नियात्रा: यात्रा पुनहिलको

SHARE:

नियात्रा: यात्रा पुनहिलको
प्रस्तुति: चिम्खोले काईला – बेलायत।

मेरा लागि पुनहिलको यात्रा नौलो होइन । किनकि म सोहि पुनहिलको जिल्लावासी हुँ। सन् १९८५ मा म मेरो पहिलो रजको छुट्टी समाप्त भएपछि पल्टनमा हाजिर हुनका लागि घोरेपानी देउरालीको बाटो हुँदै पोखरा आएको थिएँ । सायद जुन समयमा पुनहिलको त्यति चर्चा थिएन । तर घोरेपानी भने निक्कै चर्चामा थियो । घोरेपानीमा एक रात बास बसेको थिएँ, जुन समयमा आजभोलिका जस्ता सुविधासम्पन्न होटलहरु थिएनन् । निगालोको चोयाबाट निर्मित भकारीका टहरा तथा गोठहरु थिए । पोखराबाट म्याग्दीको पूर्वी भेगका जनताहरु म्याग्दी आउन तिखेढुङ्गा उल्लेरी भएर घोरेपानीमा बास बस्न आउनुपथ्र्यो । म्याग्दीबाट जनताहरु पोखरा, काठमाडौँ, भारत जानुप¥यो भने शिख भएर घोरेपानी बास बस्न जानुपथ्र्यो । घोरेपानी समुद्र सतहदेखि झण्डै ३००० मिटरको उच्चाइमा छ । म्याग्दीतर्फबाट तातोपानी, पोखरेबगर, घारा, शिख र चित्रे हुँदै पुनहिल आउन सकिन्छ भने कास्कीको तिखेढुङ्गा हुँदै सोझै उकालो चढेर उल्लेरी र वनठाँटी हुँदै पनि घोरेपानी आइपुगिन्छ । यी दुवै बाटाबाट गर्ने पैदल यात्रालाई अति प्रसिद्ध मानिन्छ ।

दोस्रोपटक सन् २०१३ सालमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले म्याग्दी जिल्लालाई तीनवटा एम्बुलेन्स हस्तान्तरण गर्न जाँदा मोना युकेको एम्बुलेन्स हस्तान्तरण ग्रुपका सबैले पुनहिल भ्रमण गर्ने अवसर पाएको थियौँ । जुन भ्रमणका बारेमा मेरो आफ्नो घरपरिवारसँग शेयर गरेको थिएँ । यस भ्रमणको कुरा सुनेपछि श्रीमती जमुना गर्बुजा, छोरी प्रिया र प्रियङ्काले पनि नेपाल गएको बेला पुनहिलको भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।

म श्रीमती जमुना, छोरी प्रिया र प्रियङ्काका साथ सन् २०१८ को अक्टुबर महिनामा नेपाल जाने, दशैँतिहार मनाउने र पुनहिलको भ्रमण गर्ने सल्लाह गर्छु । यस सल्लाहबमोजिम पुनहिल भ्रमणमा जाने कार्यक्रम तयार हुन्छ ।

मेरी सानी छोरी प्रियङ्का विश्वविद्यालयको अध्ययनको व्यस्तताले गर्दा नेपाल जान पाउँदिनन् । तर म, श्रीमती जमुना र ठूली छोरी प्रिया नेपाल जाने टिकट अनलाइनबाट खोज्न थाल्छिन् जमुना । दशैँतिहारको समयका कारण टिकट महङ्गो छ तर पनि जमुनाले भाग्यवश डिस्काउन्ट डियलमा जेट एयरको सस्तो टिकट जम्मा ४३८ पाउण्डमा फेला पार्छिन् । तर भारतको मुम्बईमा झण्डै १० घण्टा ट्रान्जिट रहेछ । म अफिस गएको बेला यिनले मेरो र आफ्नो टिकट बुकिङ गरिछन् तर छोरी प्रियाका लागि टिकट बुकिङ नगरेको कुरा अवगत गराउँछिन् । प्रियाका लागि किन टिकट बुकिङ नगरेको भनेर कारण सोध्छु तर प्रष्ट गर्न सक्दिनन् । प्रिया बेलुकी कामबाट आएपछि छोरी नेपाल जाने इच्छा छ कि छैन भनेर सोध्दा यिनी चुप लागेर बस्छिन्, केही उत्तर दिँदिनन् । प्रिया ड्याडी मम्मीसँग नेपाल जानुपर्छ । म मम्मीलाई तिम्रा लागि टिकट काट्न भन्छु भनेपछि यिनी मुसुक्क हाँस्छिन् । जमुनालाई छोरी प्रियाका लागि टिकट बुकिङ गर्न लगाउँछु । तर प्रियाका लागि टिकट सोही फ्लाइटमा अलि महङ्गो पर्छ, सायद डियल समाप्त भएर होला । नेपाल जाने पक्कापक्की भएपछि जमुना सामानहरु किन्न सुरु गर्छिन् ।

