सहिद शिरोमणि लखन थापा राष्ट्रका विभूति हुन्

SHARE:

उमेश रानामगर ‘गोर्खाली’

भूमिका

विसं.१९०३ को रक्तपातपूर्ण कोतपर्व, त्यसपछिको भण्डारखालपर्व र अलौ युद्धबाट राजकीय शक्ति हत्याई देशमा एकतन्त्रीय, हुकुमी, निरंकुश र सर्वसत्तावादी शासन सुरु गर्ने जङ्गबहादुरजस्ता क्रूर शासकको पञ्जाबाट देशलाई मुक्त गराई सर्वसाधारणलाई स्वतन्त्र र स्वाधीन बनाउँदै स्वाभिमानीपूर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकारका लागि जनस्तरबाट एकीकृत र संगठित भई सशस्त्र विद्रोहको क्रममा सबैभन्दा पहिले लखन थापा मगर त्यसपछि उनका छ जना सहयोद्धाहरू (जयसिंह चुमी मगर, पलसिंह अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर, जुठ्या थापा मगर र जितमान गुरुङहरू) गोरखा बुङ्कोटको विद्रोही किल्ला परिसरमा विसं.१९३३ पुष ७ गतेका दिन निर्ममतापूर्वक झुन्ड्याएर मारिएको इतिहास प्रष्ट भइसकेको छ । त्यसैले लखन थापा अग्रणी सहिद मात्र होइनन् सहिद शिरोमणि हुन् । त्यसैले उनी राष्ट्रका सच्चा विभूति पनि हुन् । लखनको त्याग, तपस्या र बलिदानको इतिहास दिनको घामझैं छर्लङ्ग भइसकेको छ ।

विद्रोहकै दौरान, बुङ्कोटको काहुलेभंगारमा निर्मित पाँच तल्ले युद्धकिल्लाको भग्नावशेष र तत्काल प्रयोगमा ल्याइएका केही पुरातात्विक हातहतियारहरू गाउँमा सुरक्षित छन् । ती योद्धाहरूलाई झुन्ड्याएर मारेपछि स्वयं जङ्गबहादुरलाई त्यसको पछुतो भयो र पापमोचनका लागि उनले गोरखाका बासिन्दालाई राज्यकोषबाट केही रकम निकाशा गराए तर स्थानीयहरूले रकम बुझ्न पहिले त इन्कारै गरे । पछि जङ्गबहादुरको क्रोधको शिकार भइने डरले रकम बुझी त्यसैबाट ठूलो घण्टा बनाई गोरखकाली मन्दिरमा दिवंगत लखन थापाको स्मृतिमा चढाए । यो घटना १९३३ माघ सुदी ८ (तदनुसार १९३३ माघ ११ गते) को थियो । उक्त घण्टा मन्दिर परिसरमा अद्यापि छँदैछ । यसले लखन थापाप्रति गोरखालीहरूको साथ, सहयोग र समर्थन कति रहेछ, त्यो सहजै बुझ्न सकिन्छ । त्यस्तै बुङ्कोटको काहुलेभंगारस्थित युद्धगढीबाट केही दक्षिणको पहरामा प्रत्येक पुष महिनाको पहिलो पञ्चमी तिथि पारी उनै लखनलाई स्थानीयले ‘भँयरी देवता’ का रूपमा पूज्ने गर्छन् । यसबाट पनि जननेताको छवि बनाएका लखनप्रति गाउँलेहरूको स्नेह, श्रद्धा र भक्ति दर्शिन्छ ।
जनस्तरबाट सशस्त्र युद्धमा होमिएका लखन थापाको क्रान्तिकारी इतिहास हिजोका शासकवर्गले बाहिर आउन दिएनन् । देशमा २४० वर्ष पुरानो सामन्तीसत्ता ढलेपछि जनताका स्वर्णिम इतिहास एकपछि अर्को उजागर हुँदैआएको छ । त्यही क्रममा लखन थापाजस्ता देशभक्त सपूतको बलिदानी गाथाहरू क्रमशः प्रकाशमा आएका हुन् । लखन थापाले जनताको हितलाई केन्द्रमा राखी निरंकुशताको विकल्पमा ‘सत्ययुग’ अर्थात् उदार व्यवस्थाको पैरवी गरी देशमा प्रजातान्त्रिक माहोल सिर्जना गर्न सुरुमै बलिदानी इतिहास रचेको हुँदा क्रान्तिकारी लखन थापालाई जनजनमा स्थापित गर्ने जिम्मेवारी पनि हामी सबैको हो ।

