नेपालमा जन्मघर स्याङ्जा जिल्लाको सिरुबारी भै हाल कर्मघर बेलायतको वेलिंग भएका साहित्यकार तथा मुक्तकाकर माया गुरुङको हालै प्रकाशित कृति मुक्तकसंग्रह ‘यात्रा’ (२०८२) हुलाकको यात्रा गर्दै मेरो घरमा आइपुग्यो । एउटा मुक्तककको विद्यार्थीको उत्सुक नजरले ‘यात्रा’ माथि मेरो अन्तर्मनको सरसर्ती यात्रा गराएँ । यस कृतिबारे मुक्तक विधाको एउटा पारखी तथा पाठकको हैसियतले संक्षिप्त समीक्षा प्रयास गरेकी छु ।
कुल १०८ पेजमा समेटिएको यस कृतिको ८६ वटा विभिन्न पेजमा १७२ वटा सुन्दर र बान्किला मुक्तकहरुको माला उनिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको सदस्यसमेत रहनुभएकी मुक्तककार माया गुरुङको यस कृतिमा नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष तथा साहित्यकार दुर्गाप्रसाद पोखरेलको प्रकाशकीय र प्रतिष्ठानको सल्लाहकार वरिष्ठ मुक्तककार डा. रुपक श्रेष्ठको भूमिकाले कृतिको चिरफारसहित ओज थपेको छ ।
नेपाल मुक्तक प्रतिष्ठान युके प्रकाशक रहेको यस कृतिमा अन्तर्राष्ट्रिय साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रस्टी सभापति पदम बिश्वकर्मा र अनेसास केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङको बधाई तथा शुभकामनाहरूले सजिएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने माया गुरुङले आफ्नो भनाइमा कृतिको जन्म कसरी भयो र क-कसले प्रकासनको लागि हौसला दिनुभयो भन्नेबारे सरल रुपमा सविस्तार विचार पोख्नु भएको छ ।
संरचानागत हिसाबले हेर्दा यो संग्रह पूर्णरुपमा चतुश्पदीय शैलीमा सृजना गरिएको छ र वि.सं. २०७० को पोखरा सम्मेलनले स्थापित गरेको मानकलाई आत्मसात गरेको छ । अक्षरहरूको केस्रा केस्रा विन्यास गरेर आयताकार बनाइएको छ । मेरो व्यक्तिगत चिनजान र उहाँको लेखकीय मन्तव्य पढ्दा उहाँले मुक्तक अध्ययन र लेखन शुरु गरेको त्यति लामो समय भएको छैन तर पनि कृतिमा अनुप्रास, अन्त्यानुप्रास र तुकहरु जहाँ जसरी राखिनु पर्थ्यो त्यो निकै कलात्मक तरिकाले पस्किनु भएको छ ।
यस कृतिमा समावेश मुक्तकहरू साहित्यको नवरसहरुमा एक एक गर्दै चोबलेर अब्बल बनाएर मात्र पाठक सामू पस्किएको जसरी लेखिएको छ । माया गुरुङ बोली व्यवहारमा जति नरम हुनुहुन्छ उहाँका मुक्तक कहीं त्यही नै मुलायमपन भेटिन्छ भने कतै ज्वाला बनेर आफ्ना असन्तुष्टिहरू सर्लक्कै पोखेको भेटिन्छन् । उता घरदेशमा भूकम्प आउँदा यता परदेशमा प्रवासी मन चर्किएको भावना पोखिएको छ भने देशमा सुशासन नहुँदाको चिन्ताले सताएको देखिन्छ । उहाँले समसामयिक विषयमा कति अब्बल मुक्तक लेख्नु हुन्छ भन्ने कुरा यो मुक्तकबाट बुझ्न सकिन्छ:
बेईमानी र धूर्त ठगहरूले गस्ती गर्ने शहरमा छु
दिनदहाडै ईमान्दारी जबर्जस्ती गर्ने शहरमा छु
तिमी कहाँ छौ भनेर नसोध अब कसैले पनि