जमुनाको एउटा बानी साह्रै असल छ, सामान यिनकै हातले किन्नुपर्छ र आफ्नै हातले मिलाउनुपर्छ । सोही कारणले गर्दा नेपाल जानुभन्दा पहिलेदेखि खटपट परिरहन्छ । जमुना र मेरो जागिर बेलायतको रक्षा मन्त्रालयको सुरक्षा निकायमा निजामती कर्मचारी रहेको हुँदा नेपाल जानका लागि छुट्टी मिलाउन अलि सजिलो छ । हामी नेपाल जानुभन्दा पहिलो रात ड्युटी गरेर नेपाल जानुपर्ने छ । प्रियालाई बिहान ६ बजे तयार भएर बस्न भन्छौँ । जमुना र म ड्युटी सकी हतारहतार घर आउँछौँ र युनिफर्म चेन्ज गरेर बेलायतस्थित हिथ्रो विमानस्थलतिर प्रस्थान गर्न तयार हुन्छौँ । हामीलाई विमानस्थल पु¥याउन मेख पुन भाइ आउँछन् । हामी गाडीमा सामान राखेर हिथ्रो विमानस्थलतिर हुइँकिन्छौँ । विमानस्थलमा सामान तौल्ने काम हुन्छ, सामान अलि बढी हुन्छ । बढी भएको सामान गाडीमा राखेर मेख पुन भाइ फर्कनुहुन्छ । हामी भने जेट एयरबाट सोझै भारतको मुम्बईतर्फ उडान भर्छौं ।

हामी रातको समयमा आइपुग्छौँ मुम्बई । इमिग्रेशन क्रस गरी ट्रान्जिटमा गएर १० घण्टा बिताउनु छ । तर अन्य फ्लाइटको कनेक्सन समय छोटो भएको हुँदा हाम्रो फ्लाइटका यात्रुहरुलाई बीच बाटोमा केहीबेर रोकेर राखिएको छ । इमिग्रेशनका घुम्टे अफिसरहरु हामीलाई देखेपछि हाम्रो पासपोर्ट र बोडिङ पास चेक गरेर हामीलाई इमिग्रेशन पार गराउन मद्दत गर्छन् । इमिग्रेशनमा सुरक्षा चेकजाँच गर्दा फिल्म देखाउने मेरो प्रोजेक्टर देखेपछि इमिग्रेशन अफिसरले किन र के प्रयोजनका लागि ल्याएको भनेर निकैबेर सोधपुछ गर्छन् । मेरो चित्त बुझ्दो उत्तर सुनेपछि इमिग्रेशन पार गरेर हामी ट्रान्जिट रुममा आइपुग्छौँ । नेपाल र भारतका इमिग्रेशनका अफिसरहरु पैसा खानका लागि हो या आफ्नो ड्युटीको कर्तव्य नबुझेर हो, यस्ता ससाना कुराहरुमा यात्रुलाई अति दुःख दिन्छन् । ट्रान्जिटको ड्युटी फ्री शपमा एक बोतल आमासासूका लागि, एक बोतल मेरी आमाको स्मृतिमा जेठी दिदीका लागि, एक बोतल मेरो बाबाको स्मृतिमा कान्छा भाइका लागि र एक बोतल दिदी सासूका लागि गरेर जम्मा ४ बोतल जोनी वाल्कर ह्विस्की किनेपछि खाना खानका लागि रेष्टुरेन्टतर्फ लाग्छौँ । रेष्टुरेन्टमा आइपुगेपछि जमुना र प्रिया मेरा लागि जे ल्याउँछन् त्यही खान्छु ।

