्ने, सँगसँगै लड़ाई, झगडा गर्ने फेरि मिल्ने, कहिले एक अर्काको आईप्याड र मोबाईल खोसाखोस गर्ने गर्दै हुर्किरहेका छन् ।
उनीहरु अंग्रेजी मात्र बोल्छन् स्कुल जाँदाबाहेक जहिलेसँगै हुन्छन् उनीहरुलाई बाहिरको साथि चाहिँदैन ।

बाबा ब्रिटिस सेनामा कार्यरत छन्, आमा बिहान बेलुका पार्टटाईम मात्र गर्छन् कारण नानीहरुलाई यहाँ १८ वर्ष नपुगेसम्म बाटाघाटामा मात्र होइन घरभित्रै पनि अभिभावकविहीन छाड्न मनाही छ ।
यस्ता सुहाङ्ग र श्रवनजस्ता लाखौं नेपाली युवायुवती नानीहरु हुर्कंदैछन् बेलायतमा, अनि सुहाङ्ग र श्रवनजस्तै यहाँ जन्मी हुर्केका नानीहरु कोही पनि नेपाली बोल्दैनन् । नेपाली अक्षर लेख्नुको त झनै दूरको कुरो, हामी आमा बाबाले चाहेको पटक्कै होइन आफ्नो भाषा भूल्न । तर, आफ्नो भाषा सिकाउँदा सिकाउँदै जब स्कुल जान थाल्छन् अनि कहिलेकाहीँ एकै नामको दुईटा फाईल कम्प्युटरमा सेभ गर्दा पुरानो फाईल रिप्लेस भएर डिलेट भइ हाराएझैं स्कुलमै आफ्नो भाषामा अंग्रेजी रिप्लेस गरेर आउँछन् ।

तर, यो सबै समयको माग हो, समयले नयाँ, नयाँ भाषा लिपि र प्रविधिहरु हाम्रासामू ल्याएर पुरानो भाषा, लिपि र संस्कार संस्कृतिहरु रिप्लेस गरिरहेको छ ।
हामी जति जाने बुझेकाले सेभ गर्न खोज्दा पनि हाम्रो पुरानो र कम पावरको यूएसबीजस्तो दिमागले अब थाम्न नसक्ने भइसकेको छ ।

अन्त्यमा केही सीप नलागेपछि अभिभावकले नै अंग्रेजीमै बोल्नु पर्ने बाध्यता हुन्छ । हुन त अंग्रेजी बोल्नु नराम्रो होइन, अंग्रेजी भाषा विश्वमै चल्ने भाषा हो । तर, हाम्रो आफ्नो भाषा यसरी दिनानुदिन हामीसँगै विदेशिएर लोप हुनु नराम्रो हो । अरु जुनै देशको भाषा बोले पनि आफ्नो भाषा र संस्कार संस्कृति बिर्सन हुन्न भन्ने लाग्छ मलाई ।

हामी आफ्नो संस्कार संस्कृतिसँगै भाषा लिपि पनि नयाँपुस्तालाई हस्तान्तरण गर्ने हेतुले थुप्रै संघसंस्थाहरु खोलेका छौं । तर, खोइ ? अहिले सम्म युवापुस्ताले खासै ध्यान दिएको देखिँदैन ।
यसको पनि समय आउला र एकदिन सिक्लान् भन्ने आशा हामी सबैले पालेका छौं । हुन त नानीहरु व्यस्त हुनुको पनि सकारात्मक, नकारात्मक दुवै खाले कारण रहेको पाइन्छ । एक त नानीहरुलाई बोर लागेर त्यस्ता कार्यक्रमहरुमा जान मान्दैनन, अर्को यहाँ उमेर पुगेका सबै नानीहरु शनिबार आइतबार काम गर्छन् । अरु दिन स्कूल, कलेज र युनिभर्सिटी पढ्छन् ।

त्यसैले, अब हामी सबैले विचार गर्नु पर्छ हाम्रा भाषा, लिपि भुल्नु पर्छ या सम्झिनु, सम्झाउनु र सिकाउनु पर्छ ? यो अब आउँदा पुस्तालाई जिम्मा लगाउँछु म । किनभने अभिभावक त अघि बढेकै छन् विभिन्न जातीय संघसंस्थाहरु खोलेर आफ्ना छोराछोरीलाई स्वागत गरेकै छन् बाटो देखाएकै छन् । त्यो बाटोमा हिँड्ने नहिँड्ने अब सारा युवापुस्ताको जिम्मामा छ, पाइला पाइलामा संस्कार संस्कृति छ, अभिभावकहरुको त बल तागत घट्दै छ, हातखुट्टा बस्दै छ हिँड्ने हिम्मत पनि छैन र भार उचालेर उभिरहने समय पनि छैन अब त ।

विदेसमा रहेका नेपालीहरुको संख्या हेर्ने हो भने लाग्छ नेपाल रित्तो छ । यति धेरै मान्छे बिदेशमा छौं सम्झिँदा विरक्त लाग्छ । के गर्नु विदेसिनु रहर होइन कर पनि छैन तर, नेपालमा रोजगारी छैन । बाबा आमाको पैत्तिक सम्पत्तिले पुग्दैन । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसेर हेर्ने हो भने कस्तो कस्तो कारुणिक दृश्यहरु, विछोडिनुको पीडामा भक्कानिएर निस्केका मुटु चिथोर्ने क्रन्दनहरु पलपल सुन्न सकिन्छ । हुलका हुल उड्छन् सेकेन्ड सेकेन्ड्मा युवाहरु सुनौलो भविष्यको सपना आँखाभरी बोकेर ।

कतिले सपना गूमाएर फिर्छन् कतिले सपना कमाएर फिर्छन्, कुनै टुंगो हुन्न, त्यहाँबाट उडेपछिको उनीहरुको सपनाको आकार कस्तो र कत्रो हुन्छ ! उनीहरुले जहाजभित्र सुतेर आसमानमा देखेको सपनाको आकार कहाँ र कुन ठाउँमा पुगेर कति बेला बदलिन्छ उनीहरुलाई त के भगवान्लाई पनि थाहा हुन्न ? कति हात हल्लाउँदै हल्लाउँदै गएर बाकसभित्र मुट्ठी कस्सेर निस्लोट, निःशब्द फिर्छन् । न देख्छन् आमा मुर्छा परेको, न देख्छन् स्वास्नीको चुरा फुटेको, न देख्छन् सिन्दुर पखालिएको ?

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!