प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रहः एक पठनाभूति 

SHARE:

दलबहादुर गुरुङ – साउन २०८२, बुटवल, नेपाल

सात सय ५० मूल्य पर्ने ‘प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रह’, हिमालय बुक हाउस,बुटवलका सञ्चालक माधव गौतमले छ सय ७५ रुप्पे नगदमा दिए । मैले छोरोसँगै पुस्तक किन्दाको एउटा फोटो झ्याप्पै खिचेर आफ्नो फेसबुकवालमा पोष्ट्याइ हाले । त्यो कुरो २०८२ साल असार २२ गते,आइतवार,साँझ ६ बजेतिरको हो । घरमा आएपछि एक दुई अध्याय पढें । फुर्सद हुँदा दुई,चार पाना पल्टाउँदै गएँ । तर, एकोहोरो नपढ्दा धीतै मरेन । अनि असार ३१ गते,मंगलवारको विहान ९ बजे मोबाईललाई अफ गरेपछि नारिएँ पढ्न । साँझको पाँच बज्नै आँट्दा प्रकाशकीय,सम्पादकीय र निबन्ध क्रमबाहेकको चार सय ८१ पृष्ठ पढेर तुरिए छ । निरन्तर ८ घण्टाको अविश्राम अध्ययनले नेपालको पहिलो पर्या निबन्ध सङ्ग्रह, पानापाना पल्टाउँदै गर्दा खुसीले बुर्कुसी मारिरह्यो । बुटवलमा बस्दै गरेको मान्छे म,पूर्वतिर लागेको भए–पुग्थें हुँला आठ घण्टामा संघीय राजधानी काठमाडौंको धूलो खान !  उत्तरतिर हेलिएको भए,पोखराको फेवातालमा डुङ्गा खेल्न पुग्थें । पश्चिमतर्फ हान्निएको भए बाँके,बर्दिया राष्ट्रिय निकुञ्जतिर बाघ हेर्न भ्याउँथें हुँला । दक्षिण भारततिर लागेको भए, सुनौली,गोरखपुरहुँदै बनारसतिर पुग्थें कि गोबरको थुप्रो कुच्न !

डाक्टर गोविन्दराज भट्टराई र विजय हितानको सम्पादन र साहित्यपोष्टको प्रकाशन रहेको उक्त खँदिलो, पठनीय, सङ्ग्रहणीय र हितकर पुस्तक पढ्दाको पठन अनुभूति लेख्न पाउँदा चङ्गाजस्तै मन उडिरहेको छ । पुस्तक पढिरहँदा मनमा अनेक तर्कना खेले । डा.गीता त्रिपाठी,महेश पौड्याल र भूपेन्द्र खड्का निर्णायक भएर पर्या निबन्धको छनौट र पुरस्कारका लागि सिफारिस गरेका रहेछन् । देशभरिबाट एकसय आठ वटा पर्या निबन्ध (संयोग पनि कस्तो ? एक सय आठ धारा,एक सय आठ वरपीपल चौपारी) प्राप्त भएकोमा ३२ वटा निबन्धले यो पुस्तकमा छापिने अवसर प्राप्त गरेका छन् । तीन वटा निबन्धले प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरी बाक्लै पुरस्कार हात पारेको खबरले मनै फुरुङ्ग भो । बाँकी २९ वटा निबन्धले मसी खर्च पाएका रहेछन् । उनीहरुका रचना पनि कम्तिका थिएनन् । कुनैकुनै निबन्धले त पुरस्कृत निबन्धलाई नै चुनौती दिएका थिए ।

निबन्धका आफ्नै नियम,सीमा,परिधि छन् । कति निबन्धहरु तिनै साँचामा परेनन् होला र पुरस्कृत हुनबाट बञ्चित भएको हुनुपर्छ । यी सबै कुरा,निबन्धहरु पढेर,मनमा गुनेर,बुझेर नै भनेको हुँ । निबन्धकारहरु र निर्णायकहरुमाथि मेरो कुनै गुनासो र गन्थन पनि छैन । कच्चा निबन्धहरु पढ्नु,त्यसलाई बुझ्नु र निर्णयको तराजुमा राखेर जोख्ने काम सामान्य ठान्दिनँ म । नेपालमा पहिलो पटक प्रकाशित पर्या निबन्धले वन, वातावरण र जैविक विविधताका साथै पर्यासाहित्य बुझ्न इच्छुकहरुलाई भरेङको काम गर्नेछ । यही भरेङ चढेर नेपाललगायत सिंगो विश्वको पर्यावरण र पर्याजगतलाई नियाल्न सक्नेछन् । यो नै यो पुस्तकको गाँठी कुरो हो ।