मुम्बईमा अत्यासलाग्दो १० घण्टा ट्रान्जिटमा बिताएपछि नेपालका लागि बोर्डिङ हुन्छ । मुम्बईबाट उडेर काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्छौं । जहाजबाट ह्याण्डक्यारी लिएर केही क्षणपछि अध्यागमन शाखामा लाइनतिर लाग्छौँ र हामी सोझै काउन्टरतर्फ लाइनमा उभिन्छौँ । काउन्टरमा लाइन श्रीमती जमुना र छोरी प्रियासँगसँगै बसेको भए तापनि जमुना र प्रिया एउटै काउन्टरमा पर्छन् भने म अर्कै काउन्टरमा पर्छु । सायद म छोरा मान्छे भएका कारणले हो कि ? के हो इमिग्रेशन अफिसरले मलाई सोधपुछ नै नगरी छाडिदिन्छन् । मेरी श्रीमती र छोरी लाइन लागेको काउन्टरको ड्युटीमा खटिएको इमिग्रेशन अफिसरले यिनीहरुलाई नानाथरी प्रश्न सोध्न सुरु गर्छन् । यिनीहरुलाई बेलायतको कुन ठाउँमा बस्छौ ? के पेशा गर्छौ ? आदि इत्यादि व्यक्तिगत प्रश्नहरु सोध्दै छन् । म अलि वर उभिएर हेरिरहेछु । मेरी श्रीमती जमुना फटाफट उत्तर दिँदै हामी बेलायतको न्यूबरी भन्ने ठाउँमा बस्छौँ । म अनि मेरा श्रीमान् बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी हौँ । भन्दै मतिर इङ्गित गर्छिन् र उहाँ मेरा श्रीमान् हुनुहुन्छ भनेर देखाएपछि इमिगे्रशन अफिसर चुप लाग्छन् । यति भन्दा लाजश्रम तथा डरले होला घोसे मुन्टो लगाएर जमुना र प्रियाको पासपोर्ट फर्काउँछन् । मुम्बईमा इन्डियन पुलिस र नेपालमा इमिग्रेशन अफिसरले देखाएको बानीव्यहोरा देख्दा दुःख लागेर आउँछ ।

जमुना, म र छोरी लगेज क्लेम गरेर हरियो अर्थात् नो दिकलेरेशन च्यानलबाट निस्कने प्रयास गर्छौं । छोरी प्रिया र मलाई सोझै ग्रीन च्यानलबाट छिर्न दिइन्छ । यहाँ पनि अर्का इमिग्रेशन अफिसरले जमुनाको लगेजलाई एक्सरे मेसिनमा लगाउने आदेश दिन्छन् । जमुना आफ्नो लगेज एक्सरे मेसिनमा राख्छिन् । लगेज खोल्न लगाउँछन् । लगेजमा रेडियो प्रयोजनका लागि केही पियर दुरासल ब्याट्री छन् । जसले गर्दा इमिग्रेशन अफिसर लफडा गर्छन् । ‘किन ल्याएको ? ल्याउन पाउँदैन ।’ आदि इत्यादि नानाथरीका प्रश्नहरु तेस्र्याउँछन् । जमुना उत्तर दिन्छिन्, ‘यो ब्याट्री गाउँघरमा जाँदा रेडियो सुन्नका लागि ल्याएको हो । मैले धेरै मात्रामा ल्याएको भए भन्सार तिर्नुपथ्र्यो । दुईचार पियर ल्याउँदा के हुन्छ ?’ जमुनाको ठाडो उत्तरपछि उनी जमुनालाई छाडिदिन्छन् । नेपालका एयरपोर्टका कर्मचारीले देखाएको व्यवहारलाई देख्दा आफ्नै देश नेपाल आउन पनि दिक्क लाग्छ । एयरपोर्टका कर्मचारीहरुले छोरीचेलीलाई सम्मान गर्नुपर्नेमा उल्टै हेप्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट निस्किएपछि मेरो कान्छा भाइ हस्तकुमार गर्बुजा र छोरा लिङ्कन गर्बुजासँग भेट हुन्छ । यिनीहरु हामीलाई लिन एयरपोर्ट आएका रहेछन् । भाइ कान्छाको गाडीमा चढेर नखिपोट गर्बुजा पुन निवासमा आउँछौँ । गर्बुजा निवासमा कान्छी बुहारी नेत्र गर्बुजा र नातिनी परु गर्बुजाले तयार गरेको भोजनका साथमा मिठामिठा गफगाफ गरेपश्चात् आआफ्नो बेडतिर लाग्छौँ ।