म त घुसखोर र ठगहरूले मस्ती गर्ने शहरमा छु
हरेक मुक्तक मात्र होइन हरेक हरफ स्वतन्त्र रुपमा पेश गर्न सकिने यस मुक्तक विधामा मुक्तककारले माया, ममता, मातृत्व, अध्यात्म, धर्म, राजनीति, सुख, दु:ख र जीवन भोगाईका हरेक क्षेत्र र विषयलाई सुक्ष्म रुपमा समावेश गरेको पाइन्छ । बहुआयामिक विषयबस्तु यस कृतिको विशेषता हो । यस कृतिको भूमिका लेख्नु हुने डा. रुपक श्रेष्ठको भूमिकाको शब्द सापटी लिने हो भने ‘माया गुरुङका मुक्तकहरूले कतै प्रणय यात्रा गर्छन, कतै मानवतावादी वकालत गर्छन, कतै नारीवादी आवाज बुलन्द गर्छन, कतै समाजका विसंगतीको पर्दाफास गर्छन, कतै राजनीतिक विसंगतिको बिरोध गर्छन भने कतै यस मानव जन्मको सार्थकता खोज्न आध्यात्मिक चिन्तनमा दुब्छन्’ ।
यति हुँदा हुँदै पनि मैले समिक्षकीय धर्म निभाउन बिर्सें भने यो कृति र सर्जक प्रति न्याय हुँदैन जस्तो लाग्छ । मुक्तक विधामा तुक र अनुप्राशले मुख्य भूमिका खेलका हुन्छन र सर्जकले त्यसमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । माया गुरुङका सुललित र बान्किला मुक्तकपान गरिरहंदा कतै अन्त्यानुप्रास।तुकमा किटिक्क ढुङ्गा लागे जस्तो बनाउछ । जस्तो कि
हुन त यो भाग्यले खोई कहाँ लान्छ लान्छ
मलाई भने किन किन तिम्रै मायाँले तान्छ
चोखो मायाँ दिन्छौ भने चाहिंदैन केहि बरु
आजै लगे हिंडीदिन्छु भगाई लैजाउ कान्छा
पेज नं ३४ को दोस्रो यो गजब प्रेमिल मुक्तकमा “लान्छ”,“तान्छ” संग आएको तुक। अन्त्यानुप्रास “कान्छा” भएर आएको छ। भावपूर्ण यस्तो मिठो मुक्तकमा सुन्दा जुन मिठास छ तुकको नजरबाट हेर्दा माथिका दुईवटासंग तुक मिलेर आएमा अझै पूर्ण रुपमा दोष रहित हुन्छ भन्ने लाग्छ । यध्यपि, श्रव्यानुप्रास मिलेमा पनि मुक्तक आफैमा पूर्ण र दोष रहित हुने हुनाले यो पूर्ण मुक्तक नै हो।
ठाउँ ठाउँमा देखिएका व्याकरणगत कमीकमजोरी र टाइपिङ गल्तीहरू यसको अर्को सुधार गर्नु पर्ने पक्ष हुन । जस्तो कि सभापति पदम बिश्वकर्माको शुभकामना सन्देशको पहिलो प्यारामा ‘बधाई र ज्ञापन’ छुट्टाछुट्टै हुनुपर्नेमा ‘बधाईज्ञापन’ भएर जोडिएको छ । त्यस्तै गरी लेखकको आफ्नै भनाईको पेज ‘त’ को पहिलो प्यारामा ‘संकलन’ हुनुपर्नेमा ‘सछलन’ भै बेअर्थी भएको छ भने अन्तिम प्यारामा ‘धन्यवाद र सहित’ छुट्टाछुट्टै हुनुपर्नेमा जोडिएर ‘धन्यवादसहित’ हुन गएको छ । सामान्य जस्ता लाग्ने यी र यस्ता टाइपो र व्याकरणगत कुराहरू सुधार भएमा अझै राम्रो हुने देखिन्छ ।
जेहोस्, यो नेपाली मुक्तकको भण्डारमा थपिन आएको डायस्पोरामा सक्रिय मुक्तककारको एउटा पठनीय र संग्रहनीय कृति हो । कृति सफलताको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
(समीक्षक प्रतिमा केसी ‘प्रवासी’ मुक्तक प्रतिष्ठान युकेका उपाध्यक्ष हुन् ।)