पर्याजगतलाई निबन्धको घेरोभित्रमात्र तौलिनु र जोखिनु पनि न्यायपूर्ण हुँदैन । यसका विराटरुपलाई साहित्यका विविध विधाहरुमा समाहित गर्दै लैजानुपर्ने आजको आवश्यकता हो । यो एउटा पहिलो अभ्यास र प्रयासलाई हामीले स्वीकार्नुको विकल्प छैन । धेरैले जानेको तर नबुझेको विषय नै पर्यावरण हो । यसलाई भुइँमान्छेसम्म पुराउनका लागि पर्यासाहित्यको माध्यम सहज र सरल हुन सक्ने कुरामा दुईमत छैन । त्यसका लागि साहित्यपोष्टको योगदान अतुलनीय छ । जसले पर्यासाहित्यलाई आफ्नो अनलाईनमा प्राथमिकता र प्रोत्साहन दिइरह्यो । पर्यासाहित्यमा कलम चलाउन उत्प्रेरित र पुरस्कृत गरिरह्यो । यो नै उत्तम कर्म हो ।

पृथ्वीको तापमान बढिरह्यो । खरानीजस्ता हिमालहरु अङ्गारजस्ता भए । हिमतालहरु फुट्न थाले । भौतिक र मानवीय क्षति ब्यहोर्नुपर्ने अवस्था आइरहेका छन् । वनजंगलमा बाघ,भालु,स्याल,दुम्सी,बंदेलको रजाइँ चल्न थालेपछि वनका छिमेकी मान्छेहरु त्रहीमाम भए । अन्न, भकारीमा हाल्ने सपनाहरु तुहिए । बाँदरले बसिखान दिएन । मकै लगाउँदा उसैको हित,केरा लगायो उसैलाई पाहुर । कसौंडीको भात बोकेर कटहरको रुखमा भान्सा गर्ने उही बाँदर । बाँदरलाई वनमा बस्न नदिनका लागि दोलखा,कालिञ्चोक वडा नं. ८ ले वन मास्न गरेको निर्णयलाई २०७९ माघ २७ गते सम्मानित अदालतले रोक लगाएको कुरा निबन्धकार विश्वनाथ रिजालले आफ्नो निबन्ध ‘प्रकृतिमा बाँदर र मानवको सहअस्तित्व’मा लेखेका छन् । वनमा डढेलो लाएर बसी नसक्नू । खोलाका छेउमा दिसापिसाव गरेर सत्यानाश । पिउने पानी,छुनै घीन लाग्दो । वन मासिएर गाउँतिर आएको हो कि घरचाँहि वनतिर लागेको हो पत्तै पाउन कठिन भएको कुरा कितावमा प्रशस्तै पढ्न पाइन्छन् ।

वन,वातावरण र जैविक विविधता जोगाउने कुरा तारे होटलमा हुन्छन् तर तारेभीरमा डोजरले बिनामेसै खनेर ताक्लु बनाउँदा कसले रोक्ने ? दीलिप वान्तवाले बिराटनगरदेखि काठमाडौं हवाइजहाज चढेर जाँदा डाँडाकाँडाहरु चोटग्रस्त देख्छन् । नखोस्रेका कुनै डाँडाकाँडाहरु भेटाउँदैनन् । जताततै किरिङमिरिङ देखिने धर्र्साेजस्तै बाटाहरु खनिएका र तिनले राम्रैगरी भूक्षय गराएका दृश्यहरु प्रष्टै देखेको आफ्नो निबन्ध ‘सांखामचुली,गिद्ध  टेम्के’मा लेखेका छन् । गंगटालेजस्तै खोला उधिनेर विपत्ता पार्दा रमिते छन् सबै । ठेकेदारको अघि कसले बोल्ने ? बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने कसले ? वन मासेर विकास ः डाँडो फाँडेर निकास खोज्ने नौलो आयाम ? जिम्मेवार निकाय,जिम्मेवार हुन नसकेको निबन्धकारहरुले लेखेका छन् तर उनीहरुका जिज्ञासा,प्रश्न र चासोको उत्तर कसले दिने ? यही छ अर्को प्रश्न । प्रश्नद्वारा परिवर्तन सम्भव छ तर समय लाग्न सक्छ,यो पुस्तकको एउटा सन्देश यो पनि हो ।