हाम्रो पुर्व सल्लाहअनुसार हाम्रा परिवारका सदस्यहरु, म, श्रीमती जमुना, छोरी प्रिया, कान्छा भाइ हस्त, कान्छी बुहारी नेत्र, छोरी मेगोमी र छोरा लिङ्कन पुनहिलको भ्रमण जाने तय भएको छ । तर हाम्री आमासासू तथा ससुरा पोखरा हुनुभएको र विशेष कामले गर्दा म, जमुना र प्रिया प्लेनद्वारा भोलिपल्ट पोखरा उड्छौँ । हस्त, नेत्र, मेगोमी, लिङ्कन र लोकिन भाञ्जा हस्तको गाडीमा दुई दिनपछि आउने सल्लाह हुन्छ । हामी पोखरा आएर सासू, ससुरा, साडुदाइ ओम र दिदीसासू मायासँग भेटघाट गर्छौं । दुई दिनपछि हाम्रो सपरिवार पोखरामा भेट हुन्छ । पुनहिलको यात्रा पोखराबाट सुरु हुन्छ । हामी सपरिवार म, जमुना, प्रिया, हस्त र नेत्र एउटा जिप रिजर्ब गरेर म्याग्दीको बेनीका लागि यात्रा गर्छौं भने भाञ्जा लोकेन र छोरा लिङ्कन मोटरसाइकलबाट म्याग्दीको बेनीसम्म सोही यात्रा तय गर्छन् ।

जिप र मोटरसाइकलबाट यात्रा गरेको भए तापनि बीचबीचमा भेट हुँदै यात्रा सँगसँगै अगाडि बढ्छ । पेट खराब अर्थात् लुज मोसनका कारण मेरो यात्रा त्यति उत्साहजनक हुँदैन । तैपनि जसोतसो म्याग्दीको बेनी आइपुग्छौँ । बेनीको कालीपुलस्थित हाम्रो गाउँ चिम्खोलाबाट मेरो ससुराली गाउँ दोबा विवाह गरेकी जमुना भाञ्जीको होटलमा दिउँसोको खाना खान्छौँ । यही होटलमा हाम्रो गाउँ चिम्खोला लैजाने सामानहरु लोकिन भाञ्जालाई जिम्मा दिन्छौँ भने दोवा लैजाने तथा हाम्रा व्यक्तिगत सामानहरु छुट्याउँछौँ । दिउँसोको लन्च खाएपछि हाम्रो गाउँको दबहादुर पुन भेनाले बन्दोबस्त गरेको जिपबाट पुनहिलको यात्रा सुरु हुन्छ । जिप कालीगण्डकी करिडोर हुँदै कालीगण्डकीको तीरैतीर अगाडि बढ्छ । कालीगण्डकी र रघुगङ्गाको दोभानमा गलेश्वरधामको तीर्थस्थल पर्छ । सो ठाउँ हिन्दूधर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानिन्छ । वेद, पुराण र किंवदन्तीअनुसार उहिले सत्ययुगमा भगवान् शिवजीले पार्वतीको मृत शरीरलाई कैलाश लैजानेक्रममा पार्वतीको गला खसेका कारणले सो ठाउँको नाम गलेश्वर नामाकरण गरिएको हो भनिन्छ । हामी गलेश्वरधामको दर्शन गर्दै र घुमाउने ताल हुँदै बेगखोला आइपुग्छौँ । बेगखोलाको बेग गाउँ वर्तमान एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीको जन्मस्थान हो भने भिक्टोरिया क्रस (भीसी) स्वर्गीय तुलबहादुर पुनको जन्मस्थान बाँदुक गाउँस्थित टिप्ल्याङ हुँदै अन्नपूर्ण गाउँपालिकाको सदरमुकाम पोखरेबगर आइपुग्छौँ ।

