
लन्डन १९ नोभेम्बर २०२५ । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ ।
यही नोभेम्बर १४ तारिख शुक्रबार अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष साहित्यकार बसन्त श्रेष्ठ साहित्य विमर्शमा जोडिएका थिए । कार्यक्रमका सञ्चालक सुरेन उप्रेतीसँग वाङ्मय विमर्शका क्रममा श्रेष्ठले आफ्ना पिता नारायणमान श्रेष्ठलाई तेह्रथुममा सबैले एनएम सर भनेर चिन्ने गरेको कुरा जानकारी गराए ।
एनएम श्रेष्ठले तात्कालीन विशम परिस्थितिमा काठमाण्डु गएर राणाहरूसँग कुरा गरे र २००४ सालमा म्याङ्लुङमा विद्यालय स्थापना गरे । सो विद्यालयमा एनएम सरले आफैं पठनपाठन गराउन सुरू गरे । पिता एनएम श्रेष्ठले २००९ सालमा मगज भन्ने पत्रिका निकाले र सो पत्रिकामा मगजको चित्र उनले नै बनाएको कुरा पुराना साहित्यकारहरू प्राध्यापक अभि सुवेदीले लेखेको कुरा जानकारी गराए ।
घरमा नै पुस्तकालय स्थापना गरेर नेपालभित्र र नेपालभन्दा बाहिरका साहित्यकारहरूका पुस्तकहरू पढ्ने र पढाउने गर्थे । नेपाली साहित्यकारहरू र अंग्रेजी साहित्यकार लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा त्यस्तै गरेर विदेशी साहित्यकारहरू सेली, शेक्सपियर, गोर्गी, आन्तोभचेकभ आदिका पुस्तकहरू पढेर बालबालिकाहरूलाई सुनाउने गर्थे । त्यसैको प्रभावबाट नेपाली साहित्यमा आकर्षित भएको श्रेष्ठले जानकारी गराए । त्यस बेला नै घरमा मादल हार्मोनियम र गिटारजस्ता बाजाहरू थिए । बुबाले हार्मोनियम बजाउनुहुन्थ्यो । त्यसकै प्रभावबाट भाई शिशिर श्रेष्ठ स्थापित सङ्गीतकार बनेको कुरा समेत जानकारी गराए ।
बसन्त श्रेष्ठले बिक्रम सम्वत् २०२६ सालमा हस्तलिखित तीनजुरे पत्रिका निकालेको र त्यसमा नै आफ्नो पहिलो कविता प्रकाशन गरेको प्रसंग पनि सुनाए । सन् १९९४ मा अमेरिका आएको र एएनएको बाह्रौं अधिवेशनमा हुँदैछ भन्ने थाहा पाएपछि रातभरि लगाएर कविता लेखेको कुरा सुनाए ।
नेपालीहरूसँग भेट गर्न पाइन्छ र कविता वाचन गर्न पाइन्छ भन्ने खुशीमा रातभर निन्द्रा नलागेको मिठो अनुभूति सुनाए । सम्मेलनमा सुनाएको “देश” भन्ने हृदयस्पर्शी कविता वाचन गरेर सुनाए । कवि श्रेष्ठले अनेसासको अन्तर्दृष्ट्रीको सम्पादक हुँदै, महासचिव र अध्यक्ष हुँदै साहित्यिक योगदान गरेको कुरा बताए । ती दिनहरू सम्झँझ अझ पनि उर्जा प्राप्त हुने कुरा बताए ।
विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै एटलाण्टामा भव्यरूपमा सम्मेलन गरेको कुरा संस्मरण गरे । त्यस्तै बोस्टनमा कविता प्रतियोगिता गरेका पलहरूलाई सम्झे । अनेसासका व्यक्तिहरूमा संस्थापक होमनाथ सुवेदी,रोहिणी शर्मा र मोहन सिटौला रहेको प्रसङ्ग उठाए ।
डाक्टर हरिप्रसाद शर्मा मुडवरी हरेक वर्ष पुरस्कार प्रदान गरेका कुरा सम्झे । अनेसासका कार्यक्रमहरूलाई डिसीबाट बोस्टन र एटलेण्टा पुर्याउन आफ्नो भूमिका रहेको जानकारी गराए । त्यस्तै गरेर च्याप्टरहरू विस्तार गरेर अमेरिकाका विभिन्न सहरहरू र अन्य देशहरूमा अनेसासको विस्तार गर्न पुरू सुवेदीले गरेको पहलको चर्चा गरे ।
अनेसासमा पुरस्कारहरूको थालनीलाई संस्थागत गर्न भीम रेग्मीको भूमिकाको चर्चा गरे । अनेसासका अध्यक्षहरूर टिमले नेपाली साहित्यलाई अगाडि बढाउन सबैको अमूल्य योगदान रहेको बताए ।
प्रवासमा आफ्नो पहिचानलाई स्थापित गर्न हामीले आफ्ना नानीबाबुहरूसँग नेपाली भाषामा कुरा गर्नु पर्छ अनि मात्र हाम्रो भाषाको संरक्षण हुन्छ भन्दै क्यानडाका साहित्यकार डाक्टर गोविन्दसिं रावतले चलाएको अभियानको प्रसंगको चर्चा गरे । भाषाको महत्वको बारेमा चर्चा गर्दै नेल्सन मण्डेलाको भनाई “श्रोताले बुझ्ने भाषामा कुरा गरेमा श्रोताको दिमागमा जान्छ । श्रोताले बोल्ने भाषामा कुरा गरेमा श्रोताको मनमा जान्छ” भन्ने भनाई प्रस्तुत गरे । भाषाले पहिचान दिनुका साथै अवसरहरू प्रदान गर्दछ । मूल्य र मान्यताहरूलाई बढाई दिन्छ । रोजगरी र व्यावसायिकतामा सहयोग पुर्याउँछ भन्दै उदाहरणहरू प्रस्तुत गरे । साहित्यकारहरू भनेका समाजका दर्पणहरू हुन् । उनीहरूको जीवन नै सार्वजनिक जस्तो सामाजिक हुन्छ । समाजको चेतनाका लागि चिन्तन गर्छन् । समाजलाई परिवर्तन गर्न र सुव्यवस्थित गर्न सिर्जना गर्दछन् ।
कविता लेख्नु भनेको सहज छैन । शब्दहरूलाई संगठित गरेर भावना, विचार,चेतना र चिन्तन भरेर पठनीय बनाउनु कविता हो । कविता लेख्नु भनेको आविष्कार गर्नु हो । त्यसलाई सही ढंगले वाचन गर्न सक्नु अर्को कला हो । स्रोताको ध्यानाकर्षण गर्न सक्ने गरी मनभित्र प्रवेश गर्न सक्ने गरी भन्न सक्नु कला हो भने । आफ्ना मिठा कविताहरूका साथ वाङ्मयका विविध विषयमा छलफलहरू भए । साहित्यकार साहित्यका सारथी बसन्त श्रेष्ठलाई वाङ्मय विमर्श तथा साहित्य सम्वाद कार्यक्रम प्रस्तोता सुरेन उप्रेती आभार प्रकट गर्दछ ।






