
स्वर्ग र नर्कको अस्तित्व नस्वीकार्ने व्यक्ति (नास्तिक)ले कहाँको स्वर्ग र के सेवा गर्ने होला भन्ने सोचेर दिग्भ्रमित हुनेछन् । लेखक स्वयंले उल्लेख गरेका छन्, “स्वर्ग र नर्क हाम्रै हातको खेल पो रहेछ ।” पुस्तकको उपशीर्षकमा “प्रकृति रक्षाको साहसिक कथा” लेखिएकोले यसमा प्रकृतिप्रेमका कुरा हुनसक्ने अनुमान गरिन्छ । चर्चित पुस्तकका लेखक हुन्, बाबुकृष्ण कार्की । उनले नेपाली सेनाको बाहिनीपति (सहायकरथी)बाट अवकाशप्राप्त हार्डकोर राष्ट्रवादी तथा प्रकृति संरक्षणको क्षेत्रमा अनुभवी विज्ञ व्यक्तिको छवि स्थापित गरेका छन् ।
सेना सङ्गठनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको निर्देशकको समेत जिम्मेवारी सम्हालेको अनुभव छ । आफूलाई “बाघ गोठालो” भन्न रुचाउँछन् । साथै, “स्वर्गको पहरेदार” पनि बताउँछन् । विभिन्न ओहदामा ३४ वर्ष लामो सैनिक सेवापछि कलम र ज्ञानको प्रवाहबाट प्रकृति संरक्षण र कल्याणका लागि उत्सर्गित छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वपूर्ण संस्थाहरूमा संलग्न छन् । दिनहुँजसो सुन्दर कविता सामाजिक सञ्जालमा सम्प्रेषण गर्दै साहित्यिक प्रतिभा प्रस्फुटन गर्न पनि पछि परेका छैनन् ।
उनको अनुभवजन्य संस्मरणमा आधारित प्रस्तुत पुस्तक स्कुल अफ लिडर्स प्रालि टोखा ३,काठमाडौंले पहिलोपटक २०७८ फागुनमा प्रकाशित गरेको हो । यसको चर्चा सुनेकोले पुस्तक पसलमा खोजी गर्दा हालै प्राप्त गरें । ठूलै आकार अर्थात् ४०२ + (तस्बिरहरू) पृष्ठ ओगटेको पुस्तक रुचिपूर्वक दुई दिनमा पढिसकें । उनले यसलाई “एउटा पहरेदार सिपाहीको आरोह-अवरोहको फेहरिस्त र आत्मकथा” भनेका छन् । उनको अनुभूति छ, “जब मैले प्रकृति बुझें म प्रकृतिको भक्त भएँ ।” उनले स्पष्ट गरेका छन्, “स्वर्ग सफा हुन्छ । सुन्दर हुन्छ । स्वर्गमा शान्ति, उमङ्ग र खुसी हुन्छ । नेपाल परापूर्वदेखि प्राकृतिक स्वर्ग हो । यो प्रकृति मासेनौं र बिगारेनौं भने नेपाल अनन्तकालसम्म स्वर्ग रहिरहने छ ।” उनले काम गरेको बर्दिया राष्ट्रिय निकुञ्जलाई स्वर्गको उपमा दिएका छन् । सो निकुञ्जको फिल्डमा २०५६ सालदेखि सेवा गरे । “त्यो सुन्दर स्वर्गको २८ महिना अविच्छिन्न सेवा गर्न पाउने म एकमात्र भाग्यमानी रेञ्जर हुँ” भनेर गौरव गरेका छन् ।
प्रकृति संरक्षणप्रति सकारात्मक सोच र दृष्टिकोण आर्जन गरेको उल्लेख गरेका छन् । “बर्दिया राष्ट्रिय निकुञ्ज स्वर्गको टुक्राजस्तो लागेको” अनुभूति प्रकट गरेका छन् । “स्वर्गभन्दा सुन्दर बर्दिया राष्ट्रिय निकुञ्जप्रति आजीवन कृतज्ञ रहिरहने” सङ्कल्प गरेका छन् । यथार्थमा, बर्दिया राष्ट्रिय निकुञ्जमा व्याप्त अस्तव्यस्ततालाई नियन्त्रण गरी सुधार ल्याउन र यसलाई एउटा नमुना निकुञ्ज बनाउने पुनित उद्देश्य बोकेर आफू हाजिर भएको जनाएका छन् । अन्तत: यो “मिसन”मा सफलता हासिल गरेको बुझ्न सकिन्छ । उनले आफूलाई रेञ्जर”को संज्ञा पनि दिएका छन् । “२०५५ सालदेखि २०७५ सालसम्म प्रकृति संरक्षणको सेरोफेरोमा रहें” भनेका छन् ।
“संरक्षणप्रेमी स्वर्गवासी राजा (श्री ५ वीरेन्द्र)को दिवङ्गत आत्माको चिरशान्तिका लागि, प्रकृति संरक्षणका खातिर आफ्ना जिउ-ज्यान दिने स्थानीय नागरिकहरूप्रति तथा प्रकृति संरक्षणका खातिर ज्यानको आहुति दिने सम्पूर्ण संरक्षणकर्मी सहिदहरूप्रति” यो कृति समर्पण गरिएको छ । साथै, “रक्षा-सेवा- कल्याण प्रकृतिको” भनेर प्रत्यक्ष- अप्रत्यक्ष सेवा गर्नुहुने सम्पूर्ण प्रकृति एवम् वातावरणप्रेमी संरक्षणकर्मीहरूको योगदान, समर्पण त्यागको सम्मानमा” छुट्टै पृष्ठमा “सम्मान”अर्पण गरिएको छ । अन्य पुस्तकमा यस्तो छापिएको देखेको थिइनँ । “मेरो भन्नु” (२ पृष्ठ) “आभार” (करिब पौने ४ पृष्ठ)सहित ४३ शीर्षकमा आफ्ना-कथा र व्यथा प्रकट गरिएका छन् । पुस्तकप्रति कसैको मन्तव्य वा शुभकामना अङ्कित गरिएको छैन ।