पुनहिलको यात्राका लागि कालीगण्डकी करिडोरलाई बायाँ छाडेर दाहिनेतर्फ उकालोतिर मोडिन्छौँ । उकालाका धेरै घुम्ती पार गर्दै घार र शिख हुँदै चित्रे आइपुग्छौँ । घारस्थित खिबाङ गाउँ स्वर्गीय मेजर टेकबहादुर पुनको गाउँ हो भने शिखको चित्रे स्वर्गीय मन्त्री नारायणसिंह पुनको गाउँ हो । चित्रेको पारिपट्टिको स्वाट गाउँ भूपू मन्त्री उत्तम पुनको गाउँ हो । चित्रेदेखि अगाडि सवारीसाधन चल्दैन, त्यसैले हाम्रो जिप यहीँ छाड्छौँ । ड्राइभरलाई बास र खानाका लागि केही रकम छाडेर पुनहिल यात्राका लागि अगाडि बढ्छौँ । छोरा लिङ्कन अगाडि बाटो लाग्छ, म पछिपछि लाग्छु । भेट्नका लागि म लिङ्कनलाई पछ्याउँदै उकालो चढ्छु । लिङ्कन सँगसँगै हिँड्न सक्छु भन्ने मनमा लाग्दालाग्दै पनि मलाई लुज मोसनले साथ दिँदैन । लिङ्कनलाई भेट्न सक्दिनँ । मलाई पछिबाट जमुना, नेत्र, प्रिया र मिगोमीले भेट्न आउँछन् । जमुना आक्रोस पोख्छिन्, ‘अगाडि गएर के खान पाउनुहुन्छ ? सँगसँगै हिँड्नुपर्छ ।’ उकालोमा हिँड्न नसकेर प्रिया र मिगोमीले अटेर गर्दै जमुनालाई सताएका रहेछन् । यही कारण यिनले मसँग आक्रोस पोखेकी रहिछन् । म मिगोमीको हात समाउँछु र हौसला दिँदै घोरेपानी देउरालीमा ल्याइपु¥याउँछु । जमुना प्रियालाई ल्याइपु¥याउँछिन् । वास्तवमा यी दुवै दिदीबहिनीले सल्लाह गरेर ठगेका रहेछन् जस्तो महसुस हुन्छ ।

घोरेपानी देउराली आएपछि परिवारका अन्य सदस्यहरुलाई तत्कालीन हल्याण्ड मगर संघका अध्यक्ष जङ्गबहादुर बुदुजा सम्धीको भाइको दोकानमा छाडेर म हाम्रा लागि बास बस्ने होटल खोज्न हिँड्छु । घोरेपानी देउरालीमा हाम्रो गाउँबाट एक जना मेरी साली पर्नेको होटलमा बास माग्न आइपुग्छु । तर सालीको होटल प्याक रहेछ । आउनुभन्दा पहिला खबर गरेको भए हुन्थ्यो भेना कोठा खाली छैन भन्छिन् साली । यिनका श्रीमान् क्याप्टेन दमबहादुर पुन इन्डियन आर्मीका गोल्ड मेडलिष्ट एथलेटिक्स खेलाडी हुन् भने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पनि हुन् । सालीको होटलमा कोठा नपाएपछि मीना पुन बहिनी तथा बागवीर गर्बुजा भाइकी श्रीमतीको होटलमा कोठा छन् कि भनेर फोन गर्न लगाउँछु । मीना बहिनी जमुना र दूत दाइ हुहुहुन्छ भने दुःखसुख बास बस्न दिनसक्ने सङ्केत गर्छिन् । हामी सपरिवार मीना पुन बहिनीको होटलमा बास बस्न आइपुग्छौँ । होटल प्याक भएका कारणले गर्दा मीना पुन बहिनीसँग त्यति गफ गर्न सकिन्न । बेलुकीको खानपिन गरेर आआफ्ना कोठातिर लाग्छौँ ।