जन्मेदेखि मर्दापछिसम्म चाहिने यही वातावरण हो । तर दिनप्रतिदिन वातावरण प्रदूषित हुँदैछ । यसको कारण हजारौं मानिसहरु आज श्वासप्रश्वासका रोगी भएका छन् । ओखतीपानी गर्दागर्दै उठिबास भएका छन् । निरोगी कसरी हुने कुरा पहिलो सर्त हुनुपर्ने हो तर बिरामीको चाँखे थापेर बस्नेहरुलाई वातावरण प्रदूषण नै आम्दानीको गतिलो स्रोत बन्न पुगेको छ । यो कुरा पुस्तकमा उठेका छन् । चिन्ता छन् मस्तै । चिन्तन कमजोर ! विदेशमा बसेरपनि विजय हितानले नेपालको पर्यासाहित्यमा आफ्नो योगदान गरेकै छन् । डा.भट्टराईले चिन्तन गर्न छाडेका छैनन् । साहित्यपोष्टले आफ्नो भूमिकामा चर्को दावी पेश गरेकै छ । अब त केही हुन्छ कि भन्ने भरोसा जागेको छ । हिम्मत पलाएको छ । उत्साह जागृत भएको छ । आफ्नै आयूको लम्बाई बढ्ने कुरामा ढुक्क हुन मन लागेको छ ।

किन प्राथमिकतामा पर्दैन,पर्यावरण संरक्षणका कुरा, किन यथेष्ट बजेट छुट्टिनन् संरक्षणका लागि ? सरकार गठन हुँदा वन तथा वातावरण मन्त्रालय पार्टीका प्राथमिकतामा किन पर्दैनन् ? विनास नगरिकन विकास हुन्न भन्ने कस्तो भाष्य तयार हुँदैछ ? वातावरण हाम्रो सम्पत्ति हो भन्ने कुरा किन बुझ्दैनन् मानिसहरु ? वातावरण हामीले पाएको उपहार हो, भोलि हाम्रा सन्ततिहरुलाई फिर्ता गर्नुपर्छ भनेर किन बुझाउन सकेका छैनौं हामीले ? पाएकोभन्दा थपेर दिनुपर्ने कुरामा किन पाएजति सबै तुर्ने हो भन्ने गलत सोचाई मानिसमा हावी भयो ? किन बुझ्दैनन् र किन बुझाउन सम्भव भएन, संरक्षणका सवालहरु ?

बाग्मति मासिएपछि बुद्धि पलाएकाहरुले खर्वौं रुप्पे बाग्मति बचाउन खर्चिनु परेको कुरा किन बुझ्दैनन् ? कृषि इञ्जिनियर हुतराज वैद्यको नेतृत्वमा बाग्मति बचाउ अभियान चलेको सबैलाई थाहा भएकै विषय हो । उनले ‘बाग्मति बाँचिरहोस्’ नामक पुस्तक लेखेको छन् । बाग्मति बचाउनका लागि सरकारी,गैरसरकारी एवम् सचेत नागरिकहरुले गरेको हातेमालोका बारेमा कुमुद श्रेष्ठले ‘अब बाग्मति फेरि हाँस्छ’ निबन्धमा गजवले लेखेका छन् । मृत हुन गइरहेको तिनाउलाई जीवित र समृद्ध बनाउन किन बाग्मतिबाट पाठ सिक्न सकिदैन ? यी साझा सवालमा सचेत गराउने कुरा यो पुस्तकको अर्को बलियो पक्ष हो । यही विषयमा घनिभूतरुपले छलफल भइरहेका छन् ।

