पुस्तक समीक्षा : कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ पढिसकेपछि

SHARE:

दोस्रो कृतिको रुपमा कवि खुपेन सुनुवारको कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ बेलायतमा कमसेकम तीन दशकभन्दा अघिदेखि अनवरत रुपमा कलम चलाइरहनुहुने कर्मठ साहित्यकारहरुको उपस्थितिमा लण्डनमा जुन ७ तारिख शनिबार विमोचन भए लगत्तै पाठकहरुमाझ आइसकेको अवस्था हो । यो पुस्तक ‘माया पब्लिकेसन प्रालि’को प्रकाशनमा पहिलो संस्करणको रुपमा हार्ड कभरमा तयार भएर आएको छ । विवेक मुकारुङद्वारा ग्रीन एण्ड यलोइस्ट थिममा तयार गरिएको एक्रेलिक एयाब्स्ट्रयाब्ट यस पुस्तकको आवरण नै कवितासंग्रहको पूरा सारांश जस्तै उठेको देख्न सकिन्छ ।
The Waste Land (1922), “The Hollow Men” (1925), “Ash Wednesday” (1930), and Four Quartets (1943) जस्ता प्रभावशाली एवं शक्तिशाली कविताहरु जनमानसमा प्रस्तुत गरेर एक किसिमको सशक्त छाप छोड्न सफल अनि धेरै पटक साहित्यिक नोबल पुरस्कारका निमित्त मनोनीत हुनु भई १९४८ मा Nobel Prize in Literature प्राप्त गर्न सफल British-American poet Thomas Stearns Eliot (pen name, T. S. Eliot)का कृतिहरुबाट प्रभावित भएर उहाँकै ‘The purpose of literature is to turn blood into ink’ हरफलाई पहिलो पानामा पहिलो पंक्तिको योद्धाको रुपमा राख्नु भएकोले यो पनि आशा गर्न सकिन्छ कि कवि साँच्चै नै कवितामार्फत समाजभित्रका उतारचढावहरुलाई आम जनमानसमा स्पष्ट रुपमा निडर भएर प्रस्तुत गर्न खोज्नु हुने छ ।

श्रीमती र दुई छोरीहरुप्रति अगाद माया र प्रेमका भावहरुका साथ समर्पित कवितासंग्रह चार खण्डमा समायोजन गरेर लेखिएको छ । पहिलो हो ‘क्लोजअप’ जसमा १६ कविताहरु समावेश गरिएको छ भने दोस्रो ‘मोन्टाज’मा १९ वटा, तेस्रो ‘ल्यान्डस्केप’मा १७ वटा र अन्तिम खण्ड ‘पोट्रेट’मा १५ गरी जम्मा ६७ कविताहरु समावेश गरिएका छन् ।

‘मभित्रको म’बाट प्रारम्भ गर्नु भई छोरी केजिआप्रति समर्पित गर्दै अन्तिम कविता ‘हुचिलः केजिआ’समावेश हुँदा पुस्तक जम्माजम्मी १५७ पेजमा टुंगिएको छ । अन्त्यमा विभिन्न अनलाइन पत्रिकाहरु र श्रवण मुकारुङ, काङमाङ नरेश, सोझो गाउँले, निर्भीकजङ्ग रायमाझी, एलबी क्षेत्री, दयाकृष्ण राई, केदार सङ्केत, मिथोच सुनुवारप्रति हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दै आवरण स्केचका लागि विवेक मुकारुङ तथा माया पब्लिकेशन र उनका अति हितैषी कल्याण गुरुङलाई धन्यवादका पात्रका रुपमा सम्झनुभएको छ ।

‘क्लोजअप’मा कविले आफूलाई अत्यन्तै नजिकबाट औंल्याउने प्रयत्नमा लाग्नु भएको छ । पहिलो कविता ‘मभित्रको म’मा ‘आफू भित्रको बाँचिरहेको र आफूभित्र नै भाँचिरहेको’ लेख्तै गर्दा आफ्ना भावनाहरुलाई अत्यन्तै माया गरेको हामीले पाउन सक्छौं । शासन व्यवस्था भनेको केवल शासक र शासितहरु उत्पादन गर्ने कारखाना मात्र नभई आम नागरिकहरुले राज्य निर्माणमा बगाएको रगत, पसिना, आँसु अनि श्रमको सम्मान गर्ने साधनको रुपमा लिनु भएको छ । तर हाम्रो देशको शासन व्यवस्था अहिले ‘घाइते पंक्षीः लोकतन्त्र’ भएको र यसको खोलभित्र विवेकहीन महापुरुषहरुको हर्कतका कारण घाइते व्यवस्थालाई उपचार गर्ने आमनागरिक नै हो भनेर जिकिर गर्नुभएको छ ।