बिहान ४ बजे उठेपछि म सबैजनालाई उठाउँछु । बिहान सूर्य उदाएको हेर्न जानका लागि ४ः३० बजे बाटो लाग्नुपर्छ । यी दुईजना ठग दिदीबहिनी प्रिया र मिगोमीलाई लामो समयसम्म फकाउनुपर्छ । किनकि हात्ती छि¥यो पुच्छर अड्क्यो भनेझैँ यहाँ आएर बिहान सूर्य उदाएको हेर्न पाएनौँ भने पुनहिल भ्रमणको अर्थ रहँदैन । जसका लागि बिहानै ४.३० मा बाटो लागेपछि मात्र सूर्य उदाएको मनोरम दृश्य देख्न सकिन्छ । जसले गर्दा मैले प्रिया र मिगोमीलाई पुनहिल लैजान धेरै कसरत गर्नुपर्छ । यिनीहरु तयार भएपछि पुनहिलका लागि बाटो सुरु हुन्छ । अँध्यारोमा लामबद्ध पर्यटकहरुसँग बाटो लाग्छौँ । प्रिया र मिगोमी ४५ मिनेटको बाटोलाई झण्डै साढे एक घण्टा लगाउँछन् । बीचबीचमा बिरामी भएको नक्कल पार्दै वाकवाक गरेर बहादुर गोर्खालीका छोरीहरुले संसारभरिबाट पुनहिलको भ्रमणमा आएका पर्यटकका अगाडि लाजमर्दो बनाउँछन् ।

उकालामा धेरै पर्यटक ‘डु नट फोर्स दैम, दे आर शफरिङ फ्रम अल्टिच्युट सिकनेस भन्छन् । जे होस् मेरो सक्रिय सहयोग र हौसलाले प्रिया र मेगोमी पुनहिल उक्लिन्छन् । पुनहिल उक्लिए पनि यिनीहरुमा कुनै बहादुरीपन छैन । यिनीहरुको बुझाइमा हाम्रो करकापमा पुनहिल आएको भन्ने छ । यो अन्दाज जोकोहीले पनि अनुमान लगाउन सक्छ । धेरै बेरसम्म यी दिदीबहिनी पु–फेस लिएर हामीसँग नबोली बेन्चमा बसिरहन्छन् । हामीले अफर गरेका चिया, कफी, चकलेट तथा तातोपानी पनि केहीबेरसम्म इन्कार गर्छन् ।

जब पुनहिलमा सूर्य उदय हुन्छ तब सबैजनामा हर्षोल्लासको वातावरण सिर्जना हुन्छ । घमाइलो हुन्छ । चारैतिर सेतै टल्केका धौलागिरि, गणेश, अन्नपूर्ण र माछापुच्छ«्रेजस्ता हिमालहरुको मनोरम दृश्य देख्न पाइन्छ । प्रिया र मेगोमी पनि हाँस्न तथा मुस्कुराउन सुरु गर्छन् । हामी व्यक्तिगत तथा सपरिवारका धेरै तस्बिरहरु खिच्न सफल हुन्छौँ । सपरिवार खुसी भएको अनुभव गर्दै घोरेपानी देउरालीका लागि ओह्रालो यात्रा सुरु हुन्छ । फोटो खिच्ने क्रममा मैले मेरो ट्रेकिङ लठ्ठी भने पुनहिलमै छाडेछु ।

