१३ पौष, ललितपुर । गमलाको बिरुवामा पानी चढाउँदै पछिल्लो समय चलेको क्लाइ–फाइ विश्वव्यापी साहित्यिक प्रवृत्ति अर्थात् मुक्दुमि (प्रकृति) पथको साङ्केतिक समर्थनसहित वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ लगायतका श्रष्ट्राहरुले सङ्युक्तरुपमा कवि तथा यात्रा स्पर्श अभियन्ता केदार सङ्केतको नवौँ कृति अन्तिम साँझ ललितपुर मानभवनको अइला लन्जमा लोकार्पित गरियो । मिलाप पब्लिकेसनले प्रकाशन गरेको कथा सङ्ग्रह अन्तिम साँझमा पहिचानजनित कथासहित समसामयिक १५ वटा कथाहरू सङ्ग्रहित छन् ।
साहित्य जस्तो विशुद्ध क्षेत्रमा पनि धेरै राम्रा लेखकहरू गुमनाम भएको गुनासाे गर्दै प्रमुख अतिथि श्री ओम श्रेष्ठ राेदनले भर्खरै सम्पन्न १२ खरी कथा प्रतियोगिताको प्रथम पुरस्कार पाउने युवा नवागान्तुक कथाकारको उदाहरण दिँदै यो समय प्रविधिले साथ दिएको समय पनि हो कहिल्यै नसुनिएका नचिनिएका साहित्यकारलाई अचानक एउटै कथाले सबै माझ चिनाउन सकिने तर त्यसको लागि अलिकति मिहिनेत र धैर्यता चाहिने १२ खरीमा पुरस्कृत कथाका कथाकारले कैयौँ पटक उनको कथा सम्पादन गरेको उनको अन्तरवार्ताबाट थाहा भएको साथै उहाँ एकदम परिपक्व देखियोको बताउँदै अन्तिम साँझको श्रष्ट्रा कथाकार केदार सङ्केतका बारेमा भन्नुभयो, ‘हामीले रामायण लेख्ने भानुभक्तको बारेमा धेरै सुनेका छौँ । र उनका धेरै सालिकहरू पनि बनेको छन् । सबैले चिन्छन् तर महाभारत लेख्ने सुब्बा होमनाथ र केदारनाथलाई कसैले चिन्दैन । कारण भानुभक्तका पछाडि मतिराम भट्ट थिए तर सुब्बा होमनाथ र केदारनाथका पछाडि कोही थिएनन् । यसैले सबै माझ चिनिनको लागि चर्चा पाउनको लागि मतिरामहरू हुनुपर्ने रहेछ । तै पनि सुब्बा होमनाथ र केदारनाथहरू समुन्द्र हुन् । कसैले चर्चा गरोस् नगरोस् समुद्र आफ्नो शान्त भावमै विश्वलाई कब्जा गरेर आफ्नो वर्चस्व कायम गरेर बसेको हुन्छ । हो त्यस्तै हुन केदार सङ्केत । उनको यो कथा सङ्ग्रहले उनलाई समुन्द्र बनाइदिएको छ । उनले पक्कै पनि यो कथा सङ्ग्रहबाट सम्मान पाउने छन् ।’
कथा सङ्ग्रहको समालोचनात्मक चिरफारमा साहित्यकार प्रगति राईले १२ वटा कथाहरू उस्तै उस्तै रहस्यमयी भएको, एक कथामा आफैm नै कथाको पात्र भए जस्तो बताउँदै भन्नु भयो, ‘यस कथा सङ्ग्रहमा सुनकोसीको कथा छ, जुन कथाले सुनुवार जातिको इतिहास उत्खनन मात्रै गरेको छैन आम नेपाली समाजमा घटेको वास्तविक घटना पनि पस्केको छ । सानो नातिले बाजेलाई प्रश्न गर्छ कि बुबा भन्नु हुन्छ अङ्ग्रेजी पढ, अङ्ग्रेजी भविष्य हो, तपाइँ भन्नुहुन्छ हाम्रो संस्कृति बुझ यो भविष्यमा तँलाई काम लाग्छ । मेरो सानो दिमागले यति धेरै कुरा कसरी एकै पटक गर्न सक्छु । तर बाजेले नातिलाई सजिलै चित्ता बुझाउँछ । एक कथा एक उत्कृष्ट फरक र चाखलाग्दो कथाहरू समेटिएको छ । र शीर्ष कथा अन्तिम साँझमा मार्मिक छ, युद्धले कसरी समाज पिल्सिएको छ भन्ने समसामयिक यथार्थ पस्किएको छ । यति हुँदा हुँदै पनि कथाकारले कथा भनिसकेपछि पनि कथालाईथप प्रस्टाउन खोजेर जबरजस्ती कथा लम्बाउन खोजेको हो कि । ध्यान दिने कि !’ सँगसँगै सुझाव पनि दिनुभयो ।
त्यसै गरी कथा सङ्ग्रहको समीक्षा गर्दै सन्तोष श्रेष्ठले भन्नुभयो, ‘साहित्यकारले कृति जन्माउनु र मानिसले बच्चा जन्माउनु उस्तै कुरा हाे । अन्तिम साँझ कथा सङ्ग्रहको १२ औँ कथाले आध्यात्मिक चेतना जागृत भएर शान्तिको खोजी गरेको छ । कोलाहलबाट मुक्ति खोजेको देखिन्छ । उनको कथाले नेपाली साहित्यलाई विश्वव्यापी यात्रा गराउने छ । कथाहरू प्रगति ज्युले भने जस्तै एकदमै शृङ्गारिक र रहस्यमय छन् ।’सबैको शुभकामना र समीक्षा सुनेपछि कथाकार केदार सङ्केतले आफ्नो कथाका सबै पात्रहरूसँग धेरै कुरा गरेको र सबै पात्रहरूलाई आफ्नै जन्मभूमि फर्काएको बताउँदै साथ सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।
लोकार्पण कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार ख्यामनाथ दहालले कथा सङ्ग्रहको सबै कथाको शीर्षकगत छोटो समीक्षा गर्दै निष्कर्षमा स्वन्त सुखयः भने जस्तै अन्ततः मान्छे आफूले भोगेको संस्कारमै फर्किने रहेछ भन्दै अगाडि थप्नुभयो, ‘केदार सङ्केत पनि गीताको ‘स्वधर्म निधनमा परो धर्म भयावह’ कै बाटोमा हिँड्नुभएको सुनकोसीको कथाले प्रस्ट पार्छ । उहाँ विश्वको जुनसुकै कुनामा पुगे पनि घुमे पनि आफ्नै संस्कार संस्कृति प्यारो लाग्छ भन्ने प्रमाणित गरेको छ ।’ कार्यक्रमको समापन भने आफूले समापन नगरी पत्रकार कृष्ण भुषाललाई समापन गर्न माइक हस्तान्तरण गर्नुभयो ।
भाषा सम्पादक रमेश दहालले कार्यक्रममा औपचारिक स्वागत र प्रकाशक तथा सम्पादक गीता अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने प्रतीक घिमिरे, उत्तम कुमार सुनुवारले कथाकार सङ्केतको कथा सङ्ग्रहले आम नेपाली कथा अनुरागीको मन जित्न सफल होस् भन्ने शुभकामना दिँदै आगामी दिनमा पनि नेपालीपनको मौलिक कथाको अपेक्षा गर्नुभयो ।