‘र माटोमुनि पुरिएका कलिला बाल सहिदहरुका’जस्ता हरफले प्यालिस्टीनी विधवा आमाहरु र अनाहकमा मारिएका निर्दोष बालबालिकाहरुप्रति सहानुभूति देखाउँदै नाजी तानाशाही शासनविरुद्ध तत्कालीन योगोस्लाभियाकी क्रान्तिकारी युवती लिपा रादिकको आत्मघोष उनका सहयोद्धाहरु ‘परिवर्तनका छालहरु झैं उर्लेर आउँछन्’ भनेर लेख्नु भएको छ । सुशासनको निमित्त समाजका अपराधीहरुलाई समात्नेभन्दा पनि निर्दोषहरुलाई प्रताडित गर्ने अभ्यास जिउँदो छ भन्ने तथ्यलाई ‘माथिको आदेश हो’ भनेर कवितामा सामेल गरेर सामान्य नागरिकको जीवन अझै पनि राज्य पक्षले भयावह तुल्याइरहेको बताएको छ ।

‘आँखाले अस्तित्व लुकाएर बसेकाहरुलाई
आफ्नै अक्षरका अर्थले चिथोर्छन्’

भनिरहँदा समाजमा गद्दारहरुको कमी हिजो पनि थिएन, आज पनि कमी छैन अनि भोलि पनि रहिरहने छन् भनेर लेप्चा जातिहरुमा प्रचलित लोककथालाई पनि समेटेको पाइन्छ । जीवनको अन्त्य मृत्युमा टुंगिन्छ, मृत्युको अन्त्य असत्य हो भन्ने विषयलाई पुष्टि गर्न ‘जीवनको प्रारम्भ नै मृत्युको आरम्भ रहेछ साथी’ पंक्तिले न्याय गर्न खोजिएको छ । तपस्वी रामबहादुर बम्जनलाई ‘फल्स प्रोफेट’को रुपमा प्रस्तुत गरिए तापनि यस विषयमा बोलिहाल्न पर्ने जरुरी थिएन । आपराधिक क्रियाकलापमा संलग्न भनेर गिरफ्तार गरिएको भए तापनि यो विषय छलफलको विषय नै हो किनकी राज्य पक्षले थोपरेको हरेक मुद्धाहरु सवै सेतो मात्र हुन्छन् भन्ने कदापी होइन ।

तथापी बुद्धहरु पटकपटक जन्मिन्छन् सबै बुद्धहरु राज्यले स्विकार गर्न सक्ने स्थिति पनि सहज नहुन सक्छ । धर्म त समाजलाई अनुसासित बनाउन एउटा मार्गदर्शन तय गर्ने साध्य हो तर धर्मको नाममा अतिवाद हावी भएपछि अमानविय गतिविधिहरु देखा पर्छन अनि ‘निर्दोषहरुलाई अग्निमा बली चढाए‘ पछि पुरै मानव सभ्यता नै निर्लज्ज हुनु परेको यथार्थता चित्रण गर्नु भएको छ ।

दलाल पुंजिवादको भर्जिन भुमिमाथिको अत्यचार दिनानुदिन गुणोत्तर रुपमा बढिरहेको अवस्थालाई मध्यवजर गर्दै ति फटाहाहरुलाई ठाडो चुनौती दिंदै वातावरण संरक्षण सन्दर्भमा सचेत रहन निम्न पंक्तिहरु समावेश गरेको पाइयो । जुन सायज छ ।

‘बनाएर खण्डहर
मेरो अस्तित्वमाथि धावा बोलिरहेका
नाथे ए कागजका खोस्टाहरु !
कान ठाडो गरी सुन !’