विद्रोहको स्वरूप
गोरखा बुङ्कोटको विद्रोह अद्भुत प्रकृतिको थियो, जसले जङ्गबहादुरजस्ता क्रूर शासकलाई पनि भयभीत बनायो । विद्रोहीहरू जङ्गबहादुरको निरंकुश सत्तालाई जरैदेखि निर्मूल पारी सर्वसाधारणलाई स्वतन्त्रता र स्वाधीनता दिलाउन चाहान्थे, आफ्नो भाग्य र भविष्यको निर्माता बनाउन चाहान्थे । तर शासकवर्गले सैन्यबलमा विद्रोहलाई निर्ममतापूर्वक दबायो । लखनसँगै उनका छ जना कट्टर कार्यकर्ता विद्रोही किल्ला परिसरमै झुन्ड्याइएका थिए ।
बुङ्कोटको यो कहालीलाग्दो घटनाले आमसमुदायमा शासकसामु लड्ने विद्रोही भावनाको विकास गरायो । त्यही चेतनाको आलोकमा देशमा कैयन् विद्रोह र परिवर्तन सम्भव भए । हामीले पाएकोे लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, न्याय, समानता र सुशासनजस्ता जनसरोकारका मुद्दाहरूलाई अहिलेको संविधानमा समेट्न यही विद्रोहले प्रेरित ग¥यो । त्यसैले नेपालको राजनैतिक इतिहासमा लोकतान्त्रिक आन्दोलनको सूत्रपात गोरखाको बुङ्कोटबाटै भएकोमा सन्देह छैन ।

विसं.१९३२ मा सुरु भएको यो ऐतिहासिक जनविद्रोहलाई विशेष महत्व दिँदै थुप्रै देशी–विदेशी विद्वानले कलम चलाएका छन् तर उनीहरू क्रान्तिकारी लखन थापा जति सम्मानका हकदार छन् त्यतिनै सम्मान किन गरिँदैन ? भनेर जिज्ञासा पनि राख्छन् । सामान्यतः कुनै क्षेत्रमा अपूर्व, अद्भुत वा अविस्मरणीय योगदान दिई त्यसको ख्याति राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा फैलाउन र राष्ट्रको गौरव÷गरिमा बढाउन विशेष भूमिका खेल्ने कुनै पनि महामानवलाई राष्ट्रको विभूति मान्ने र विशेष प्रकारले सम्मान गर्ने प्रचलन सर्वत्र छ । यही परम्परा हामीकहाँ यसरी ल्याइयो कि जो सत्ता वा शक्तिमा छन्, जो सत्ताका परम भक्त वा पूजारी छन् र जो शासकका निकट वा पहुँचमा छन् त्यस्ताहरूकै बोलवाला रह्यो । यो प्रवृत्तिको अन्त्य गर्दै ओझेलमा परेका÷पारिएका तमाम देशभक्तहरूलाई अब खोजी–खोजी जनसमक्ष ल्याउने र तिनलाई राज्यले उचित सम्मान दिने गरेमा सरकार जनउत्तरदायी भएको सन्देश जानेछ ।

लखन थापाको पृष्ठभूमि
जङ्गबहादुर राणाको समय सामन्तीहरूको युग थियो । संसारमा एकसेएक बादशाह र तानाशाह जन्मिरहेका थिए । तिनलाई हात लिएर अंग्रेजहरूले साम्राज्य फैलाइरहेका थिए । कतिपय भूभाग उपनिवेश बनाई त्यहाँको श्रोत, साधन कब्जा गर्दै देशलाई कंगाल र जनतालाई गुलाम बनाइरहेका थिए । दक्षिण एशियामा नेपाल मात्रै बच्यो, जसलाई अंग्रेजहरूले गिजोल्न सकेनन् । विगतमा गोरखालीहरूले अंग्रेजलाई ठूल्ठूला युद्धमा हराए पनि सुगौली सन्धिमा एकतिहाई भूभाग गुमाउनु परेको थियो । त्यसैले तिनमा अंग्रेजविरोधी सैन्य भावना प्रबल थियो र दुई महान शक्तिराष्ट्रका बीचमा पनि आफ्नो अस्तित्व जोगाउन हाम्रा पुर्खाहरू सक्षम भएका थिए । त्यसैले गोरखालीहरूले संसारमै वीरताको प्रसिद्घि कमाए । लखन थापा, तिनै वीरहरूका होनहार सन्तति थिए ।

