“लाहुरेको रेलीमाई”माथि पाठक टिप्पणी : जानकारीमूलक ऐतिहासिक युद्धउपन्यास !

SHARE:


मास्टर मित्रसेन थापाले धेरैअघि गाउनुभएको “लाहुरेको रेलीमाई” बोलको लोकगीत कालजयी कर्णप्रिय छ । यही गीतको शीर्षकमा युद्धउपन्यास प्रकाशित छ । यसका लेखक हुन्, ब्रिटिस गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त विजय हितान । ग्रिनविच विश्वविद्यालय (युके )बाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हितान फोक्सटन, केन्ट, युकेमा बसोबास गर्छन् । र, बेलायतको वातावरणीय संस्थानमा कार्यरत छन् । उनले पर्या-साहित्य सिर्जनामा विशेष पहिचान बनाएका छन् । कथा, कविता, नाटक र निबन्धका एक दर्जन पुस्तक लेखेका सुयोग्य लेखक हितानको यो पहिलो आख्यान हो । साङ्ग्रिला मिडिया ग्रुप प्रालि काठमाडौंले २०७९ चैतमा पहिलोपटक प्रकाशनमा ल्याएको ३९० पृष्ठको यो कृति अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ को विजेता पनि हो । यो उपन्यास मैले हालैमात्र उपलब्ध गर्नसकें र रुचिपूर्वक अद्योपान्त पढें ।

मास्टर मित्रसेनको जीवनगाथामा यो लेखन आधारित छ । भाग्सु (भारत) निवासी मित्रसेन भारतीय गोरखा लाहुरे थिए । उनी प्रथम विश्वयुद्धमा बेलायतको पक्षबाट लड्न हिन्दुस्थानबाट युरोप र मेसोपोटामियासम्म पुगे । सन् १९१४ अगस्त १ मा भाग्सु धर्मशाला छाउनीबाट प्रस्थान गर्दा उनी १८ वर्षे ठिटो थिए । भाग्सुबाट पठानकोट, अमृतसर, बम्बै, इजिप्टको स्वेज नहर हुदै फ्रान्सको मार्सेर बेल्जियमको सिमाना क्षेत्रतिरको यात्रामा भ‍ोग्नुपरेका अनेकौं कठिनाइका घटना लाहुरे भाकामा बयान गरिएको छ । सात लाख सैनिक भएको जर्मनीले बेलायती भूभाग कब्जा गर्न अघिबढेरहेकोमा तिनलाई परास्त गर्न गोर्खाली फौज खटिएको थियो । पानीजहाजको लामो यात्रामा भोग्नुपरेका अनेकौं समस्या बयान गरिएका छन् । लाहुरेका शाहसिक हिम्मत र बहुकलाको सर्वत्र चर्चा छ । मित्रसेनले युद्धमा सिग्नलर अर्थात् सन्देश आदानप्रदान गर्ने महत्त्वपूर्ण कर्तव्य निर्वाह गरेका थिए । तर, त्यसको कदर नगरिएकोमा चित्त दुखाएका छन् । अनेकौं जोखिम पार गर्दै ट्रेन्चमा जीवन बिताएका घटना पढ्दा जीउनै सिरिङ्ग हुन्छ । लडाइँमा हिंडेका सेनाले मौका परेको समयमा रमाइलो पनि गरेका छन् । बेल्जियम बस्तीमा पुग्दा “लाहुरेको रेलिमाई फेसनै राम्रो . ” गीत (मित्रसेनरचित ) सबैले सुन्ने गरी दोहोर्याई-तेहेर्याई गाएर रमाएका छन् । ९ मे १९१५ मा फेस्तुबर्तमा गोलाबारुदको मारमा परेर खुट्टामा चोट लाग्दा घाइते भए । केही दिन अस्पताल भर्ना भएर उपचारपछि पल्टनमा फर्के । २५ नोभेम्बर १९१५ मा माजिङ्हममा भव्य परेड भयो । सो निरीक्षण गर्न ब्रिटिस सम्राट् जर्ज पाँचौ सवारी होइबक्सेको थियो । सम्राट्ले सम्बोधनको क्रममा गोर्खाली सेनाका बहादुरीपूर्ण कार्यबाट आफ्नो साम्राज्यको सार्वभौमसत्ता र अस्तित्व जोगिन र यसको विस्तारमा अविरस्मरणीय देन रहेको उल्लेख गरिबक्सियो । प्रथम भीसी विजेता कुलवीरलाई बेलायती सरकार र बेलायती जनताको तर्फबाट बधाई ज्ञापन गरिबक्सियो। बागदाद कब्जापछि पल्टनलाई इजिप्ट फोर्सको हिस्सा बनाएर प्यालेस्टाइन लगियो । ११ नोभेम्बर १९१८ मा फ्रान्सको कोम्पियन शहरमा जर्मनी र बेलायतबीच सन्धि भएपश्चात् युद्धविराम भयो । फौज बासराबाट बम्बै हुदै साविकको छाउनी भाग्सु धर्मशाला फर्क्यो , धेरै मित्रहरूलाई गुमाएर । सेना कटौतीका कारण मित्रसेनले ७ वर्ष २११ दिन मात्र काम गरेर सिपाही पदबाट निवृत्त हुनुपर्यो। उनले अवकाशपत्र (लालबुक)लाई मानवहत्या गरेबापत दिइएको प्रशंसापत्र ठानेका छन् । यस्तो महायुद्ध फेरि कहिल्यै लड्न नपरोस् भन्ने कामना पनि गरे । अनि शेष जीवन गोर्खाली समाजको सेवा गर्दै बिताउने अठोट लिए । दोकान चलाउने र गीत भजन गाउन थाले। नाटक लेखे, खेले । आफ्नो पुर्खाको थलो बागलुङ, राखुपुल्लामा सन् १९३२ मा भ्रमण गरी भाइखलक (थापामगर) लाई भेटे । मे १९३७ मा सांस्कृतिक टोली लिएर काठमाडौं आए । रत्नदास प्रकाशसंग मिलेर गीत गाए । युवराजा महेन्द्रको जन्मदिनमा राजदरबारमा गीत गाउदा राजा त्रिभुवनबाट राम्रै बक्सिस पाए । त्यस्तै, श्री ३ जुद्धशमशेरको नातिको पास्नीमा जाउलाखेल दरबारमा निम्ताइएकामा गएर नेपाली झ्याउरे भाकाका गीत र भजन गाए । श्री ३ जुद्धले “तिमी त आशु कलाकार” रहेछ्यौ भन्ने प्रशंसा गर्दै बक्सिस प्रदान गरिबक्सियो । साथै , “नेपालको कुनै पनि कुनामा गएर नेपाली सङ्गीत प्रस्तुत गर्ने र तिनलाई भारतमा रेकर्ड गर्न पाउने लालमोहर बक्सियो ।” मित्रसेन सत्सङ्ममा ठाउँठाउँमा पुगे ।