हामी मृत्युदेखि डराउँछौ, भाग्न खोज्छौं अर्थात सत्यमाथि असत्यको विजय उत्सव मनाउन खोज्दछौं । तर जब जीवनको ‘क्लोजअप‘ लाई ‘सप्रानो‘ अर्थात उच्च तरङ्गमा बुझ्न सक्छौं तब सत्यको पक्षमा उभिन्छौं । तदपश्चात मृत्यू देखि पनि हामी हच्किनु पर्दैन भनेर एउटा अस्पतालको सिनारियोलाई प्रतिबिम्बीत गर्नु भएको छ । आप्mनो जीवनको क्लोजअप लिने क्रममा रातलाई दिन अनि दिनलाई रातमा बदलेको अनुभव एसरी पस्किनु भएको छ —

‘रात ढलेपछि
जब प्रातः हुन्छ
एउटा नविन आशा
धर्तीमा फेरि जन्मन्छ।‘

कविलाई फूल जस्तो कोमल हुन मन छ । कुनै वाधा अवरोधहरु विना नै कहिले फट्याङ्गग्रा जस्तो, कहिले चरा जस्तो, कहिले ताराहरु जस्तो, कहिले पुतली र भँवराहरु जस्तो, कहिले कमिलाहरु जस्तो भएर त कहिले मौरीहरु जस्तो भएर आफुलाई परिश्रमी बनाउन खोजिरहन्छन । यद्यपि केहि निराशाका गन्धहरु देखापरेता पनि जीवनमा आत्मसन्तुष्टि तदसम्म हुदैन जबसम्म प्रेम, करुणा र दयालाई नजिकवाट मान्छेले स्पर्श गर्न सक्तैन भनेर सकारात्मक पनि हुनुभएको पाइन्छ ।

बास्तवमा असिमित अनुभवहरुको ‘मोन्टाज’ हो, जिन्दगी । ‘पुराना मानिसहरु‘ मा पाएको सुन्दर जीवन पाउन खोजिरहेको हो की जस्तो लाग्ने एउटा हरफ — ‘पुरानो गोरेटो र पुरानो श्यामस्वेत तस्विर‘ ले पाठकहरुलाई रमाउने बनाउन सक्ला तर जीवन भनेको अग्रगमन तिर लम्किने हो । हामीले नचाहेर पनि पाइला अगाडी त चाल्नै पर्छ । जीवनमा प्रसिद्ध कलाकार साहित्यकारहरुको कृति मार्फत जीवनलाई वुझन सहज भएको महसुस गरेको पाइन्छ । वहाँ गुल्जार देखि मार्लिन मुनरो सम्मलाई प्रेरकको रुपमा लिनु हुन्छ ।

‘एक अर्काको रुपको बयान गर्नु
यो मात्र प्रेम होइन’
भनेर असन्तुष्टि पोखिरहनु भएता पनि
‘म त भन्छु — चोखो प्रेमको कुनै मुल्य हुँदैन
हारेर हार्न सक्दैन प्रेम
मारेर मर्न सक्तैन साँचो प्रेम’

लेखिदिंदा क्लासिक प्रेमीको रुपमा आफुलाई प्रस्तुत गर्न चाहनु भएको आभाष हुन आउँछ । वहाँका कबिता ‘तय नगरेको निर्णय‘ पनि उत्तिकै प्रेमिल छ । मुर्दा शान्तिलाई त्यति रुचाउनु हुन्न तर पनि सपनाको नजिक पुग्न निदाइरहेको शहरमा आफुलाई जागो राख्ने प्रयत्न गरेको देखिन्छ । हामी हज्जारौं ‘मोफसलको बुथ्रे माइला’ हरु थातथलो छोडेर सपनालाई विपनामा परिणत गर्न खोज्दा खोज्दै सारा जीवन दुःखमा विताएर अन्यमा एक्लो भएको करुणामयी कथाहरु समावेश गरिएका छन् । जीवन चंग्गा हो — कसै न कसैको हातवाट नियन्त्रीत हुन्छ भनेर हामीले बुझिरहेको भएता पनि आफु स्वतन्त्र भएर माथि उडेको भ्रममा बाँचेको जिन्दगीको बारेमा कविता ‘गुड्डी‘ पनि यस ‘मोन्टाज’ मा समावेस छ । तर हामी नियन्त्रणवाट कसरी छुटकारा पाउने भन्ने विषयमा मौन पाइएको छ ।

‘अकाशको जुनसुकै कुनाबाट
जस्तो सुकै चम्किलो तारा उदाए पनि
माटोको गुरुत्वाकर्षण यति बलियो छ कि
एकदिन सवै झरेर जाने छन् एकै पलमा
र विलाउने छन् माटोमा ।’