लखन, निकै सुझबुझ भएका सैनिक थिए र जस्तोसुकै परिस्थितिमा पनि सही कदम चाल्नसक्ने खूबी भएकाले यिनी क्षमतावान् सैन्य अधिकारीमा गनिन्थे । तर सेनामा राणाहरूकै एकाधिकार र बोलवाला थियो, अरूमाथि पक्षपात गरिन्थ्यो । जतिसुकै योग्य भए पनि सर्वसाधारणले माथिल्लो दर्जा पाउँदैनथे । यही विभेदको शिकार थिए, लखन । आफ्ना पुर्खाहरूलेझंै उच्च पदाधिकारी भई ईमान्दारीपूर्वक देशको सेवा गरेर शासकले बिगारेका थितिहरू सम्हाल्ने अवसर नपाउँदा लखन थापा खिन्न भएका थिए । त्यसैले, सन् १८७५ मा सबैलाई मिलाएर यिनले एक गुप्त (सैन्य) संगठन बनाए । शासकबाट यो कुरा छिपेन, सेनामा राम्रो पकड बनाएका लखनबाट सैन्य सङ्गठनमा पर्ने प्रभाव एवं आफूलाई हुनसक्ने खतरा रोक्न जङ्गबहादुरले सेनाबाट यिनलाई सन् १८७६ मा बर्खास्त गरे । देशको बागडोर जनविरोधीको हातमा भएकोले जङ्गबहादुरको अन्त्य नभएसम्म सर्वसाधारणले सुख, शान्तिसँग बाँच्न नपाउने साथै देशले काँचुली पनि नफेर्ने देखिएपछि लखन थापाले जनविद्रोहको कठोर बाटो रोज्नुप¥यो ।

भनिन्छ, मानिसले अग्रजबाट प्रेरणा लिने गर्छन् । लखनले सबैभन्दा पहिले चेतनाको दियो बाले, त्यसैको आलोकमा अरूले बाटो पहिल्याए । राणाविरूद्ध सङ्गठित हुने र संघर्ष गर्ने ऊर्जा पाएर कैयन् देशभक्तहरू मैदानमा ओर्लिए पनि । यो जनजागृतिको मुहान निश्चय नै बुङ्कोट थियो । त्यसअघि शासकप्रति विद्रोही चेतना र भावना जनस्तरमा पैदा भएकै थिएन । बुङ्कोट विद्रोहकै जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादत हुँदै ०७ सालमा राणाशासन समाप्त गरायो । त्यस्तै संघर्षहरू २०२७, २०३६ र २०४६ साल हुँदै देश लामो जनयुद्धमा होमियो र २०६२/६३ को बृहत् आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यो महान जनताहरूको बलिदानको प्रतिफल थियो तर प्रेरणाको श्रोत भने बुङ्को ऐतिहासिक विद्रोह नै थियो । विगतलाई हेर्दा पनि ०७ सालमा नेपाली काँग्रेसले र १० वर्षे जनयुद्धमा नेकपा माओवादीले अख्तियार गरेको युद्धनीतिमा बुङ्कोट विद्रोहको प्रभाव देखिन्छ । अझ माओवादी पार्टीले त लखन थापाको विद्रोहलाई सामन्ती व्यवस्थाविरुद्धको पहिलो विद्रोह मान्दैआएको छ । संयोगको कुरो, यी दुवै दल अहिले सत्तासाझेदार छन् र यिनले पार्टीको राजनीतिक धरातललाई स्मरण गर्दै विगतको आदर्शलाई खोला तरेर लौरो भूलेजस्तो कदापि नगरून् !