गाउँमा बाटाहरु पुग्न थालेपछि आस्थाका रुपमा रहेका वरपीपल चौपारीहरु नै नासिन थालेको कुरालाई बढो कलात्मक रुपमा पुरुषोत्तम दाहालले ‘अकाल मृत्युबाट बाँचेको वरपीपल’ निबन्धमा उल्लेख गरेका छन् । उनी लेख्छन्–कालो फोक्सो भएको ब्यक्तिको मन पनि त कालो हुन्छ । उनको निबन्धमा वरपीपलको महत्व,यसको ऐतिहासिकता, किंवदन्तिलाई मज्जाले केलाइएको छ । वरपीपललाई पुज्नेदेखि यसको हांगाविंगाहरुले उन्नत खेतीमा पार्ने असरका बारेमा समेत उल्लेख गरिएको छ । द्वन्द्वात्मक शैलीमा लेखिएको उक्त निबन्धले नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा दरार कसरी सिर्जना हुँदोरहेछ भनी सन्देश प्रवाह गरेको छ ।  बाटो फराकिलो पार्ने नाउँमा वरपीपल र चौतारा मासिए । चौतारा नासिएपछि सातु र सर्वत खुवाउने चलन नासियो । बैसाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गाउँका हजुरआमाहरु त्यी चौताराहरुमा बसेर बटुवाहरुलाई सातु,सर्वत खुवाउँथे । भोको पेटमा सातु र सर्वत अमृततुल्य हुन्थ्यो–अतीय सम्झिदै तारानिधि भट्टराईले ‘बालसखा गुमाउँदाको पीडामा’ मनै छुने तर विद्रुप पीडा लेखेका छन् ।

चराको चिन्ता गर्दै अनिता न्यौपाने आफ्नो निबन्ध ‘त्यसपछि चराहरु हराउने छन्’मा लेख्छिन्–हलबाट फिलिम हराएजस्तै,हातबाट घडी हराएजस्तै,दलिन वा काँधमा झुण्डिका रेडियो हराएजस्तै,गाउँबाट युवा हराएजस्तै र बाटोबाट चौतारो हराएजस्तै एक दिन यो सुन्दर संसारबाट चराहरु हराउने छन् ।  संसारलाई सुन्दर बनाइराख्ने चरा नै हो भन्ने उनको ठहर छ ।  पर्यावरण स्वच्छ रहेमा नै जैविक विविधता कायम रहने छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको संरक्षण हुन नसकेमा के हालत होला ? चराले चिनाएको नेपालको परिचय कहाँ रहला र ? आठ सय ९० प्रजातिका चरा पाइने नेपाल,यही चरा देखाएर पनि पालिन सक्छ । चरा पर्यटन सम्भव देख्छिन् उनी ।

कहिलेकाँही मनमा अनेक तर्कविर्तक खेल्छन् । चिन्ता,पीर हुन्छन् । यही वातावरणमा पाइने चराका संगीत सुनेर होस् वा नदीका कलकल आवाज सुनेर होस् वा पहाडमा सुसेलिने हावाले मनमा आनन्द आउन सक्छ । मनको थेरापी नै यही हुन सक्छ । प्रकृति रहे त हो नि संस्कृति जोगिने । संस्कार र सभ्यता अडिने । जवानीमा मोज गर्न नपाउँदा कुकुर पनि डिप्रेसनमा पर्न सक्ने कुरा ‘रोगी नबनाई राख्नुपर्छ’ शीर्षकको निबन्धमा अनिता पन्थी लेख्छिन् । सायद यो पृथ्वीमा रहने हरेक प्राणी,वनस्पतिका आफ्नै जीवनकला छन् । जीवनलीला छन् । मान्छेले आफूलाई सर्वोकृष्ट प्राणी आफैले ठान्यो तर प्रकृति र पर्यावरणको दोहोन गर्न छाडेको छैन । बुझेर पनि बुझ् पचाउने प्राणी नै मान्छे बन्दैछ । मान्छेले पर्याचक्रीय सन्तुलनमा हिमालको स्थान र योगदानलाई बुझेर अन्तर्राष्ट्रिय हिमाल वर्ष–२०२५ आरम्भ गरेको छ । बल्ल मानिसले म रहनुपर्छ भन्ने होस् चेत खोल्दैछ । आँखाले देखिने असरले नै मानिसलाई बुझ्न र बुझाउन बाध्य पार्दोरहेछ । यो कुरा ‘साझा घरको माया’मा दीपकप्रसाद ढकालले उल्लेख गरेका छन् ।