उक्त पक्तिहरुले हामीलाई सफलताले आकाश छोएता पनि अन्ततः फर्किने गन्तव्य सवैको एउटै हो भनेर ध्यानाकार्षण गराउन खोजिएको छ ।

जनताका पक्षमा बैज्ञानिक विचार बोकेर अघिबढेको अन्दोलन वा क्रान्ती मात्र ‘परिवर्तनका संवाहक’ हुन्छन् अन्यथा त्यो दलालहरुको अपराधिक गतिविधि भन्दा अरु केहि हुन सक्तैन भनेर जिकिर गरेका छन् भने ‘अब्सालोम’हरु जस्तै क्षणिक स्वार्थपूर्तिको निमित्त अप्राकृतिक अनि अनैतिक सम्वन्ध राख्ने, गैरकानूनी गतिविधिहरुलाई स्थापित गरेर अख्तीयारको दुरुपयोग गरि मातृभूमिलाई अन्तर्घात गरेर सामाजिक तथा राजनितिक ‘दुर्गन्ध‘ फैलाउने अपराधीहरु विरुद्ध भिषण आवाज उठाउने प्रयास गर्दै ‘इच्छाशक्ति‘ मा अगाडी लेख्नु हुन्छ —

‘म भित्र विशाल आँधीहुरी छ
एक तीब्र बेग नियन्त्रण भन्दा वाहिर
अशुद्ध इच्छासंग पराजित मेरा विचार
अङ्गका अभिलाषालाई सक्तैन गर्न इन्कार। ‘

उक्त पंक्तिहरु आइरहँदा राज्यको दीर्घकालीन योजना लगायत मार्गदर्शन तथा दिशानिर्देषको अभाबका कारण आकाश भन्दा अग्लो सपनालाई काँधमा वोकेर पसिना रोप्न विदेश हिंडेका श्रमिकहरुको ‘निर्दोष सपनाको हत्या‘ गरेर कालो तुवाँलोमा मिसाइदिएका जस्ता तिता अनुभवहरुको संगालोले भरेर ‘मोन्टाज‘ लाई विट मार्नुभएको छ ।

‘ल्यान्डस्केप’ मेरो बुझाईमा खुला आँखाले देख्न सकिने प्राकृतिक, वास्तविक अनि यथार्थ दृष्टिकोण हो । यो खण्डमा कविका कविताहरुले जीवनको बारेमा त्यहि विषयहरुलाई उजागर गरेको छ ।

‘हो हामी टुक्रिएका छौं
बाबरचीका टुक्राहरु
मले भन्छ, म हुँ र मात्र म हुने छु
सग्लो अन्तिमसम्म
हामी सवैको मुक्तिको खोज वैयक्तिक मात्र पो हो कि !’

हामी उनीहरुको आवश्यकता अनुसार इच्छाएको आकारमा विभाजित गराइएका छौं । हामी आफुहरु माझमा नै हाम्रो अन्तरसम्वन्धमा द्धेष स्थापित गराएर हाम्रो आत्मविश्वासलाई जिर्ण बनाएर हामी माथि नै कालो राज गरिरहेका छन् र हामी चैं ‘आफैसँग हारेको मान्छे म’को वास्तावितामा वाँचिरहेका छौं ।

‘कतैवाट कसैले बोलाएर पूर्वीय बतास
उडाएर कतै लैजाओस्
मनलाई मनबाट अलि पर
स्पर्श हुन नसकेको दुनियाँवाट अलि पर
यसरी म फुत्किन चाहन्छु निस्सासिएर घेरिएको भिडबाट’

साँच्ची नै हामी नचाहेरै पनि पलायन हुन परिरहेको अवस्था छ तर हामी अँध्यारोलाई चिरेर उज्यालो ल्याउन ‘आगोको झिल्का’ हातमा बोकेर हिंडिरहेका मान्छे नै हौं । यो पलायनबादी सोंच नै अन्तिम विकल्प भने अवश्य पनि होइन । यसमा राज्यले हामीलाई लखेट्नुको अलवा अन्य योजना पनि त केहि तय भएको देखिंदैन भनेर आक्रोष जाहेर भएको छ । के साँच्चै नै देश ‘खण्डहर’ नै भएको हो त ? यसमा अलग अलग विषयहरु उजागर गरेर वहस गर्नपर्ने नै हुन्छ । बन्द कोठा भित्र अर्थात चारदिवाल भित्र अनेकन विचारहरु जन्मन सक्छ र विचारहरु परिपक्क हुनपनि सक्छ जसको अर्थ यो होइन कि यो नै अन्तिम स्वतन्त्रता । विचारहरु अभ्यासको लागि जबसम्म तयार हुंदैन तबसम्म त्यो स्वतन्त्र होइन भनेर कविले जोड दिनुभएको पाइन्छ ।