यही परिप्रेक्ष्यमा अग्रणी सहिद लखन थापा मगरको विशिष्ट योगदानको कदर गर्दै देहायका तथ्यगत आधारमा उनलाई राष्ट्रिय विभूतिको सम्मान दिँदै उनीसँगै मारिएका जयसिंह चुमी मगर, पलसिंह अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङहरूलाई सहिदको दर्जा दिएर तिनको कदर गर्न र बुङ्कोट विद्रोहको ऐतिहासिक पृष्ठभूमिलाई समेट्दै विद्यालयको पाठ्यक्रममा जोड्न सरकारसमक्ष यो लेखक जोडदार माग राख्दछ।

तथ्यगत आधारहरू
(१) विगतका सामन्ती शासकविरूद्ध जे जति हत्या, हिँसाहरू भए ती सत्ता, शक्ति र प्रतिशोधमा केन्द्रीत षड्यन्त्र थिए । तिनमा देश र जनताका लागि कुनै योजना वा कार्यक्रम थिएन । त्यसैले ती गतिविधि लोकहितमा देखिँदैनन् । सत्ता र शक्तिका लागि लुछाचुँडी गर्नेहरू सफलै हुन्थे भने पनि देशमा अर्कै निरंकुशताको जन्म हुन्थ्यो, जनताले जनपक्षीय शासक पाउन कठिनै हुन्थ्यो । जबकि बुङ्कोट विद्रोह निस्वार्थ ढङ्गले जनहितमा अघिबढेको र त्यसले स्वर्णिम युग फर्काउने सुन्दर परिकल्पना गरेको देखिन्छ ।

(२) लखन थापा होनहार देशभक्त मात्र नभई शिक्षित, चेतनशील र दूरदृष्टि भएका क्रान्तिकारी योद्धा थिए । उनी देशमा बिग्रँदै गएको थिति सम्हाल्ने र देशको काँचुली फेर्न चाहान्थे ।

(३) लखन थापाले जङ्गबहादुरको निरंकुशतालाई खुल्लेआम ललकारेका थिए र विकल्पमा सत्ययुगको जस्तो उदार व्यवस्था ल्याउने उद्घोष गरेका थिए । त्यसैले उनी न्याय र समानताका आधारमा चल्ने प्रजातान्त्रिक परिपाटी फर्काउने पक्षमा देखिन्छन् । विगतमा यस्तो परिकल्पना अरु कसैले गरेका थिएनन् ।

(४) विद्रोहमा सर्वसाधारणको सहभागिता, युद्धकिल्लाको निर्माण, हातहतियारको बन्दोबस्त र राजनैतिक दृष्टिकोणसहितको स्पष्ट लक्ष्य नभइदिएका भए यो ऐतिहासिक विद्रोह अत्यन्त अद्भुत प्रकृतिको घटना बनेर नेपाली इतिहासमा दर्ज हुने थिएन ।

(५) विद्रोहको दौरानमा लखन थापाले देशको स्वाधीनता, स्वाभिमान जोगाउँदै सर्वसाधारणलाई स्वतन्त्र बनाउँदै भेदभावरहित न्याय र समानतामा चल्ने सत्ययुगको जस्तो उदार व्यवस्था फर्काउने बाचा गरेका थिए ।

(६) निरंकुश शासकको अन्त्य नभएसम्म देश र जनताले उन्मुक्ति नपाउने, कसैले स्वतन्त्रापूर्वक बाँच्न नपाउने एवं देश र जनताले समुन्नति गर्न नसक्ने अकाट्य सत्यप्रति लखन थापाको गहिरो प्रतिबद्धता देखिन्छ ।

(७) जङ्गबहादुरको जल्दोबल्दो समयमा पनि लखन थापाले जनचाहना अनुरूपको शासन व्यवस्था स्थापित गर्नुपर्छ भनेर जनविद्रोह नगरेका भए जनस्तरमा विद्रोही चेतना फैलिने थिएन र राणाविरोधी आन्दोलन सफल हुने थिएन ।

(८) शासकविरुद्धको संघर्षमा जनजागरण अभियान चलाई राजनैतिक संगठन गरेर जनएकताको निर्माण गरी त्यही बलमा सामन्ती सत्ता अन्त्य गर्ने क्रान्तिकारी योजना ल्याएका कारण लखन थापा नेपाली जनजागरणका अग्रणी (पायोनियर) पुरुष थिए ।