लेखनशैली आकर्षक र कवितात्मक छ । पढ्दा रमाइलो लाग्छ । “स्वर्गमा पहिलो पाइला”, “नेगेटिभ नेगेटिभ पोजिटिभ”, “कुरीकुरी लाज” “स्वाभिमानको पाठशाला” आदि शीर्षकका परिच्छेदमा लेखक अलि बढी दार्शनिक तथा कल्पनामा डुबेको भान हुन्छ । यद्यपि, “प्रकृति संरक्षणको जिम्मेवारीलई समयानुकूल, चुस्त, दुरुस्त र प्रभावकारी बनाउन विलम्ब भइसकेको थियो” भन्दै संरक्षणको विश्वव्यापी मोडल अनुकरण एवम् सैनिक कलालाई प्रकृति शिक्षासँग संयोजनसहित सकारात्मक परिवर्तनको परिणाम प्रस्तुत गर्न सफल भएका छन् । यसका लागि उनले “ज्ञान, पहल र साहस”को प्रयोगसहित उपयुक्त रणनीति, कठिन परिश्रम र दु:ख-कष्ट भोग्नु परेको अवगत हुन्छ । तथापि, आफ्ना सहकर्मी (टिम)लाई समुचित हौसला प्रदान गरी परिचालन गर्न पछिपरेनन् । लेखेका छन्,”बर्दिया राष्ट्रिय निकुञ्जलाई हामीले रामराज्य बनायौं ।” त्यहाँको बसाइँ र सेवालाई आफ्नो जीवनका अविस्मरणीय क्षण भएर अमीट जरो गाडेर बसेको अनुभूति गरिरहेका छन् । ठूलो क्षेत्रफल ओगटेको बर्दिया राष्ट्रिय निकुञ्जको “जल्दोबल्दो कमान्डर” सावित गरेका छन् ।
संरक्षणकर्मीलाई अनुशासन र आचारसंहिताको पाठ सिकाए । सक्षम र जवाफदेही कमान्डरको भूमिकामा अब्बल ठहरिए । उनी कतिसम्म कठोर थिए भने ठाकुरद्वारा क्याम्पमा पुगेका मन्त्रीले सुकुटी माग गर्दा पूरा गरिदिएनन् । आफ्ना हाकिमले बाघको छाला माग गर्दा इन्कार गरे । भिआइपीले १ पाउ यार्चागुम्बा याचना गर्दा दया गरेनन् । राजपरिवारका एक सदस्य (सानो राजा)ले एउटा भाले चित्तल सिकार गर्न खोज्दा रोके । राजाहरूका भ्रमण र बसाइँलाई राम्रो आतिथ्य सत्कार गरी प्रभाव पारे । पाटे बाघलई स्वाभिमानको गुरु माने । बाघ र गैंडाको संरक्षण तथा सङ्ख्या बढाउन विशेष ध्यान दिए । प्रकृति संरक्षण राष्ट्रिय सङ्कल्प र अन्तर्राष्ट्रिय नारा भएको पृष्ठभूमिमा सुधारका लागि व्यावहारिक सुझाव दिएका छन् ।
समग्रमा, प्रकृति संरक्षणको क्षेत्रमा ज्यादै रोचक किसिमबाट अभिलिखित यो पुस्तक सूचनामूलक, शिक्षाप्रद र उपयोगी दस्तावेज ठहरिन्छ । यति सुन्दर कृतिका सर्जक बाबुकृष्ण कार्की निश्चय नै प्रशंसा र बधाईका पात्र मानिन्छन् । तथापि, कृतिको प्रस्तुतिमा केही कमजोरी महसुस गरिन्छ । एउटै विषयलाई धेरै ठाउँमा उल्लेख गरिएको, दोहोर्याइएका पाइन्छन् । सिलसिला नमिलेको पनि बोध हुन्छ । प्रकृति रक्षासम्बन्धी विषयबाहेकका अरू विषयहरू पनि यसमा समावेश गरेर पुस्तकको आकार बढाइएको छ । ती कुरा लेखकको आत्मकथा वा संस्मरणको छुट्टै ठेलीमा राखेको भए आकर्षक मानिने थियो ।
अन्त्यमा सदैव सकृय तथा उत्साही “हार्डकोर सैनिक” एवम् “हार्डकोर राष्ट्रवादी नागरिक” बाबुकृष्ण कार्कीको कलम अझ तिखारिएर, सशक्त भएर अरू (थप) सन्तान (सुपठनीय पुस्तक) सिर्जना भएको हेर्न, देख्न र पढ्न पाइयोस् । सर्जक महोदयको निरन्तर उन्नयनका लागि हार्दिक मङ्गलमय शुभेच्छा अर्पण । जय होस् !
एक मामुली पाठक : विदुर केसी, नागार्जुन १० स्युचाटार, (कलङ्कीपश्चिम) काठमाडौं
२०८२ साउन ८ बुधबार