‘म एक योद्धा उभिएको छु हिउँदको रणमैदानमा
म भित्र शक्ति पाउँछु र आफैलाई उत्साहित पार्छु’

भनेर उदघोष गरिनुले संघर्षको निमित्त स्वयं प्रेरित वा उत्साहित भएको देखिन्छ । यो नै संघर्षको पहिलो विन्दु हो । यहाँवाट नै हज्जारौं माइलको यात्रा गर्न सकिन्छ भनेर सकारात्मक विचारहरु राख्नु भएको छ । ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता‘ भनेर (क) र (ख) दुई वटा कविताहरु एस संग्रह शिर्षकको रुपमा पस्कनु भएको छ ।

‘ओहो ! त्यो भाँच्चिएको तस्बिर र झरेको पात
मुर्दा रुखहरुका टुप्पामा झुन्डिएका मुर्दा पत्थरहरु
किचेर नाङ्गा पैतलाले पतझडहरु
कर्‍याककुरुक कराउँछ’

उक्त हरफहरु पहिलोमा समाबेस गरिएको छ भने अर्कोमा मौनतालाई स्पर्श गरेको पाइन्छ —

‘हामी हाम्रो भित्री आवाज छाम्दछौं
जहाँ विचार र भावनाहरु परस्पर व्याप्त संवाद गर्दछन्’

विभिन्न अभिव्यक्ति, भावना, विचार, आकार, सत्यता, आदिका हरेक केस्राहरुको प्रतिनिधित्व गर्ने हेतुले अन्तिम खण्ड ‘पोर्टेट’ मा अर्थपुर्ण कविताहरुलाई क्रमबद्ध गर्नु भएको छ । यसमा शुरुमा आप्mनो विगतका प्रतिनिधि धारहरुलाई प्रस्तुत गर्नु भएको छ ।

‘आज सम्म
म त्यहि बाक्लो कुहिरो भित्र
एक्लो रुख भएर उभिएको छु
त्यही अदृष्य यात्रीको प्रतिक्षामा’

लेखेर आफ्नो दृढनिश्चय प्रस्तुत गरिरहँदा ‘पारिजात‘ लाई पनि सम्झन भ्याउनु भएको छ —

‘प्रिय !
अपराजितः पारिजात
म तिम्रो नजन्मिएको प्रेमी हुँ
मलाई तिम्रो आँसुको समुद्रमा डुब्न देउ’

यसमा खण्डमा प्रख्यात साहित्यकारहरुलाई सरल अनि सहि ढंगले पाठकहरु माझ पोर्टेट गरिदिन सफल हुनु भएको छ र अन्त्यमा आफ्ना प्यारी छोरी प्रति समर्पित हुँदै यसो लेख्नु हुन्छ —

‘हठात् मेरो गन्धको स्पर्शले
दिनको सुषुप्त उजेलीमा
लटकोसेरो मुस्कुराहट फैलिन्छ
जस्तो चिचिलाबाट कोपिला फुल्न खोजेझैं’

समग्रमा कवितासंग्रहले समाज परिवर्तनका लागि आन्दोलित हुन उत्साहित गरेको पाइन्छ भने आन्दोलन वा क्रान्ती मार्फत नै थिचिएका, दबिएका वा अन्यायमा पिल्सिएका पिडितहरुले न्याय प्राप्त गर्न सक्छन् भन्ने विस्वास लिइएको छ । मौनता भनिएता पनि वास्तवमा समाजका विकृतिहरु विरुद्ध भयङ्कर आक्रोस व्यक्त गरिएको यो ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता‘ पाठकहरुले पढ्न पाउनु भयो भने अवश्य पनि फरकपन पाउनु हुनेछ । पाठकको आआफ्नो रुचि र मूल्याङ्कन फरक फरक हुन सक्दछ त्यसमा भने दुइमत कदापी हुने छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!