(९) लखन थापा, नेपालको राजनैतिक इतिहासमा क्रान्तिकारी योद्धा, धार्मिक अभियन्ता र समाज सुधारकको रूपमा परिचित एक अनुकरणीय र अविस्मरणीय पात्र भएकाले लखनलाई राष्ट्रिय विभूतिको सम्मान नदिँदा अन्याय हुनेछ र ऐतिहासिक बुङ्कोट विद्रोहको अवमूल्यन हुनेछ ।

(१०) लखन थापा कसैको कृपाले नभई आफ्नै महान त्याग, तपस्या र बलिदानले प्रथम सहिद भएका हुन् तर त्यो योगदान स्वदेशमै सीमित रह्यो । लखन थापाले सत्ययुग अर्थात् उदार व्यवस्था (प्रजातन्त्र÷लोकतन्त्र) को सुरुमै पैरवी गरी अन्तर्राष्ट्रिय छवि बनाएकाले यिनको पहिचान विश्वभर फैलाउन पनि देशको राष्ट्रिय विभूति बनाउन आवश्यक देखिन्छ ।

(११) लखन थापाले ‘जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर त्यसै दोष लगाएका थिएनन् उनले त म्लेच्छ (विदेशी)को दलाली गर्ने शासकीय व्यवहारबाट देशमा विदेशी हस्तक्षेप बढ्ने कुरालाई उठाएका थिए र त्यसविरुद्ध एकढिक्का भई लड्न सर्वसाधारणलाई आह्वान गरेका थिए । यो राजनैतिक दूरदर्शिता थियो । यस्तो हस्तक्षेपको चिन्ता देशले हालसम्म गरिरहेकै छ ।

(१२) धर्मभीरु नेपाली समाजलाई क्रान्तिकारी बाटोमा डो¥याउन लखन थापाले जोसमनी सन्तपरम्परा अँगाल्दै हिन्दूधर्मका नाममा भित्रिएका कुरीतिहरू समाप्त गरी उन्नत समाजको निर्माण गर्ने र सर्वसाधारणलाई सुन्दर जीवन एवं सुरक्षित भविष्य दिलाउन चाहेका थिए । त्यसैको लागि उनले ठूलो सशस्त्र समूह बनाए, जसले जङ्गबहादुरजस्ता सामन्ती शासकको अन्त्य गर्ने संकल्प गरेका थिए । केही दरबारिया कर्मकाण्डीहरूको इशारामा यिनलाई राज्यले मृत्युदण्ड दियो । नेपाली इतिहासमा सन्तहरूले राज्य विप्लव गर्ने कोसिस गरेको यो पहिलो घटना थियो । यस अर्थमा लखन थापा मगर देशकै पहिलो धार्मिक सहिद पनि हुन् ।

बुङ्कोट विद्रोह नेपाली इतिहासको अभूतपूर्व घटना भएकोले हाम्रो आत्मगौरव बढेको छ, यसमा कसैले विमति जनाउने स्थिति पनि छैन । किनकि यो विद्रोह सफल हुन्थ्यो भने देश र देशबासीहरूले १०४ वर्षे कालरात्रि पक्कै व्यहोर्नुपर्ने थिएन ।

अन्त्यमा
शासकवर्गको कठोर निरंकुशताविरूद्ध जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउँदा एक सच्चा सपूतको कदर मात्र होइन, अपितु देश र जनताका लागि जीवन अर्पण गर्ने एक क्रान्तिकारी देशभक्तको पनि सम्मान बढ्नेछ र नेपाली इतिहासमा पहिलो पल्ट एक अथक राजनैतिक योद्धाको उचित कदर हुनेछ । थप एक अविस्मरणीय प्रतिभा जन्मिनेछ जसले देशभक्तिको नमूना प्रस्तुत गरे र जो सबैका लागि, सधैंका लागि प्रेरणादायी रहेको छ । यसले नयाँ पिढीलाई अन्याय, अत्याचारविरुद्ध लड्न र देशभक्तहरूका अधुरा सपना पूरा गर्न अभिप्रेरित गर्नेछ । त्यतिखेर राष्ट्रप्रति समर्पित हुनेलाई हौसला मिल्नेछ । मातृभूमिको लागि जुनसुकै क्षेत्रमा पनि अपूर्व, अद्भुत वा अविस्मरणीय योगदान दिई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा त्यसको गौरव बढाउन विशेष भूमिका खेल्ने महापुरुषलाई सम्मानित गर्दा सरकारकै छवि राम्रो हुनेमा शंका छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!