यो किताब पढ्न सुरु गर्दादेखि नै रोचक लाग्यो । अनि, सम्पूर्ण पाना मात्र होइन, शब्द -शब्द अध्ययन गरें प्रतियोगितात्मक परीक्षामा सामेल उम्मेदवारलेजस्तै । कतिपय महत्त्वपूर्ण वाक्यांशमा रातो कलमले चिन्ह लगाएको छु, भविष्यमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न । नढाँटिकन भन्छु, यो अनुपम आख्यान हो प्रथम विश्वयुद्धमा गोर्खाली फौजको संलग्नता र मित्रसेनको सहभागिताबारे यथार्थ किसिमबाट विस्तृतमा उल्लेख गरिएको ! साँच्चै तपाईँले “मित्रसेनको जीवनीमा विद्यावारिधि” गर्नुभएको अनुभूति गर्नुभए स्वाभाविक मानिनेछ । मैले समीक्षात्मक दृष्टिकोणबाट उल्लिखित टिप्पणी गरेेको होइन, एउटा सामान्य पाठकको आँखाले देखेको कुरा लेखेको ! आगामी दिनमा हितानजीद्वारा झन् सुन्दर कृति सिर्जना गर्नुभएको हेर्न, पढ्न उत्सुक छु ।

लेखक विजय हितानले मित्रसेनको सम्बन्धमा गहिरो अध्ययन, अनुसन्धानपश्चात् यो कृति सिर्जना गरेका छन्, डायरीको स्वरुपमा, रोचक शैलीमा । यसक्रममा, प्रथम विश्वयुद्धमा गोर्खालीसम्बद्ध युद्धस्मारक, सङ्ग्रहालयको अवलोकन गरे । छ वर्षको मिहिनेत लगाएर तयार पारिएको यो ग्रन्थ मित्रसेनको बारेमा जानकारी राख्न मात्रै होइन प्रथम विश्वयुद्धमा सैन्य परिचालनको ब्यवस्था थाहा पाउन पनि उपयोगी दस्तावेज ठहरिने छ । यद्यपि मित्रसेनको अन्तिम अवस्थाबारे खुलाइएको छैन । यस्तो अनुसन्धानमूलक उपयोगी दस्तावेज तयार गरेकोमा लेखक विजय हितान निश्चय नै प्रशंसा र धन्यवादको पात्र ठहरिएका छन् । साधुवाद! जय होस् ।

  • विदुर केसी 

२०८२ साउन ६ मङ्लबार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!