जब म भुलेर आफूलाई
हराउन थाल्छु अवचेतनतिर
मलाई फूल मनपर्छ बहार मनपर्छ
वनजङ्गल मनपर्छ चराहरू मनपर्छ
आकाश मनपर्छ ताराहरू मनपर्छ
सबैभन्दा बढी मलाई जून मनपर्छ ।
एक दिन
तिमी युद्धमा गइरहेको निराश रात
मैले मौनतालाई जूनको कथा सोधेँ
हररात शीतका थोपाहरूमा रुने जून
हरवियोगमा सबैको प्रिय हुने जून
अँध्याराले प्रताडित रहिछन्
अँध्याराभित्र सङ्घर्षशील रहिछन्
त्यसैले नै मलाई जून मनपर्छ ।
निक्कै पछि
यस्तो लाग्न थालेको छ
जून मनपर्नु भ्रम रहेछ सायद
विचारको आकाशमा आशाको जून टाँसेर
खुसीको ब्रह्माण्ड बनाउन खोज्नु भ्रम रहेछ
आज म दिलको सारस्वत शपथ खाएर
दिमागको इजलासअघि उभिएको छु
मैले जून मनपराउनु अपराध साबित भए
म अनुभूतिको कारावास बस्न मन्जुर भएको छु ।
अक्सर छाडेर जीवनको सम्पूर्णता
चुपचाप बटुलेर आकाशको नीलिमा
तिम्रै यादको कोलाहलबाट भाग्नलाई
अचेल म जूनको नीरवतातिर लुक्न आउँछु
औँलाले छोएर तिम्रै प्रेमिल स्पर्शको ढुङ्गा–माटो
जुनेलीमा शक्तिपीठ हेर्छु पाथीभरा कुम्भकर्ण
जसको न कुनै भूत छ न त कुनै भविष्य नै छ
लाग्छ हाम्रो सम्बन्ध कुम्भकर्ण हुन सक्दैन
अरुण तमोर पनि हुन सक्दैन
एक दिन भूत भएर जानु निश्चित छ ।
मलाई थाहा छ
मृत्यु जीवनको बजार–भाउ बुझ्न आएको छैन
यद्यपि जीवन र सम्बन्धको निश्चित दूरी हुन्छ
जो म भोग्दछु त्यो लेख्न सक्दिनँ
जो म लेख्दछु त्यो जीवनको यथार्थ होइन
तिमी मनमा मोहको आँधी बनेर आउँछौ
प्रेमले समाउँछौ उडाउँछौ धेरै परपरसम्म
जहाँ टेक्ने ठाउँ र उभिने संरचना हुँदैन
म आफैँदेखि अतालिन्छु कहालिन्छु
भाग्न चाहन्छु आफैँबाट तिम्रो सामीप्यबाट
भाग्न चाहन्छु समाजबाट उज्यालोबाट
त्यसैले त मलाई जून मनपर्छ ।