प्रथम भएको निबन्ध ‘प्रलयको आँधीबेहरी’ मा भवानी खतिवडा लेख्छिन्–नबिसौं,आफैभित्र कसिङ्गर पर्दा मात्र होइन, खुट्टामा चोट लागेपनि आँसु झार्ने आँखा नै हो । दुःखी हुँदा रुने पनि आँखै हो । खुसी हुँदा मुस्कुराउने पनि आँखै हो । हातको जीतमा रमाउने वा छालाको हारमा सुक्सुकाउने पनि आँखै हो । मान्छे यो धरतीको आँखा हो । उसैले नै यो धरतीलाई बचाउनुपर्छ । अप्ठ्यारो परिस्थितिबाट जोेगाउनु पर्छ । यो निबन्ध पढेपछि हामी मान्छेलाई पर्यावरण जोगाउने ठूलो जिम्मेवारीबोध हुन्छ । मान्छेमा भएको प्रकृतिप्रेमी भावनालाई उजागर गर्दै पर्यावरणलाई जोगाउने अभियानमा अग्रगामी रुपमा मान्छे नै लाग्नुपर्छ भन्ने सन्देश प्राप्त हुन्छ ।

पर्या–चेतको निम्ति अब बोध गर्नैपर्ने कुरा हो–मान्छेले परोक्ष साक्षात्कार गर्ने,देख्ने र भोग्ने ईश्वर वा ईश्वरीय रुपक नै प्रकृति हो । त्यो जल,जंगल एवम् जमिन हो । बौद्ध पर्या–चेतले आत्मशोषण अर्थात् आफ्नै आत्माको शोषणलाई समर्थन गर्दैन,यसको अर्थ स्रोतको संरक्षण भन्दै पानी नपिउने हठी हुनुपनि प्रकृति कै शत्रु बरोबर हो । त्यसैले प्रकृतिको  संरक्षणमा सबैलाई समाहित हुन अपील गरेका छन्–हरिबोल काफ्लेले आफ्नो द्वितीय भएको निबन्ध ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’ मार्फत् । त्यसैगरी तृतीय भएको निबन्ध ‘विकास ः प्राप्तिको श्रृंखला या पश्चातापको पुनर्बोध’ को सहारामा निबन्धकार गोविन्द गोपाल खतिवडा भन्छन्–धागोबाट छुट्टिएको चङ्गाको स्वतन्त्रता र प्रकृतिबाट पृथक् भएको मानवीय स्वतन्त्रतामा ज्यादा भिन्नता म देख्दिनँ । अझ् भनुँ,छैन पनि ।

सुघ्ने शक्तिमा मानिसभन्दा अफ्रिकी हात्ती,कुकुर,भालु र सार्क माछा ज्यादै शक्तिशाली हुन्छन् । मान्छेलेभन्दा आठ गुना टाढा हेर्न सक्छ चीलले । सुन्नमा चमेराको मानिसभन्दा दश गुना बढी क्षमता छ । यो कुरा ‘प्रकृति र मानिस’ शीर्षकको निबन्धमा रुपसिंह भण्डारीले बयान गरेका छन् । रुपा थापाले ‘माफीना’मार्फत् भन्छिन्–मान्छे एक अर्कासँग इतिहास भरि लडिरह्यो । लडाइँमा क्षेप्यास्त्र प्रहार भए र यो धरतीको वातावरणलाई अझै् खल्बलाई रहे । सायद बिनासकारी युद्धले नै प्रकृति र संस्कृतिलाई नामेट बनाउँदैछ । कुनै दिन धरतीमा धान,मकै र गहुँजस्ता अनाज उब्जन छाडे भने,फलफूल र तरकारी फल्न छाडे भने मान्छेले के खाएर बाँच्ला ! यतिसम्म चिन्ता गरेका कुमार काफ्लेले ।

जथाभावी जंगल मास्नु,ज्यामितीय अध्ययनबिना भीर भत्काउनु र खोला लयमा बग्न नदिनु ध्वंश हो । मान्छे प्रकृतिसँग जिस्किदा पृथ्वीको सुरबेसुर भएको छ । विश्व कार्बन उत्सर्जनमा नेपालको हिस्सा ०.०२७ प्रतिशत् छ । तर,असर भोग्नेमा नेपाल विश्वको १० औं स्थानमा रहेको कुरा सुनाउँदै थिए लक्ष्मण वियोगीले । यति भयाभव स्थिति कसरी आयो त ? गम्भीर भएर कसैले सोचेका छन् र ? धरतीको प्राकृतिक नियम बिग्रियो भने भविष्यमा मानव अस्तित्व नै संकटमा पर्ने देखेपछि हामीहरु जुरमुराएका हौं । हामी धरतीलाई हैन,जनावर,बोटबिरुवालाई हैन,आफूलाई बचाउन यो सबै नाटक गरिरहेका छौं । यही नाटकले गर्दा धरतीमा संकटको रातो बत्ती बल्न थालेको छ । यी कुरा राजु अधिकारीले ‘रातो बत्ती’ निबन्धमा विस्तृत बयान गरेका छन् । अत्यन्तै रोचक ढंगले आफ्नो प्रस्तुति दिएका छन् ।

