
-आर के त्रिपाठी – नेपाल
मेरो आमालाई मलेखुमा बाँदरले टोकेछ किन ? तितो यथार्थ ।
मलेखु स्थित मेरो पुरानो दामन होटल नामको घरमा मेरो बुबा आमा बस्नु हुन्छ।५ बर्षको विचमा मेरो आमालाई ३ पटक बाँदरले आमा बसेको घरमै आई टोकेछ ।
बाँदर किन घरमा आयो भनि अनुसन्धन गर्दा बाँदर भोको हुन थालेछ।पहिला पहिला मलेखु वरपर सबैले खेति पाती गर्दथे।खेतिपाती गर्ने मानिस सबै बृद्ध भएछन्।छोरा वा युवाहरु प्राय सबै विदेश तिर हिंडेछन् ।
गाउँमा कृषी खेती गर्ने कोही भएनछन् ।जमिन खेतमा कृषी हुँदा बाँदरले त्यो बाली,नाली,मकै अलि अली खाएर बाँच्ने रहेछ।
बारीमा खेती,अन्न उत्पादन नहुने भए पछि बाँदरले आफ्नो भोक मार्न,ज्यान जोगाउन घर घर भित्र भएको अन्न खान लुकेर मौका छोपी घर भित्र पस्दो रहेछ।
मेरो आमा घरमा एक्लै हुँदा बाँदरलाई लखेट्न लाग्दा बाँदरले भोक चुरिएको रिसले आमालाई टोकेछ।यो क्रम सबैको घरमा पटक पटक दोहरि रहेछ।अझै बढ्ने क्रम छ किनकी सबै जमिन बाँझो हुने क्रम बढ्दो छ।
हुँदा हुँदा आजकाल बाँदर बाठो हुन थालेछ । बाँदर घर आउँदा आमालाई टाउकोको कपाल कन्याई दिने र खाना माग्न थालेछ।
आमाले आफूले नखाएर पनि बाँदरको टोकाई बाट बच्न खानेकुरा दिन थाल्नु भएछ।खाना पाए पछि बाँदरले हात जोड्दै नमस्कार भन्न सिकेछ र थालेछ।
हाम्रो देशको युवाहरु विदेशिने र भएका खेत बारी बाँझो हुने क्रम जारी छ।देशभरी बाँदर आतंक अझै बढ्नेछ।
यो तितो यथार्थ लेखि रहेछु।
आफै सोचौं हामी कहाँ छौं ?हाम्रो यथार्थता के छ ?हामी गम्भिर भई समिक्षा गर्ने कि नगर्ने ? वा युवाहरु पलायन भएको हेरि रहने ?
समाज उत्कट आदर्शहरूको अपेक्षामा छ।तर, ठूलो परिवर्तन ल्यायौं भने पनि मानिसलाई रोजगारी छैन।
उद्योग छैन।पूँजी बजारले समाजलाई यसरी घेरेको छ कि बाँच्नलाई किन्नुपर्छ, किन्न नसक्नेले पैसा कमाएर किन्नुपर्छ।
आफ्नै खेती गर्नेले पनि खेतीको आम्दानीले नथेग्नेगरी बीउ र ‘फर्टिलाइजर’ किन्नुपर्छ।श्रम मूल्यको त कुरै छाडौं।त्यसैले मूल श्रमशक्ति वैदेशिक रोजगारीमा छ।विद्यार्थीको ठूलो तप्का वैदेशिक अध्ययन-रोजगारीमा छ।
त्यस धन्दाको दोहन पनि पूँजी बजारले नै गरेको छ।मुट्ठीमा गन्न सकिनेहरू कोही रातारात र कोही चौगुनाका हिसाबले धनी भएका छन् ।
चारैतिर परिस्थिति यसरी भड्काइँदैछ कि नेताहरुको कारणले कारणले देश समाप्तिको डिलमा पुगिसक्यो !
देशमै उद्यम,देशमै लगानी र देशमै अध्ययन- यी तीन पक्षमा राष्ट्रिय नीति नबन्ने हो भने देश लगभग मरुभूमि बन्नेवाला छ।
बरु नेपालमै मर्ने,जन्मभूमि भुटान जान नपाए कहीं नजाने’ भन्ने अडान राख्दै अन्तर्राष्ट्रिय शरणार्थी सहयोगी निकाय ‘यूएनएचसीआर’को सुविधाबाट समेत वञ्चित केही भुटानी शरणार्थी झैं स्वाभीमान भएका नेपालीले मात्रै नेपाल बचाउलान् ?
लगभग १० वर्षपछिको समाज चित्र आजको संकेतको दृष्टिले डरलाग्दो छ ।
उद्यम,लगानी र अध्ययन वातावरणको प्रारुप निर्माण हुन देशमा सुशासन हुनुपर्यो।सेवा र वितरण चुस्त हुनुपर्यो।उत्पादनको स्रोतमा गरिखानेको पहुँच हुनुपर्यो।
पहिलो त, कृषिकर्म मात्र जानेकालाई जमिनको हकबाट बेदखल गर्ने अनि अनुपस्थित जमिनदारका जमिन बाँझै रहने असामान्य सामाजिक अन्यायको अन्त्य आजको मूल कार्यक्रम हुनुपर्छ।सँगै त्यस जमिनलाई निर्वाहमुखी परम्परामा होइन, व्यवसायिक प्रयोजनमा उपयोग गर्ने राष्ट्रिय कार्यक्रम बनाइनुपर्छ।वैज्ञानिक प्रविधि,उन्नत बिजन र सिंचाइ त्यसको मूल सर्त हो ।
दोस्रो, साना तथा मझौला राष्ट्रिय उद्यमलाई सहुलियत सहित राष्ट्रिय कार्यक्रमका रूपमा योजनागत अभिप्रेरित गर्ने र तेस्रो, पाठ्यक्रम र शैक्षिक कार्यक्रममार्फत समेत देश आवश्यकताका प्राविधिक-सैद्धान्तिक शिक्षा प्राथमिकता निर्धारण गर्ने आमविश्वास निर्माण नगर्दासम्म देश रित्तिने नै हो।
पूँजी बजारका खास मालिकहरूले नै खासमा देश बन्न दिँदैनन् ।चमत्कार त कुनै समाजमा हुँदैन।आशाको चमत्कार भने समाजवादी हुँ भन्नेको ससाना व्यवहारले नै निर्माण गर्नसक्छ ।






