गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार शेर्पा जातिको जनसंख्या महिला ५८ हजार ५ सय २२ जना र पुरुष ५४ हजार ४ सय २४ जना गरी जम्मा १ लाख १२ हजार ९ सय ४६ जना रहेका छन् । २०४८ सालको राष्ट्रिय जनगणना अनुसार शेर्पा जातिको जनसंख्या महिला ५४ हजार ९ सय १३ जना र पुरुष ५५ हजार ४ सय ४५ जना गरी जम्मा १ लाख ३ सय ५८ जना उल्लेख गरिएको थियो । त्यस्तै राष्ट्रिय जनगणना २०५८ अनुसार शेर्पा जातिको जनसंख्या १ लाख ५४ हजार ६ सय २२ जना रहेको देखिन्छ । यसरी हेर्दा त २०५८ सालको जनसंख्या भन्दा २०६८ सालको जनसंख्या ४१ हजार ६ सय ७६ जनाले घटेको देखिन्छ । शेर्पा जातिलाई नेपाल सरकारले सुविधा बञ्चित समूहमा सूचीकृत गरेका छन् ।
विश्वमा हिमाल चढने जातिको पहिचानले चिनिएको जाति हो शेर्पा । यिनीहरु प्राय हिमाली क्षेत्र आसपासमा बसोबास गर्ने गरेता पनि ऐले नेपाल अधिराज्य भरि फैलिएर बस्न थालेको देखिन्छ । शेर्पा जातिको बसोबास क्षेत्र हेर्दा प्राय लेकतिर बढी देखिन्छ । त्यसैले पनि होला शेर्पा जातिको मुख्य बसोबासको रुपमा सोलुखुम्बु जिल्लालाई मानिन्छ । जुन जिल्ला हिमाल नजिकमा पर्दछ ।
शेर्पा जाति विशेष गरी हिमाल चढने । ट्रेकिङ गाइड र पर्यटक जस्ता पेशा गरेर आम्दानी गर्ने गर्दछ । उनीहरु ल्होसारलाई नयाँ वर्ष प्रवेशको उपलक्ष्यमा चार्डको रुपमा विशेष मनाउने गर्दछ । पाहुनालाई सत्कार गर्नु पनि शेर्पा जातिको पहिचान कै रुपमा मानिन्छ । उनीहरु पाहुनालाई अनिवार्य जाँडरक्सी र मासु ख्वाउने गर्दछ । पाहुनलाई स्वागत गर्दा खादा अेढाउनु शेर्पा जातिको संस्कार कै रुपमा मान्ने गर्दछ ।
शेर्पा जातिमा पनि गुरुङ, मगर र तामाङ जातिमा जस्तै फुपु र मामाको छोराछोरी बीच बिहे गर्ने चलन रहेको छ । शेर्पा जातिमा बिहे गर्दा विशेष गरी मागी विवाह नै गर्ने गर्दछ । उनीहरु चोरी विवाह, प्रेम विवाह र जारी विवाह समेत गर्ने गर्दछ । शेर्पा जातिमा बहुपति प्रथा पनि कायमै छ ।
पहिले–पहिले लिम्बू जातिमा कारणबश दाजुको मृत्यु हुन गएमा भाउजुलाई अविवाहित देवरले स्याहार्ने चलन थियो । त्यस्तै शेर्पा जातिमा पनि दाजुको मृत्यु पश्चात भाउजुलाई देवरले स्याहार्ने व्यापक चलन रहेको छ । सेक्सको कुरामा शेर्पा जातिमा अलिक स्वतन्त्र रहेको देखिन्छ । जस्तोः केटाले केटीलाई गर्भ बोकाएर बिहे नगरेमा सुत्केरी खर्च केटीलाई दिएपछि केटाले छुटकारा पाउँछ । त्यस्तो केटीलाई समाजले बहिष्कार गर्दैन । बरु उनीबाट जन्मेको बच्चालाई समेत सामाजिक मान्यता दिने गर्दछ ।
शेर्पा जाति बौद्धमार्गी भएकोले काटमारलाई त्यति रुचाउदैनन् । तरै पनि शेर्पा जातिले गर्ने हरेक कार्यमा मासुलाई अनिवार्य मानिन्छ । उनी आफै नमारी अरुले काटेको याक, चौरी, भेडा, च्याङग्रा, कुखुरा, खसी र सुंगुरको मासु खाने गर्दछ । उनीहरु मासु चुल्होमा पकाउने गर्दछ । मासु चुल्होमा पोल्न निषेध छ । मासु पोल्यो भने अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको पाइन्छ ।
शेर्पा जातिको मानिसको मृत्यु भएपछि त्यसको अन्तिम संस्कार कसरी गर्ने भन्ने शेर्पा जातिको लामाको निर्णय अनुसार हुने गर्दछ । लामाको निर्णय अनुसार लासलाई गाड्ने, जलाउने, खोलामा बगाउने वा टुक्रा–टुक्रा पारेर गिद्ध र चिललाई ख्वाउने । तर सानो बच्चाको मृत्यु भएमा चाही गाड्ने गर्दछ । शेर्पा जातिमा मृतकलाई दागबत्ती दिनु पर्दा ज्वाइले दिने चलन छ । जन्मदेखि मृत्युसम्मको सबै संस्कारहरु बौद्ध धर्मको मूल्य मान्यता अनुसार लामाले विधिद्धारा सम्पन्न गर्दछन् शेर्पा जातिले ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
अर्को अंक मनांगे जातिबारे लेख प्रकाशन गरिनेछ ।