समयको घनले पिटीपिटी
आकार बदलेको
जिन्दगीको दस्तावेज हौ तिमीहरू |
म चाहन्छु
तिमीहरूको यात्रा
फरक होस्
सफल होस्
दाम्पत्य जीवन सुखमय होस् |
युग बद्लिएको छ
जमाना बद्लिएको छ
बद्लिएको यो जमानाको
तिमीहरू वर्तमान हौ |
जहाँ गाउँ छैन, भीर, पहरा छैनन् !
खोला, खोल्सी र खहरेहरू छैनन्
जसले मलाई दु:खसँग जुध्न सिकाए
त्यसैले लाग्छ !
तिमीहरू अझै सानै छौ |
घाँस काट्दा हँसियाले
काटेको औंलाको
डोब तिमीहरूको
औंलामा छैन
त्यो समयले
मलाई जे सिकायो
त्यो संस्कार
तिमीहरूमा छैन
त्यसैले लाग्छ !
तिमीहरू अझै सानै छौ ।
मेरो जमानाको जस्तो
उकाली-ओराली हिँडेका छैनौं
जुका, भुसुना, लामखुट्टे र कमिलाजस्ता दुष्मनसित युद्ध लडेकै छैनौं
त्यसैले लाग्छ !
तिमीहरू अझै सानै छौ ।
गोरूको पुच्छरमा
झुन्डिएर बिकट मेरो
गाउँको नुक्वा खोला तरेकै छैनौ
धान, कोदो रोप्दा
हिलोले खाएर चिलाएको खुट्टाका औंला
तनतन डोरीले कस्सेर
घोच्दै फोहोर रगत फालेकै छैनौ
त्यसैले लाग्छ !
तिमीहरू अझै सानै छौ ।
मैले सिकाएको सबै संस्कार थ्यौरी हुन्
मेरी आमाले जस्तो
प्राक्टिकल संस्कार
सिकाउन नसकेकोले
लाग्छ ! तिमीहरू
अझै अपरिपक्क छौ ।
माथ्लोघरका जेठा बाजे आउँदा पिरा दिन
सिकाएथ्यो आमाले
माइली आमा
आउँदा चिया दिन
अह्राएकी थिइन् आमाले
ढिकी, जाँतो गर्न
बिहान चाँडो उठाएकी थिइन् आमाले
हरेक बिहान खरानीले घरका लोटा माझेर
टल्काउन सिकाएकी थिइन् आमाले
भाले डाकमै पँधेराबाट चोखो पानी ल्याएर
युमाथानको कल्सर फेर्न
सिकाएकी थिइन् आमाले
तर, मैले ती जम्मै संस्कार थेउरीमा मात्र दिन सकें
त्यसैले लाग्छ !
तिमीहरू अझै सानै ।
घाँस दाउरा, बस्तुभाऊ, गोठाला, खेताला
अब दन्त्य कथा भए
पाटी पौवा, चौतारो, देबी देउराली र पानी पँधेरा कस्ता थिए ? खोज अनुसन्धानको विषय: जस्तै बनेको छ
यस्तो पनि दिन आउँछ
भन्ने नसोचेकी म, आमाको मन
सधैं चिन्तित रहने रैछ
छोराछोरीको भविष्यप्रति !
तिमीहरू सानै छौ
यात्रा क्रममा भेटिने
अनेक खाले
दु:ख, सुखहरू सहयात्री हुन्
आफैलाई परिपक्क बनाउन
आउने ती गुरूलाई
धैर्य रहेर
सामना गर्दै अघि बढ्नु
जिन्दगी आफै सहज र सरल बन्नेछ ।
जानू काम्बाङ लिम्बु
ताप्लेजुङ
हाल : हङकङ
(कवि लिम्बुले कान्छा छोरा र बुहारीलाई वैवाहिक जीवनको शुभकामनासहित तयार पारेको कविता)