पुनहिलको परिकल्पनाकार स्वर्गीय मेजर टेकबहादुर पुन हुन् । उनले ५०÷६० वर्ष पहिला एउटा रुखमा चढेर वरपरका हिमालहरुको दृश्य अवलोकन गर्न सुरु गरेका थिए रे । पछि उनले एउटा सिङ्गो रुखलाई गाडेर टावर बनाउँछु भन्दा स्थानीय जनताले पागलको संज्ञा दिएका थिए रे । विभिन्न कालखण्ड पार गर्दै आजसम्म आइपुग्दा पुनहिलले धेरै रुप धारण गरिसकेको छ । मेजर टेकबहादुर पुनको स्वर्गारोहणपछि यस टावरलाई मर्मतसंभारका साथै आधुनिकीकरण गर्दै सुन्दर रुप दिन उनका छोरीज्वाइँ ले. राजु पुन, स्वर्गीय टेकबहादुर पुनका परिवार, इष्टमित्र र स्थानीय जनताहरुको ठूलो योगदान रहेको छ ।

घोरेपानी देउराली झर्नेक्रममा पुनहिलको तुलना गर्दै मेरो गाउँ चिम्खोलाको धेरै सम्झना आउँछ । चिम्खोलाका छिमेकी गाउँहरुमा पुनहिलभन्दा अग्ला धेरै डाँडा छन् । जुन डाँडाहरुबाट पुनहिलबाट देखिने सम्पूर्ण हिमालहरु झन् नजिकैबाट अवलोकन गर्न सकिन्छ । जस्तै चिम्खोला बेगको सिमानामा पर्ने धकेतरा डाँडा र ठूलोखर्क धुरी तथा पानी डाक्ने डाँडाबाट पनि पुनहिलबाट देखिने सम्पूर्ण हिमाल अवलोकन गर्न सकिन्छ । चिम्खोला र दाना गाउँको सिमानामा पर्ने सोबाङ र लोसो धुरीबाट पनि पुनहिलबाट देखिने सम्पूर्ण हिमालहरु झन् नजिकैबाट अवलोकन गर्न सकिन्छ । चिम्खोला र चिम्खोलाका छिमेकी गाउँ तथा सिमानामा पर्ने गाउँहरु दर्मिजा, बेग, बाँदुक, दोबा, भुरुङ, दाना र मुस्ताङ जिल्लामा पर्ने घास, लेते, टुकुचेजस्ता गाउँहरु पनि साँच्चिकै ओझेलमा परेको जस्तो महसुस हुन्छ ।

पर्यटक एशोसियसन नेपाल (टान) ले चिम्खोला गाउँ र छिमेकी गाउँहरुका क्षेत्रमा पर्ने रमणीय क्षेत्रहरुको पदमार्ग सर्वेक्षण गरी राखुको रुइसेदेखि धौलागिरि आइसफलसम्मको पदयात्रा पनि सुरु गरिसकेको छ । भविष्यमा हाम्रो चिम्खोला गाउँ तथा छिमेकी गाउँहरुका यी अग्लाअग्ला डाँडा तथा धुरीहरुमा पनि पुनहिलका जस्ता भव्य टावरहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकून् भन्ने मिठो कल्पना गर्दागर्दै २५ मिनेटमा घोरेपानी देउराली आइपुगेको पत्तै हुँदैन । हामी होटलको अगाडि बसेर मनोरम हिमालको दृश्य हेर्दै मीना पुन बहिनीले बनाएको स्वादिष्ट ब्रेकफास्ट लिन्छौँ । हिँड्ने बेला हिसाब गर्दा मीना बहिनीले हाम्रो सपरिवारलाई धेरै आइटमहरुमा छुट दिन्छिन् । बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै बिदा भएर चित्रेको बाटो तय गर्छौं । चित्रे आएपछि फेरि पोखरेबगरसम्मको यात्रा जिपद्वारा सकुशल सम्पन्न हुन्छ । यात्राको अर्को संस्मरण शुरु हुन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!