‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूहको ९३ हजार

SHARE:

पोखरा । कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूहले ‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई ९३ हजारभन्दा बढी सहयोग गरेको छ ।

समाजले अभियन्ता युग गुरुङलाई ९३ हजार ४५ रुपैयाँ सहयोग प्रदान गरेको हो । ‘कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूह सधैं क्रियासील संस्था हो । ८ वर्षदेखि “न्यानो ल्होसार” निरन्तर हरेक वर्ष सञ्चालन गर्दै आइरहेको छ । फेरि अहिले “शिक्षा शिक्षा शिक्षा” अभियानलाई सम्पूर्ण सदस्यहरुद्वारा सहयोग सङ्कलन गरी ९३०४५/- (तिरानब्बे हजार पैचालिस) प्रदान गर्नु भयो,’ अभियन्ता गुरुङले भने ।

“शिक्षा होष्टेलमा” प्रत्यक्ष सहभागी भई त्यहाँका बाबुनानीहरुको हौसला बढाएको उल्लेख गर्दै अभियन्ता गुरुङले तमू समुदायको शिक्षामा साथ दिने आमा समूहप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

के हो शिक्षा शिक्षा शिक्षा अभियान ?
तमु (गुरुङ) समुदायका विपन्न र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित अभियन्ता युगबहादुर गुरुङको नेतृत्वमा ‘शिक्षा शिक्षा शिक्षा’ अभियान नेपालमा सञ्चालन भइरहेको छ । २०७८ सालमा अनौपचारिक रूपमा सुरु भए पनि औपचारिक रूपमा भने २०८१ असार ३१ गते ‘युग ज्योति फाउन्डेसन, कास्की’मार्फत अभियान अघि बढाइएको हो । कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भएको यो संस्था समाज कल्याण परिषद्‌मा समेत आबद्ध भएको छ ।

अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण भेगका १० जना जेहेनदार विद्यार्थीलाई पोखरामा होस्टल भाडामा लिएर खाना, बस्ने र पढाइको पूर्ण व्यवस्था गरिएको छ । उनीहरू पाँच जिल्लाबाट आएका छन् । संरक्षणमा रहेका विद्यार्थीमध्ये मेनुका गुरुङ (भुजुङ, लमजुङ), बुद्धिप्रसाद (घनपोखर, लमजुङ), सुवास गुरुङ (रोप्लेफाँट, मर्स्याङ्दी लमजुङ), टेककुमारी गुरुङ (सिङ्दी, लमजुङ), रेनुका गुरुङ (मोपिङ, लमजुङ), पूजा गुरुङ (सिक्लेस, कास्की), इसान गुरुङ (घान्द्रुक, कास्की), रोशन गुरुङ (साठीमुरे, चितवन), प्रतीक गुरुङ (दुर्लुङ, पर्वत) र चन्द्रबहादुर गुरुङ (मासकोट, स्याङ्जा) रहेका छन् ।

हाल ती विद्यार्थी पोखराको भद्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत छन् । उनीहरूमध्ये ५ जना विज्ञान, ४ जना व्यवस्थापन र १ जना आमसञ्चार विषय लिएर अध्ययन गरिरहेका छन् । फाउन्डेसनले उनीहरूलाई स्नातक तहसम्मको पढाइ सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

फाउन्डेसनले प्रदान गरेको संरक्षणपछि विद्यार्थीले उच्च शिक्षा हासिल गरेपछि विदेश पलायन नगरी देशमै सेवा गर्नुपर्ने सर्त राखिएको छ । ‘गाउँका किसान, मजदुरका छोराछोरी अब्बल हुँदाहुँदै पनि पैसाको कारण पढाइ छोड्नुपर्छ । अब भने उनीहरूले बिना अवरोध शिक्षा लिन सकुन् र पछि राष्ट्रको सेवा गरून् भन्ने उद्देश्य हो,’ अध्यक्ष गुरुङले भने ।

विद्यार्थीलाई खान, बस्न, कपडा र विद्यालय शुल्कसम्मको सम्पूर्ण खर्च फाउन्डेसनले बेहोर्दै आएको छ । हाल मुख्य स्रोत भनेकै चन्दा रहेको उनले बताए । ६ जनाले मासिक १५–१५ हजार रुपैयाँ योगदान गर्दै विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेका छन् । तीमध्ये बेलायत निवासी बत्तीकुमारी गुरुङ, चन्द्रबहादुर गुरुङ, हङकङ निवासी चेतबहादुर गुरुङ (सीबी), घान्द्रुकका किसम गुरुङ, पोखराकी चन्द्रकुमारी गुरुङ र एक स्विस निवासी रहेका छन् ।

बाँकी दुई विद्यार्थीको खर्च आजीवन सदस्यता शुल्क र विभिन्न व्यक्तिहरूले दिने ५ सयदेखि ६ हजारसम्मको सहयोगबाट व्यवस्थापन भइरहेको छ । अध्यक्ष गुरुङका अनुसार प्रत्येक वर्ष कम्तीमा १० विद्यार्थी थप्दै लैजाने लक्ष्यबमोजिम १० विद्यार्थी हालै थपिएको छ ।

‘शिक्षा शिक्षा शिक्षा’ अभियान औपचारिक रूपमा छोटो समय भए पनि अभियन्ता गुरुङले विगत ५ वर्षदेखि एक्लै टोलस्तरमा शिक्षा अभियान चलाउँदै आएका थिए । उनले लमजुङका भुजुङ, घनपोखरा, नायुङ र कास्कीका भुम्दी, सिक्लेस, घान्द्रुक जस्ता गाउँहरूमा पुगेर स्थानीय शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनलाई शिक्षाप्रति सचेत बनाउने काम गरेका थिए ।

त्यस क्रममा शिक्षक सम्मान, शिक्षक तालिम, अभिभावकलाई विद्यालय अनुगमनमा सक्रिय बनाउने, टोल शिक्षा कक्षा सञ्चालन गर्ने, अतिरिक्त कक्षा र क्रियाकलाप जस्ता गतिविधि सञ्चालन गरिएका थिए ।

फाउन्डेसनको अध्यक्षमा युगबहादुर गुरुङ (भुम्दी), कोषाध्यक्ष मेजर ललितबहादुर गुरुङ (घान्द्रुक), सचिव झुमा गुरुङ (भुम्दी), सदस्य मेजर हितमान गुरुङ (सावेत) र सदस्य देउताकुमारी गुरुङ (भुम्दी) रहेका छन् । उनीहरू सबैले आ–आफ्नो क्षेत्रमा समाजसेवा र शैक्षिक चेतना फैलाउने अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

औपचारिक रूपमा दुई वर्ष नाघेको यो अभियान अहिले २० विद्यार्थीको संरक्षणमार्फत प्रारम्भ भए पनि दीर्घकालीन रूपमा सयौँ विद्यार्थीलाई शिक्षा दिलाउने सपना बोकेको छ । युगबहादुरका अनुसार विद्यार्थी स्वयं आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले पढाइसँगै सरसफाइ, खाना पकाउने, कपडा धुनेजस्ता काम आफै गर्छन् । आत्म अनुशासन सिक्दै शिक्षा हासिल गर्ने विद्यार्थी भविष्यमा देशका लागि टेवा पुर्‍याउनेमा फाउन्डेसन विश्वस्त रहेको अध्यक्ष युगबहादुरले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!