
लन्डन २२ मार्च २०२४ । बेलायतमा नेपालको राष्ट्रिय फुटबल टीमले खेल्ने पहिलो एवम् ऐतिहासिक खेलको टिकट बिक्री खुला भएको छ ।
खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबको वेबसाइटमार्फत अनलाइन टिकट बिक्री खुला गरिएको हो । टिकट मूल्य १७ वर्षमुनिका लागि ५ पाउण्ड र वयस्कका लागि १० पाउण्ड राखिएको छ । आगामी मे ६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसट टाउन फुटबल क्लब मैदानमा नेपाल र इंग्ल्याण्डबीच ऐतिहासिक खेल हुँदैछ ।
खेल आयोजक अल्डरसट टाउन फुटबल क्लब र स्थानीय नेपाली समुदायका अगुवाहरुबीच मंगलबार भएको तयारी बैठकमा खेलका टिकटहरु विभिन्न अनलाइन प्लेटफर्म मार्फत उपलब्ध गराइने भए पनि प्रत्यक्ष टिकट बिक्रीका लागि कुमार गुरुङ र दिलरास गुरुङलाई जिम्मेवारी दिने निर्णय भएको छ । गुरुङद्वयले टिकट आग्रह भए बमोजिम उपलब्ध गराउनेछन् ।
खेल आयोजनाका लागि नेपाली समुदायका तर्फबाट तमु धींयूके उपाध्यक्ष तथा कास्की एन्फाका यूके एम्बासडर कमल कोने गुरुङलाई संयोजक तोकिएको छ । संयोजक गुरुङका अनुसार केहीदिनभित्रै एउटा आयोजक समिति बनाइने छ र उक्त समितिले रफ्तारमा आफ्नो जिम्मेवारी थाल्नेछ । संयोजक गुरुङले समितिमा रहेर काम गर्न इच्छुकलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
त्यसैगरी, अल्डरसट एफसी क्लबले निकाल्ने बुकलेटमा विज्ञापन गर्न चाहने नेपाली व्यवसायीहरुको लागि संयोजन गर्ने जिम्मा पत्रकार एसके गुरुङलाई दिने निर्णय भएको छ । बुकलेटमा ५ सय, ३ सय र २ सय पाउण्डका तीन प्रकारका विज्ञापन गर्न सकिनेछ ।
बेलायत नेपाल ऐतिहासिक सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको उक्त खेल सफल बनाउन अल्डरसट एफसी र आयोजक समितिका पदाधिकारीहरु लन्डनस्थित नेपाली दूतावासमा समेत जाने निर्णय भएको छ । दर्शकको उल्लेख्य सहभागिताका लागि राजदूत ज्ञानचन्द्र आचार्यसमक्ष पनि अनुरोध गर्ने तय भएको हो ।
अल्डरसट एफसी र समुदायबीच भएको तयारी छलफलमा क्लबका अध्यक्ष साहिद अजिम, नेपाली समुदाय संयोजक कमल कोने गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ र पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुङ, एनआरएनए इंग्ल्याण्ड निवर्तमान अध्यक्ष एलबीजेड गुरुङ, शिव कल्चरल सेन्टर अध्यक्ष विक्रम भट्टराई, सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य दिलरास गुरुङ लगायतको सहभागिता थियो ।