जलवायु परिवर्तनको असरले नेपालका हिमाली क्षेत्रहरुका पर्यटन व्यवसायीहरु तथा पर्यटकहरुको संख्यामा व्यापक गिरावट आउने छ । भयंकर चुनौती थपिने छ । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो संकट निम्त्याउँदैछ । यो कुराको भविष्यवाणी कुनै ज्योतिषीले हैन राजेन्द्रमान डङ्गोलले गरेका छन् आफ्नो निबन्धमा । पर्यावरणीय नारीवादी आन्दोलन मार्फत् वृक्षरोपण गरेरै वातावरण जोगाउन सकिने दलील प्रस्तुत गरेकी छिन् प्रभा बरालले । पुँजीवादी विकार नै जलवायु परिवर्तनको मुद्दा रहेको उनको तर्क छ । ‘चिन्ताको चितामा जिउँदो चेतना लिएर जल्दा त भत्भती  पोल्दो रहेछ’  अनिता कोइरालाले भन्दैथिइन् । ‘बाह्र वर्षपछि पनि खोला फर्किएन भने ?’ के गर्ने भनेर ऋतेश गुरुङले देश,दुनियाँलाई गजवले प्रश्न सोधिरहेकै छन् । जल प्रदूषणबाट जोगिने कसरी ?,सोध्दैछिन् निबन्धकार कुञ्जदेवी उपाध्याय ।

मलाई त खोलामा लगाईका तटबन्धहरु खोलाका निम्ति हत्कडी हुन् । भेषराज बुढाथोकीको उक्त तर्कमा सहमति जनाउन मन लाग्यो । ‘मेरो अँधेरी खोला’ निबन्धमा दुर्गादेवी थापाले विगतलाई सम्झिएर विरहको गीत गाएकी छिन् । सन्तानलाई देखाउन पुग्दा त अँधेरी खोला भेटिनन् हिजोजस्तो । जतिसुकै ज्ञान,शिपर्शन र सिद्धान्तका बाह्रहाते गफ फलाके पनि जीवन भनेकै पानीले धानेको रैछ त नि ! बोमबहादुर थापाको यो चोपिलो वाक्यले पानीको महिमालाई प्रष्ट पारेको छ । पानी नै जिन्दगानी रहेछ ।

आमन्त्रित निबन्धकारका रुपमा आफूहरुलाई सहभागी गराएका छन्–डाक्टर गोविन्दराज भट्टराई,मनप्रसाद सुब्बा, प्रा.डा.विष्णु एस राई,ज्ञानबहादुर छेत्री,महेश पौड्याल र विजय हितानले । उनीहरुका निबन्धले सुनमा सुगन्ध छर्किएका छन् । पुस्तकलाई थप वजनदार र पठनीय बनाएको छ । सायद उनीहरुका निबन्ध, उदाहरणीय र सिकारुलाई मानक निबन्धका रुपमा प्रस्तुत भएका छन् ।

पुस्तक पढेर,अनुभूति लेखिरहँदा पहिलो पर्या निबन्ध सङ्ग्रहको निरन्तरता, पृष्ठपोषण, प्रतिक्रिया, सुझाव कस्तो आउला,जान्न मन लागिरहेको छ । पर्यासाहित्यिक विधामा अन्य के आउला भनेर जिज्ञासा जागिरहेको छ मनमा । हुन त यसका बारेमा विजय दाइले आफ्नो सम्पादकीयमा धेरै कुरा उल्लेख गरेकै छन् । सिंगो चीरफार त दाइकै सम्पादकीयमा नै छ । यो पुस्तक पढिसकेपछि मेरो मनमा अनेक सवालहरु उठे । ती सवालका जवाफ त कहाँ पाउँला र ? तैपनि यही पुस्तकमा एकोहोरो खोजिरहेको छु । पर्यावरणका बारेमा उठेका सवालका स्रोतहरु यही पुस्तक नै हो भन्ने मेरो ठहर छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!